डा. नवराज केसीले स्वस्थ महिला भए राष्ट्र नै सबल हुने बताएका छन् । बुधबार कान्तिपुर पब्लिकेसन्सको सहप्रकाशन नारी मासिकद्वारा आयोजित ‘निर्भीक नारी’ को पहिलो सत्र 'स्वस्थ महिला, सबैभन्दा पहिला' मा आफ्ना कुरा राख्दै डा. केसीले स्वस्थ महिला भए महिला मात्र पहिला नभएर राष्ट्र नै पहिला हुने बताएका हुन् ।
उनले आफू सुरुमा बच्चाको डाक्टरजस्तो मात्र लागे पनि कर्णालीका दूरदराजमा खटिँदा आमाहरूको पनि डाक्टर भएजस्तो लागेको बताए । उनले भने, 'सुरुमा आफू म बच्चाको डाक्टरजस्तो लाग्थ्यो, अहिले आमाहरूको डाक्टर पनि हो कि जस्तो लाग्छ।' त्यस्तै उनले आमाहरूमै पोषणको कमी भएकाले बालबालिकामा कुपोषण देखिएको बताए ।
"सुरुमा आफू म बच्चाको डाक्टरजस्तो लाग्थ्यो, अहिले आमाहरूको डाक्टर पनि हो कि जस्तो लाग्छ।"
डा. नवराज केसी
पछिल्लो समय राम्रो समीक्षा पाइरहेको 'शून्यको मूल्य' का पुस्तकका लेखकसमेत रहेका डा. केसीले भने, '५१ प्रतिशत आमाहरू कुपोषित भएकाले ४९ प्रतिशत बालबालिका कुपोषित छन् । स्वस्थ महिला भए महिला मात्र पहिला हुँदैनन् राष्ट्र नै पहिला हुन्छ ।'
कर्णालीका आम मानिसहरूले उपचार गराउने क्रममा भोग्नु परेका दु:ख र संघर्ष पुस्तकमा समेटिएको छ । डा. केसीले 'सिर्जनात्मक गैर आख्यान' भन्ने गरेको पुस्तक उपचारका क्रममा भेटिएका महिलाहरूको प्रेरणाले नै लेखेको बताए । केही रुपान्तरकारी प्राध्यापकहरूको भेटले आफूले पुस्तक लेख्न सकेको उनको भनाइ छ ।
कोभिड महामारीका क्रममा महिलाहरूका कारण धेरै बिरामी निको भएको उनको भनाइ छ । 'हाम्रो समाजमा जति पनि कोभिडले बुवाआमा बित्नुभयो, उहाँहरू डाक्टरको कमीले होइन । छोरीहरूको कमीले बित्नु भएको हो । छोरीहरूले बिरामीको निकै हेरचाह गरे । डाक्टरहरूले नभ्याए केही महिलाहरूले आफ्ना अभिभावक बचाएको मैले देखेको छु,' उनले भने।
अभावका बाबजुद बिरामीहरूले त्यसबाट उन्मुक्ति पाउन गरेका संघर्ष र साहसका कथा पुस्तकमा समेटिएको डा. कसीको भनाइ छ । डा. केसीका अनुसार बिरामीहरूका समस्या सुनेर सुरुमा केही छोटा कथा लेखेको तर पर्याप्त नभएपछि फेरि खोजी गरेर पुस्तक तयार पारिएको हो ।
सुर्खेतस्थित प्रादेशिक अस्पतालमा करिब आठ वर्ष काम गरेका केसीले 'शून्यको मूल्य'मा बिरामीहरुले जीवनयापनको क्रममा गरेका संघर्ष सिर्जनात्मक रुपमा उतारेका छन् ।
धेरै समय पैदल हिँडेरगन्तव्यमा पुग्नुपर्ने बाध्यतालाई केवलकारले छिटो र सहज बनाइदिएका छन् भने पर्यटन प्रवर्द्धनमा पनि ठूलो भूमिका खेल्दै आएका छन् । जहाँ केवलकार चलाएइको छ, त्यहाँ लक्जरी होटल रिसोर्ट निर्माण गरिएका छन् भनेकतै निर्माणको क्रममा छन् ।