मानिसको मन निकै कमलो हुन्छ । कुनै दुःख वा अचानक कुनै खुसीको कुरा सुने वा देखेमा हाम्रो आँखाबाट आँसुआउँछ । मानिसले आफ्नो भावना, पिरमर्का वा दुःखलाई आँसुको माध्यमबाट अरूसामु प्रकट गर्छन् । कतिपय मानिसले भन्ने गर्छन्–आँसु पनि एक विशेष हतियार हो, कैयौं शक्तिले गर्न नसकेको काम दुई थोपा आँसु झार्नाले तुरुन्तै बन्छ । विभिन्न जातजातिमा मानिसको मृत्यु हुँदा रुने चलन छ, तीमध्ये पनि नेवार समुदायमा खासगरी आफन्तको मृत्यु हुँदा महिलाहरू बढी रुन्छन् । दाहसंस्कारपछिका चार दिन, सात दिन १० दिन, १२ दिन वा ४५ दिनमा मृतकका घरका महिला सदस्य र आफन्त रुन्छन् । नेवार समुदायमा आफ्ना नजिकका मानिसको मृत्युको पीडाबाट निकास पाउन यस्तो प्रचलन चलेको अनुमान गरिन्छ । आधुनिकताको प्रभावसँगै मृत्यु संस्कारमा रुने प्रचलन पनि कम हुँदै गएको देखिन्छ । नेवारबाहेक अन्य जातजातिमा पनि मृत्यु संस्कारमा रुने चलन छ ।
विज्ञहरूका अनुसार रुँदा मनमा भएका पीडा, तनाव अनि शरीरमा भएको विष आँसुको माध्यमबाट बाहिर बगेर जान्छ । रुनुलाई पनि एक उपचार थेरापी मानिन्छ । रुँदा मन हलुका भएर पीडा कम भएको धेरैले महसुस गरेका छौं । रुँदा मानिसको रक्तचाप पनि कम हुने विज्ञहरू बताउँछन् । कतिपय मानिस भावुक खालका चलचित्र हेरेपछि रुन्छन् । रुँदा उनीहरूको पीडा कम हुन्छ । अरुको दुःख र पीडामा वा समस्यामा पनि हाम्रो मन रुन्छ । सामान्यतया समाजमा केटाको तुलनामा केटी बढी रुन्छन् भनिन्छ । ‘केटा मान्छे रुनु हुँदैन’भन्ने खालका सामाजिक धारणाका कारण केटाहरू मन खोलेर रुँदैनन् तर उनीहरूमा पनि उस्तै खालको भावना हुन्छ । तर महिलादुःख वा सुख जुनसुकै परिस्थितिमा पनि रुन्छन् । त्यसैले उनीहरू मानसिक तनावमा धेरैबेर रहँदैनन् भनिन्छ । कतिपयले आफ्ना कुरा अरूलाई सुनाएर पनि मानसिक बोझलाई कम गर्छन् ।
कहिलेकाहीँ मनमा कुरा गुम्साएर राख्दा मन भारी हुन्छ । कुनै काम गर्न मन लाग्दैन, खान खान मन लाग्दैन, अल्छी बढी लाग्छ । क्रमशः निराशाले डेरा जमाउन थाल्छ । कतै जान वा कसैसँग बोल्न पनि मन लाग्दैन । आफूले जीवनमा केही गर्न नसकेको भान हुन्छ, कसैले आफ्नो कुरा नसुनेको जस्तो लाग्छ र यस्ता मानिसहरू सबैबाट टाढा हुन थाल्छन् । अन्त्यमा डिप्रेसनको सिकार बन्न पुग्छन् । रुँदा मनभित्र गुम्सिएर रहेका कुरा बाहिर निस्कन्छन् । त्यसैले पनि मन हलुका हुन्छ ।विज्ञहरूका अनुसार भावुक भएर रुँदा आँखाबाट बग्ने आँसुमा लुसिन र एन्केफालिन तत्व पनि बाहिर निस्कन्छ, जसले दुखाइ कम गर्न पेनकिलरको काम गर्छ ।
रुनु वा आँसु झार्नु मानिसको स्वभावमा भर पर्ने कुरा हो । कतिपय मानिसले धेरै पीडामा पनि आफ्नो आँसु लुकाउन सक्छन् भने कतिपयले सामान्य कुरामा पनि आँसु झारिहाल्छन् । वास्तवमा आँसु शब्दबिनाको भाषा हो । आँसु देखेपछि हामी मानिसको अवस्थाबारे सहजै अनुमान लगाउन सक्छौं । कतिपय समय आफूलाई निकै शारीरिक र मानसिक रूपमा पनि सबल र मजबुत ठान्ने मानिस समस्या पर्दा बच्चाजस्तै रुने गरेको पनि देखिन्छ ।
रुनु वा आँसु झार्नुका पनि केही फाइदा छन् । रुँदा मनको पीडा कम हुन्छ, मन शान्त हुन्छ र खुसीको महसुस हुन्छ । आँसुबाट विषालु पदार्थ बाहिर निस्कन्छ र निद्रा लाग्छ । आँखाका ब्याक्टेरिया मार्न सहयोग हुन्छ, यसले आँखालाई सफा राख्न मद्दत गर्छ । एक अध्ययनअनुसार गरिब मुलुकका महिलाभन्दा धनी र विकसित मुलुकका महिला बढी रुन्छन् । कतिपय बालबालिका सुत्ने बेलामा रुन्छन्, जसले गर्दा उनीहरू मस्त निदाउन सक्छन् । यसो भन्दैमा सधै रोएर बस्नुपर्छ भन्ने होइन । रुनु वा आँसु झार्नु हाम्रो रहर होइन बाध्यता पनि हो । हरेक कुराका राम्रा र नराम्रा पक्षहरू हुन्छन् । रुँदा शरीरमा केही नकारात्मक असरहरू पनि हुन्छन् । अनुहारका मासंपेशी तन्किने र खुम्चने गर्छन् जसले गर्दा चाउरीपन देखिन सक्छ । यसबाहेक घाँटी, टाउको, च्यापुमा पनि नकारात्मक असर पर्छ । धेरै समयसम्म निरन्तर रुँदा स्वर सुक्छ, घाँटी र टाउको दुख्न थाल्छ, अनुहार पनि फुस्रो देखिन्छ । धेरै रोएमा आँखामा आँसुको कमी भई आँखा सुक्खा हुन्छ, जसले हाम्रो हेराइमा प्रभाव पार्छ । यसकै कारण खान मन नलाग्ने, वान्ता हुनेजस्ता समस्यापनि देखा पर्न सक्छन् ।
(गाइसी भक्तपुरस्थित ख्वप कलेज समाजशास्त्र विभागकी उप–प्राध्यापक हुन् ।)
सुनीता गाइसी