Successfully Copied

बोल्ड वन्दना

महिलाविरुद्ध हुने भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति (सिड) मा पुग्ने प्रथम नेपाली हुन् वन्दना राणा । हाल उनी सिडको दोस्रो कार्यकालमा छन् । महिला आयोगको अध्यक्ष समेत भइसकेकी उनी पछिल्लो समय महिला र बालबालिकाको अधिकारका क्षेत्रमा सक्रिय छन् ।



महिलाविरुद्ध हुने भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति (सिड) मा पुग्ने प्रथम नेपाली हुन् वन्दना राणा । हाल उनी सिडको दोस्रो कार्यकालमा छन् । उनले नेपाल टेलिभिजनमा २० वर्ष पत्रकारिता गरी महिला पत्रकारहरूको सञ्जाल सञ्चारिका समूहदेखि महिला घरेलु हिंसा अन्त्यका लागि साथी संस्था स्थापना गरिन् । महिला आयोगको अध्यक्षभइसकेकी उनी पछिल्लो समय महिला र बालबालिकाको अधिकारका क्षेत्रमा सक्रिय छन् । उनै राणालाई नारीको पत्रकार महिलाको स्तम्भमा समेटिएको छ ।

पत्रकारिताको सुरुवात
२०४३ सालमा नेपाल टेलिभिजन सुरुवातको समय थियो । घरमा बसेर टेलिभिजन हेर्दा उनलाई यसप्रति मोह बढेको हो । आफूलाई पनि टेलिभिजनमा देखिन मन लाग्यो । उनले १७ वर्षमै विवाह गरेकी थिइन् । उनका दुई छोरी जन्मिसकेका थिए । उनी अंग्रेजी समाचार वाचकका रूपमा टेलिभिजनमा प्रवेश गरिन् । तालिम र सिक्ने माध्यमविना आफैं सिक र गर भन्ने हेतुले प्रवेश गरेकी हुन् । नोस्टाल्जिक हुँदै उनी भन्छिन्–‘समाचार वाचकको तालिम लिन स्टुडियो खाली हुनुपथ्र्यो र क्यामेराम्यानलाई फकाएर सिक्नुपथ्र्यो ।’ ललितपुरको जावलाखेलमा जन्मिएकी उनले आमाकै करबलले सेन्टमेरिजबाट विद्यालय स्तरको पढाइ पूरा गरेकी हुन् । लाइभ समाचारमा बोल्न सहज नभएपनि आत्मविश्वासका साथ उनले आँट गरिन् । पहिलो समाचार वाचन गर्दाको क्षण सम्झदै उनी भन्छिन्–‘पहिलो समाचार अनएयर हुँदा मेरो मुटु फुट्छ किजस्तो भएको थियो, कतिबेला सिध्याएँ थाहै पाइन ।’ त्यतिबेला अहिले जस्तोे कम्प्युटर थिएन । हातैले लेखेका समाचार पढ्नुपथ्र्यो । कहिले तल–माथि समाचारका वाक्य मिलाएर पढ्न गाह्रो हुन्थ्यो । उनले टेलिभिजनमा रातिसबा १० बजेको समाचार पढ्थिन् । घर आइपुग्दा भने झन्डै साढे ११ हुन्थ्यो । उनी समाचार वाचनसँगै रिपोर्टिङ तथा प्रोडक्सन पनि गर्थिन् । घरमा श्रीमान्लगायत सबैको सहयोग थियो । त्यसैले छोरीलाई घरमै छोडेर ढुक्कले उनी रेडियोमा काम गर्थिन् । तर छिमेकी एवं आफन्तलाई उनले टेलिभिजनमा काम गरेको मन परेको थिएन । तर पनि उनी आफ्नो काममा खटिरहिन् । उनी भन्छिन्–‘मेरो योग्यता एवं क्षमतालेजागिर खाए“। महिलाले पनि टेलिभिजनमा काम गर्न सक्छन् भन्ने कुरा प्रमाणित गरेर देखाएँ ।’

पहिलो लाइभ सार्क सम्मेलन
उनले टेलिभिजनमा समाचार पढ्न आफूलाई अब्बल बनाउँदै लगिन् । हातले लेखेका शब्द ध्यान दिएर पढ्थिन् । त्यो समयमा टेलिभिजनमा महिला सीमितथिए । समाचार अनएयर गरिरहेकी उनलाई टेलिभिजनबाट अब लाइभ कार्यक्रम सञ्चालन गर्नु थियो । सन् १९८७ मा सभागृहबाट सार्क सम्मेलनको लाइभ रिपोर्टिङ गर्नु थियो । उनलाई सार्कका बारेमा केही थाहा थिएन । त्यतिबेलासार्कको विषयमा जानकारी लिन गुगल पनि थिएन । समाचारका क्रममा तयार पारेका डायरीले नै उनलाई सहयोग मिल्यो । त्यसबेला उनका साथमा क्यामेराम्यान विजयी पाल्पाली थिए । क्यामेराम्यानले उनलाई भने–‘माइक र क्यामेरा जोडिएको छ, तपाईंको टाउको क्यामेरामा नआओस् है ।’ क्यामेराम्यानको निर्देशनअनुसार नै कतै नबिराई कतै नअलमलिई लाइभ टेलिकास्ट गरिन्। उनले भनिन्–‘त्यो पहिलो टेलिकास्टको अनुभवले मलाई धेरै कुरा सिकायो । उनले २० वर्ष काम गरेपछि टेलिभिजनबाट अवकाश लिइन् ।


युएनको जागिर छोडेर सञ्चारिका
१९८८ मा टेलिभिजन पत्रकारिताको तालिम लिन उनी नेदरल्यान्ड पुगिन् । तालिमका क्रममा उनलाई सोधियो–‘यो विषयमा तपाईंको विचार के छ ?’ आफ्नो विचार राख्न पनि उनलाई निकै कठिन भयो । त्यो विषय नौलो थियो र उनलाई त्यस्तो प्रश्न कसैले सोधेका थिएनन् । सुगम स्थानमा जन्मिएर अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गरी आफ्नो विचार भन्न नसक्दा उनलाई लाग्यो अन्य महिलाहरूको अवस्था अझ के होला ? बिस्तारै उनले आफ्नो विचार राख्न थालिन्–जुन अरुको भन्दा फरक थियो । उनले भनिन्–‘सेतै कपाल फुलेका प्रोफेसरको भन्दा फरक विचार राख्दा पनि आफू सम्मानित हुने रहेछु भन्ने पहिलोपल्ट मैले महसुुस गरें ।’ १९९५ मा चीनको बेइजिङमा चौथो विश्व महिला सम्मेलनमासदस्य राष्ट्ररूले महिलासम्बन्धी १२ वटा बुँदा पारित गरेका मध्येएउटा ‘महिला र सञ्चार’ थियो ।त्यहिँबाट प्रभावित भएर १९९६ मा कानुनी मान्यताका साथ सञ्चारिका समूहको स्थापना भयो । सञ्चार क्षेत्रमा काम गरिरहेका महिलाहरूको क्षमता अभिवृद्धि गर्न यो संस्था स्थापना गरेको उनले बताइन् । पहिलो निर्वाचित अध्यक्षसहित उनले दुई कार्यकाल सञ्चारिका समूहमा काम गरिन् ।

महिला अधिकारकर्मीका रूपमा
उनले युनिसेफ तथा युएनडिपीमा महिलाका विषयमा धेरै काम गरिन् । १९९१ मा युएनडिपीमा मानव अधिकारको विकासको प्रभावको उनलाई रिपोर्ट बनाउनु थियो । त्यसका लागि उनी जिल्ला–जिल्ला पुगिन् । पुरुषहरूसँग कुरा गरिन् तर महिलाहरूलाई पुरुषहरूले बोल्नै दिएनन् । त्यसपछि उनीमहिलाहरूसँग भेटघाट गर्न बिहान पधेरोमै पुगिन् । महिलाहरू यौन शोषण, घरेलु हिंसा र दाइजोका कारण घरमै असुरक्षित भएको थाहा पाइन् । १९९२ मा महिलाहरूका लागि घरेलु हिंसामा काम गर्न ८ साथी मिलेर साथी संस्था स्थापना गरिन् । घरेलु हिंसाको वकालत गर्दै कानुन निर्माणका लागि बहस गरेको पनि उनले बताइन् । हाल संस्थामा महिला बालबालिकाका लागि चार वटा सेल्टर सञ्चालित छन् । उनी भन्छिन्–‘नेपालको स्थानीय तहको कामलाई सकारात्मक रूपले कसरी अन्तर्राष्ट्रिय रूपमा लाने र त्यहाँ आएको नीति–नियमलाई कसरी स्थानीयमा ल्याएर स्थानान्तरण गर्ने भन्ने मुख्य उद्देश्य हुन्छ, लोकल टु ग्लोबल र ग्लोबल टु लोकलका रूपमा काम गरिरहेकी छु ।’ नेपालमा महिलासम्बन्धी थुप्रै कानुन बनेका छन् तर कार्यान्वयन फितलो छ । परिवर्तनका प्रश्नहरू उठिरहँदा उनी भन्छिन्–‘जति हुनुपर्ने त्यो हुन सकेको छैन तर केही भएन भन्न पनि मिल्दैन ।महिलाहरूमा सशक्तीकरण बढ्दै गएको छ ।महिलाहरूले आवाज उठाउन थालेका छन् । महिला राष्ट्रपतिदेखि सभामुखसम्म भैसकेका छन्। अब महिलाहरू हरेक क्षेत्रमा सफल हुनसक्छन् भन्ने कुरा प्रमाणित भइसकेको छ ।’ महिला आन्दोलन जारी नै रहेकाले आफ्नो अधिकार प्राप्त गर्नका लागि अग्रसर रहनुपर्ने उनी बताउँछिन् ।

 Image