लेख्न, पढ्न र साहित्य कोर्न आमासँगै सिके अभि सुवेदीले । उनको साहित्य लेखनमा आमाको गहिरो प्रेरणा छ । त्यही भएर त आफ्ना कृतिमा आमाको भावनादर्साउछँन् । यसैको उदारहण हो, ‘मायादेवी’ नाटक । माओवादी द्वन्द्वकाललाई जोडेर मायादेवीका रूपमाआमाको वेदनालाई दर्साएको उनको भनाइ छ । यसका साथै ‘आरुका फूलका सपना’, ‘अग्निका कथा’ नाटक पनि उनले लखेका छन् । हरेक आमामा नारी शक्ति हुन्छ भन्ने धारणामा आफूले नाटकपस्कने गरेको उनी बताउँछन् । आमाले भोगेका संघर्ष, संवेदना, दुःख, भोक, आशा सबै देखेका छन् उनले । उनलाई लाग्छ, नारीबाट सिर्जना र संरक्षकत्व जन्मिन्छ तर यो कुरा समाजले पचाउन सकेको छैन । ‘नारी शक्तिलाई विश्वास नगर्नु नै आजको समस्या हो,’ उनी भन्छन्, ‘पुरुषकेन्द्रित समाजले नारीलाई हेर्ने एक आयाम हुन्छ तर यथार्थमा नारी बहुआयामिक हुन्छन् ।’
आख्यानकार, नाटककार, समालचोक, कवि आदि थुप्रै परिचय बोकेका सुवेदी तेह्रथुकमो साबलामा जन्मिए । ४६ वर्षीय बुवाले १० वर्षीया आमासँग विवाह गरेका थिए । बुवातर्फका उनी एक्काइसौं सन्तान हुन् भने आफ्नी आमाका सातौं कान्छा छोरा । राणाशासनको समयमा उनका पिताले एक गुरु घरमा भित्राए ।आमासँगै नेपाली, बंगाली र अग्रेंजी घरमै सिके । सानैमा बुवा गुमाएपछि आमा नै एकमात्र संरक्षक बनिन्, उनैबाट शिक्षा–दीक्षा ग्रहण गरे । त्यसबेला भाषाविज्ञ बल्लभमणि दाहालले अंग्रेजी पढ्नउनलाई सुझाए । कक्षा ७ मा पढ्दै गर्दा लिम्बूवानमा मिसनेरी क्रिश्चियन मुभमेन्ट चल्न थाल्यो । लिम्बूवानहरूलाई क्रिश्चियन बनाउन गाउँगाउँमा तामिल तथा साधुहरू भित्रिएका थिए । उनीहरूले नै अंग्रेजी शिक्षकका रूपमा विद्यालयमा पढाउन थाले ।‘मलाई अंग्रेजी पढ्नु थियो, संयोग मान्नुपर्छ । त्यतिबेला अंग्रेजीका गुरुहरू विद्यालयमा भित्रिए । चाख दिएर पढ्न र बोल्न थालें,’ उनी भन्छन्, ‘विद्यालयबाट एसएलसी सक्दा सर्टिफिकेटसँगै अंग्रेजी भाषामा पोख्त भइसकेको थिएँ ।’
कलेज पढ्न उनी विराटनगर झरे । त्यसबेला विराटनगर आइपुग्न तीन दिन लाग्थ्यो । महेन्द्र मोरङ क्याम्पसमा पढाइसँगै उनी कम्युनिस्ट राजनीतिमा होमिए । निर्दलीय पञ्चायती व्यवस्थाविरोध गर्नु नै आन्दोलनको मुख्य उद्देश्य थियो । कहिले उनी रातभर कोशीको चारकोशे झाडीमा कुद्थे त कहिले जेल पुग्थे । भन्छन्, ‘त्यतिबेला कम्युनिस्ट आन्दोलनको लहर नै थियो, युवा जोश थियो, उत्पातै आन्दोलन गरियो ।’ आन्दोलनमा होमिएका कारण उनको महेन्द्र छात्रवृत्ति पनि रोकियो । आन्दोलन गरे तर पढाइ छाडेनन् । साथीहरूलाई पढ्नका लागि हौसाउँथे । भन्थे, ‘म त पास हुन्छु, तिमीहरू पढ ।’
परिवर्तनका लागि हिँडेका उनी कवि मञ्जुलको भनाइबाट एकाएक राजनीतिबाट हराए । सँगैका साथीहरूले पञ्चायती व्यवस्थालाई स्वीकार गरे तर उनले शब्द र साहित्यलाई रोजे । मञ्जुलले भनेका थिए— हामी राजनीतिका लागि होइन, कवि बन्ने हो, साहित्यकार बन्ने हो । ‘मञ्जुलको त्यही शब्दले राजनीति छोडिदिएँ, त्यो दिनदेखि स्वतन्त्र भएर हिँडिरहेको छु,’ सुवेदी उन्मुक्त हाँस्छन् । राजनीति छोडे पनि उनले थुप्रै राजनीतिज्ञलाई ज्ञान बाँड्ने काम गरेका छन् । राजनीति छोडेपछि उनी काठमाडौंमा बी।ए। पढ्न आए । उनलाई अंग्रेजी पढ्नु थियो । त्रिचन्द्र कलेज पुगे तर रोजेको विषय थिएन । काठमाडौंमा अकस्मात् विदेशी युवायुवती हिप्पी०को आगमन भयो । हिप्पीहरूको संगतले सोच नै बदलियो भन्छन् उनी । ‘विदेशीहरू कवि, लेखक, फिलोसोफरहरू पो रहेछन्, उनीहरूको संगतले उनलाई लेखन कार्यमा थप हौसला प्रदान ग¥यो,’ उनले सुनाए । काठमाडौं आएपछि रोकिएको छात्रवृत्ति पाउन थालेका थिए । त्यही खर्चले पढाइ खर्च जुटाउँदै साहित्यमा अक्षरहरू थप्न थाले, जसमा हिप्पीको प्रेरणा छँदै थियो ।
‘साहित्यभन्दा अरु कुरा कहिल्यै देखिनँ, शब्द नै सधैंभरि साथी भइदिए,’ उनी भन्छन् । यो आफ्नै लगाव र तपस्या हो भन्ने उनलाई लाग्छ । उनी समालोचक पनि हुन् । उनले संगीत, कला एवं साहित्यको समालोचना गर्छन् । उनका अनुसार समालोचनाका दुई पाटा छन् । कृति सरसर्ती अध्ययन गरेर जानकारी दिने, अर्को विषयमाथिको आत्मालोचना। ‘समालोचना सिर्जनशील विधा हो, यसमा संयमतासँगै ज्ञान आवश्यक हुन्छ,’ उनी भन्छन् । नेपाली साहित्यमा नारी लेखन सशक्त हुँदै गएको उनले महसुस गरेका छन् । आफ्ना वेदना, पीडा साहित्यमा उतार्ने नारीहरू पछिल्लो समययात्रा, संस्मरणसँगै साहित्यका सबै विधामा अगाडि बढ्न थालेकामा उनी खुसी छन् । ‘महिलाहरूको लेखनमा सक्रियता बढ्दो छ, नारीसम्बन्धी विचार पनि सशक्त छ । तर नाटक लेखनमा महिलाअझै अगाडि बढ्न सकेका छैनन्,’ उनले भने । नेपालमा लेखनले मात्र बाँच्न सक्ने अवस्था नबनेकाले नेपाली साहित्य माथि उठ्न नसकेको उनको मूल्यांकन छ ।‘प्राध्यापन नगरेको भए म पनि यति लामो समय साहित्यमा टिक्न सक्ने थिइनँ,’ उनी भन्छन् ।
तस्बीर - महेशमान प्रधान