जसलाई एलर्जी हुन्छ उसले जाडोमा बढी समस्या खेप्नुपर्छ। कतिपय मानिसलाई जाडोमा सधैं रुघाखोकीको समस्या हुन्छ। कसैको नाक बग्छ, ह्याछ्युँ आउँछ, घाँटीमा खसखस हुन्छ र कफ बन्छ। मौसमी रुघाखोकी चाँडै निको हुन्छ तर एलर्जीले लामो समयसम्म पिरोल्छ। जाडोमा आँखासम्बन्धी समस्या पनि देखापर्छ। यदि बीचबीचमा पानी परेन भने यो मौसममा प्रदूषण बढ्छ। कुहिरोका कारण आाखा पोल्ने, चिलाउने वा त्यसको लालिमाको गुनासो हुन सक्छ। जाडोमा पर्याप्त घाम प्राप्त नभएका कारण ब्याक्टेरियल इन्फेक्सनबाहेक डेन्ड्रफको समस्या पनि बढ्छ।
मौसममा लुकेका कारण
धूलो–माटोका कण, जनावरका केश वा परफ्युम आदिका कारण एलर्जीको आशंका बढी हुन्छ। त्यसो त यी सबै कुरा वर्षभरि नै रहन्छन् तर जाडोमा यो बढी सक्रिय हुन्छ। एउटा अर्को कारण–जाडोमा मानिस आफ्ना घरका झ्यालढोका बन्द गरेर बस्छन्। ऊनीका कपडा लगाउँछन्। कम्बल, ब्ल्याङ्केट आदि ओढ्छन्। बन्द घरमा हिटर पनि प्रयोग गरिन्छ। यी सबका कारण पनि एलर्जीको समस्या बढ्छ अनि एलर्जी फैलाउने ब्याक्टेरिया सक्रिय हुन्छन्। परिणामस्वरूप रुघाखोकी, आाखा पोल्ने वा स्किन एलर्जी हुन थाल्छ। यदि यी सबै लक्षण एक साताभन्दा बढी देखिए चिकित्सकको सेवा लिनुपर्छ।
केही अन्य कारण
एलर्जी फैलाउने ब्याक्टेरियाले एस्थमाका रोगीलाई बढी सताउँछ। त्यसबाहेक चिसो मौसममा दरी, कम्बल, कार्पेट वा ब्ल्याङ्केटमा ब्याक्टेरिया बढी मौलाउँछन्। घरमा घरपालुवा वा अन्य कुनै जनावर छन् भने तिनको केशको माध्यमबाट पनि ब्याक्टेरिया फैलन्छ। पशुको केशबाहेक तिनको र्याल र मलमूत्रमा पनि यस्ता ब्याक्टेरिया हुन्छन् जो जुत्ता वा कपडामा सहज रूपमा प्रवेश गर्छन्।
यसरी गरौं सुरक्षा
घरमा हावा आवत–जावतको पर्याप्त व्यवस्था हुनुपर्छ। कम्बल, ऊनी कपडा, कार्पेट्स, सफ्ट टोयज आदिमा स–साना कीटाणु लुकेर बस्छन्। त्यसबाहेक कतिपय अवस्थामा मानिसहरू घरका झ्यालढोका बन्द गर्छन् र कोठामा हिटर चलाउँछन्। घर बन्द रहँदा घाम घरभित्र जान पाउँदैन र ब्याक्टेरिया मौलाउँछ। त्यसैले एग्जिमाको समस्या सिर्जना हुन्छ।
सोफा, कार्पेट्स एवं सफ्ट टोयजको सफाइ नियमित गर्नुपर्छ। कपासका सिरक–गद्दालाई हरेक साता घाममा राख्नुपर्छ। स्वेटर, कोट आदिलाई पनि नियमित रूपमा घाममा राख्नुपर्छ। रुम हिटर तथा एसीको सफाइ नियमित रूपमा गर्नुपर्छ।
सजावटी बिरुवाहरू पनि एलर्जीको कारण बन्न सक्छन्। यदि एलर्जीको समस्या छ भने यो मौसममा इन्डोर प्लान्ट्सको साटो आर्टिफिसियल बिरुवा कोठामा राख्नुपर्छ। एलर्जी वा एस्थमाका रोगीले कार्पेट एवं घरपालुवा जनावरबाट जोगिनुपर्छ। कार्पेट ओछ्याउने भए हप्ता–दस दिनमा एकपटक घाममा राख्नुपर्छ।