Successfully Copied

पिनास एक समस्या

काठमाडौं मैतीदेवीकी रमिता (नाम परिवर्तन) जहिले पनि टाउको दुख्ने समस्याबाट पीडित थिइन् । उनलाई टाउको दुख्नुको कारण पिनास थियो ।

डा. जयेन्द्र प्रधाना·, उप-प्रबन्धक

काठमाडौं इ.एन.टी. हस्पिटल

अद्वैतमार्ग, पुरानो बसपार्क

काठमाडौं मैतीदेवीकी रमिता (नाम परिवर्तन) जहिले पनि टाउको दुख्ने समस्याबाट पीडित थिइन् । उनलाई टाउको दुख्नुको कारण पिनास थियो । रमिता त एउटा उदाहरण मात्र हुन् । उनको जस्तो समस्या धेरैलाई हुन्छ ।

एक वर्षअघि पश्चिमतिरका ४५ वर्षीय रमेश (नाम परिवर्तन) टाउको दुख्ने, नाक बन्द हुने समस्या लिएर वीर अस्पताल आएका थिए । उनको नाकबाट गन्हाउने सिंगान पनि आइरहेको थियो । अस्पताल आउँदा उनको समस्या देखापरेको ३-४ महिना भैसकेको थियो । झारफुकबाट पनि समस्या समाधान नभएपछि रमेश अस्पतालमा आएका थिए । उपचारपछि उनको समस्या समाधान भयो ।

साधारणतया नाक वरिपरिको हड्डीमा हावा भरिएको खाली भागमा साइनसको संक्रमण हुनुलाई पिनास भनिन्छ । यी साइनसहरू स-साना प्वालका माध्यमबाट नाकको श्वासमार्गमा खोलिएका हुन्छन् । साधारणतया यस्ता साइनस चार प्रकारका हुन्छन् :

१. फ्रन्टल साइनस (निधारमा),

२. म्याक्सिलरी साइनस (गालाको माथिल्लो भाग भित्र),

३. इथमोडियल साइनस (आँखाका बीचमा) र

४. स्पहेनडियल साइनस (इथमोडियलको पछाडि) । समग्रमा यिनीहरूलाई प्यारान्यासल साइनस (पिएनएस) भनिन्छ ।

पिनास हुने कारण

१. नाकको संक्रमण : रुघा बिगि्रए, संक्रमण पिएनएसमा फैलिई पिनास हुन सक्छ ।

२. पौडी : पौडी खेल्दा पानीको फोहोर नाकबाट पिएनएसभित्र छिर्न सक्छ र संक्रमण भएर पिनास हुन सक्छ ।

३. चोट लागे : अनुहार तथा टाउकोमा गहिरो चोट लाग्दा पिएनएस हाडहरू भाँचिन सक्छन् र त्यस्तो अवस्थामा पिनास हुने सम्भावना बढी हुन्छ ।

४. दाँतको संक्रमण : माथिल्लो बंगाराको पि्रमोलर तथा मोलर दाँतहरूको वा गिजाको संक्रमण पिएनएसमा फैलिएर पिनास हुन सक्छ ।

५. पिएनएसका निकासमा अवरोध भए : नाकभित्रको हाड बाङ्गो भए, नाकभित्रको मासु सुन्निए वा मासु पलाए, नाकभित्र ट्युमर पलाए पिएनएसको निकासमा अवरोध हुँदा पिनास विकास हुन सक्छ ।

६. वातावरणको असर : जाडो अथवा वर्षायाममा पिनास हुने सम्भावना बढी हुन्छ । वायु प्रदूषण, धूलो-धूवाँ वा बढी भीडका कारण पनि पिनास हुन सक्छ ।

पिनास विकास गर्ने जीवाणुहरू

धेरैजसो पिनास सुरुमा भाइरसका कारण हुन्छ र पछि ब्याक्टेरियाले संक्रमण गर्छ । कहिलेकाहीँ ढुसीका कारण पनि पिनास हुन सक्छ । बाहिरी वातावरण धूवाँ-धूलो आदिका कारण पनि पिनास हुने सम्भावना हुन्छ ।

पिनासका लक्षण

-    टाउको भारी हुने, दुख्ने ।

-    निधार, गाला वा आँखाको बीच भाग दुख्ने, भारी हुने ।

-    नाक बन्द हुने ।

-    नाकबाट बाक्लो पहंेलो वा हरियो सिंगान आउने ।

-    नाकबाट दुर्गन्ध आउने ।

-    सुँघ्ने शक्तिमा कमी ।

-    माथिल्ला दाँतहरू दुख्ने ।

-    ज्वरो आउने ।

-    आँखाको परेला सुन्निने ।

-    नाक पछाडिबाट घाँटीमा केही बगिरहेजस्तो हुने । घाँटी खसखस हुने ।

-    लामो समयसम्म रुघा लागिरहने ।

-    कतिपय अवस्थामा पिनासको संक्रमणमा माथि उल्लेख भएका लक्षण एकैपटक नदेखिन सक्छन् ।

पिनासका लक्षण देखिए के गर्ने ?

रुघा लाग्दैमा, टाउको दुख्दैमा वा नाक बन्द हुँदैमा पिनास हुन्छ भन्ने छैन । साँच्चीकै पिनासको लक्षण देखिए निम्न उपाय अवलम्बन गर्न सकिन्छ ।

-    आराम गर्ने ।

-    चिसोबाट जोगिने, चिसो नपिउने ।

-    प्रशस्त मात्रामा झोल पदार्थ (मनतातो पानी, सुप, दालको रस आदि) सेवन गर्ने ।

-    बिहान-बेलुका भिक्स वा सन्चो हालेर तातोपानीको बाफ लिने ।

-    चिकित्सकको सल्लाहमा रुघाको औषधि सेवन गर्ने ।

त्यति गर्दा पनि २-३ दिनमा कुनै सुधार नआए चिकित्सकसँग परामर्श लिने । उपलब्ध भएसम्म नाक, कान, घाँटी रोग विशेषज्ञसँग परामर्श लिनु उपयुक्त हुन्छ ।

उपचार

कस्तो अवस्थामा शल्यक्रिया गर्नुपर्छ ?

पिनासको शल्यक्रिया :

१. एन्ट्रल ल्याभेज : म्याक्सिलरी साइनस (गालाभित्र) संक्रमण भएको अवस्थामा नाकभित्रबाट मोटो बाक्लो सुइले छेडेर उक्त पिनास सफा गर्न सकिन्छ ।

२. एफइएसएस शल्यक्रिया : इन्डोस्कोपको प्रयोगद्वारा नाक र पिएनएसको शल्यक्रिया गर्ने विधिलाई एफइएसएस भनिन्छ । यो विधिबाट शल्यक्रिया गर्दा बाहिर घाउ बनाउनु पर्दैन र नाक तथा पिएनएसभित्रका भागहरूलाई स्क्रिनमा हेर्दै शल्यक्रिया गरिन्छ ।

३. टि्रफिनेसन वा फ्रन्टल साइनस : फ्रन्टल साइनस (निधारमा) संक्रमण एन्टिबायोटिक्सबाट सुधार नभए वा त्यसकारण आँखा वरिपरि संक्रमण विकास भए, निधारको हाड छेडेर प्वाल बनाई पिनास सफा गर्न सकिन्छ ।

४. फंगल साइनसाइटिसमा पहिले शल्यक्रिया गरी संक्रमित भागहरू फालिन्छ र औषधि प्रयोग गरिन्छ ।

पिनासबाट हुन सक्ने जटिलता

नाक र पिएनएसमा सीमित : पिनासका कारण नाक र पिएनएसका झिल्ली सुन्निएर वा स्राव निस्कने ग्रन्थिरूहरूमा अवरोध भई मासु पलाउन सक्छ । कहिलेकाहीँ पिएनएस वरिपरिका हाडभित्र संक्रमण भई अस्टियोमिलिटिस हुन सक्छ ।

आँखा वरिपरि : पिनास आँखा वरिपरिका हाड तथा अरू तन्तुमा फैलन सक्छ । त्यस्तो अवस्थामा आँखा सुन्निने, आँखाको दृष्टि कमजोर हुने वा आँखै नदेख्ने सम्भावना पनि हुन्छ ।

मस्तिष्कमा असर : फ्रन्टल, एथ्मोइडल र स्पेनोइड साइनसहरू मस्तिष्कको नजिक अवस्थित छन् । यी भागहरूको पिनास सुधार नभएको अवस्थामा संक्रमण मस्तिष्कमा फैलिएर मस्तिष्क सुन्निने, मस्तिष्कको झिल्लीबाहिर पिप जम्ने, मस्तिष्कभित्र पिप जम्ने, मस्तिष्कभित्र ठूलो रक्त नली संक्रमण हुनेजस्तो समस्या विकसित हुनसक्छ । यी जटिलताको समयमै उपचार नभए बिरामीको ज्यान समेत जान सक्छ ।

पिनासका कारण कानभित्रको मध्यभाग, घाँटी तथा टन्सिलको संक्रमण हुन सक्छ ।

कसरी जोगिने ?

-    प्रशस्त मात्रामा पानी पिउने ।

-    चिसोबाट जागिने ।

-    तातोपानीको बाफ लिने ।

-    धूलो-धूवाँबाट जोगिने, सफा मास्क लगाउने ।

-    साधारण रुघाखोकी भनेर लापरबाही नगर्ने । रुघा लागे तातोपानीको बाफ लिने । आफूलाई एलर्जी हुने खालका कुराहरू नखाने ।

-    एलर्जीको उपचार गराउने ।

-    नाकभित्र मासु सुन्निएको, पलाएको, नाकभित्रको हाड बाङ्गएिको आदि स्थितिमा विशेषज्ञको परामर्शअनुसार शल्यक्रिया गर्ने ।

स्वास्थ्यका लागि मह कागती पानी

धेरैजसो मानिसमा बिहान उठ्नासाथ चिया पिउने बानी हुन्छ । कसैकसैलाई चिया नपिई पेट सफा हुँदैन जुन स्वास्थ्यको दृष्टिले हानिकारक हुन्छ । चियाको साटो बिहान कागती पानीमा मह मिसाएर पिउनु उपयुक्त हुन्छ । उठ्नासाथ एक गिलास पानीमा आधा कागतीको रस र मह मिसाएर सेवन गर्नुपर्छ । गर्मी मौसममा कागतीको रस र महलाई चिसो पानीमा मिसाएर पिउन सकिन्छ भने जाडो महिनामा भने मन तातोपानीमा । बिहान उठ्नबित्तिकै पानी पिउँदा पेट सफा हुन्छ भने कब्जियतको समस्याबाट पनि छुटकारा पाइन्छ । यसले भोक जगाउनुका साथै पेटमा भएको विकार पनि बाहिर निकाल्छ । महले शरीरमा भएको रोगसँग लड्ने क्षमता बढाउँछ । कागती नभएको अवस्थामा मह र पानी तथा मह नभए कागती र पानी मात्र पनि पिउन सकिन्छ ।

धेरै समय कुर्सीमा बसे उमेर कम हुन्छ

कतिपय मानिसको एकै ठाउँमा अर्थात् कुर्सीमा बसिरहने बानी हुन्छ । धेरै समयसम्म कुर्सीमा बसिरहँदा उमेर कम हुन्छ । बिएमजे ओपन नामक म्यागजिनमा प्रकाशित शोधअनुसार अमेरिकामा धेरै समय टिभी हेरेर कुर्सीमा बसिरहने मानिस कम बाँचेको पाइएको थियो । यस्तो निस्क्रियताले उमेर घटाउने कुरा उक्त शोधको निष्कर्ष छ । कुर्सीमा बसिरहँदा हुने बिरामीबाट मर्ने खतरा २७ प्रतिशत तथा टेलिभिजन हेरेर हुने बिरामीबाट मर्ने खतरा १८ प्रतिशत हुन्छ । रिपोर्टअनुसार कुनै पनि मानिस कुर्सीमा तीन घन्टा लगातार बसिरहे उसको उमेरको दुई वर्ष आयु घट्छ । लामो समय कुर्सीमा बस्ने मानिसको स्वास्थ्यमा पनि नकारात्मक असर पर्छ फलस्वरूप रक्तचाप तथा मुटुरोग आदिले आक्रमण गर्ने खतरा पनि बढ्छ ।

बहुउपयोगी प्याज

प्याजलाई तरकारीमा मात्र होइन औषधिका रूपमा पनि प्रयोग गर्न सकिन्छ । दाँतमा पीडा भए एक टुक्रा प्याज दाँतमा च्यापिराख्नुपर्छ । यसले केही मात्रामा भए पनि राहत प्राप्त हुन्छ । प्याजको सेवनले आँखाको ज्योति पनि बढाउँछ । डायरिया हुँदा प्याजको रस नाभिमा लगाउँदा फाइदा हुन्छ । अपच भए प्याजको रसमा थोरै नुन मिसाएर सेवन गर्दा लाभ हुन्छ । सेतो प्याजको रसमा थोरै मह मिसाएर सेवन गरे दमका रोगीलाई आराम मिल्छ । यसैगरी प्याजको रसमा मह मिसाएर सेवन गरे रक्तअल्पताबाट जोगिन सकिन्छ । गाँठागुँठीको पीडाले सताउँछ भने प्याजको रसले मालिस गरे फाइदा हुन्छ । प्याज सेवन गरे उच्च रक्तचाप पनि कम हुन्छ । बान्ता आएका बेला प्याजको टुक्रामा नुन मिसाएर खाए राहत मिल्छ । मानसिक तनावबाट छुटकारा प्राप्त गर्न पनि प्याज सेवन गर्नुपर्छ । प्याजमा भएको विशेष रसायनले पनि मानसिक तनाव कम गर्न सहयोग पुर्‍याउँछ ।

गालामा किस गर्नु स्वास्थ्यका दृष्टिले लाभदायक

कसैको बढुवा भयो, जागिर मिल्यो, अध्ययनमा सफलता प्राप्त भयो भने हात मिलाएर वा अंकमाल गरेर बधाई दिने चलन छ । यसो गर्नुभन्दा पनि गालामा चुम्बन गरेर बधाई दिनु उपयुक्त हुने कुरा एउटा अन्तर्राष्ट्रिय अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । अनुसन्धानकर्ताहरूका अनुसार हात मिलाउने क्रममा कतिपयको हात फोहोर हुनसक्छ । फलस्वरूप हात नधोई खानेकुरा खाँदा कीटाणुको संक्रमण हुने सम्भावना रहन्छ । हातबाट कीटाणु फैलन सजिलो हुन्छ । त्यसैले पनि हात मिलाएर बधाई दिनुभन्दा चुम्बन गरेर बधाई दिनु स्वास्थ्यका दृष्टिकोणले फाइदाजनक हुन्छ ।

 Image