आजभोलि महिलाहरू घरको मात्र होइन कार्यक्षेत्रको जिम्मेवारी पनि निर्वाह गर्छन् । त्यसैले आमा, श्रीमती, छोरी, बुहारी, भाउजू आदिका साथै राम्रो कर्मचारी बन्ने प्रयासमा उनीहरू स्वयंका लागि समय निकाल्न पाउँदैनन् र आफ्ना दु:ख, पीडा एवं समस्याप्रति बेवास्ता गर्छन् । उनीहरू स्वयं स्वस्थ रहे मात्र आफ्नो परिवारको राम्रो हेरचाह सम्भव हुन्छ भन्ने विषयमा पनि त्यति ध्यान दिँदैनन् ।
तनावबाट जोगियौं : महिलाहरू बढी भावुक हुन्छन् । हृदयघातबाट मर्नेहरूमा पनि महिलाहरूको संख्या नै बढी छ । फ्लोरिडामा भएको एक अध्ययनअनुसार हृदयघातबाट मृत्यु हुने पुरुषको संख्या १० प्रतिशत पाइयो भने महिलाको १५ प्रतिशत । यही सन्दर्भमा एउटा महत्वपूर्ण कुरा के अगाडि आयो भने हृदयघातका बखत महिलाहरूमा पीडाको अनुभूति भएन, जसका कारण चिकित्सकको सम्पर्कमा जान ढिलो हुने र ज्यान जोखिममा पर्ने स्थिति उत्पन्न भएको थियो । अत: महिलाहरूले सुरुदेखि नै खानपानप्रति सावधानी अपनाउनुपर्छ । पूर्ण निद्रा सुत्नुपर्छ र तनावबाट जोगिनुपर्छ ।
भावनात्मक अत्याचार : एक शोधअनुसार महिलाहरूको पीडा बढी गहिरो हुन्छ । त्यसो त महिलाहरू चाँडै रुन्छन् भन्ने कुरा सबैलाई थाहा छ । एक शोधअनुसार महिलाहरू महिनामा ५ पटकभन्दा बढी रुन्छन् भने पुरुष एक–दुई पटक मात्र । यसको कारण महिलाहरूको भिन्न शारीरिक संरचना हो । वास्तवमा महिलाहरूमा आँसु ग्रन्थिहरूको बनाबट फरक हुन्छ । उनीहरूका ती ग्रन्थि धेरै ठूला हुन्छन् । उनीहरूको शरीरमा प्रोलेक्टिन हार्मोनको लेवल पनि करिब ६० प्रतिशत माथि हुन्छ । त्यसैले महिलाहरू बढी रुन्छन् अनि आँसु बगाएर तनाव कम गर्छन् ।
तनावमुक्त जीवन : राम्रो स्वास्थ्यका लागि तनावबाट जोगिनुपर्छ । वल्र्ड हेल्थ अर्गनाइजेसनको ताजा रिपोर्टका अनुसार पुरुषको तुलनामा महिलाहरू ५० प्रतिशत बढी तनावग्रस्त हुन्छन् । वल्र्ड मेन्टल हेल्थको रिपोर्टका अनुसार महिलाहरूमा तीन गुना बढी डिप्रेसन पाइन्छ । त्यसो त तनावमुक्त रहे महिलाहरू पुरुषभन्दा बढी जवान देखिन्छन् । पुरुषले दैनिक सेभिङबाट गुज्रनुपर्ने हुन्छ । त्यसपछि आफ्टरसेभ र एस्ट्रिन्जेन्टको प्रयोगबाट पनि उनीहरूको छाला मोटो हुन्छ जसमा उमेरको चिन्ह र लाइन बढी देखिन्छ । सकारात्मक सोच विकसित गरी डिप्रेसनबाट जोगिन सकिन्छ । यसबाहेक आफ्नो वरपर घटिरहेका स–साना कुरामा खुसी खोज्ने प्रयास गर्नुपर्छ । कतिपय महिला चकलेट खाएर स्ट्रेस कम गर्छन् भने कतिपय चिया पिएर ।
स्लिम हुने चाहना : कहिलेकाहीँ महिलाहरूको स्लिम हुने चाहना खतरनाक हुन सक्छ र मोटोपन, हार्टअट्याक, डाइबिटिज, ओस्टियोप्रोरोसिस जस्ता रोगको कारण बन्छ तर आवश्यकताभन्दा बढी स्लिम हुनु पनि उपयुक्त होइन । विशेषज्ञहरूका अनुसार अत्यन्त स्लिम हुनुको साटो थोरै हेल्दी र हड्डीमा थोरै बोसो हुनु लामो र स्वस्थ जीवनका लागि राम्रो हुन्छ । यस्ता व्यक्तिको आयु बढी हुन्छ । अन्डरवेट व्यक्तिको शरीरमा पोषणको कमी हुन्छ । अर्को महत्वपूर्ण कुरा स्लिम हुन निरन्तर जिम जानुपर्ने वा दैनिक रूपमा लामो समयसम्म कठिन व्यायाम गर्नुपर्ने आवश्यकता कम हुन्छ । यद्यपि दिनभर घरको काममा सक्रिय रहे वा लामो समय पैदल हिँडे व्यायामको कमी पूरा हुन सक्छ ।
उपचार गर्नुभन्दा रोग लाग्न नदिनु राम्रो
रोग लागेर उपचार गराउनुभन्दा रोग लाग्न नदिनु नै उपयुक्त हुन्छ । यसका लागि जीवनशैली एवं आहार–विहारलाई सही र स्वस्थकर राख्नु आवश्यक छ । समय–समयमा शरीर परीक्षण गराउँदा पनि गम्भीर रोगबाट जोगिन सकिन्छ । समयमै समस्या थाहा पाउन सके स्वस्थ रहन सकिन्छ । महिलाहरूले आफ्नो उमेरअनुरूप स्वास्थ्य जाँच एवं खानपानमा ध्यान दिनुपर्छ ।
२० को उमेरपछि
–राम्रो हेल्थ हेबिट्स विकसित गर्नुपर्छ । पोषिलो भोजन गर्नुपर्छ । तौलमा नियन्त्रण राख्नुपर्छ । व्यायाम गर्नुपर्छ र स्मोक तथा ड्रिङ्कबाट जोगिनुपर्छ ।
–जनरल हेल्थका लागि ब्लडपेसर, कोलेस्ट्रोल, थाइराइड तथा ब्लड सुगर आदि जाँच गराउनुपर्छ ।
–२१ वर्षपछि वर्षमा एकपटक पेल्विक र दुई वर्षमा एकपटक पेप स्मियर टेस्ट गर्नुपर्छ, यसबाट सर्वाइकल क्यान्सरका सम्बन्धमा समयमै थाहा पाउन सकिन्छ । मासिक रूपमा ब्रेस्ट जाँच स्वयं आफैले गर्नुपर्छ । तीन वर्षमा एकपटक चिकित्सकबाट ब्रेस्ट जाँच गराउनुपर्छ ।
–पर्याप्त मात्रामा आइरन सेवन गर्नुपर्छ । कारण पिरियडका बेला औसत रूपमा १५–२० मिलिग्राम आइरन हरेक पटक लस हुन्छ जसले गर्दा एनिमिया हुनसक्छ ।
४० को उमेरपछि
–४० को उमेरपछि हरेक वर्ष वा एक वर्ष बिराएर मेमोग्राम गराउनुपर्छ ।
–कार्डियो वेस्कुलर डिजिजबाट जोगिनुपर्छ । ब्लडपेसर, कोलेस्ट्रोल र डायबिटिजको जाँच नियमित गराउनुपर्छ । ४० को उमेरपछि महिलाहरू मेनोपजको अवस्थाबाट गुज्रन्छन्, यसबाट शरीरमा हार्मोनल परिवर्तन हुन्छ, जसका कारण ब्याक, नेक, सोल्डर पेन, सिन्ड्रोम र फाइब्रोमाइल्जिया तथा अर्ली स्पोन्डिलाइटिस आदि समस्या हुन सक्छन् । डाइबिटिजको समस्या हुने सम्भावना पनि हुन्छ । हात एवं घुँडामा पीडा र औंला सुन्निने समस्या हुन सक्छ । त्यसबाट जोगिन सन्तुलित भोजनका साथै एरोबिक एक्सरसाइजमा जोड दिनुपर्छ । कार्बोहाइड्रेटको मात्रा कम गर्नुपर्छ । ४५ वर्षको उमेरपछि अस्टियोपोरोसिसको जाँच नियमित रूपमा गराउनुपर्छ । यो उमेरमा शरीरमा मेटाबोलिज्म डिक्लाइन सुरु हुन्छ । भविष्यमा हड्डीसित जोडिएका र अन्य बिरामीको जोखिम कम होस् भन्ने हेतुले पनि क्याल्सियम रिच, फाइबर रिच वस्तुहरू तथा लो फ्याट डेरी प्रोडक्ट र ओरेन्ज जुस, सोया मिल्क, मेवा तथा हरियो तरकारी आदि नियमित सेवन गर्नुपर्छ ।
५० को उमेरमा
–यो उमेरमा आर्थराइटिसको समस्या सामान्य हुन्छ । कुहिना, हात, काँध र घुँडा आदिमा फ्याक्चरको सम्भावना बढ्छ । त्यसका लागि सर्जरीको पनि आवश्यकता पर्न सक्छ ।
–स्वस्थ जीवनशैलीका साथै यो उमेरमा सक्रिय रहने बानीले विभिन्न समस्याबाट जोगिन सकिन्छ ।