Successfully Copied

डा. बालकृष्णको गर्भको गर्व लोकार्पण

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.बालकृष्ण साहको गैरआख्यान ‘गर्भको गर्व’ लोकार्पण भएको छ ।


प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.बालकृष्ण साहको गैरआख्यान ‘गर्भको गर्व’ लोकार्पण भएको छ । काठमाडौंस्थित नेपाल चिकित्सक संघको सभाहलमा राष्ट्रिय चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठानका उपकुलपति डा. भूपेन्द्रकुमार बस्नेत, लेखक डा.बालकृष्ण साह, नारी मासिककी सम्पादक उपासना घिमिरे, नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्की, महासचिव डा. सजिव तिवारी, पूर्व अध्यक्ष डा. लोचन कार्की, गर्भवती महिला भावना प्रधान न्यौपानेले संयुक्त रुपमा पुस्तक लोकार्पण गरेका थिए । साहित्यपोस्टले प्रकाशन गरेको यो सिर्जनात्मक गैरआख्यानमा ९ वटा कथा समेटिएका छन् । यी कथाहरु महिलाले गर्भावस्थामा भोग्नुपर्ने विविध जटिलतामाथि लेखिएका छन् । डा. साहले देखेका, भोगेका कुराबाट नै कथा तयार भएको बताए । कथामा उल्लेख गरिएका कतिपय पात्र र प्रसंग वास्तविक घटनामा आधारित छन् ।


परिपक्क नभई विवाह गर्दा, जन्मान्तर कम हुँदा, छोरा पाउने दबाव हुँदा, गर्भवती हुने इच्छा नहुँदा एउटी महिलाले आफ्नो ज्यानलाई कसरी बाजी लगाउनुपर्छ भन्ने कुरा यसमा समावेश गरिएको छ । हरेक कथाको अन्त्यमा त्यससँग सम्बन्धित रोग एवं समस्याबारे पनि बिस्तृतमा लेखिएको छ । छोरी किन भएछु ?, चेलीका पीडा, प्रीतिको जित, रगतको जात, छोरीको माइती, कोरोनाको फरक कथा लगायत शीर्षकका कथाहरु पुस्तकमा पढ्न पाइन्छ । १ सय १९ पृष्ठको पुस्तकको मूल्य २ सय ५० रुपैयँ“ राखिएको छ । डा. साहको यो दोस्रो पुस्तक हो । यसअघि उनले सुरक्षित मातृत्वसम्बन्धी ‘आमा’ शीर्षकमा पुस्तक लेखेका थिए ।

 Image