Successfully Copied

कूटनीतिक जोडी

गुल्मीका भण्डारी र थानापति नुवाकोटकी सिलवालको भेट १६ वर्षअघि एक चिनजानका साथीमार्फत भएको थियो । यी दुवै विसं २०६७ मा परराष्ट्र सेवामा प्रवेश गरेका हुन् । हाल बंगलादेशका लागि नेपाली राजदूत भण्डारीले यसअघि जेनेभा, ब्रसेल्स र न्यूयोर्कस्थित नेपाली नियोगहरूमा सेवा गरिसकेका छन्


कूटनीतिक क्षेत्रका लोकप्रिय जोडी हुन्– घनश्याम भण्डारी र ललिता सिलवाल । लामो समय शिक्षण पेसामा आबद्ध अर्जै गुल्मीका भण्डारी र थानापति नुवाकोटकी सिलवालको भेट १६ वर्षअघि एक चिनजानका साथीमार्फत भएको थियो । यी दुवै विसं।२०६७ मा परराष्ट्र सेवामा प्रवेश गरेका हुन् । हाल बंगलादेशका लागि नेपाली राजदूत भण्डारीले यसअघि जेनेभा, ब्रसेल्स र न्यूयोर्कस्थित नेपाली नियोगहरूमा सेवा गरिसकेका छन् भने सिलवाल हाल नेपाली राजदूतावास, ढाकामा उप–नियोग प्रमुखका रूपमा कार्यरत छिन् । उनले पनि यसअघि जेनेभा र ब्रसेल्सस्थित नेपाली नियोगहरूमा सेवा गरिसकेकी छिन् ।

सुन्दर, आकर्षक र फरासिली ललिताको व्यवहार र आत्मविश्वासले पहिलो भेटमै आफूलाई तानेको बताउँदै घनश्याम भन्छन्– ‘हामी दुवैका एकजना ‘कमन फ्रेन्ड’ हुनुहुन्थ्यो । उनले नै हामीलाई भेट गराइदिनुभएको हो । पहिलो भेटमै उनी मलाई निकै निडर र आत्मविश्वासी लागिन् । उनको सुन्दरता तथा व्यक्तित्व पनि उत्तिकै आकर्षक र मनमोहक ।’ कूटनीतिक क्षेत्रमा सुन्दर र सबल जोडीका रूपमा परिचित दम्पती एकले अर्कालाई सुख–दुःखमा साथ दिँदै आएका कारण आफूहरू निकै खुसी भएको बताउँछन् । ललिता भन्छिन्–‘पहिलो भेटपछि नै भिन्न प्रकारको महसुस भएको थियो । उतिबेलै हामीबीच फोन नम्बर आदान–प्रदान भयो । वार्तालापसँगै विचार, व्यवहार र कुरा मिल्न थालेपछि हामी क्रमशः नजिकियौं ।’ प्रेमका हरेक क्षण अविस्मरणीय हुन्छन् भन्ने यो जोडी एक–अर्काको जीवनलाई नै अविस्मरणीय बनाउने प्रण गर्दै प्रेममा परेको केही समयमै विवाह बन्धनमा बाँधिए । विवाहपछि जिम्मेवारी र परिपक्वता बढेको बताउने घनश्याम कुनै पनि सम्बन्धलाई प्रगाढ बनाउन दुवै पक्षबाट निरन्तर प्रयास हुनुपर्नेमा जोड दिन्छन् । सम्बन्धलाई अझ सुमधुर, बलियो र तरोताजा बनाइराख्ने सूत्र खोल्दै दुवैले एकै स्वरमा भने–‘एक–आपसबीचको समझदारी र विश्वास नै सुमधुर सम्बन्धको कडी हो, जीवनका उकाली–ओरालीहरूमा एक–अर्काको साथ र सहयोग आवश्यक हुन्छ । अझ मूल कुरा त एक–अर्काका लागि समय बनाइराख्नुपर्ने, घर–व्यवहारका ठूला–साना सबै निर्णय लिँदा सल्लाह र समझदारीका साथ अगाडि बढ्नुपर्ने र समस्याका बारेमा खुलेर कुरा गर्नुपर्ने हुन्छ ।’

आफ्नो जीवनमा ललिताको प्रवेशपछि जीवन रमाइलो, स्थायी र व्यवस्थित भएको घनश्यामको तर्क छ । ललिता भने घनश्यामसँगको सहयात्रामा आफू खुसी भएको बताउँछिन् । केयरिङ, जिम्मेवार र मायालु स्वभावका श्रीमान् पाएकोमा उनी मख्ख छिन् । कहिलेकाहीँ स–साना विषयमा यी दुईबीच भनाभन नहुने होइन तर उनीहरू यस्ता कुरालाई मनमा गाडेर राख्दैनन्, समस्याबारे मन खोलेर कुरा गर्छन् र त्यसलाई समयमै सल्टाउँछन् । सम्बन्धलाई सम्मानजनक र मर्यादित बनाउन सिपालु घनश्यामले बालबच्चा भएसँगै जिम्मेवारी थपिएको महसुस भएको बताए । कूटनीतिक क्षेत्रमा क्रियाशील उनीहरूले कामको व्यस्तताले समय निकाल्न नसक्दा बच्चाहरू हुर्काउन चुनौती रहेको बताए । तर पनि परिवारको सहयोग प्राप्त भएकाले केही सहज भएको ललिताले बताइन् । उनी भन्छिन्–‘बालबच्चाका लागि समय निकाल्नु, उनीहरूका गुनासाहरू सुन्नु एवं उचित शिक्षा र संस्कार दिनु हाम्रो जिम्मेवारी हो । तसर्थ हामीले व्यस्त तालिकाबाट केही समय निकालेर उनीहरूसँग बिताउने गरेका छौं ।’ कामकाजी भएर पनि ललिताले असल बुहारी, श्रीमती र आमाको भूमिका निर्वाह गर्न कुनै कसर बाँकी राखेकी छैनन् । समय व्यवस्थापनमा पोख्त उनको यही गुण र क्षमताप्रति घनश्याम नतमस्तक छन् । ललितालाई भने घनश्यामको शान्त स्वभाव, परिवारलाई महत्व दिने बानी र कामप्रति प्रतिबद्ध रहने गुण निकै मनपर्छ । त्यसका साथै आफ्नो करियरलाई अगाडि बढाउने श्रीमान्को साथ र सहयोगप्रति उनी कृतज्ञ छिन् ।

कामको सिलसिलामा यी दुईले संसारका थुप्रै मुलुकमा सहकार्य गरिसकेका छन् । दुवैजना परराष्ट्र सेवामा कार्यरत भएकाले संसारको जुनसुकै कुनामा जानुपरे पनि उनीहरू सँगै हुन्छन् । ‘हाम्रा लागि यो सौभाग्यको कुरा हो ।’ दुवैले एकै स्वरमा भने–‘दाम्पत्य जीवनमा यस्तो अवसर कमैले प्राप्त गर्लान् । हामी जहाँ गए पनि नेपाल र नेपालीका लागि मिलेरै सेवा र सहकार्य गर्ने मौका पाइरहेका छौं जुन हाम्रा लागि गर्वको कुरा हो ।’
विवाह भएको १५ वर्ष भयो । एक–अर्काको साथ र सहयोगले दाम्पत्य जीवन सुखमय रूपमा बितेको छ र आशा छ भविष्यमा पनि यसैगरी एक–अर्काको सुख–दुःखको सारथि भएर जीवन
बित्नेछ ।

घनश्यामको नजरमा ललिता
बलियो पक्ष समस्याहरूसँग नडराउने, चिन्ता नलिने ।
कमजोरी- मनमा लागेको कुरा भनिहाल्ने ।
आकर्षक पक्ष -आत्मविश्वासी र निडर ।
मनपर्ने पुस्तक - खालिद हुसेनीको ‘अ थाउजेन्ड्स स्पेल्नडिड सन्स’ ।
सुधार्नुपर्ने कुरा- कतिपय विषयहरूमा सोचेर मात्र प्रतिक्रिया जनाउँदा राम्रो हुन्छ ।
कस्ती श्रीमती - असल जीवनसाथी ।
के भएको हेर्ने इच्छा छ रुः सधै खुसी भएको ।

ललिताको नजरमा घनश्याम
मनपर्ने बानी - शान्त रहने, परिवारसँग समय बिताउने ।
आकर्षक पक्ष- कामप्रतिको प्रतिबद्धता ।
कमजोरी- अरुलाई सजिलै विश्वास गरिहाल्ने ।
बलियो पक्ष- आलोचनासँग नडराउने ।
सुधार्नुपर्ने - अरुलाई विश्वास गर्नुअघि विचार गर्नुपर्ने ।
अत्यन्तै मनपरेको काम - यही भन्ने छैन सबै मन पर्छन् । विशेष रूपमा मलाई जीवनमा अघि बढ्न मिलेको साथ, सहयोग र प्रेरणाप्रति म सधै आभारी छु, रहनेछु ।
कस्तो श्रीमान् रुः माया गर्ने अनि असाध्यै सहयोगी ।
के भएको देख्ने रहर छ रुः सफल र खुसी ।

 Image