Successfully Copied

छालाको स्याहार नै गलत छ  

गर्मीको मौसममा चर्को घाम लाग्छ । यसमा हुने अल्ट्राभायोलेट (युभी) ‘ए’ किरणले छालामा एलर्जी गराउँछ भने ‘बी’ ले छाला डढाउँछ ।

गर्मीको मौसममा चर्को घाम लाग्छ । यसमा हुने अल्ट्राभायोलेट (युभी) ‘ए’ किरणले छालामा एलर्जी गराउँछ भने ‘बी’ ले छाला डढाउँछ । कपडाले नढाकेको भागमा घामले डढ्ने सम्भावना बढी हुन्छ । यसले छालामा विभिन्न समस्या निम्त्याउन सक्छ । पछिल्लो समय महिलामा चायाँपोतो आउने, डण्डिफोर, चाउरीपना, डार्क सर्कल जस्ता समस्या देखिन्छन् । यसबाट बच्न छालाको उचित हेरचाह जरुरी छ । 

सौन्दर्य चेतनाको कमी

हामीले जथाभावी सौन्दर्य प्रसाधनको प्रयोग गर्दा छालाको प्राकृतिक चमक गुमाइरहेका छौं । कम गुणस्तरका प्रसाधनले छालालाई बेफाइदा गर्छ । अनुहार सफा गर्न प्रयोग गरिने फेसवास, क्लिन्जर र सिरमले छालालाई पातलो र संवेदनशील बनाइदिन्छ । यसले अनुहारमा चाउरीपन ल्याउँछ । गुणस्तरीय सिरमले अनुहारलाई फाइदा गरेपनि नेपाली बजारमा पाइने सबै सौन्दर्य प्रसाधन गुणस्तरीय पाइन्नन् । सिरमको प्रयोग लामो समयसम्म गर्नुहुँदैन । रिजल्ट आएपछि यसको प्रयोग बन्द गर्नुपर्छ । छालाले क्रिमको तुलनामा सिरमलाई छिटो सोस्छ । क्रिम ठूला–ठूला कणबाट बन्ने भएकाले विस्तारै सोस्छ । सिरम भनेको ‘अल्ट्रामाइक्रोनाइज्ड’ भएकाले कोषझिल्लीलाई क्षति पुर्‍याउँछ । फेसवास र क्लिन्जरले अनुहार धुनुको सट्टा सफा पानीले धुनुपर्छ । यसो गर्दा छाला ढाकेको पत्र निस्कन्छ र पातलो बन्छ । यसले छालालाई संवेदनशील पनि बनाइदिन्छ । संवेदनशील छाला भनेको छाला पातलो, रातो र सुख्खा हुनु हो । यस्तो छाला घामले डढ्ने सम्भावना बढी हुन्छ ।

सनस्क्रिन क्रिम र मोस्चराइजरको सही प्रयोग 

अनुहारको छालालाई जोगाउन उपयुक्त सनस्क्रिन र मोस्चराइजरको नियमित प्रयोग गर्नुपर्छ । अनुहार र शरीरको खुल्ला भागमा घाममा निस्कनुभन्दा करिब १५ मिनेटअघि सनस्क्रिन लगाउनुपर्छ । नाक, कानको छेउ, घाँटी तथा ओठको वरिपरि सनस्क्रिन लगाउन बिर्सन हुन्न । घरमा बस्दा समेत प्रत्येक २–३ घण्टामा लगाउनुपर्छ । सनस्क्रिनको छनोट गर्दा एसपीफ १५ भन्दा माथिको प्रयोग गर्नुपर्छ । यसले घामको सबै रंग (स्प्रेक्टम) लाई रोक्छ । एसपीफले युबी किरणबाट हुने क्षतिलाई पनि रोक्छ । बिहान ८ बजेदेखि ४ बजेसम्मको घामको किरण हानिकारक हुन्छ । एकपटक लगाएको क्रिमले २–३ घण्टासम्म मात्र काम गर्छ । २–२ घण्टाको फरकमा सनस्क्रिन क्रिम लगाउनुपर्छ । तर, यसको मात्रा सही हुनुपर्छ । एकपटकमा आधा चम्चा सनस्क्रिन आवश्यक हुन्छ । मेकअप गर्नुपरेमा मोस्चराइजर र सनस्क्रिन क्रिम लगाएपछि फाउन्डेसन लगाउन सकिन्छ । सनस्क्रिन लगाएको २४ देखि ३६ घण्टाभित्रमा छालामा नयाँ खटिरा वा फोका आए सनस्क्रिनको एलर्जी भएको बुझ्नुपर्छ ।

 

छाता र कालो चस्मा 

छायाँ सानो भएको बेला सकेसम्म घाममा ननिस्केकै राम्रो हुन्छ । घामबाट जोगिन सनस्क्रिनमात्र पर्याप्त हुँदैन । यसले शतप्रतिशत घामबाट छालालाई जोगाउन सकिन्न । घाममा निस्कदा कालो छाता, कालो चस्मा र ह्याट छुटाउनुहुँदैन । कालो छाताले शीतलता प्रदान गर्छ भने चस्माले आँखाको वरिपरि आउन सक्ने चाउरीपनाबाट जोगाउँछ । 

सही उपचार

अरूको अनुहारमा क्रिमले फाइदा गर्‍यो भन्दैमा आफूलाई पनि त्यही क्रिमले राम्रो गर्छ भन्ने हुँदैन । आफ्नो छालाको प्रकृतिअनुसार क्रिमको छनोट गर्नुपर्छ । अनुहारमा जथाभावी औषधि प्रयोग गर्नुहुँदैन । इन्टरनेटमा हेरेर वा अरुको पछि लागेर छालाको उपचार गर्नु भनेको छालालाई अझ बिगार्नु हो । इन्टरनेटको प्रयोग जानकारी लिनलाई गर्ने हो, उपचारका लागि होइन । छाला रोग विशेषज्ञको सल्लाहविना सौन्दर्य प्रसाधन प्रयोग गर्नुहुँदैन । 

डा. धर्मेन्द्र कर्ण

(डा.धर्मेन्द्र छाला तथा सौन्दर्य विशेषज्ञ हुन्) 

 Image