विभेदविरुद्ध सरस्वती
शरीरमा लागेको चोटपटकको पीडाभन्दा पनि समाजमा रहेको छुवाछूतको पीडा उनका लागि महत्वपूर्ण थियो ।![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2023/miscellaneous/SaraSwoti2-1688715102.jpg&w=1000&height=600)
![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2023/miscellaneous/SaraSwoti2-1688715102.jpg&w=1000&height=600)
मानवीय खुवी थुप्रै प्रकारका हुन्छन् । तर एउटै मानिसमा ती सारा खुबीका हरेक आयामहरू उत्तिकै सक्रिय र सशक्त नहुन सक्छन् । आफूमा भएका धेरै खुबीलाई सक्रिय रूपमा परिचालन गर्ने बहुप्रतिभाशाली व्यक्ति हुन्–यादव खरेल । आफ्नो नाम र व्यक्तित्वलाई नै बलियो ‘ब्रान्ड’ बनाउन सफल खरेल गीतकार, कवि, मुक्तककार, चलचित्र निर्माता, निर्देशक, पटकथाकार, कथानक चलचित्र लेखक, सञ्चारकर्मी, बालसाहित्य लेखक तथा सामाजिक कार्यमा समेत क्रियाशील व्यक्तित्व हुन् ।
काभ्रे खरेलथोकका गोपीकृष्ण र सरस्वती देवी खरेलका दोस्रो सन्तान यादव खरेल आमासँगको सम्झना धुमिल रहेको बताउँदै भन्छन्–‘म नौ वर्षको हुँदा आमा बित्नुभयो, आर्यघाटमा दाहसंस्कार गर्दाको स्मरणले अहिले पनि बेलाबखत घोच्ने गर्छ ।’ पद्मोदय हाइस्कुल पढेका खरेलले दरबार हाइस्कुलबाट बिएल (त्यतिबेला यहा“ बिएलसम्म पढाइ हुन्थ्यो) र त्रिचन्द्र क्याम्पसबाटस्नातक, त्रिविबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । स्कुल सकेर कलेज जाने वि.सं. २०१६ सालताका उनलाई रेडियोप्रति आकर्षण बढ्न थाल्यो । उतिबेलाका रेडियो हस्ती जनार्दन सम, लक्ष्मण लोहनी, श्यामदास वैष्णवहरूले उनलाई निकै सहयोग गरे । रेडियो नेपालमा आफूले चलाएको पहिलो ‘बाल कार्यक्रम’ अझै पनि स्मरणीय रहेको उनले बताए । उनी रेडियो नाटकमा मूलपात्रको भूमिकामा स्वर भर्थे । वि.सं.२०२१ मा निर्माण भएको ‘माइतीघर’ चलचित्रमा यादवले छोटो रोल पाएका थिए, सोही बेला उक्त चलचित्रकी नायिका माला सिन्हाका बुवा अल्वर्ट सिन्हाले तिमी एम.ए. पढेको मान्छे यस्तो सानोतिनो रोल गरेर बस्ने होइन, डाइरेसन गर्नुपर्छ भन्ने कुराले उनको दिमाग हल्लाइदियो । उनी फिल्म पढ्न ६० वर्ष पहिले लन्डन युनिभर्सिटी पुगे । सोही क्रममा लन्डनबाट प्रसारित बीबीसी नेपाली सेवाको प्रारम्भिक चरणमै कार्यक्रम सञ्चालक तथा समाचारवाचक भएर काम गर्ने मौका पाए । ‘त्यसै क्रममा मैले लन्डनको स्टुडियोमा राजा महेन्द्रलगायत थुप्रै हस्तीहरूसँग अन्तर्वार्ता लिने मौका पाएँ । लन्डनको काम र पढाइले मभित्र छुट्टै किसिमको आत्मविश्वास, सिर्जनशीलता र सोच भरिदियो ।’ खरेल भन्छन्–‘त्यसपछि म जन्मभूमि फर्केर यहीँ केही गर्ने निष्कर्षमा पुगें ।’
आफूले सिकेको सीप, कला र क्षमतालाई आफ्नै देशमा लगानी गर्ने आकांक्षाका साथ नेपाल फर्किएका खरेलले चलचित्र, लेखन र सामाजिक कार्यका माध्यमबाट महिलाका क्षेत्रमा ठूलो योगदान दिएका छन् । चलचित्रको गीत लेखनमा अब्बल उनले लेखेका महिला सशक्तीकरणका गीत अहिले पनि कालजयी छन् । दुई सयभन्दा बढी रेकर्डेड गीतका लागि शब्द कोरिसकेका खरेलले आठ वटा चलचित्रमा निर्देशन गरिसकेका छन् भने उनीद्वारा लिखित लघुकथा, बालकथा, कविता संग्रह पनि उत्तिकै लोकप्रिय छन् । उनी भन्छन्–‘उतिबेला नै दलितको समर्थनमा गीतबाटै आवाज उठाएको छु । बम्बईमा बेचिएकी चेलीको कथा उधिन्दै नेपाल फर्काएर नेपाली युवकले विवाह गरेको परिवर्तनकारी सन्देश प्रवाह गर्न सफल ‘चेलीबेटी’ चलचित्रको लेखन, निर्देशन र निर्माण गरेको छु । छोरीलाई रंगमञ्च र चलचित्रमा जान दिन हुँदैन भन्ने पुरातन सामाजिक सोचलाई चिर्दै कयौं चेलीलाई चलचित्रमा ‘ब्रेक’ दिएको छु । म जुन–जुन संस्थामा प्रमुखका रूपमा जिम्मेवारी निर्वाह गरें त्यहाँ महिलामैत्री नीति तथा कार्यक्रम ल्याउन सफल भएको छु । परिवार नियोजन संघको उपाध्यक्षका रूपमा काम गर्दा नेपालभरका महिला दिदीबहिनीलाई सीप सिकाउने अभियानमा सक्रिय रूपमा काम गरेको छु ।’ प्रज्ञा प्रतिष्ठान, नेपाल आँखा अस्पताल, परिवार नियोजन संघ, रेडियो नेपाल, बीबीसी नेपाली सेवा, नेपाल चलचित्र संस्थान, चलचित्र विकास बोर्ड, नेपाल विज्ञापन संघ, मदन पुरस्कार गुठीलगायत चार दर्जन बढी संघसंस्थाको उपल्लो दर्जामा रहेर सम्बन्धित नीति तथा कार्यक्रम बनाउने जिम्मेवारी निभाएका खरेलका आठ वटा कविता तथा गीतसंग्रहका साथै पटकथा, आलेख र मुक्तकसंग्रह प्रकाशित छन् । तीबाहेक अन्य आठ वटा बाल गीत र कविता संग्रह तथा १५ वटा गीति एल्बम पनि हामी पढ्न र सुन्न पाउँछौं । कथानक चलचित्र, वृत्तचित्र, विज्ञापन र डकुमेन्ट्रीमा पनि खरेलको लेखन र निर्देशन उत्तिकै सशक्त छ । पुराना पुस्ताका फत्तेमान राजभण्डारी, नारायणगोपाल, गोपाल योञ्जनदेखि नयाँ पुस्ताका न्हयू बज्राचार्य, सुदाम थापा, टीका भण्डारीजस्ता संगीतकारहरूसँग सहकार्य गरिसकेका उनका गीत आशा भोषले, मुरलीधर, अनुप जलोटा, अल्का याग्निक, साधना सरगम आदि हस्तीहरूले गाएका छन् । प्रख्यात त्रिशक्तिपट्ट, प्रबल गोरखा दक्षिणबाहु, वीरेन्द्र–ऐश्वर्य सेवा पदक, दैवी प्रकोप उद्धार पदक, इमेज लाइफटाइम अचिभमेन्ट अवार्ड, छिन्नलता गीत पुरस्कार, राष्ट्रिय स्रष्टा सम्मान, महाकवि देवकोटा शताब्दी सम्मान, वासु शशि स्मृति सम्मानलगायत सयभन्दा बढी सम्मान–पदकबाट सम्मानित यादव खरेलले वि.सं. २०७३ मा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदान गरेको भानुभक्त शताब्दी सम्मान अस्वीकार गरेका थिए ।
वि.सं. २०२८ सालमा लेखक तथा आर्टिस्ट चारु खरेलसँग वैवाहिक जीवनमा बाँधिएका उनका एक छोरा, दुई छोरी र तीन जना नातिनातिना छन् । आफ्नो जीवनमा चारुको आगमनपछि सबै कुरा व्यवस्थित भएको बताउँदै उनी भन्छन्–‘नारीको धैर्य र व्यवस्थापकीय कलाप्रति म नतमस्तक छु । चारु मेरो जीवनमा आएपछि हरेक कुरा व्यवस्थित, सबल र सफल हँुदै गए । मेरो जीवनको सफलताको श्रेय उनैलाई जान्छ । मेरो जीवन पूर्ण हुनुमा उनको ठूलो हात र साथ छ ।’
हजुरआमा- प्रेरणाकी स्रोत ।
आमा-देवी ।
दिदीबहिनी-परिवारका अभिन्न भाग ।
श्रीमती- जीवनको सहयात्री ।
छोरी-भविष्यका आशा ।
महिला साथी–सहकर्मी-समताका प्रतीक ।
प्रभाव छाड्न सफल महिला- मेरी श्रीमती ।
आकर्षक महिला- इन्दिरा गान्धी ।
महिलाको बलियो पक्ष- कुशल व्यवस्थापकीय क्षमता ।
तस्बीर -महेशमान प्रधान