Successfully Copied

गर्भाधानपूर्वको परामर्श

आमा बन्नु प्रत्येक महिलाको लागि खुसीको कुरा हो । महिलाले मात्र यस्तो सौभाग्य पाउँछन् । शारीरिक विकासका कारण महिला आमा बन्न सक्छिन् । यति हुँदाहुँदै पनि महिला आमा बन्नुअघि विशेष ध्यान दिनुपर्छ ।

प्रा. डा. चन्दा कार्की, काठमाडौं मेडिकल कलेज, सिनामंगल 

आमा बन्नु प्रत्येक महिलाको लागि खुसीको कुरा हो । महिलाले मात्र यस्तो सौभाग्य पाउँछन् । शारीरिक विकासका कारण महिला आमा बन्न सक्छिन् । यति हुँदाहुँदै पनि महिला आमा बन्नुअघि विशेष ध्यान दिनुपर्छ । गौशालाकी प्रजिताको भर्खरै विवाह भएको छ । आफ्नो करिअर र पढाइका कारण उनी अझ दुई वर्ष सन्तान नजन्माउने पक्षमा छिन् । उनको विचारसँग उनका श्रीमान् पनि सहमत छन् । त्यसैले उनीहरू आर्थिक, सामाजिक तथा पारिवारिक सबै रूपमा सक्षम भएपछि मात्र सन्तान जन्माउने पक्षमा छन् ।  

महिलाले कम उमेरमै शिशु जन्माउँदा शिशु खेर जाने सम्भावना बढी हुन्छ । महिना नपुगी शिशुको जन्म हुन्छ । 

शिशु उल्टो तथा तेर्सो बस्न सक्छ । रक्तचाप बढ्छ । जसलाई प्रि–क्ल्याम्पसिया भनिन्छ । 

महिलाको ज्यान जोखिममा पर्छ । खासगरी किशोरावस्थामा शिशु जन्माउँदा आमा तथा शिशु दुवैलाई समस्या पर्छ । विदेशतिर धेरैजसो युवायुवती यही उमेरमा मद्यपान तथा धूम्रपानको लतमा परेका हुन्छन् । यस्तो अवस्थामा सन्तान जन्माउँदा स्वास्थ्यका हिसाबले हानिकारक मानिन्छ । 

साधारणतया शिशु जन्माउन २० देखि ३५ वर्षको उमेर उपयुक्त हुन्छ । त्यसैले यो उमेरलाई प्रजनन् उमेर भनिन्छ ।

३५ वर्षको उमेरपछि शिशु जन्माउन समस्या पर्न सक्छ । उमेर बढी भएपछि गर्भवती नहुने समस्या पनि उत्तिकै रहन्छ । 

यसैगरी शिशु जन्मनुअघि महिला तथा पुरुष आर्थिक, सामाजिक, शैक्षिकलगायत अन्य हिसाबले पनि तयार रहनुपर्छ । यसबाट आमा तथा शिशु दुवैको स्वास्थ्य राम्रो रहन्छ ।

एउटा शिशु जन्मिएपछि जन्मान्तर कम्तीमा पनि ३ वर्ष राख्नुपर्छ । सुत्केरीपछि महिलाको पाठेघर पहिलेकै अवस्थामा आउन २–३ वर्ष लाग्छ । कुनै पनि महिला तथा पुरुषले शिशु जन्माउनुअघि के–कस्ता समस्या आइलाग्न सक्छन्, तिनलाई कसरी समाधान गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ । महिला तथा पुरुषलाई कुनै गम्भीर रोग लागेको भए चिकित्सकसँग छलफल गरेर उपचार गराउनुपर्छ । महिलालाई घरपरिवार एवं श्रीमान्ले पनि उत्तिकै सहयोग गर्नुपर्छ अनि मात्र स्वस्थ शिशुको जन्म हुन्छ । 

 Image