Successfully Copied

चाडपर्वमा बढ्दो लापरबाही

बढी मुनाफामुखी, प्रतिस्पर्धा र तयारी खाद्यवस्तु संस्कृतिले गर्दा हामी बिरलै प्राकृतिक गुणले भरिपूर्ण खाद्यवस्तु खान पाउँछौं ।आधुनिकता, सभ्य, व्यस्त र ठूलो देखिन भान्सामा भन्दा रेस्टुराँ तथा डिब्बाबन्द, सुन्तलाभन्दा त्यसको जुसमा र बेरंगी तथा फिक्का मिठाईंमा भन्दा रंगीन, चार–पाँच रंगको मिठाईंमा अभ्यस्त भएका छौं


डा.प्रकाश बुढाथोकी
गीता सापकोटा जेरी खानेबित्तिकै लगातार आएको बान्ताले शनिबार अस्पतालको आकस्मिक कक्ष पुग्नुप¥यो । बासी मिठाईंले अपच भएको थाहा पाएपछि सबै कुरा बुझी सावधानीपूर्वक मिठाईं किन्ने पाठ सिकेर आइन् । विराटनगरकी सुविधा गत वर्षको तिहारमा दिएको मिठाईं र फलफूलले भाइ अस्पताल भर्ना हुन परेकाले यस वर्ष कै दिने भन्ने कुरामा दोधारमा छिन् । विजेन्द्र गुप्ताकी १० वर्षिय छोरी सूचितामा अस्वाभाविक वृद्धि र रजस्वला समेत देखिएपछि डाक्टरलाई परीक्षण गराउँदा अक्सिटोसिनको मात्रा बढी देखियोे । चीनमा मेलामाइन मिसिएको दूध सेवनपछि कम्तीमा छ जना केटाकेटीको मृत्यु हुनुका साथै झन्डै तीन लाख केटाकेटीमा पिसाबसम्बन्धी समस्या उत्पन्न भएको थियो । सन् २००९ मा भने सन् २०१० मा हर्माेनको मात्रा बढी रहेको र बालिकाहरूको स्तन वृद्धि भएको चर्चा भएको छ । हरेक वर्ष भोज, मिठार्इं, मालपुवा आदि खाई दर्जनौं बिरामी परेका समाचार प्रशस्तै भेटिन्छन् । दसंै, तिहार,तीज र कुशेऔंसीमा प्रशासनले अनुगमन गर्दा मिठाईंमा कुहिएका मुसा,कीरा पनि फेला परेका थिए ।
दसंै–तिहारमा अधिकांश नेपालीलाई शुभकामना आदानप्रदान, खानपान, रमाइलो र भेटघाटमा भ्याई नभ्याई हुन्छ । तर चिकित्सकहरू भने ड्युटी गर्न, बिरामीका जिज्ञासा सुन्न र अस्पतालबाट आउने बोलावटले हैरान हुन्छन् । दसैंमा उच्च रक्तचाप,मुटु र पेटजन्य समस्या अपच, पखाला तथा निन्द्राजन्य बिरामीको संख्या ह्वात्तै बढ्छ । दीर्घरोगीमा समस्या झन् बढ्छ भने जोखिमको बाटोमा रहेकाहरूमा एकैपटक लक्षण देखिन थाल्छ । दसैंमा आउने तथा देखिने अधिकांश बिरामीको चाप खानपानसँग सम्बन्धित हुन्छन् ।सामान्य मानिसका लागि पनि हानिकारक मानिने मासु, उच्च कोलेस्टेरोल, उच्चरक्तचाप,युरिक एसिड र मुटुसम्बन्धी समस्या भएकाहरूलाई त अभिशाप नै बन्न सक्छ । मासु प्रोटिनको राम्रो स्रोत भएपनि यसमा कोलेस्टेरोल,फ्याटी एसिड, चिल्लो पदार्थ, ट्राइग्लिसिराइड पनि प्रशस्त हुने भएकाले सन्तुलित रूपमा उपभोग गर्न नसक्दा यसले समस्या थप्छ । हामीहरूले चाडबाडमा खाने मासु,चिल्लो, मसला र मद्यपान मुटुमैत्री मात्र नभई स्वास्थ्यमैत्री पनि छैनन् ।
खाद्यमिसावट र गुणस्तर
स्वस्थ तथा गुणस्तरयुक्त खाद्यपदार्थको खोजीमा बजार जाने उपभोक्ताहरूसफा र स्वस्थ खाद्य वस्तु नपाउँदा हैरान छन् । शरीरलाई फाइदा पुगोस् भनेर खरिद गरिने खानेकुरा उल्टै धनको नाश र जीवनकै बरबाद हुने पो हो कि भन्ने भयले सताइरहेको छ । बजारमा अखाद्य पदार्थ र मिसावटको बिगबिगी भई स्वास्थ्यमा नराम्रोस“ग खेलवाड भइरहेको छ । उपभोक्तामा चेतनाको कमीले गर्दा खाद्य पदार्थ किन्दा लेबल नहेर्ने, गुणस्तरहीन वा अखाद्य पाइए उजुरी नगर्ने प्रवृत्तिका कारण पनि बजारमा यस्ता खाद्यपदार्थको बिक्री–वितरण बढ्दो छ ।
व्यापारी भनेका मुनाफाखोर हुन्, धोती र टोपीको हुन्छु भनी कसैले व्यापार गर्दैन, धर्म निभाउने बेग्लै कुरा हो । व्यापारीहरूले दूषित र मिसावटयुक्त पदार्थ उत्पादन, बिक्री–वितरण जानाजानी र शिक्षाको कमीले अञ्जानवश गर्ने गरेको पाइन्छ । उत्पादन मिति, उपभोग मिति, लेबल, तोकिएबमोजिमको मात्रा भए नभएको तथा मिति सिद्धिएको, पोषकतत्व र रसायन भए नभएको हेरि“दैन । उपभोग्य मिति सकिएर बिक्री नभई फिर्ता गरिएको खाद्यपदार्थमाथि नयाँ लेवल हानेर पनि बेचिन्छ । वस्तु तथा सेवा बजार यस्तो अवस्थामा पुग्नुमा उपभोक्ता र संघसंस्थाहरू कम जिम्मेवार छैनन् । उपभोक्ता आफै जागरुक नहुने, जस्तो वस्तु र सेवा लिए पनि चुप लागी बस्ने, अनुचित कार्यको उजुरी नगर्ने, मेरो जस्तो अवस्था अरुले भोग्नु नपरोस् भनी प्रतिवाद नगर्ने भएकाले उपभोक्ता संघसंस्था पनि सक्रिय रूपमा अधिकार रक्षाका लागि नलड्ने प्रवृत्ति छ । उपभोक्ता अधिकार कानुनमा सीमित छ ।

मिसावट र गुणस्तर
मिसावटभन्दा न्यून गुणस्तरको समस्या विकराल छ । गाउँमा चेतना र शिक्षाको कमीको फाइदा उठाउँदै तिहारमा बिक्री नभएका, म्याद गुज्रिएका, बिग्रेका एवं म्याद गुज्रिन लागेका सामान उत्पादक कम्पनीहरूले पठाउने गरेका छन् । नियमन गर्ने निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र शाखा–प्रशाखामा नियमनको इच्छाशक्ति देखिए पनि पर्याप्त कानुनी व्यवस्था, जनशक्ति र भौतिक पूर्वाधार छैन ।
खँद्यपदार्थ बनाउँदा नै सडेगलेका, कुहिएका सामग्री मिसाउने, म्याद सकिएको घिउ, पिठो, तेल मिसाउने तथा उत्पादनस्थल नै फोहर, प्रदूषित र दुर्गन्धित हुने गरेको पाइन्छ । मख्खन र घिउमा वनस्पति घिउ,बोसो,उसिनेको आलु, पिँडालु र सखरखण्ड, दूधको खुवामा पिठो,स्टार्च, बेसारमा पिठो,कृत्रिम रंग,झार पिनेर, नुन र चिनीमा चक पाउडर, रातो खुर्सानीको धूलोमा इट्टा वा काठको धूलो, गहुँको पिठोमा मकैको पिठो, मरिचमा मेवाभित्रको दाना, पोखरेली मसिनो चामलमा सोना चामल तथा स–साना ढुंगा, दर्शनढुंगा, परबल र केराउमा हरियो रंग, मासको दालमा कालो रंग, बेसारमा पिठो एवं पहेंलो रंग मिसाउने गरिन्छ । दालमोठमा खेसरीको दाल, धूलो मसलामा अन्य, महमा चिनी वा खुदो, तोरीको तेलमा तिल वा भर्जिनाको तेल, घिउमा चिउरी वा वनस्पति घिउ, पिठोबाट बनाइने रोटी वा मिठाईंमा सिसा, मर्करी रसायनहरूबाट प्रदूषित भएको देखिन्छ । बालीनाली, सागसब्जी र फलफूलमा प्रयोग गरिने किटनाशक रसायन प्रशस्त मात्रामा प्रयोग भई धेरैजसो विषालु भएका हुन्छन् । पापडमा खेसरीको दाल मिसाइँदा पक्षघात तथा तोरीको तेलमा आजिमोन मेकसिकानाको तेल मिसाइएको खाए मृत्यु हुनसक्छ ।
मिसावटयुक्त खाद्य पदार्थले खाना विषाक्त भई बान्ता हुने, एलर्जी हुने, झाडापखाला, हैजा, टाइफाइड, पक्षघात, क्यान्सर आदि रोग लाग्न सक्छन् र मृत्यु हुनसक्छ । बालीनालीमा हालिने रसायनहरूले पनि बेफाइदा गर्छन् । राम्रोसँग पखाली नखाँदा वा पशुपंक्षीको दूधबाट मान्छेमा पुग्दा कतिपयले तत्काल त कतिले धेरै समयपछि चिलाउने,क्यान्सर, मुटु, मृगौला लगायतका संवेदनशील अंगमा क्षति पु¥याउँछ ।
फलफूल
अहिले मनैलोभ्याउने पहेंला केरा, मेवा, अम्बा, आँप, भुइँकटहर आदिलाई छिटो पकाउन कार्बाइड रसायन प्रयोग गरिन्छ । यसरी जबरजस्ती पकाएका फलफूलको स्वाद र सुगन्ध त कम हुन्छ नै पौष्टिक तत्व पनी कम हुन्छ । नियमित खाँदा मुखमा घाउ, वाकवाकी आउने, बान्ता हुने, पखाला लाग्ने, ग्यास्ट्रिक पेटसम्बन्धी गम्भीर समस्या र कहिलेकाहीँ फुड प्वाइजनिङ हुनसक्छ । फस्फोरस, आर्सेनिक र क्याल्सियम कार्बाइडको प्रयोगले पाकेका फलफूलमा फस्फोरस,आर्सेनिक, न्यून फ्रुक्टोज तथा पोषण खाँदा क्यान्सरसम्म हुन सक्ने भएकाले अत्यन्त खतरनाक छ । परबल,तरकारी,सागपात र केराउ हरियो बनाउन मालाचाइट ग्रीनको प्रयोगले आँखा ज्योति गुम्नुका साथै स्मरण शक्ति पनि घट्छ ।
कार्बाइडको प्रयोग गरेर पकाएका फलफूल खाँदा ग्यास्ट्रिक वढ्ने, पेट दुख्ने, पखाला लाग्ने,अल्छी लाग्ने, रिंगटा लागेर मानिस ढल्ने हुन्छ ।यदि तत्काल असर नपरे पनि लामो समयपछि फोक्सोमा, स्नायु प्रणाली र शरीरको प्रतिरक्षा प्रणाली कमजोर बनाउँछ । अत्यधिक प्रयोगले मधुमेह,उच्च रक्तचाप, पक्षघात,मुटुरोग, पत्थरी र क्यान्सरले आक्रान्त पार्छ । जर्नल अफ इमर्जेन्सी मेडिसिनमा प्रकाशित अध्ययनमा टर्कीमा गरिएको खोजमा एसिटाइलिनले स्नायु प्रणलीमा प्रभाव पार्दै टाउको दुखाइ, बेचैनी, स्मरण क्षमतामा कमी, बढी निन्द्रा आदि असर पनि हुने देखाएको छ ।
भारतमै फर्सी, काँक्रो, लौका,करेला आदि हरिया तरकारीमा समयअघि नै ठूलो बनाउन अक्सिटोसिन तथा खरबुजा र तरबुजालाई समयभन्दा पहिल्यै आकारमा ठूलो र अत्यधिक रातो बनाउन अक्सिटोसिन र सेकरिन नामक इन्जेक्सन लगाउने गरेको खुलासा भएको छ । समयपूर्व पाकेको आँप, मिश्रित खानेतेल, चियापत्ती सवै नेपालमा विनारोकटोक भित्रिइरहेका छन् । नेपालमा न जाँचपास छ न विषको मात्रा परीक्षण गर्न नै सकिन्छ । विषको मात्रा छ कि छैन भनेर परीक्षण गर्न एउटा प्रयोगशाला पनि छैन ।
अक्सिटोसिनको एक सुई वा मात्राले एक किलोको तरबुजा २४ घण्टामै ५–६ किलोसम्म बढाइदिन्छ तथा पुरुषलाई पूर्ण नपुंसक बनाइदिन सक्छ । यस्ता नक्कली विषालु तेल, फलफूल र चियापत्तीले मिर्गौलालाई नोक्सान पु¥याउने, आँखाको ज्योति गुम्ने, प्यारालाइसिस, पुरुषलाई पूर्ण नपुंसक र क्यान्सरसम्म हुनसक्छ । निरन्तर सेवनवाट गर्भ नष्ट हुने, अपाङ बालबालिका जन्मने,अस्वाभाविक बृद्धि, समयपूर्व नै रजस्वला, महिलामा दाह«ीजुँगा आउन सक्छ । तसर्थ अक्सिटोसिनले समयभन्दा पहिले नै असामान्य रूपमा बृद्धि गराउँछ । नेपालमा भने स्प्रेका रूपमा खुलमखुल्ला उपलब्ध छ र किसानहरूले प्रयोग गरिरहेका छन् ।औषधि छर्किसकेपछि निश्चित समयपछि मात्र तरकारी, फलफूल टिप्न र बजारमा पु¥याउन मापदण्ड पनि छ । कृषि प्राविधिज्ञको पहुँच पनि छैन । तसर्थ खतरनाक औषधि प्रयोग गर्ने र गरिएका फलफूल, तरकारी सेवन गर्नबाट रोक्न कडा नियम कानुन, अनुगमन र नियन्त्रणका निम्ति सरकार नै अगाडि बढ्नुपर्छ ।

चिल्लो
चाडपर्वमा पिरो,चिल्लो तथा मसलादार खाद्यपदार्थले जटिल समस्या पनि उत्पन्न गराउँछ । मसलादार, पिरो तरकारी तथा अचारले एसीडीटी बढाई अल्सर गराउँछ । चिल्लो–पिरो खानाले पेटको माथिल्लो मुख (ढकन) खुली पेट पोल्ने समस्या, अम्लपित्त, अल्सर उत्पन्न हुन्छ । त्यसैमा अझ पेट पोलिरहने ग्यास्ट्रिक भएका र अल्सर भएका व्यक्तिले चिल्लो, पिरो, मसलादार खानेकुरा खानै हुँदैन । चिल्लो, पिरो तथा मसलादार खानेकुराले रक्तसञ्चारमा वृद्धि गराउँछ । शरीरको तापक्रम बढाउँछ । विभिन्न किसिमका पाचनरस उत्पादनमा वृद्धि ल्याउँछ ।
मिठाईं
रंगको चाड होली भए पनि रंगको बढी चर्चा तिहारमा हुन्छ । अनुगमनलाई व्यापारीहरूले आफूलाई मिठाईं जम्मा गर्ने मेलो हो भनी आरोप लगाउँछन् । तरकारीमा किटनाशक, डिब्बामा एडिटिभ प्रिजर्वेटिभ र कृत्रिम रसायन र दूधमा ई.कोली भएपनि मिठाईंमा अखाद्य रंग हुनुहुँदैन भन्ने पनि प्रशस्तै भेटिन्छन् तरसबै हानिकारक नै हुन् ।
चम्किने सबै वस्तु हीरा हुँदैनन् भनेजस्तै व्यापारिक क्षेत्रमा पनि आकर्षक देखिने सबै राम्रा हुँदैनन् भन्ने तथ्यलाई ध्यान दिनुपर्छ । खुला सामान र प्याक गरिएका सामानमा हुनसक्ने भिन्नता जान्नुपर्छ । चाँदीको लेप वा वर्कमा केड्मियम वा क्रोमियम मिसाइने भएकाले पनि एलर्जी र पाचन क्रियामा गडबडी देखिन्छ । सिल्भर वा चाँदी वर्क भएको मिठाईंमा पहेंलोपन आए मिसावट भएको मानिन्छ ।
सधैभरि खाद्यवस्तुको गुणस्तरप्रति चनाखो हुनु राम्रो हो । तसर्थ तिहारमालगायत सबै बेला सय ग्राम मिठार्इं खाएपनि त्यो स्वास्थ्यबद्र्धक होस् भन्नेमा सबैको ध्यान जानुपर्छ । खाद्यवस्तुमा अन्य रसायन तथा रंग मिसाइएको छ भन्दैमा त्यो खान नहुने र हानिकारक हुने भन्ने हु“दैन ।रसायन तथा रंगहरूमा समेत खानाको टिकावट बढाउने, भोक जगाउने खानालाई आकर्षक, रुचिकर र पोषिलो पार्ने गुण हुन्छ जसलाई हामी खाद्यरसायन र रंग भन्छौं । जथाभावी, कृत्रिम र अखाद्य रंग भएको खाद्यवस्तु खाएमा भने स्वास्थ्यलाई बिगार्दछ ।
सामान्य दिनको तुलनामा तिहारमा बढी खपत हुने भएकाले मिसावट गरिएको अशुद्ध मिठाईं तिहार आउनु दुई साताअघिदेखि नै बनाइन्छ । अर्को अस्वस्थ बानी जब चाडपर्व वा मिठाईंको बिक्रीको समय आउँछ, तब पसलेले मिठाईं ढोकाबाहिर आँगन, बाटोसम्म राखेर बेच्ने चलनले बाटोको धूवाँ, धूलोले एकातिर मिठाईंलाई दूषित भइरहेका हुन्छन् भने अर्कातिर झिंगा, कीरा लागी संक्रमित भई खान योग्य हुँदैनन् ।
मिठाईंमा खुवाको खपत बढी हुने भएकाले मागलाई धान्न र बढी मुनाफा कमाउन खुवामा आरारोट, उसिनेको आलु र सुजी मिसाएने भएकाले पेटमा खराब गर्छ । यस्ता मिठाईं खा“दा पेट दुख्ने, पखाला लाग्ने, अपच हुने, बान्ता आउने, हैजा लाग्नेसम्म हुन्छ र निम्न गुणस्तरको घिउको प्रयोगबाट घाँटीमा समस्या उत्पन्न हुनुका साथै श्वासप्रश्वाससम्बन्धी रोग देखा पर्दछ । रंग मिश्रित तथा दूषित घिउ–तेलको प्रयोगले बनेका खाद्यपदार्थहरूले रक्तकोषिकाहरूलाई विषाक्त बनाई शरीरमा रगत कम हुने समस्या एनिमिया, अण्डकोषमा असर परी पुरुषको विजकोष मार्दै लिङ्ग सानो हुँदै जाने तथा पुरुषत्व नाश हुने, मृर्गौला तथा कलेजोमा घाउ हुने, रोगहरू लाग्ने, फोक्सो र छालामा दीर्घरोगका साथै क्यान्सर जस्तो भयानक रोग देखिन सक्छ । गर्भवती महिलाको गर्भपतन हुनसक्छ ।

मिठाईंलाई चम्किलो र रातो बनाउन रोडाइमान बी, हरियोको लागि मालाच्युट ग्रीन, पहेंलोका लागि मेटालिन एल्लो प्रयोग भएका छन् जुन औद्योगिक प्रायोजनका लागि बनाइएका रंग हुन् । चप, पकौडा आदि पहेंला रंग हुने खाद्य परिकारमा समेत मेटालिन एल्लो पाइन्छ । गलैंचा र कपडा रंगाउने यस्ता रंगहरू हालेर बनाइएका परिकारहरू लामो समयसम्म खाँदा क्यान्सर हुन सक्छ । रगतको हेमोग्लोबिन नष्ट पार्ने फास्टरेड कार्मोइसिन रातो रंग दिन, आँखाको दृष्टिशक्ति कमजोर पारी अन्धो बनाउने एफ.सी.एफ. सेन्सेन्ट कार्मोइसिन, मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने केशरी रंग जेरी, चप, पकौडा, सेल र बिस्कुटमा पहेंलो रंग दिन, पुरुषको शुक्रकिट नष्ट गरी बाँझोपन बनाउने ब्रोमोनेट तेल पेय पदार्थमा बाक्लोपना र रंग सुरक्षित गर्न । मिठाईंलाई आकर्षक तुल्याउन चाँदीको पातलो पत्र तपक, बर्फी र लड्डु राख्न प्रयोग गरिन्छ जुन स्वास्थ्यका दृष्टिले राम्रो मानिँदैन । सेकरिन,एस्पारटिन जस्ता कृत्रिम गुलियो तत्व राखेर मिठाईंलगायतका खाद्यपदार्थ बनाएको पाइन्छ ।यसका पनि आफ्नै नकारात्मक असरहरू छन् ।
नेपालमा आठ प्रकारका प्राकृतिक रंग र ११ प्र्रकारका सिन्थेटिक वा कृत्रिम रंग प्रयोग गर्न सरकारले अनुमति दिएको छ । तर यस्तो रंग पनि सीमित मात्रामा मात्र प्रयोग गर्न पाइन्छ । प्रयोगमा व्यापकता देखिएको एडिटिभ, पिरजर्बेटिभ,स्टेबलाइजरका बारेमा धेरैलाई थाहै छैन । बजारमा पाइने रंगीन, आकर्षक फलफूल, खाद्यपदार्थ र मिठाईं स्वादिला भए त्यसले शरीरलाई नोक्सान पु¥याउँछन् ।
माछामासु
स्वास्थ्यका दृष्टिले रातो मासुभन्दा सेतो मासु राम्रो हुन्छ । रातो मासुले युरिक एसिड, ट्राइग्लेसिराइड, कोलेस्टेरोल, मुटुरोग निम्त्याउँछ । रातो मासु अर्थात् खसी, बोका, राँगा, बँदेल, भेंडा आदिको मासुमा प्रोटिन, फ्याटी एसिड पनि प्रशस्त पाइने भएकाले युरिक एसिडको जोखिम बढाउँछ । सकेसम्म देखिने चिल्लो वा बोसो निकालेर थोरै मात्र तेलको प्रयोग गरी पकाइएको वा उसिनेको मासु खानु कम हानिकारक हुन्छ । कलेजो फलामको राम्रो स्रोत भएपनि रासायनिक पदार्थहरू फोहोरका रूपमा जम्मा हुने भएकाले उपयोग नगर्दा नै राम्रो हुन्छ । चाडपर्वका नाममा धेरै तारेको, भुटेको, पोलेको कुरा कम नहुदाँ मधुमेह,उच्चरक्तचाप,युरिक एसिड र पेट क्यान्सर बढाउँछ । फुर्सदिलो समय र बढी मदिरा सेवनले दुर्घटनाको सम्भावना बढाउँछ । तेलमा पाइने तीन प्रकारका फ्याटी एसिडमा स्याचुरेटेड फ्याटी एसिडले मुटुलाई हानि गर्छ । ट्राइग्लिसेराइडले हृदयघातक कोलेस्टेरोलको उत्पादन बढाउने र मुटुमा नकारात्मक असर गर्छ । तेल र चिल्लो पदार्थ जति धेरै पटक ततायो उति नै त्यसमा ट्रान्सफ्याट उत्पन्न हुन्छ र स्वास्थ्यका लागि बढी हानिकारक र क्यान्सर बनाउन सक्ने हुन्छ ।
नियम र कानुन
खाद्य ऐन २०२३ सालमा आएको हो तर त्यसको प्रभावकारी कार्यान्वयन कहिल्यै भएको छैन । यो ऐनको प्राविधिक मात्र २०४८ र ०४९ मा २ पटक संशोधन गरियो । खाद्य ऐनले न्यूनस्तरको खाद्यपदार्थ उत्पादन, बिक्री–वितरण, निकासी वा पैठारी गर्नेलाई पहिलो पटक अपराध गरे एक हजारदेखि दुई हजार र दोस्रो पटक गरे दुईदेखि पाँच हजार रुपैयाँ जरिवाना तथा छ महिनादेखि एक वर्षसम्म जेल सजाय गर्ने व्यवस्था छ । दूषित पदार्थ उत्पादन, बिक्री–वितरण,निकासी वा पैठारी गर्ने अपराधीलाई १० देखि २५ हजार रुपैयाँ जरिवाना र तीन वर्षसम्म कैद हुनसक्छ । तर अहिलेसम्म कसैले जेल सजाय पाएको अभिलेख छैन । खाद्यमिसावट यति भयानक छ कि सरकारले यो ऐन प्रभावकारी ढंगले कार्यान्वयन गर्दा सजाय दिन नेपालका जेल पनि पुग्दैनन् होला ?
बढी मुनाफामुखी, प्रतिस्पर्धा र तयारी खाद्यवस्तु संस्कृतिले गर्दा हामी बिरलै प्राकृतिक गुणले भरिपूर्ण खाद्यवस्तु खान पाउँछौं ।आधुनिकता, सभ्य, व्यस्त र ठूलो देखिन भान्सामा भन्दा रेस्टुराँ तथा डिब्बाबन्द, सुन्तलाभन्दा त्यसको जुसमा र बेरंगी तथा फिक्का मिठाईंमा भन्दा रंगीन, चार–पाँच रंगको मिठाईंमा अभ्यस्त भएका छौं । तर खाद्यवस्तुको बनावट,संरचना लगायतले स्वास्थ्यमा पारेको अल्पकालीन र दीर्घकालीन असरका बारेमा एकछिन एकाग्र भएर सोचौं त ? तब मात्र सही निर्णयमा पुगेर स्वास्थ्यमैत्री खानपान र जीवनशैली अपनाउन सकिन्छ ।
अन्त्यमा, नियमित खाइरहेका औषधि सधैं खानुपर्छ । दिनहुँ एक घण्टा परिश्रम पर्ने गरी हिँड्न, व्यायाम वा योग गर्न तथा सक्रिय क्रियाकलाप गर्न भुल्नु हुँदैन । किनभने भर्खर समस्या सुरु भएका,उमेर पुगेका र वंशानुगत दृष्टिले खतरा भएकालाई रोगले च्याप्ने, जटिलता ल्याउने, दीर्घरोगीहरूमा ह्दयाघात,पक्षघात,मस्तिष्कघात तथा मृत्यृ बनाउने बेला चाडबाड हो । तसर्थ खानपान, जीवनशैली र आनीबानीलाई नियन्त्रणमा राखी चाडपर्वहरू मनाउन सबै सचेत हौं ।
(केन्द्रीय कारागार अस्पताल, काठमाडौंका निर्देशक, प्रमुख कन्सल्ट्यान्ट डेन्टल सर्जन डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष तथा बाग्मती प्रदेशका अध्यक्ष हुनुहुन्छ ।)

 Image