क्रोध मस्तिष्कमा उत्पन्न हुने एउटा आवेग हो । मस्तिष्कको संरचना नै यस्तो हुन्छ जसमा आवेग आइरहन्छ । आवेग दिमागमा दह्रो डेरा जमाएर बसेको हुन्छ र त्यो व्यक्तिको स्वभावको अङ्ग नै बनिसकेको हुन्छ । रिसको एउटै कारणका पछाडि दुई व्यक्तिका भिन्न–भिन्न प्रतिक्रिया हुन्छन्–कोही रिसले रातो–पिरो, भएर मर्ने–मार्नेसम्म उत्रिन्छन् भने कोही त्यसलाई सरलताका साथ निवारण गर्छन् । यो भिन्नता व्यक्तिको मस्तिष्कमा बसेको संस्कारका कारण हो । मनको जटिलता पनि हाम्रो क्रोधी स्वभावको कारण हुनसक्छ । जब हाम्रो मस्तिष्क कुनै जटिलतामा अल्झन्छ, तब हामी त्यसको रिस अन्य व्यक्तिमाथि पोख्न खोज्छौं ।
रिसाउने अधिकांश कारण अत्यन्त सामान्य र साना हुन्छन् । कतिपय रिस त आधारहीन नै हुन्छन् । बिनाकारण पनि हाम्रो मस्तिष्कमा रिस आएर बस्न सक्छ । रिसका बेलामा राम्रो कुरा सोच्ने फुर्सद हुँदैन । सबैभन्दा नराम्रो कुरा त आफ्नो रिस निर्दोष व्यक्तिमाथि पोख्नु हो । रिसको परिणाम कहिल्यै राम्रो हुँदैन । अफिसमा काम बिगारेर घर आएर छोराछोरीलाई गाली गर्नु अथवा घरमा झगडा गरेर स्कुल गई विद्यार्थीमाथि रिस पोखेका घटनाहरू हामीले सुन्दै, देख्दै अनि भोग्दै आएका छौं । रिसको यस्तो आवेगले कसैलाई फाइदा गर्दैन ।
रिसको घनिष्ट सम्बन्ध अस्थिरता, क्षणिकता, उद्वेग, अहंकार, असहिष्णुता आदि मनका अन्य विकारहरूसँग हुन्छ । रिसलाई मनभित्र दबाएर लामो समयसम्म राख्दा अझ ठूलो हानि हुन्छ ।