डा. स्वस्ति शर्मा, प्रजनन विशेषज्ञ, होप फर्टिलिटी एण्ड डायग्नोस्टिक
विवाह भएको १९ वर्षपछि जमुना शर्मा (नाम परिवर्तन) गर्भवती भइन् । उनी ‘इन भिट्रो’ निषेचन ‘आइभीएफ’ विधि अपनाएर गर्भवती भएकी हुन् । उनी औधी खुसी भइन् । जमुनाजस्ता धेरैले सन्तान नभएमा ‘आइभीएफ’ लगायतका उपचार विधि अपनाउने गरेका छन् । विवाह भएको एक वर्षसम्म कुनै पनि परिवार नियोजनको साधन प्रयोग नगरेर नियमित शारीरिक सम्बन्ध कायम गर्दा सन्तान नहुनु निःसन्तान समस्या हो । यो महिला–पुरुष दुवैको कारणले हुनसक्छ । पहिले महिलामा मात्र खराबी हुन्छ भन्ने पितृसत्तात्मक सोचका कारण उपचारका लागि महिला मात्रै आउथे भने पछिल्लो समय पुरुष पनि आउँछन् । सामाजिक सञ्जाल र सचेतनाका कारण पुरुष पनि आउने गरेका हुन् ।
निःसन्तान समस्याको उपचार विधिमा ‘आइभीएफ’ र ‘आइयुआई’ (इन्ट्रा युटेराइन इन्सेमिनेसन) प्रमुख हुन् । निःसन्तान हुँदैमा सुरुमै ‘टेस्टट्युब बेबी’ का लागि यी विधिमा गइहाल्नु पर्दैन । कतिपय अवस्थामा साधारण औषधि, ‘अल्ट्रासाउन्ड’ को सहयोगले पनि सहयोगपुग्छ । कहिलेकाहीँ श्रीमान्–श्रीमतीका सबै कुरा ठीक हुँदाहुँदै पनि बच्चा नजन्मिन सक्छ । महिलाको ‘फ्यालिापियन ट्युब’ मा अवरोध भएर पनि बच्चा बस्दैन । पुरुषमा भने शुक्रकीट नहुनु वा कम हुनु र शुक्रकीटको स्पिडमा कमी भए ‘टेस्टट्युब बेबी’ का लागि उपलब्ध प्रविधिहरू प्रयोग गर्नुपर्छ । अण्डा र शुक्रकीटको मिलन हुने नली ‘फ्यालापियन ट्युब’ हो । यो ‘ब्लक’ भयो भने बच्चा हुँदैन । बच्चाका लागि अण्डालाई बाहिर निकाली त्यसलाई शुक्रकीटसँग निषेचन गरी गर्भाधानपछि बच्चा जन्माउने विधिलाई ‘टेस्टट्युब बेबी’ भनिन्छ ।
निःसन्तान समस्याका कारण
धेरैजसो महिलामा अण्डा नबन्ने समस्या हुँदा निःसन्तान हुन्छ । यसैगरी, थाइराइडको समस्या, हर्मोनको गडबडी आदिका कारण पनि निःसन्तान हुन्छ । ढिलो विवाह हुँदा महिलामा उच्च रक्तचापको (हाइपरटेन्सन) समस्या देखा पर्नसक्छ । यसले गर्दा पनि सन्तान नहुन सक्छन् । नली बन्द हुने, पाठेघरमा मासु पलाउने, ‘ओभरी’मा ‘सिस्ट’ पलाउने, रगतको ढिक्काजस्तो ‘सिस्ट’ जम्मा हुने (एन्डिमेट्रियोसिस) कारणले पनि निःसन्तान हुन्छ ।
पुरुषमा भने शुक्रकीटको मात्रामा कमी भए सन्तान नहुन सक्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार गर्भधारणका लागि एक करोडभन्दा बढी शुक्रकिट हुनुपर्छ । यसको गति ५० प्रतिशतभन्दा बढी हुनुपर्छ । यो भन्दा कम भएमा पनि राम्रोसँग बच्चा बस्दैन । यसैगरी, पुरुषमा हर्मोनको गडबडी भए पनि बच्चा बस्दैन । यीबाहेक क्यान्सरका कारण महिलाको डिम्बाशय फाल्दा पनि सन्तान हु“दैन । पुरुषमा क्यान्सरका कारण शुक्रकीट नबन्ने समस्या हुनसक्छ ।
निःसन्तान हुनुमा महिला र पुरुष दुवैको ५०–५० प्रतिशत कमजोरी हुन्छ । महिलाको उमेर धेरै भएपछि बच्चा नपाउने हुन्छ भने पुरुषमा उमेरको छेकबार छैन । शारीरिक स्वास्थ्य राम्रो नहुँदा, मद्यपान, धूम्रपान गर्ने बानी छ भने प्रजनन स्वास्थ्यमा असर पार्न सक्छ ।
धूम्रपान गर्ने र ‘प्यासेसिभ’ (स्मोकर सँगै बस्ने) महिलामा अण्डाको मात्रा कमी हुनुका साथै यसले अण्डाको गुणस्तर प्रभावित हुन्छ । यस्तो अवस्थामा गर्भ रहे पनि गर्भ तुहिने सम्भावना बढी हुन्छ ।
‘आइभीएफ’ सबै सफल हुन्छन् ?
यो शतप्रतिशत सफल नहुन सक्छ । कतिपय ‘आइभीएफ’ केन्द्रले ५०–६० प्रतिशत सफल भएको दाबी गर्छन् । तर, त्यसो होइन । यो त व्यक्तिपिच्छे फरक हुन्छ । ‘आइभीएफ’ दर युवा अवस्थामा उपचारका लागि जति आयो उति नै सफल हुने हो । किनभने यो उमेरमा अण्डाको गुणस्तर राम्रो हुन्छ । ४० वर्ष उमेरका महिलामा गर्भधारण गर्ने सम्भावना न्यून हुन्छ । यो उमेरमा १० देखि १५ प्रतिशत मात्र सफल हुने कुरा विभिन्न अध्ययनबाट थाहा भएको छ । युवावस्थामा उपचारका लागि आयो, महिलाको ट्युब मात्र ब्लक छ र अण्डाको गुणस्तर पनि राम्रो छ भने ७० प्रतिशतसम्म यो विधि सफल भएको छ ।
‘आइभीएफ’ गर्दा अपनाउनुपर्ने सावधानीहरू
मुख्य कुरा त जीवनशैली परिवर्तन गरी स्वस्थकर खानेकुरा खानुपर्छ । यसैगरी प्रोटिनयुक्त खानेकुरा खानुपर्छ । तनाव कम लिनुपर्छ । समयमै यसका लागि आवश्यक पर्ने ‘इन्जेक्सन’ लगाउनुपर्छ । महिलालाई ‘हाइ डोज इन्जेक्सन’ लगाएर अण्डा बनाउँदा ‘मुड’ परिवर्तन (मुड स्विङ) हुनसक्छ । यस्तो अवस्थामा परिवार तथा श्रीमान्ले सहयोग गर्नुपर्छ । साथै, समयमै सुत्नुपर्छ । राम्रो निद्रा लिँदापनि अण्डाको गुणस्तरमा सुधार हुनसक्छ ।
जुम्ल्याहा÷तिम्ल्याहा हुने कारण
भ्रूण प्रयोगको संख्यामा यो निर्भर रहन्छ । एउटा भ्रूण राख्यो भने एउटा मात्र र चारवटा राख्यो भने चम्ल्याहा शिशु जन्मन सक्छन् । नेपाल जस्तो मुुलुकमा पटक–पटक बच्चा राख्न कठिनाइ हुन्छ । त्यसैले सुरुमै दुई वा तीन वटा भ्रूण ट्रान्सफर गरिन्छ । यसले गर्दा जुम्ल्याहा भएपनि होस् भन्ने हुन्छ । कतिपय दम्पतीले जुम्ल्याहाको रहर छ पनि भन्छन् । पाठेघर सानो हुने र अन्य स्वास्थ्य समस्या भएकालाई जुम्ल्याहा नभएकै राम्रो हुन्छ । ‘टेस्टट्युब बेबी’ अर्काको बच्चा भन्ने भ्रम छ । कति वर्षअगाडि गर्भधारणका लागि आउँदा ‘टेस्टट्युब बेबी’ गर्नु भन्ने सल्लाह दिँदा पनि गरेकै हुँदैनन् । आफ्नो हुँदैन भन्ने हुन्छ । शारीरिक सम्पर्कबाट बनेको बच्चा मात्र आफ्नो, ल्याबमा बनाएको बच्चा अर्काको भन्ने हुन्छ, जुन गलत हो ।
खर्च
अवस्था हेरेर दुईदेखि साढे चार लाखसम्म खर्च लाग्छ । नेपालमा ‘आइभीएफ’ सुरु भएको २५ वर्ष भइसक्यो । ओम अस्पतालमा जन्मेका ओममणि तामाङ पहिलो बच्चा हुन् । नेपालमा ‘आइभीएफ सेन्टर’ ३२ वटा दर्ताको प्रक्रिया छन् । दर्ता नगरेका र भर्खरै खुलेका धेरै छन् ।
उमेर समूह
चिकित्सकहरूका अनुसार यसका लागि जुनसुकै उमेरका दम्पती पनि केन्द्रहरूमा पुग्छन् । हाम्रो पितृसत्तात्मक समाज भएकाले परिवारबाट पनि विवाह गर्नासाथ बच्चा जन्माउनुपर्छ भन्ने मान्यता छ । परिवारको सन्तुष्टिका लागि पनि बच्चा जन्माउनुपर्ने हुन्छ । औसतमा २४ देखि ४० उमेर समूहकाले यसमा बढी रुचि राखेको देखिन्छ ।