Successfully Copied

महिला स्वास्थ्यमा उल्लेख्य सुधार

नेपाल मातृ तथा बाल मृत्युदर द्रुत गतिमा घटाउने (फास्ट ट्रयाक) विश्वका १० देशको सूचीमा परेको छ।

नेपाल मातृ तथा बाल मृत्युदर द्रुत गतिमा घटाउने (फास्ट ट्रयाक) विश्वका १० देशको सूचीमा परेको छ। सन् १९९० मा सहस्राब्दी विकास लक्ष्य (एमडीजी) सुरु भएपछि तोकिएको अवधि (२०१५) पुग्नुअघि नै लक्ष्य पूरा गरेका १० देशको सूचीमा परेको नेपालले जोहानेसबर्गमा प्रशंसा समेत पायो। नेपाल सन् १९९० को तुलनामा मातृमृत्युदर ८० प्रतिशतले घटाउन सफल भएको छ।

सन् १९९६ मा मातृमृत्युदर प्रतिलाखमा ५ सय ३९ पुगेको थियो। महिलासम्बन्धी सहस्राब्दी लक्ष्यमा अहिलेको १ सय ७० संख्या घटाएर १ सय ३४ पुर्‍याउने लक्ष्य रहेको परिवार स्वास्थ्य महाशाखाकी निर्देशक डा. किरण रेग्मीले बताइन्। मातृमृत्युदर घट्नुमा आमा सुरक्षा कार्यक्रमले धेरै हदसम्म काम गरेको रेग्मीको तर्क छ। दक्ष प्रसूतिकर्मीबाट सुत्केरी गराउने, स्वास्थ्य संस्थामा सुत्केरी गराउन प्रोत्साहित गर्न भत्ता बाँडेर, प्रसूति सेवा नि:शुल्क गरेर तथा अन्तरिम संविधानमा स्वास्थ्यलाई मौलिक हकका रूपमा राखेर जस्ता स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमका कारण उक्त उल्लेख्य सुधार आएको हो। आर्थिक वर्ष २०७०/७१ देखि महाशाखाले न्यानो झोला कार्यक्रम पनि ल्याएको छ। न्यानो झोलाअन्तर्गतको यो कार्यक्रममा नवजात शिशुका लागि दुई सेट दौरा, भोटो, टोपी, नेपकिन, महिलाका लागि म्याक्सी वितरण हुँदै आएको छ। यो वर्षदेखि महिलाका लागि दुईवटा पेन्टी तथा सेनिटरी प्याड पनि थप गरिने डा. किरणले बताइन्। न्यानो झोला सरकारी अस्पताल, जिल्ला अस्पताल तथा स्वास्थ्य चौकीमा प्रसूति गराउन आउनेहरूलाई दिइनेछ। यसबाट पनि अस्पतालमै डेलिभरि गर्न आउने महिलाहरूको संख्या बढेको डा. किरणले बताइन्। पहिले अस्पतालमा सुत्केरी हुन आउने २० प्रतिशत थिए भने यो कार्यक्रम आएपछि ५० प्रतिशत भएको छ। यसैगरी नेपाल सरकारले आङ खस्ने समस्या भएका महिलालाई नि:शुल्क उपचार गराउने कार्यलाई यो वर्ष पनि निरन्तरता दिँदैछ।  

नारी मासिकलेे महिलामा देखापर्ने प्रमुख समस्या तथा त्यसको निराकरणका बारेमा विज्ञ चिकित्सकहरूसँग कुराकानी गर्‍यो। कुराकानीका सिलसिलामा काठमाडौं मेडिकल कलेजकी प्रा.डा. चन्दा कार्की, मोडल अस्पतालकी डा. अरुणा कार्की, नर्भिक अस्पतालकी डा. अचला वैद्य, सुखी परिवार क्लिनिककी डा. तुमला लाकौल शाह आदिले हिजोआज आफूलाई परेको समस्या भन्न नडराउने तथा नियमित रूपमा उपचार गराउन आउने महिलाहरूको संख्या केही हदसम्म बढेको बताए।

प्रस्तुति : उपासना पाण्डे

देश           बालमृत्युदर     प्रतिहजार जन्म     मातृमृत्युदर     प्रतिलाख जन्म     

                   सन् १९९०          सन् २०१२            सन् १९९०          सन् २०१३

नेपाल             १४२                    ४२                   ७९०                    १७०

बंगलादेश        १४४                   ४१                    ५५०                   १७०

चीन                 ५४                    १४                      ९७                     ३२

इजिप्ट              ८६                    २१                      १२०                   ४५

इथियोपिया     २०४                   ६८                    १४००                 ४२०

लाओस            १६३                   ७२                    ११००                 २२०

पेरु                    ७९                   १८                     २५०                    ८९

रुवान्डा            १५१                   ५५                    १४००                 ३२०

कोलम्बिया       ११६                   ४०                     १२००                 १७०

भियतनाम         ५१                   २३                     १४०                  ४९

स्रोत : एसएमआइएस तथा एन डी एच एस

महिला स्वास्थ्य तथा नियमित जाँच

     - डा. उर्मिला कार्की

नियमित स्वास्थ्य जाँच सबैका लागि आवश्यक छ। अहिले सबै स्वास्थ्य संस्थामा नियमित रूपमा सबै रोगको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था भए पनि हामी रोगले नच्यापेसम्म जँचाउन जाँदैनौं। हामीकहाँ रोगले विकराल रूप लिएपछि मात्र स्वास्थ्य संस्थामा पुग्ने चलन छ जुन गलत हो। सबैले वर्षको एकपटक नियमित स्वास्थ्य जाँच गराउनु आवश्यक छ।

प्याप स्मेयर टेस्ट : साधारणतया महिलाको मासिक धर्म सुरु भएपछि अनि शारीरिक सम्बन्ध राख्ने प्रत्येक महिलाले यो टेस्ट गराउनु आवश्यक छ। यो एक किसिमको स्क्रिनिङ टेस्ट हो। शारीरिक सम्बन्ध राख्ने महिलादेखि लिएर ७० वर्ष उमेरका सम्मकाले यो टेस्ट गराउनुपर्छ। यसबाट पछि गएर सर्भिकल क्यान्सर हुने नहुने कुरा पत्ता लाग्छ। प्याप स्मेयर टेस्ट दुई किसिमबाट गर्न सकिन्छ।

ल्युकोरिया टेस्ट : यसबाट सामान्य संक्रमण पत्ता लगाउन सकिन्छ। यो टेस्ट शारीरिक सम्बन्धमा निर्भर रहन्छ। अविवाहित एवं शारीरिक सम्पर्क नगर्ने महिलाले यो टेस्ट नगराउँदा पनि हुन्छ।

इन्फेक्सन टेस्ट : प्याप इन्फेक्सन टेस्ट पनि दुई किसिमको हुन्छ। साधारण समस्या भए सकारात्मक सोच राखेर वा एन्टिबायोटिक औषधिको सेवन गरे यो समस्या समाधान हुन्छ। अर्को हाइपर प्लेसिया प्याप इन्फेक्सन टेस्ट महत्वपूर्ण टेस्ट हो। यो टेस्टबाट अण्डाशयमा कुनै सिस्ट छ कि छैन पत्ता लगाउन सकिन्छ। महिलाले ४० वर्षको उमेरपछि यो टेस्ट गराउनुपर्छ। 

मेमोग्राफी : स्तन क्यान्सर अहिले महिलाको प्रमुख समस्या बनेको छ। महिलाले समयमै आफ्नो स्वास्थ्यमा ध्यान नदिँदा यस्तो रोगको सिकार बन्नुपर्ने हुन्छ। स्तनमा वा स्तनको वरिपरि गाँठो आए चिकित्सकको सल्लाह लिनुपर्छ। २० वर्षको उमेरदेखि महिलाले प्रत्येक वर्ष मेमोग्राफी गर्नुपर्छ। यसैगरी २० वर्षको उमेरपछि आफैंले पनि घरमै स्तन जाँच गर्नुपर्छ। यसबाट स्तनमा गाँठागुठी भए नभएको थाहा पाउन सकिन्छ।

अल्ट्रासाउन्ड : ३० वर्षको उमेरपछि महिलाको हर्मोन परिवर्तन भैरहन्छ। अण्डाशयको आकार बढेको छ कि अण्डाशयमा सिस्ट तथा गाँठा छ कि भन्ने कुरा पत्ता लगाउन अल्ट्रासाउन्ड गराउनुपर्छ। प्रत्येक वर्ष अल्ट्रासाउन्ड गराउनुपर्छ। यसबाट सिस्ट भए नभएको तथा हर्मोन परिवर्तनबाट हुने रोग पनि समयमै पत्ता लाग्छ र तुरुन्तै उपचार गराई रोग मुक्त हुन सकिन्छ।

बायोप्सी : एकपटक अल्ट्रासाउन्ड गराएपछि सिस्ट पाइए तत्काल त्यसको बायोप्सी टेस्ट गराउनुपर्छ। यो टेस्टमा इन्जेक्सनको सहायताले सिस्टको तरल पदार्थ स्याम्पलका रूपमा झिकिन्छ र त्यसको जाँचबाट उक्त गाँठो क्यान्सर हो कि होइन भन्ने कुरा पत्ता लाग्छ।

लक्षण : बायोप्सी टेस्ट नियमित रूपमा गराउनुपर्छ। हार्मोन परिवर्तनका कारण हुने सिस्टबाट पेटको तल्लो भागमा हुने पीडाले भयंकर रूप लिन्छ त्यसैले पनि आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ।

एफएसएच टेस्ट : यो टेस्ट महिलाले आफ्नो मेनापज हुने समयमा वा भैसकेपछि गराउनुपर्छ। यसले मेनापजको समयमा वा भैसकेपछि हुने बिरामीबाट जोगाउँछ।

पेल्भिक इग्जाम : यो टेस्ट वर्षमा एकपटक गराउनुपर्छ। यसले पाठेघर, जननाङ्ग, ब्लाडर आदिमा हुने परिवर्तन थाहा पाउन सहयोग गर्छ। त्यसमा कुनै असामान्य परिवर्तन आउँदैछ भने पनि यो टेस्टबाट पत्ता लाग्छ।

कोलस्ट्रोल टेस्ट : ४५ वर्षको उमेरपछि कोलस्ट्रोलको नियमित जाँच गराउनुपर्छ। उमेर ४५ वर्ष पुगेको छैन तर धूम्रपान गर्ने बानी छ भने बेला-बेलामा कोलस्ट्रोल टेस्ट गराउनुपर्छ। धेरै मोटाएर बिरामी भए ४० वर्षको उमेरपछि नै यो टेस्ट गराउनुपर्छ।

अस्टियोपोरोसिस टेस्ट : अहिले महिलाको आम समस्या बनेको छ अस्टियोपोरोसिस अर्थात् हड्डी खिइने रोग। महिलाले ३० वर्षको उमेरदेखि ३५ वर्षको उमेरसम्म शिशु जन्माउँछन्। डेलिभरीपछि महिलाको शरीरबाट पर्याप्त मात्रामा सेतो पानी बग्छ। यसको कारण महिलाको शरीरबाट क्याल्सियम बाहिर निस्कन्छ र हड्डी कमजोर हुन्छ। यसले गर्दा हल्का चोट लाग्नासाथ हड्डी भाँचिन्छ। यसैगरी मेनापजपछि हार्मोनल परिवर्तनका कारण पनि महिलाको हड्डी कमजोर हुन्छ। त्यसैले बोन डेन्सिटियोमिस्ट्री टेस्ट गराएर हड्डीमा क्याल्सियमको मात्रा कति छ पत्ता लगाउनुपर्छ।

कोलोन क्यान्सर : ४५ वर्षका महिलामा कोलोन क्यान्सरको खतरा बढ्छ। त्यसैले यसको नियमित जाँच गर्नुपर्छ।

एफओबिटी : कोलोन क्यान्सरका लागि प्रत्येक वर्ष महिलाले एफओबिटी टेस्ट गराउनुपर्छ। यो टेस्टका लागि दिसाको स्याम्पल लिनुपर्छ। यो टेस्टबाट पेटमा कुनै किसिमको रगत भए नभएको पत्ता लाग्छ।

फ्लेक्जिबल सिग्मोइन्डोस्कोपी : यो जाँच प्रत्येक ५ वर्षमा एकपटक गराउनुपर्छ। यसबाट कलेजो, पेट तथा जननाङ्गमा कुनै पनि प्रकारको सुजन छ-छैन पत्ता लगाउन सकिन्छ।

कोलोनोस्कोपी : कोलोनोस्कोपी प्रत्येक १० वर्षमा एकपटक गराउनुपर्छ। ४० वर्षको उमेरमा गराएको छ भने ५० वर्षको उमेरमा पनि गराउनुपर्छ।

महिलाले माथिका टेस्टका अतिरिक्त अरु टेस्ट आदि पनि नियमित रूपमा गराउनु जरुरी हुन्छ। उच्च रक्तचाप, मधुमेह, डिप्रेसन, ओबिसिटी टेस्ट पनि समय-समयमा गराइरहनुपर्छ। यसले गर्दा समयमै रोग पत्ता लाग्छ र उपचार सहज हुन्छ।

गर्भाधानपूर्वको परामर्श

     - प्रा. डा. चन्दा कार्की

काठमाडौं मेडिकल कलेज, सिनामंगल

आमा बन्नु प्रत्येक महिलाका लागि खुसीको कुरा हो। प्रकृतिले नारी जातिलाई मात्र आमा बन्ने सौभाग्य प्रदान गरेको हुनाले पनि आमा बन्नु विशेष कुरा हो। प्राकृतिक भए पनि हरेक महिलाले आमा बन्नुअघि केही कुरामा विशेष ध्यान पुर्‍याउनुपर्छ।

मैतीदेवीकी रिताको भर्खर विवाह भएको छ। आफ्नो करियर र पढाइका कारण उनी अझ दुई वर्ष सन्तान नजन्माउने पक्षमा छिन्। रिताको विचारसँग उनका श्रीमान् पनि सहमत छन्। उनीहरू आर्थिक, सामाजिक तथा पारिवारिक स्थिति अनुकूल भएपछि मात्र सन्तान जन्माउने पक्षमा छन्।

  महिलाले कम उमेरमै सन्तान जन्माउँदा शिशु खेर जाने सम्भावना बढी रहन्छ। महिना नपुगी शिशुको जन्म हुन्छ। शिशु उल्टो तथा तेर्सो बस्न सक्छ। रक्तचाप बढ्छ। जसलाई प्रि-एक्ल्याम्पसिया भनिन्छ। यसबाट महिलाको ज्यान जोखिममा पर्छ। खासगरी किशोरावस्थामा शिशु जन्माउँदा आमा तथा शिशु दुवैलाई समस्या पर्छ। कम उमेरमा सन्तान जन्माउनु स्वास्थ्यको दृष्टिकोणले हानिकारक छ।

साधारणतया अभिभावकत्व बहन गर्न २० देखि ३५ वर्षको उमेर उपयुक्त मानिन्छ। त्यसैले यो उमेरलाई प्रजनन्योग्य उमेर पनि भनिन्छ। ३५ वर्षपछि शिशु जन्माउँदा पनि समस्या हुनसक्छ। उमेर बढी भएपछि गर्भ नरहने समस्या पनि उत्तिकै हुन्छ।

शिशु जन्मनुअघि महिला तथा पुरुष आर्थिक, सामाजिक, शैक्षिक आदि दृष्टिकोणले पनि सक्षम हुनुुपर्छ। एउटा शिशु जन्मिएपछि जन्मान्तर कम्तीमा पनि ३ वर्ष राख्नुपर्छ किनभने सुत्केरीपछि महिलाको पाठेघर पहिलेकै अवस्थामा आउन २ देखि ३ वर्ष लाग्छ। ३ वर्षको अन्तर राख्न सके आमा तथा शिशु दुवैको स्वास्थ्य राम्रो रहन्छ।

कुनै पनि महिला तथा पुरुषले शिशु जन्माउनुअघि के-कस्ता समस्या पर्न सक्छन् ? त्यसलाई कसरी समाधान गर्ने ? भन्ने कुरामा ध्यान दिनुपर्छ। महिला तथा पुरुषलाई कुनै गम्भीर रोग लागेको भए चिकित्सकसँग छलफल गरेर उपचार गराउनुपर्छ। महिलालाई घरपरिवार तथा श्रीमान्ले पनि उत्तिकै सहयोग गर्नुपर्छ। यति गर्न सके स्वस्थ शिशुको जन्म हुन्छ।

गर्भावस्थाका जटिलताहरू

     - डा. अचला वैद्य

नर्भिक इन्टरनेसनल हस्पिटल

आमा बन्ने सौभाग्य महिलाले मात्र पाउँछन्। आमा बन्नु महिलाको नैसर्गिक अधिकार हो। यति हुँदाहुँदै पनि गर्भावस्थामा महिलाले अप्ठ्यारो परिस्थितिको पनि सामना गर्नुपर्छ। त्यसैले कुनै पनि महिला गर्भवती भएको तीन महिनामा गर्भस्थ शिशुको अवस्था राम्रो छ कि छैन हेर्नुपर्छ। शिशु पाठेघरमा बसेको छ कि छैन अल्ट्रासाउन्डबाट हेरेर पत्ता लगाउनुपर्छ। यसैगरी शिशु पाठेघरभित्र नबसी ट्युबमा बसेको छ कि हेर्नुपर्छ। ट्युबमा बसेको भए शिशु बढ्न पाउँदैन। त्यस्तो स्थितिमा  समय नपुगी ट्युब फुटेर शिशु खेर जानुका साथै आमाको स्वास्थ्यमा पनि नकारात्मक असर पर्छ। यस्ता कुरा थाहा पाउन गर्भ रहनासाथ अल्ट्रासाउन्ड गराउनुपर्छ।

गर्भावस्थामा देखापर्न सक्ने केही जटिलता 

रक्तस्राव हुनु : कतिपय महिलालाई गर्भावस्थामा पनि रक्तस्राव हुन सक्छ। त्यस्तो भए तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ। रक्तस्राव बढी भएकै कारण कतिपय महिलाको गर्भ खेर पनि जान्छ। त्यस्तो भए चिकित्सकको सल्लाह लिई आराम गर्नुपर्छ। गर्भ रहेको सुरुको अवस्थामा र पाँच महिनापछि रगत देखिन सक्छ।

बान्ता आउनु : गर्भ रहेको सुरुदेखि २-३ महिनासम्म वाकवाकी लाग्छ। यसलाई सामान्य रूपमा लिन सकिन्छ तर कतिपय महिलालाई बढी नै बान्ता हुनसक्छ। त्यस्तो अवस्थामा भने चिकित्सकको सल्लाह आवश्यक हुन्छ। सामान्य अवस्थामा तीन महिनापछि बान्ता आउन आफैं रोकिन्छ।

रक्तचाप बढ्नु : गर्भ रहेपछि कसैकसैको रक्तचाप बढ्छ। गर्भवती महिला पहिलेदेखि नै मधुमेहका बिरामी भए रक्तचाप बढ्ने सम्भावना बढी हुन्छ। यसले गर्दा गर्भवती महिलाको पेटमा रहेको पानीको मात्रा कम हुन्छ। गर्भको शिशुले पानीमा खेल्न नपाउँदा उसको मृत्यु पनि हुनसक्छ। रक्तचाप उच्च भएका महिलाको कलेजो, मुटु तथा मिर्गौलामा असर पुग्न सक्छ। धेरैजसो महिलालाई गर्भ रहेको २० हप्तापछि रक्तचाप बढ्छ। शिशु जन्मिएपछि पनि ६ हप्तासम्म औषधि सेवन गर्नुपर्ने हुनसक्छ। गर्भ रहेको बेला रक्तचाप बढे चिकित्सकको सल्लाह लिनुपर्छ। यस्तो अवस्थामा उच्च रक्तचाप देखिनुलाई जेस्टेस्नल हाइपरटेन्सन  भनिन्छ। यस्तो बेला रक्तचाप कम गर्न चिकित्सकको सल्लाहमा गर्भस्थ शिशुलाई असर नपुर्‍याउने सामान्य औषधि खान सकिन्छ।

मधुमेह देखिनु : गर्भावस्थामा कतिपयलाई मधुमेह देखिन सक्छ। परिवारमा आमाबुवालाई मधुमेह छ भने गर्भवती महिलामा पनि मधुमेह देखिने सम्भावना अझ बढी हुन्छ। खासगरी गर्भवती महिलालाई २८ हप्तापछि मधुमेह देखिन सक्छ। मधुमेह गर्भावस्थामा मात्र देखिएर पछि आफैं हट्छ। गर्भावस्थामा मधुमेह देखिए चिकित्सकको सल्लाहमा रगतमा चिनीको मात्रा जाँच गराउनुपर्छ। गर्भावस्थामा मधुमेह देखिनुलाई जेस्टेस्नल डायविटिज भनिन्छ।

अटो इम्युन डिजिज : गर्भावस्थामा महिलाले आफ्नैविरुद्ध एन्टी बडी बनाइरहेका हुन्छन्। यो थाहै नपाई हुन्छ। गर्भवती महिलाका पहिलेका १-२ वटा गर्भ खेर गएका छन् भने त्यस्तो अवस्थामा फेरि पनि गर्भ खेर जान सक्छ।

संक्रमण : यो अवस्थामा योनि रसिलो हुने भएकाले सरसफाइमा ध्यान दिइएन भने छिट्टै संक्रमण हुन्छ। सफाइ नगर्दा गन्हाउने सेतो पानी बग्ने, समय नपुगी शिशु जन्मने, पेट दुख्ने आदि समस्या देखापर्छ त्यसैले सरसफाइमा विशेष ध्यान दिनुपर्छ। भित्री वस्त्र बारम्बार सफा गरिरहनुपर्छ।

सुझाव

कुनै पनि महिलाले आमा बनेपछि मात्र पूर्णता महसुस गर्छिन्। यसका लागि गर्भ रहनुअघि मानसिक, शारीरिक तथा आर्थिक रूपमा बलियो हुनुपर्छ। गर्भ रहनुअघि महिलालाई कुनै रोग लागेको छ कि छैन जाँच गराउनुपर्छ। हिजोआज थाइराइड धेरैलाई देखिने भएकाले गर्भ रहनुअघि यसको पनि जाँच गराउनुपर्छ। थाइराइडको मात्रा बढी छ भने गर्भ तुहिन सक्छ। त्यसैले आमा बन्नुभन्दा ६ महिनाअघि आमा बन्न फिट भए नभएको जाँच गराउनु राम्रो हुन्छ। कतिपय महिलामा मद्यपान, धूम्रपान गर्ने बानी हुन्छ। उनीहरूले गर्भ रहेपछि मात्र त्यो बानी छोड्छन्। यसो गर्नु गलत हो। यसले गर्भको शिशुलाई पनि हानि पुर्‍याउँछ। गर्भधारण गर्नुभन्दा १-२ वर्षअघि नै छोड्नु धुमपान मध्यपान उत्तम हुन्छ। त्यसैगरी पाठेघरको अवस्था कस्तो छ, ट्युमर छ कि छैन, रक्तचाप तथा मधुमेहजस्ता रोग भए नभएको जाँच गरी उपचार गराएर मात्र गर्भधारण गर्नु उपयुक्त हुन्छ।

के हो बाँझोपन ?

     - डा. तुम्ला लाकौल शाह

सुखी परिवार क्लिनिक

विवाह भएको १ वर्षसम्म पनि परिवार नियोजनको कुनै साधन प्रयोग नगरी यौन सम्पर्क गर्दा पनि सन्तान भएन भने बाँझोपन भएको आशंका गर्न सकिन्छ। यस्तो समयसीमा पहिले विवाह भएको दुई वर्ष भनिए पनि अहिले एक वर्षलाई मान्ने गरिएको छ। बाँझोपन खासगरी दुईवटा कारणले गर्दा हुन्छ-

-    महिलाका कारण-डिम्बवाहिनी नली बन्द हुनु, नियमित महिनावारी तथा डिम्ब निष्काशनमा गडबडी आउनु।

-    पुरुषका कारण-वीर्यमा शुक्रकीटको मात्रा कम हुनु (ओलिगो स्पर्मिया) वा शुक्रकीट स्वस्थ नहुनु। 

बाँझोपन हुने कारण

-    पुरुषको गुप्ताङ्गको विकास राम्रोसँग नभए।

-    पुरुषको वीर्यनलीमा सिस्ट, ट्युमर भए।

-    क्षय रोग।

-    बढी मात्रामा धूम्रपान तथा मदिरापानका कारण शुक्रकीटको मात्रा कम भए।

-    महिलाको बढ्दो उमेर। 

-    महिलामा जन्मजात पाठेघरको विकास नहुनु।

-    सेतो पानी बग्ने तथा तल्लो पेट दुख्ने समस्याको उपचार समयमै नगराउँदा ट्युब बन्द हुनु।

-    हार्मोनको उतारचढाव।

-    मनोवैज्ञानिक कारणले पनि मानसिक असर पुग्छ। मस्तिष्क तथा पाठेघर एक-अर्काप्रति निर्भर हुँदा पनि पारिवारिक दबाब पर्न गए असर पर्छ। यसले गर्दा पनि बाँझोपन हुन्छ।

-    पहिलो शिशु नजन्माई गर्भपात गराउँदा।

-    महिला तथा पुरुषले सन्तान उत्पादनका लागि सर्जरी गराउनु।

-    मोटोपन, खानपानको कमी, जंक फुडको बढी प्रयोग आदि।

उपचार विधि

हिजोआज महिला तथा पुरुषमा धूम्रपान एवं मद्यपान गर्ने प्रवृत्ति बढ्दो छ। यसले गर्दा बाँझोपन हुन्छ। त्यसैले यो बानी त्याग्नुपर्छ।

-    बाँझोपन भएका महिलाहरूको पाठेघर तथा दिसा-पिसाबको जाँचपछि औषधि दिइन्छ। यति गर्दैमा सन्तान जन्मन सक्छ।

हिस्टोसाल्पिंगोग्राफी : यो विधिबाट उपचार गराउँदा महिलाको पाठेघरमा औषधि पठाएर नली बन्द वा खुल्ला भएको हेरेर उपचार सुरु गरिन्छ।

हिस्टेरोस्कोपी : यो उपचार विधिमा महिलाको पाठेघरको भित्री भाग ठीक अवस्थामा छ-छैन जाँच गरेर

उपचार गरिन्छ।

डायग्नोस्टिक लेप्रोस्कोपी : यसमा रोगीको नाइटोमुनि सानो घाउ बनाएर भित्रको अवस्था हेरेर उपचार गरिन्छ। 

उपचारपछि ठीक हुने भएकाले बाँझोपन भए पनि आत्तिनुहुँदैन।

कुन क्षेत्रमा बढी

सहरी क्षेत्रको तुलनामा ग्रामीण भेगमा यस्ता रोगीको संख्या बढी छ। पुरुषप्रधान हाम्रो समाजमा सन्तान नभए महिलामाथि दोष थोपर्ने चलन यथावत् छ। यसले पनि महिलामा बाँझोपन निम्त्याउँछ। उपचार गराउनुको साटो आत्मबल कमजोर हुने खालको व्यवहार गरिन्छ जसले गर्दा रोग अझ बढ्छ।

सुझाव

एक वर्षसम्म सन्तान भएन भने चिकित्सकको सल्लाह लिन दुवै जना अस्पताल जानुपर्छ। यो उपचार प्रक्रियामा पारिवारिक सहयोग पनि उत्तिकै आवश्यक हुन्छ। धूम्रपान, मद्यपान त्याग्नुपर्छ। अनावश्यक चिन्ता लिनुहँुदैन। जंक फुड खानुहुँदैन। पोषणयुक्त खाना खानुपर्छ। शारीरिक व्यायाम गर्नुपर्छ भने श्रीमान्-श्रीमतीबीच सुमधुर सम्बन्ध हुनुपर्छ।

के हो टेस्टट्युब बेबी ?

     - प्रा.डा. उमा श्रीवास्तव, नि:सन्तान केन्द्र, बिजुलीबजार

कस्तो अवस्थामा दम्पतीले टेस्टट्युब बेबी अपनाउने ?

-    महिलाको पाठेघरमा रहेका दुवै डिम्बवाहिनी नली बन्द भए।

-    इन्डो मेटि्रयोसिस रोग (पाठेघरको भित्री तह डिम्बाशय माबि गएर रक्तस्राव हुनु) भए।

-    पुरुषमा शुक्रकीटको मात्रा धेरै कम भए अर्थात् शुक्रकीट सक्षम नभए।

प्रक्रिया

टेस्टट्युब बेबी जन्माउन चाहने महिलालाई विशेष औषधियुक्त इन्जेक्सन दिइन्छ। यसले महिलाको डिम्बाशयमा पर्याप्त डिम्बको विकास गर्छ। ती डिम्ब परिपक्व भए नभएको जाँच गरिन्छ। डिम्बको आकार अल्ट्रासाउन्डबाट हेरिन्छ। त्यसपछि हार्मोनयुक्त इन्जेक्सन लगाएर परिपक्व डिम्बलाई सक्षम बनाइन्छ र अल्ट्रासाउन्डको माध्यमबाट हेरेर उक्त सक्षम डिम्बलाई इन्जेक्सनकै माध्यमबाट बाहिर निकाली टेस्टट्युबमा जम्मा गरिन्छ। यो डिम्बलाई श्रीमान्को शुक्रकीटसँग मिसाइन्छ। श्रीमान्को शुक्रकीट काम नलाग्ने भए अन्य पुरुषको शुक्रकीट मिलाउने चलन पनि चलिसकेको छ। त्यसपछि इन्क्युवेटरमा शुक्रकीट तथा डिम्ब राखिन्छ। करिब २४ घन्टापछि माइक्रोस्कोपको सहायताले गर्भधारण भए नभएको थाहा पाउन सकिन्छ। गर्भधारण भएको अवस्थामा भ्रूणलाई २-३ दिनसम्म इन्क्युभेटरमा राखिन्छ। भ्रूणको उचित विकास भैसकेपछि ८ सेल स्टेजमा इन्क्युभेटरबाट निकाली महिलाको पाठेघरमा सुरक्षित प्रतिस्थापन गरिन्छ। त्यसपछि महिलाको पाठेघरमा भ्रूणको विकास हुन्छ। करिब १५-२० दिनपछि रगत तथा पिसाब जाँच गरेर गर्भ रहे-नरहेको थाहा पाउन सकिन्छ।

महिलाले अपनाउनुपर्ने प्रक्रिया

माथिको प्रक्रियाबाट महिला गर्भवती भए ३ महिना आराम गर्नुपर्छ। अन्य साधारण गर्भवती महिलाजस्तै टेस्टट्युब प्रविधिबाट गर्भवती भएका महिलाले पनि पोषिलो खानेकुरा खानुपर्छ। यात्रा गर्दा भने पहिलो तीन महिना विशेष सावधानी अपनाउनुपर्छ।

कस्ता महिला आउँछन् ?

विवाह भएको ५-६ महिनामै पनि सन्तान नभएर आउनेदेखि लिएर १२ वर्षसम्म पनि सन्तान नभएकाहरू उपचारका लागि आउने गरेका छन्।

जटिलता

-    टेस्टट्युब  प्रक्रियामा ३-४ वटा भ्रूण पठाइने भएकाले जुम्ल्याहा, तिम्ल्याहा जन्मने गरेका छन्।

-    हार्मोन इन्जेक्सनका कारण हाइपर स्टिमुलेसन कम्प्िलकेसन हुनसक्छ।

-    पाठेघरमा ठूला-ठूला गाँठागुँठी पैदा भएर पेटमा बढी पानी बनेर छातीमा जम्दा इमर्जेन्सीमा भर्ना हुनुपर्ने अवस्था सिर्जना हुनसक्छ।

-    असफल हुने सम्भावना पनि हुन्छ।

-    संक्रमण हुन सक्छ।

कसले गर्न सक्छन् ?

चाहँदा चाहँदै पनि सन्तानको सुख प्राप्त गर्न नसकेका दम्पतीले यो सुविधा लिन सक्छन्। महिलाहरूले महिनावारी नरोकिँदासम्म टेस्टट्युब बेबी जन्माउन सक्छन्। यो प्रक्रिया अपनाउँदा श्रीमान्-श्रीमती दुवैको सहमति आवश्यक हुन्छ।

टेस्टट्युब बेबीप्रतिको धारणा

आममानिसमा टेस्टट्युब बेबी भन्नासाथ टेस्टट्युबबाट नै बच्चा जन्माउने भन्ने भ्रम छ। कतिपयले टेस्टट्युब बेबी अस्वस्थ हुन्छ भन्छन् जुन गलत हो। अहिले महिलाको पाठेघरभित्र गाँठो आएको अवस्थामा अन्य महिलाको डिम्ब लिएर पनि सन्तान जन्माउन सकिन्छ। पुरुषको शुक्रकीट सक्षम नभएको अवस्थामा परपुरुषको शुक्रकीट प्रत्यारोपण गर्न सकिन्छ। हाल नेपालमा नि:सन्तान दम्पतीबाट करिब ४ हजारभन्दा बढी टेस्टट्युब बेबीको जन्म भैसकेको छ। 

आङ खस्ने समस्या

     - डा. अरुणा कार्की, हेड अफ डिपार्टमेन्ट सिनियर कन्सल्टेन्ट गाइनो अब्स, मोडल हस्पिटल

सामान्यतया महिलाको पाठेघर साबिकको भन्दा तल सर्नुलाई आङ खस्नु भनिन्छ। यो एउटा जटिल किसिमको रोग हो। पाठेघर तल सरेपछि महिलालाई बढी पीडा हुन्छ। यो रोग लागेका महिलालाई दिसा-पिसाब गर्न गार्‍हो हुन्छ। आङ खस्ने रोगका पनि विभिन्न तह हुन्छन्।

-    आङ आफ्नो स्थानबाट अलि तल तर योनिभित्रै हुन्छ।

-    महिलालाई बाहिर दिसा-पिसाब गर्न असजिलो हुन्छ।

-    पाठेघर बाहिर निस्कन्छ।

यो महिलालाई मात्र हुने समस्या हो । यसबाट पीडित महिलाले शरीर खुकुलो भएको महसुस गर्छन्। ढाड, कम्मर एवं पेट दुख्ने, हिँडडुल गर्न असजिलो हुने, तल्लो पेट दुख्ने जस्ता समस्या देखापर्छन्। पीडित महिलामा महिनावारीका बेला धेरै रगत बग्छ।

के कारणले आङ खस्छ ? 

सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रका महिलामा यो रोग बढी देखिन्छ। ग्रामीण भेगमा अहिले पनि छिटो विवाह गरेर सन्तान जन्माउने चलन छ। यसले पनि आङ खस्ने समस्या उत्पन्न हुन सक्छ। छिटो सन्तान जन्माउनु, धेरै सन्तान जन्माउनु तथा जन्मान्तर नराख्नु यसको मुख्य कारण हो। यसैगरी सुत्केरी अवस्थामा राम्रो स्याहार तथा खानपानको अभाव अर्को कारण हो। गर्‍हौं भारी बोक्दा पनि आङ खस्ने समस्या उत्पन्न हुन्छ। भारी बोक्दा त्यसको असर पाठेघरमा पर्छ। त्यसपछि पाठेघर बिस्तारै तल र्झछ। धूम्रपानका कारण खोक्दा तन्तुमा असर पुग्छ। पेटमा बल पर्छ, यसले गर्दा पनि आङ खस्ने सम्भावना रहन्छ।

उपचार

कन्जरभेटिभ : शल्यक्रिया नगरी एक्सरसाइजको माध्यमबाट पेटको मांसपेशीलाई खुम्च्याइन्छ।

रिङ पेसरी : आङ खसेका महिलाको योनिमा रिङ पेसरी राखिन्छ। रिङ पेसरी रबरको चुराजस्तो हुन्छ। यो आङ खसेका महिलामा प्रयोग गरिन्छ। महिलाको योनिमा राखिन्छ। महिलालाई ३-३ महिनाको फरकमा सफा गर्न सिकाइन्छ। 

शल्यक्रिया : आङ खसेको लामो समय भएको छ भने शल्यक्रिया गर्नुपर्छ। अहिले सरकारले नै नि:शुल्क शल्यक्रिया गर्ने सुविधा उपलब्ध गराएको छ। ग्रामीण भेगमा क्याम्प राखेर शल्यक्रिया गरिन्छ। शल्यक्रिया विशेषज्ञकै हातबाट गराउनुपर्छ। शल्यक्रियापछि बिरामीले केही दिन आराम गर्नुपर्छ। 

रोकथामका उपाय

महिलाले रोग नलुकाई आफूलाई परेको समस्या समयमै भन्न सक्नुपर्छ। सुत्केरी हुँदा स्वास्थ्य संस्थामै उपचार गराउनुपर्छ। सुत्केरी भएलगत्तै छिट्टै गर्‍हौं भारी बोक्नुहुँदैन। कम उमेरमा सन्तान जन्माउनुहुँदैन। जन्मान्तर राख्नुपर्छ। धेरै सन्तान जन्माउनुहुँदैन।समयमै उपचार गराउँदा रोग छिटो निको हुन्छ। रोगीको अवस्था हेरेर उपचार हुन्छ। सुरुको अवस्था हो भने उपचार गर्न र निको हुन कम समय लाग्छ। रोग पुरानो भए अस्पतालमा भर्ना गरी उपचार गराउनुपर्छ। त्यसपछि पनि बिरामीलाई आराम आवश्यक हुन्छ। शल्यक्रिया गरेको तीन महिनासम्म भारी काम गर्नुहुँदैन भने ६ हप्तासम्म यौन सम्पर्क राख्नु हुँदैन। बिरामीले पोषणयुक्त खाना खानुपर्छ। आफ्नो रोगका बारेमा प्रत्येक महिला जानकार हुनुपर्छ। शिशु कति जन्माउने पहिले नै सल्लाह गर्नुपर्छ। यौन सम्पर्क राख्दा परिवार नियोजनका साधन प्रयोग गर्नुपर्छ। सन्तान जन्माउन सुविधासम्पन्न स्वास्थ्य संस्थामै जानुपर्छ। लामो समयसम्म व्यथा लागे फिस्टुला हुनसक्छ तसर्थ छिटो भन्दा छिटो अस्पताल जानुपर्छ।

मूत्राशयको संक्रमण

     - डा. गणेश दंगाल, सिनियर कन्सल्टेन्ट

मोडल अस्पताल

३० वर्षीया प्रतिमा रावललाई २-३ महिनायता पिसाब आउला-आउलाजस्तो, पिसाब गर्ने समयमा पिसाब अड्कने तथा कम मात्रामा बाहिर निस्कने समस्याले सताएको छ। योनिमार्गमा भारी भएको महसुस हुन्छ। प्रतिमालाई यस्तो हुन थालेको पनि धेरै वर्ष भयो। उनले पहिले पनि यस्तो समस्या परेर एन्टिबायोटिक खाएकी थिइन्।

यो त एउटा उदाहरण मात्र हो। यस्तो समस्या अहिले थुपै्र महिलामा देखा परिरहेको छ। सार्वजनिक शौचालयमा पिसाब गर्दा, कम पानी पिउँदा तथा यौनाङ्गको सरसफाइ राम्रोसँग नगर्दा यस्तो समस्या देखा पर्न सक्छ।

कसलाई हुन्छ मूत्राशयको संक्रमण ?

मूत्रनली, मूत्रथैली तथा मिर्गौलाको संक्रमण सामान्यतया पुरुषको तुलनामा महिलालाई बढी हुन्छ। पुरुषको तुलनामा महिलाको मूत्रनली छोटो हुने भएकाले ब्याक्टेरिया मूत्रथैली वा मूत्राशयभित्र सजिलै प्रवेश गर्छन्। योनिद्वारको अगाडिको भागमा मूत्र निष्काशन नली हुन्छ जसले गर्दा योनिमा भएका खराब किटाणुहरू मूत्र नली हुँदै मूत्राशयमा प्रवेश गर्छन् र त्यहाँ संक्रमण हुन्छ। योनि रसिलो हुने भएकाले त्यहाँ किटाणुहरू बस्छन्। यौन सम्पर्क गर्दा पनि ती किटाणुहरू मूत्रनलीमा प्रवेश गर्छन्।  मलद्वारमा भएका खराब किटाणुहरू पनि योनि र मूत्रनलीको नजिक भएकाले त्यहाँ प्रवेश गरी संक्रमण गर्छन्। यौनजन्य क्रियाकलाप, परिवार नियोजनका साधनहरू (रसायनयुक्त), बढ्दो उमेरमा महिला हार्मोनको कमी, प्रतिजीवाणुको असावधानीपूर्वक गरिएको प्रयोग तथा गर्भावस्थामा निस्कने हार्मोनहरूका कारण किटाणुहरू मौलाएर महिलामा मूत्राशयको संक्रमण हुन्छ।

महिलामा मूत्राशयको संक्रमणले पिसाबथैलीको संक्रमण मात्र हुनसक्छ वा त्यसले मिर्गाैलालाई पनि संक्रमित गर्न सक्छ। मिर्गाैलाको संक्रमण भए समस्या थप जटिल हुन्छ। झन्डै आधाजसो महिलामा कुनै न कुनै बेला मूत्राशयको संक्रमण भएको पाइन्छ। दिसामा भएका ब्याक्टेरिया योनि हुँदै मूत्रनलीद्वारा मूत्रथैलीमा प्रवेश गर्छन् र संक्रमणको लक्षण देखापर्छ। नवविवाहितालाई हनिमुन पिरियडमा पनि मूत्राशयको संक्रमण हुने सम्भावना हुन्छ। चौबीसै घन्टा डाइपरको प्रयोग तथा उचित रूपमा डाइपर परिवर्तन नगर्दा हिजोआज कतिपय बालबालिकामा पनि मूत्राशयको संक्रमण भएको पाइन्छ।

५० देखि ५२ वर्षको उमेरपछि महिलाको मासिक स्राव बन्द हुन्छ। त्यसपछि योनिमार्गबाट आउने सेतो पानी बग्न बन्द हुँदा योनि सुख्खा हुन्छ। यसले गर्दा योनिको भित्ता पातलो हुन्छ र इन्फेक्सन हुने सम्भावना बढ्छ। युरिन इन्फेक्सनका कारण योनिमार्ग सुन्निनुका साथै पिसाब गर्दा गाह्रो हुन्छ। पिसाब पोल्छ र रोकिएर आउँछ। पिसाब गर्दा सीधा नआई बांगोटिंगो भएर निस्कन्छ। पिसाब गर्ने ठाउँ वरिपरि पोल्नुका साथै ज्वरो पनि आउँछ।

लक्षण

-    पिसाब पोल्नु, बारम्बार पिसाब लाग्नु, तल्लो पेट दुख्नु, ज्वरो आउनु, पिसाबमा रगत देखिनु। 

-    पिसाब गरेपछि फेरि पिसाब गर्न मन लाग्नु।

-    पिसाब धमिलो हुनु, पिसाबमा रगत देखा पर्नु।     

-    यौनाङ्ग सुन्निनु तथा रातो हुनु।

-    पिसाब थैलीमा पीडा हुनु तथा पोल्नु।

-    कम्मर तथा ढाड दुख्नु, कामज्वरो आउनु।

रोकथाम

-    सार्वजनिक शौचालय प्रयोग नगर्ने।

-    फोहोर तथा चिसो अन्तर्वस्त्र प्रयोग नगर्ने।

-    फोहोर हात प्रयोग नगर्ने।

-    श्रीमान्बाहेक अरूसँगको यौन सम्पर्कबाट जोगिने।

-    यौन सम्पर्कपछि योनिमार्ग पानीले सफा गर्ने।

मानसिक डिप्रेसन

मूत्राशयको संक्रमण भएका महिलाहरूमा डिप्रेसन पनि हुनसक्छ। यसको उपचार लामो समयसम्म चल्न सक्छ। एन्टी बायोटिक औषधिका कारण पेट खराब हुन्छ, कब्जियत हुन्छ।

कतिपय महिला लाजका कारण रोग पालेर बस्छन्। यसले समस्यालाई थप पीडादायक बनाउँछ। 

के गर्ने ?

-    प्रशस्त मात्रामा पानी पिउनुपर्छ।

-    सफा अन्तर्वस्त्र प्रयोग गर्नुपर्छ।

-    हरिया तरकारी तथा फलफूल बढी सेवन गर्नुपर्छ।

-    धेरै यौन साथी बनाउनुहुँदैन।

सुझाव

सरसफाइमा ध्यान दिनुपर्छ। दिनमा २-३ लिटर पानी पिउनुपर्छ। सुरक्षित यौन सम्पर्क राख्नुपर्छ। सामान्य खालको संक्रमण भए केही दिन मात्र औषधि सेवन गर्दा हुन्छ, तर जटिल तथा गम्भीर संक्रमण भए वा संक्रमणको केन्द्रविन्दु मिर्गाैला भए अस्पतालमै भर्ना भएर लामो समयसम्म उपचार गराउनुपर्ने हुनसक्छ। गर्भवती महिला, मधुमेह भएका महिला, पक्षघात भएका महिला वा रोगसाग लड्ने शक्ति कम भएका महिलामा जटिल संक्रमण हुने खतरा बढी हुन्छ। कुनै कारणवश मूत्र प्रणालीमा अवरोध भएको अवस्थामा वा पत्थरी भएको अवस्थामा पनि पिसाबको संक्रमण हुने डर हुन्छ। जटिल संक्रमण छ भने पिसाबको संक्रमणका लक्षणबाहेक कमजोर अनुभव हुने, कामज्वरो आउने, ब्ाान्ता आउने र सामान्य प्रतिजीवाणुको औषधि प्रयोग गर्दा पनि लक्षणमा सुधार नआउने हुन्छ। यस्ता महिलाहरूलाई अस्पतालमा नसाद्वारा प्रतिजीवाणु औषधि दिई उपचार गर्नुपर्ने हुन्छ अन्यथा मिर्गौला खराब हुने वा ज्यानै जाने खतरा हुन्छ।

कसैकसैलाई योनिमा प्रयोग हुने शुक्राणुनाशक जेल वा क्रिमको (परिवार नियोजनका साधन) कारणले पनि यौनाङ्गको सूक्ष्म वातावरणलाई प्रभावित गरी मूत्र संक्रमण हुने सम्भावना हुन्छ। त्यस्तो भए ती महिलाले त्यस्ता साधनको प्रयोग बन्द गर्नुपर्छ। यो संक्रमणको उपचार गम्भीर भए पनि सम्भव छ।

महिनावारीको समस्या

     - डा. बालकृष्ण साह, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ, मोरङ सहकारी अस्पताल, विराटनगर

महिलाहरूमा महिनावारी हुनु प्राकृतिक प्रक्रिया हो। सामान्यत: किशोरावस्थामा पुगेपछि महिनावारी सुरु हुन्छ र पहिलो पटक भएको महिनावारीलाई मेनार्कीर् भनिन्छ। मेनार्कीदेखि मेनोपज (महिनावारी सुकेको अवस्था) सम्म अधिकांश महिला महिनावारीको समयमा पीडा सहन बाध्य हुन्छन्। महिनावारीको त्यस्तो पीडाका कारण करिब ९० प्रतिशत महिला चिन्तित हुन्छन् भन्ने अध्ययनले देखाएको छ। महिनावारी सामान्य शारीरिक प्रक्रिया भए पनि यो प्रक्रियामा विभिन्न किसिमका समस्या आउँछन्। महिनावारी समयमा नहुने, धेरै दिन वा धेरै हुने, रगतका चोक्टा जाने, बढी पीडा हुने मात्र होइन, कसैकसैलाई महिनावारी नभएर पनि पीडा हुन्छ। अधिकांश किशोरीमा महिनावारी समयमा नहुने, कम रगत जाने वा अत्यधिक पीडा हुने समस्या बढी पाइन्छ भने उमेर पुगेका महिलाहरूमा धेरै रगत जाने वा धेरै दिनसम्म रगत जाने समस्या बढी पाइन्छ।

१७ वर्षीया ममता तिम्सिना कक्षा ११ मा अध्ययनरत छिन्। हाल उनी महिनावारीको समस्याबाट पीडित छिन्। महिनावारी सुरु भएको ३-४ वर्ष नपुग्दै उनको महिनावारी रोकिएको छ। महिनावारी सुरु भैसकेका किशोरीको एक्कासि महिनावारी रोकिँदा गर्भ रहेको शंका पनि हुन्छ। महिनावारी रोकिएको कारण जे भए पनि उमेर पुगेका महिलामा गर्भको कुरा नै पहिले आउने भएकाले त्यसबाट मानसिक तनाव हुन्छ। कतिपय किशोरी तथा तिनका अभिभावकहरूमा यस्तो समस्याका कारण पछि गर्भ नै नरहने हो कि भन्ने डर पनि पाइन्छ। महिनावारी रोकिने वा नहुने अवस्थालाई एमेनोरिया भनिन्छ। यो विभिन्न कारण तथा अवस्थामा हुन्छ।

पाठेघर तथा अण्डाशयमा दुई किसिमका हार्मोन (ओस्ट्रोजन र प्रोजेस्ट्रोन) को उत्पादन हुन्छ। यी दुई हार्मोनले पाठेघरको संकुचन (कन्ट्राक्सन) तथा यसका भित्री तह (इन्डोमेटि्रयम) बनाउन, भत्काउन तथा महिनावारी गराउन ठूलो भूमिका खेलेका हुन्छन्। यी हार्मोनको उत्पादन पाठेघर र अण्डाशयमा भए पनि यसको उत्पादनको नियन्त्रण मस्तिष्कमा हुने हाइपोथालामस तथा पिट्युटरी ग्रन्थिको एन्टेरियर लोबले गरिरहेका हुन्छन्। महिनावारी हुनुमा यी हार्मोनहरूबाहेक पोषण, वंशानुगत तथा वातावरणीय पक्षको पनि ठूलो भूमिका हुन्छ। सामान्यतया अण्डाशयले उत्पादन गरेको अण्डको निक्षेदन अर्थात् फर्टिलाइजेसन नभएपछि पाठेघरको भित्री तह (इन्डोमेटि्रयम) टुक्रिन्छ र महिनावारी हुन्छ। किशोरावस्थामा कसैकसैमा पाठेघरको परिपक्वता ढिलो हुने तथा यी हार्मोनको उत्पादनमा सन्तुलन कायम नहुने हुन्छ। त्यसैले पाठेघरको अत्यधिक संकुचन (कन्ट्राक्सन) हुने तथा तल्लो पेट दुख्ने हुनसक्छ। कतिपय किशोरीमा यी हार्मोनको सन्तुलनमा कमी तथा अण्डा उत्पादनमा आएको ढिलाइले एमेनोरिया हुने गरेको पाइन्छ। थाइराइड ग्रन्थि, मोटोपन आदि समस्याले पनि एमोनेरिया हुनसक्छ।

त्यस्तै किशोरीहरूमा देखिने अर्को प्रमुख महिनावारीको समस्या हो-डिस्मेनोरिया। महिनावारी भएको अवस्थामा तल्लो पेटमा पीडा हुनु सामान्य हो। उक्त अवस्थामा पाठेघरको संकुचन एवं पाठेघरको भित्री तह इन्डोमेटि्रयम टुक्रिएर निष्काशन हुने प्रोस्टाग्लान्डिनजस्ता न्युरोट्रास्मिटरहरूले गर्दा पीडा हुन्छ। पीडितको दैनिक गतिविधि नै अवरोध गर्ने गरी हुने तल्लो पेटको पीडालाई डिस्मेनोरिया भनिन्छ। यस्तो किसिमको पीडा तल्लो पेट, कम्मर, ढाडको तल्लो भाग वा तिघ्रातिर समेत हुनसक्छ। सामान्यतया किशोरीहरूमा हार्मोनल असन्तुलनले गर्दा डिस्मेनोरिया हुन्छ। कसैकसैलाई महिनावारी सुरु हुनुअघिदेखि नै पेट फुलेजस्तो हुने, चिन्ता हुने, स्तन दुख्ने वा भारी हुने, रुन मन लाग्ने, दिक्क लाग्ने, थकाइ लाग्ने, चिडचिडेपन देखापर्ने, प्यास लाग्ने, खाना खाने रुचि कम हुने तथा गोडा वा अन्य भाग सुन्निने समस्या आदि देखापर्न सक्छ। यस्तो समस्यालाई 'प्रिमेन्स्च्रुयल टेन्सन सिन्ड्रम' भनिन्छ।

कसैकसैलाई महिनावारीको समयमा बढी तथा लामो समयसम्म रक्तस्राव हुन्छ। बढी रक्तस्रावकै कारण कमजोरी महसुस गर्ने, चक्कर लाग्ने तथा वान्ता हुनसक्छ। यस्तो समस्या किशोरीहरूमा भन्दा पाको उमेरका महिलामा बढी देखिन्छ। महिनावारीमा हुने यस्तो समस्या मेनोरेजिया वा मेटोमेनोरेजिया हुनसक्छ। यस्तो किसिमको समस्याका पछाडि धेरै कारण हुन सक्छन्। अधिकांश अवस्थामा हार्मोनको असन्तुलन, पाठेघरको खराबी (फाइबरोइड) ले यस्तो किसिमको समस्या देखिन्छ। कसैकसैलाई परिवार नियोजनको ३ महिने सुईले पनि मेनोरेजिया भएको पाइन्छ। बढी रक्तस्राव हुनुको पछाडि केही गम्भीर कारण (क्यान्सर) पनि हुन सक्ने भएकाले परीक्षण गर्न ढिलाइ गर्नु हुँदैन।

महिनावारी भैरहँदा मात्र महिलाहरूमा समस्याहरू देखिने र महिनावारी सुकिसकेपछि आनन्द हुने पनि हुँदैन। सामान्यतया ४५ वर्ष पार गरिसकेपछि महिनावारी सुक्छ। उक्त अवस्थालाई मेनोपज भनिन्छ। मेनोपज हुने उमेर सबैमा एउटै हुन्छ भन्न सकिँदैन। मेनोपज हुने उमेरमा पनि उनको शारीरिक अवस्था, स्वास्थ्य, पोषण, वंशानुगत तथा वातावरणीय पक्षको ठूलो भूमिका हुन्छ। मेनोपज भएपछि वा हुने क्रममा इस्ट्रोजन हार्मोनको कमी हुन्छ। त्यसैले हड्डी खिइने तथा जोर्नीहरूको पीडा बढ्ने हुन्छ। यस्ता महिलाहरूमा मुटुको समस्या बढ्ने, योनिमार्ग सुख्खा हुने, शरीर बढी तात्ने, मुटुको ढुकढुकी बढ्ने, तनाब महसुस हुने तथा कमजोरी हुनेजस्ता समस्या देखापर्न सक्छन्। यस्ता समस्यालाई मेनोपजल सिन्ड्रम भनिन्छ।

कसलाई उपचार चाहिन्छ ?

महिनावारीमा सामान्य समस्या आउनेबित्तिकै आत्तिनु पर्दैन। किशोरावस्थामा महिनावारी अर्थात् रजस्वलाका बारेमा जानकारी नहुँदा पनि धेरै किशोरीलाई मानसिक तनाव हुन्छ। अझ यसमा सामान्य अप्ठ्यारा तथा समस्या आउनेबित्तिकै किशोरी तथा उनीहरूका अभिभावक चिन्तित हुन्छन्। महिनावारी महिलाहरूमा हुने सामान्य प्रक्रिया भए पनि कतिपयका लागि बढी पीडादायक हुन्छ। महिनावारी पीडादायक भयो भन्दैमा आत्तिनु हुँदैन। धेरै पीडा अर्थात् डिस्मेनोरिया भएको अवस्थामा पीडा कम गर्ने सामान्य औषधि प्रयोग गर्न सकिन्छ। बारम्बार यस्तो समस्या भैरहे वा सामान्य पीडाको औषधि खाए पनि आराम नभएको अवस्थामा चिकित्सकको सल्लाहबमोजिम विभिन्न परीक्षण गराउनुका साथै लामो समयसम्म औषधि सेवन गर्नुपर्ने हुनसक्छ। धेरै रगत जाने समस्या अर्थात् मेनोरेजिया भएको अवस्थामा तुरुन्त उपचार आवश्यक हुन्छ। यो अवस्थामा एकातिर मेनोरेजियाको कारण पत्ता लगाउनुपर्छ भने अर्कातिर शरीरमा रगतको मात्रा कम हुन नदिन तुरुन्त रक्तस्राव रोक्ने र रगत बढाउन आइरन चक्की प्रयोग गर्नुपर्ने हुनसक्छ। यो अवस्थामा पनि चिकित्सकको सल्लाहबमोजिम विभिन्न परीक्षण गराउनुका साथै लामो समयसम्म केही औषधि सेवन गर्नुपर्ने हुनसक्छ।

किशोरावस्थामा भएको एमेनोरिया अर्थात् महिनावारी रोकिए खासै औषधि प्रयोग गर्नु नपर्ने हुन सक्छ। उमेर बढ्दै गएपछि अण्डा उत्पादनमा आउने नियमितता र हार्मोनल सन्तुलनले महिनावारी आफंै नियमित हुन्छ। परिवार नियोजनका साधनहरू (३ महिने सुई, नरप्लान्ट) प्रयोग गरेको अवस्थामा पनि महिनावारी रोकिए आत्तिनु पर्दैन। कसैकसैमा यो अवस्थामा पनि गर्भ रहेकाले महिनावारी रोकिएको हुन सक्ने भएकाले गर्भको परीक्षण गर्न ढिलाइ गर्नु हुँदैन। लामो समयसम्म महिनावारी रोकिए वा अनियमित भए चिकित्सकको सल्लाह वा परामर्श लिनु तथा अन्य परीक्षण गराउनुपर्ने हुन्छ। महिनावारी भएको समयमा सरसफाइमा विशेष ध्यान पुर्‍याउनुपर्छ। सफा र सुकिलो प्याड प्रयोग गर्नु, गुप्ताङ्ग सफा राख्नु तथा नियमित नुहाउनु आवश्यक हुन्छ। यो अवस्थामा पोषिलो तथा प्रशस्त मात्रामा झोल कुरा सेवन गर्नुपर्छ। महिनावारी सुकेका महिलाहरूले नियमित स्वास्थ्य परीक्षण गराउनुपर्छ। यस्ता महिलाले दूध तथा क्याल्सियमजस्ता खनिजतत्व पाइने खानेकुरा बढी सेवन गर्नुपर्छ। मेनोपजल सिन्ड्रमले दु:ख दिएको अवस्थामा केही औषधि सेवन गरिरहनुपर्ने पनि हुनसक्छ। यस्ता महिलाहरूको योनिमार्ग सुख्खा हुने भएकाले संक्रमणबाट जोगिन सरसफाइमा विशेष ध्यान पुर्‍याउनुका साथै आवश्यक परीक्षण पनि गराउनुपर्ने हुनसक्छ।

स्तनसम्बन्धी समस्या बुझौं

संसारभरिका महिलाहरूले आफ्नो जीवनकालको कुनै न कुनै समयमा स्तनको पीडा महसुस गर्छन् र संभावित स्तन क्यान्सरको डरले चिन्तित हुन्छन्। जनधारणा जे-जस्तो भए पनि स्तन क्यान्सरको लक्षण 'स्तनको पीडा' भने होइन। विभिन्न प्रकारका स्तन दुख्ने समस्या र तिनका समाधानका उपाय :

महिनावारीसँग सम्बन्धित स्तनको पीडा

महिनावारी सुरु हुनुभन्दा ३ देखि ७ दिनअघि महिलाहरूले आफनो वक्षस्थलको माथिल्लो र बाहिरी भागमा पीडा महसुस गर्छन्। सामान्यतया रजस्वला सुरु भएपछि यस्तो पीडा हराउँछ। कसैलाई मन्द, कसैलाई भारीपनका रूपमा त कसैलाई सहनै नसक्ने गरी दुख्छ। हार्मोन्सको उतार-चढावको असर नै यो पीडाको कारण मानिएको छ।

के गर्ने ?

बढी पीडाबाहेक साधारणतया सजिलो तर कसिलो भित्री पहिरन र साधारण पीडा कम गर्ने र औषधि प्रयोग गरे राहत मिल्छ। अन्य अवस्थामा शल्य चिकित्सकको परामर्शमा भिटामिन ई, भिटामिन बी ६ तथा प्रिमोर्स आयलको सेवन करिब ३ देखि ६ महिना गर्न सकिन्छ।

खानामा के बार्ने ?

कम चिल्लो अर्थात् बोसोयुक्त खानेकुरा, नुनको कम प्रयोग, चिया, कफी, कोकजस्ता क्याफिनजन्य पेय नखाने, रेड वाइन र चकलेट नखानु नै वेश हुन्छ।

याद राख्नुहोस्

गर्भनिरोधक चक्की/पिल्स वा हार्मोन रिप्लेसमेन्ट थेरापीका लागि औषधि खानेहरूको पीडाको मात्रा बढ्दो छ भने पुन्ा: शल्य चिकित्सकसँग सल्लाह गर्नु उपयुक्त हुन्छ।

महिनावारीसँग असम्बन्धित स्तनको पीडा

यस प्रकारको पीडा साधारणतया ४० वर्ष उमेर नाघेका महिलाहरूमा बढी देखा पर्छ। एक वा दुवै स्तनमा महसुस हुने यो पीडा महिनावारी सुरु भैसकेपछि पनि हराउँदैन। पीडा केही दिन हराउने र फेरि देखा पर्ने हुन्छ वा महिनाभरि नै लगातार दुख्ने किसिमको हुन्छ। यस किसिमको पीडाको स्रोत स्तन तन्तु वा त्यस वरपरका अङ्गजस्तै छातीका मांसपेशी वा जोर्नी हुन सक्छन्।

के गर्ने ?

धेरैजसो महिलामा यस्तो पीडा केही समयपछि हराएर जान्छ तर धेरै महिनासम्म कायम रहे, घर, कार्यालयको कामकाजमै बाधा पर्न थाले वा बढी पीडा भए आईबुप्रोफेन वा डिक्लोफिनेकको एक चक्की चिकित्सकको सल्लाहमा खान सकिन्छ।

याद राख्नुहोस्

स्तनपान गराइरहेकी महिलाको हकमा स्तन दुख्ने, रातो हुने, सुन्निने र गाँठो पर्ने लक्षण देखिए स्तनमा पीप जम्मा भएको हुन सक्छ। शल्य चिकित्सकको सल्लाहअनसार पीडा कम गर्ने औषधि, तातोले सेक्ने तथा एन्टिवायोटिक्सले मद्दत गर्छ। अवस्था हेरी सानो शल्यक्रिया  गरी स्तनको तन्तु बीचमा जमेको पीप निकाल्नुपर्ने हुनसक्छ।

स्तनको पीडा र स्तन क्यान्सर

हुन त स्तनको पीडा क्यान्सरको लक्षण मात्र होइन। पहिले दुखेर पछि गाँठो आएको क्यान्सर हुँदैन। स्तन क्यान्सरको सुरु अवस्थामा भन्दा पनि उन्नत अवस्थामा स्तनको पीडा महसुस हुन्छ। स्तनमा गाँठो वा गिर्खा भेटिए (दुख्ने वा नदुख्ने खालका) चिकित्सकसँगको परामर्श नितान्त आवश्यक हुन्छ। आफ्ना नातागोतामा कसैलाई स्तन क्यान्सर भएको छ भने त त्यसको आवश्यकता अझ बढी हुन्छ। त्यस्तो स्थितिमा चिकित्सकको परामर्श लिई रोग निदान गरी सुरक्षित र ढुक्क हुनुपर्छ। गाँठो फैलिनबाट रोक्न सके र सुरुको अवस्थामा थाहा पाए रोग निर्मूल हुन्छ।  

स्तन दुख्ने अन्य कारण

ब्रेस्ट माउस साधारणतया ३५ वर्षमुनिका धेरै महिलामा देखिने यो अवस्थामा स्तनमा साना गाँठा वा गिर्खा देखिन्छन् जुन औंलाले छाम्दा स्तन तन्तुभित्र यताउता भाग्छन्, त्यसैले यसलाई यो नाम दिइएको हो। साना आकारका ती गिर्खाहरू सामान्यतया नदुख्ने हुन्छन्। आकार बढ्दै जाँदा केही गिर्खा दुख्ने खालका पनि हुन सक्छन्।

शल्यक्रिया गरी ती गिर्खा निकाल्न सकिन्छ। सामान्यतया स्तनको मुन्टो वरपरको कालो भागको बाहिरी छेउमा सानो चिरा पारी यी गिर्खा निकालिन्छ। अपे्रसनपछि सानो दाग बस्छ जसलाई हटाउने उपाय छ।

गिर्खायुक्त स्तन-फाइब्रोएडिनोसिस

यो अवस्थामा स्तनको धेरै भागमा ठूला-साना गिर्खाहरू भेटिन्छन्। शल्यक्रिया यसको पहिलो रोजाइ नभए पनि महिनौंसम्मको रोग, असक्त बनाउने गरी हुने पीडा वा औषधिहरूको प्रयोगले कम नभएको अवस्थामा, शल्यक्रिया गरी उपचार गर्न सकिन्छ।

डायबिटिज र स्तनको पीडा

डायबिटिजका दीर्घरोगी महिलाहरूमा स्तन पोल्ने, झमझमाउने आदि लक्षण देखिन सक्छन्। मधुमेहले शरीरका अन्य भागका नसाहरू जस्तै वक्षस्थलका नसाहरूमा प्रभाव पारी स्तन पोल्ने, झमझम गर्ने र कहिलेकाहीँ चिलाउने हुन सक्छ।

स्तनको स्वयं परीक्षण

यो महत्वपूर्ण परीक्षण हरेक महिलाले सिक्नुपर्ने, जान्नुपर्ने तथा अरूलाई समेत सिकाउनुपर्ने कुरा हो। नियमित स्तनको स्वयं परीक्षणले आफ्नो स्तनमा आएको परिवर्तन तथा कुनै नयाँ गाँठा वा गिर्खाहरू धेरै अघि नै पत्ता लगाउन सकिन्छ। सुरुमा महिलाहरूलाई स्तनको स्वयं परीक्षण अप्ठ्यारो लाग्ने वा सिक्न गाह्रो जस्तो लागे पनि स्तन स्वास्थ्य र आफ्नो भविष्यका लागि यो अत्यन्त महत्वपूर्ण छ।

स्वयं स्तन परीक्षण

पहिलो : ऐनाअगाडि उभिएर काँध सीधा राख्नुहोस् र दुवै हात कम्मरमा राखी आफ्ना दुवै स्तनलाई नियाल्नुहोस्। दुई स्तनका आकार, प्रकार, रंग इत्यादिमा केही फरक छ कि हेर्नुहोस्। कुनै गाँठा वा गिर्खाले स्तनको आकार बिगारेको छ कि ?

कुनै लक्षण देखिए सतर्क हुनुहोस् 

गाँठा वा गिर्खा, स्तनमा साना खाडल, कुनै एक भागमा खुम्च्याइ, रातोपन, बिबिरा, काखीमा गिर्खा वा गाँठा, मुन्टोबाट असामान्य तरल पदार्थ (रातो, बैजनी, कालो वा पानीजन्य) निस्किएको भए।

मुन्टोको आकारमा परिवर्तन : भित्र फर्किर्एको, अर्को स्तनको तुलनामा कुनै एक दिशामा घुमेको वा मुन्टोमा बिबिरा वा छाला घसि्रएजस्तो भए। 

दोस्रो: अब दुवै हात आफ्नो शिरमाथि सीधा उठाउनुहोस् र माथि जस्तै एक-एक विचार गर्नुहोस्। कुनै परिवर्तनलाई चिन्नुहोस्।

तेस्रो: मुन्टोको परीक्षण गर्नुहोस्। कुनै असामान्य तरल मुन्टोको टुप्पामा देखिएको त छैन। चोरऔंला र बुढीऔंला बीच मुन्टोलाई हल्का निचोर्नुहोस् र हेर्नुहोस् केही असामान्य पदार्थ देखिन्छ कि ?

चौथो : अब सुत्नुहोस् र आफ्ना औंलाहरूको सहयोगले विस्तारै स्तनका हरेक भागमा छाम्नुहोस्। दाहिने स्तनका लागि देब्रे हात र देब्रे स्तनका लागि दाहिने हातले परीक्षण गर्नु उपयुक्त हुन्छ। मुन्टोदेखि स्तनको छेउसम्म साना-साना क्षेत्रमा औंलाहरूको हल्का दबाब तथा औंलाहरूलाई गोलाकार घुमाई परीक्षण गर्नुहोस्। यतिबेला दुई स्तनको बीचदेखि काखिसम्म र छातीको माथिल्लो भागदेखि स्तन तलसम्म औंलाहरूले छाम्नुपर्छ।

पाँचौ: उठेर र बसेर फेरि आफ्नो स्तनलाई त्यसैगरी जाँच्नुपर्छ। यो ठूला स्तन भएका महिलाहरूका लागि अझ आवश्यक छ।

धेरैजसो महिला नुहाएको बेलामा स्तन परीक्षण गर्न सजिलो हुन्छ भन्छन्। केही भिजेको र चिल्लोपन हुने हुँदा औंला चलाउन सजिलो हुने अनुभव पनि ती महिलाहरूको छ।

सेन्टर फर साइकोलोजिकल हेल्थ एन्ड इमोसनल वेलबिइङ

अहिलेको जीवनशैली तथा तनावका कारण धेरै मानिस मानसिक रोगको सिकार हुने गरेका छन्। यही कुरालाई मध्यनजर गरी सुवासचन्द्र शर्मार् तथा अर्चना शर्माले तीनकुने, गैरीगाउमा 'सेन्टर फर साइकोलोजिकल हेल्थ एन्ड इमोसनल वेलबिइङ' स्थापना गरेका छन्। ५ महिनाअघि खुलेको यो संस्थाले अहिले मुख्यत: तीनवटा क्षेत्रमा काम गरिरहेको छ। विद्यार्थीहरूमा एकाग्रता, स्मरणशक्ति कमजोर आदि थुपै्र समस्या देखा पर्छन्। यसैगरी एसएलसी दिएर बसेका विद्यार्थीलाई कुन विषय पढ्ने भन्ने चिन्ताले सताउने गरेको पाइन्छ। यस्तो अवस्थामा करिअर डिसिजन मेकिङको आवश्यकता पर्छ। संस्थाले विद्यालय स्तरका विद्यार्थीलाई उनीहरूको बौद्धिक क्षमता मापन गर्ने तालिम पनि दिँदै आएको छ। यसबाट विद्यार्थीको समस्याको पहिचान तथा केही हदसम्म व्यवस्थापन हुन्छ। 

यसैगरी स्ट्रेस म्यानेजमेन्टअन्तर्गत कर्पोरेट तथा अन्य क्षेत्रमा कामको प्रेसरका कारण उत्पन्न तनाव कम गराउने काम गरिन्छ।  यो सेन्टरमा डे केयरको व्यवस्था पनि छ। डिप्रेसनका बिरामीमा धेरै बेरसम्म एकै ठाउँमा बस्ने तथा काममा रुचि नहुने हुन्छ। दिनभर घरमा कोही नहुँदा एक्लै केही नगरी बस्दा अझ नरमाइलो हुने तथा डिप्रेसन बढ्ने भएकाले यस्ता बिरामीलाई बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म संस्थामा राखेर केही न केही काम सिकाएर, व्यायाम गराएर उनीहरूको मानसिक अवस्थामा सुधार ल्याइन्छ। यो संस्थाले कोसिस (मानसिक बिरामीहरूको संस्था) सँग पनि काम गर्दै आएको छ।

फाइदाकारी धनियाँ

गर्भवती महिलालाई सुरुको तीन महिना बमिटको समस्याले सताउँछ। यस्तो अवस्थामा एक कप धनियाँको पत्तामा एक कफ चिनी तथा पानी मिसाई उमालेर सेवन गर्दा समस्या हट्छ। 

बढ्दो वजन कम गर्छ तरबुजाले

दिनहुँ एक टुक्रा तरबुजा खाए मुटुसम्बन्धी रोगहरूबाट जोगिनुका साथै शरीरमा बढी भएको कोलस्ट्रोल पनि कम हुन्छ। तरबुजाले शरीरको वजन पनि कम गर्छ।

लसुन

फाइदा : उच्च रक्तचाप तथा कोलस्ट्रोलको मात्रा कम गर्न मद्दत पुर्‍याउँछ। एन्टी भाइरल तथा एन्टी ब्याक्टोरियायुक्त हुन्छ। फलस्वरूप इन्फेक्सनमा लड्न सहयोगी हुन्छ। यसको सेवनले जाडोमा नाक बन्द हुन तथा रुघा लाग्नबाट जोगाउँछ। 

बेफाइदा : सास गन्हाउँछ। काँचो लसुनले अपच हुन सक्छ।

 

 

 Image