Successfully Copied

जंकफुडको तत्कालीन तथा दीर्घकालीन प्रभाव

जंकफुडले सर्ट टर्म (तत्कालीन) पेटमा असर पार्न सक्छ । यस्ता खानेकुरामा रेसा हुँदैनन् । फलस्वरूप पाचन क्रिया सुचारु हुँदैन ।

डा. प्रकाश पौडेल, फिजिसियन

चिरायु नेसनल हस्पिटल

जंकफुडले सर्ट टर्म (तत्कालीन) पेटमा असर पार्न सक्छ । यस्ता खानेकुरामा रेसा हुँदैनन् । फलस्वरूप पाचन क्रिया सुचारु हुँदैन । त्यसले कब्जियत तथा ग्यास्ट्रिकको समस्या उत्पन्न गर्न सक्छ । ग्यास्ट्रिक बिग्रिएर अल्सर पनि हुनसक्छ भने पछि ठूलो आन्द्राको क्यान्सर हुने डरसमेत हुन्छ ।

जंकफुडले पार्ने दीर्घकालीन असर

जंकफुडमा पोषण तत्वको कमी हुन्छ । टाउकोमा पनि यसको असर देखिन्छ । जंकफुड मात्र खाँदा अल्छी लाग्छ । काममा ध्यान केन्द्रित हुँदैन । शरीरमा अक्सिजनको मात्रा कमी हुँदा बालाबालिका एकोहोरा हुन्छन् ।

मुटुमा असर

 जंकफुडमा चिल्लोको मात्रा बढी हुन्छ । यसमा नकारात्मक चिल्लो पदार्थ बढी हुने भएकाले कोलस्ट्रोल बढ्छ । रक्त नलीमा बाधा पुर्‍याई रक्तसञ्चारमा बाधा पुर्‍याउँछ । त्यसैले अन्य खानेकुरा नपाइएको स्थितिमा क्षणिक समय जंकफुड खानु ठीकै हो, लामो समयसम्म यसको भर पर्नुहुँदैन ।

पहिले नै रोग लागिसकेकाहरूले सकेसम्म जंकफुड खानु हुँदैन । मधुमेह तथा उच्च रक्तचाप भैसकेकाले जंकफुड सेवन गरे रोगले प्रश्रय पाउँछ ।

जंकफुडले शरीरमा चिनीको मात्रा बढाएर मधुमेह देखिन सक्छ । चिनीको मात्रा बढी भए रगतको नली सुन्निने तथा मुटुका विभिन्न समस्या उत्पन्न हुन सक्छन् ।

कलेजोमा असर

 लामो समयसम्म जंकफुडमा मात्र भर पर्दा कलेजो तथा मिर्गौलामा असर पुग्छ । यस्ता खानेकुरामा चिल्लो तथा नुन बढी हुने भएकाले इलेक्ट्रोलाइटिक्सको मात्रा बढी भएर उच्च रक्तचापको समस्या देखिन्छ । कलेजोमा आवश्यक मात्रामा पौष्टिक तत्व नपुग्दा हड्डी कमजोर हुन्छ भने पछि गएर बाथ रोग पनि देखापर्नसक्छ ।

छालामा असर

 जंकफुडले छालामा पनि प्रभाव पार्छ । यसमा चिनीको मात्रा बढी हुने भएकाले छालामा पनि असर देखिन्छ जसका कारण उमेरै नपुगी छाला चाउरी पर्छ ।

मानसिक असर

 जंकफुडले डिप्रेसन पनि निम्त्याउँछ । यसमा क्यालोरी हुँदैन । जति खाए पनि पेट नभरिने र स्वादिलो हुने भएकाले अझ बढी खान मन लाग्छ । लामो समयसम्म यसको सेवन गर्दा चिनीको मात्रा बढी हुने भएकाले सुगर बढ्छ र अक्सिजनको मात्रा घट्छ । यसले गर्दा डिप्रेसन हुने सम्भावना पनि उत्तिकै रहन्छ ।

मोटोपन

जंकफुडमा अनावश्यक चिल्लो पदार्थ हुने भएकाले मोटोपनको समस्या देखापर्छ ।

यसबाहेक भूकम्पपछि अहिले धेरै जना घरबाहिर बस्न बाध्य भएका छन् । यसले गर्दा बाथ रोग लाग्ने सम्भावना पनि उत्तिकै हुन्छ । रातदिन चिसो ठाउँमा बस्दा छातीको संक्रमण भएर निमोनियाका रोगीको संख्या बढेको डा. पौडेल बताउँछन् । पहिलेदेखि दम रोग लागेकाहरूलाई धूँवा तथा धूलोका कारण गाह्रो भैरहेको हुन्छ । यसैगरी वातावरणका कारण यो समयमा टाइफाइडको सम्भावना पनि वृद्धि हुन्छ ।

समाधानका उपाय

अहिले धरैले विपत्तिका बेलामा जे उपलब्ध हुन्छ त्यही खानुपर्ने बाध्यता छ । घरबाहिर टेन्ट तथा खुला ठाउँमा बस्नुपर्ने बाध्यता पनि उत्तिकै छ । प्रकृतिले दिएको यो विपत्तिको सामना गर्दै आफ्नो स्वास्थ्यप्रति पनि जागरुक हुनुपर्छ । जे भए पनि सकेसम्म लामो समयसम्म जंकफुडको भर पर्नुहुँदैन । राम्रोसँग नपकाइएको खानेकुरा खाँदा अपच हुनुका साथै वाकवाकी लाग्छ । त्यसैले भात पनि राम्रोसँग पकाएर खानुपर्छ । गाउँघरतिर आफ्नै घरमा मकै, गहँु आदि उपलब्ध हुन्छन् । चना, मकैको सातु, गहुँको पिठोको रोटी खान सकिन्छ । यस्ता खानेकुरामा पौष्टिक तत्व बढी पाइन्छ । यसैगरी आफ्नो स्वास्थ्यको ख्याल गर्दै चिसो ठाउँमा बस्नुहुँदैन । फोहोर खानेकुरा नखाने, खानुअघि हात राम्रोसँग धुने तथा स्यानिटाइजरको प्रयोग गर्ने बानी बसाल्नुपर्छ । अहिले वर्षायाम छ । त्यसैले पानीबाट उत्पन्न हुने रोगबाट जोगिन सरसफाइमा ध्यान दिनुपर्छ । हैजा, मलेरिया आदि पानीको माध्यमबाट सर्ने भएकाले घर वरपर फोहोर भए तुरुन्त सफा गरी पानी जम्ने खाल्डाहरू पुर्नुपर्छ । पानी उमालेर मात्र पिउनुपर्छ । चर्पीको पनि उचित व्यवस्थापन गर्नुपर्छ ।

 Image