Successfully Copied

दृढ विश्वासी विमला

जहाँ–जहाँ काम गरें विज्ञताकै आधारमा आफ्नो क्षमता प्रदर्शन गरें । म कसैको विरासतले आएकी होइन । म विशुद्ध क्षमता र खुबीले स्थापित भएकी हुँ ।


तत्कालीन बर्मा (हाल म्यान्मार) बाट प्रवासी नेपालीका रूपमा विमला राई पौड्यालको परिवार नेपाल प्रवेश गर्दा उनी मात्र एक वर्षकी थिइन् । हाल उनी नेपालकी परराष्ट्र मन्त्री हुन् । विभिन्न विकास तथा कूटनीतिक नियोग र संघसंस्था, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, राष्ट्रिय सभा हुँदै उनी परराष्ट्रसम्म पुगेकी हुन् । उनले आफू भारतीय शरणार्थी शिविरमा एक वर्ष बिताएर मोरङको चुनीबारी कल्याणपुर पुगेको बताइन् । बुवाको निधनपछि उनको पालनपोषण आमाले गरेकी हुन् । ‘आमाले मलाई हुर्काउनुभएको हुँदाबाल्यकालदेखि नै लैंगिक रूपमा संवेदनशील र क्रान्तिकारी स्वभावकी भएँ’ उनले भनिन्, ‘बुवा बितेपछि बर्मा छोड्नुअघि मेरी आमाले आफ्ना सन्तानलाई आफ्नै जन्मभूमिमा लगेर राम्रो शिक्षा दिनेप्रण गर्नुभएको थियो । उहाँले मोरङमा चिया बेचेर हामीलाई पढाउनुभयो ।’ विमलाले कक्षा–सातसम्म मोरङकै स्थानीय विद्यालयमा पढेकी हुन् । त्यसपछि कक्षा दशसम्मको पढाइका लागि उनी दुई घण्टा पैदल हिँडेर विद्यालय पुग्थिन् । दाजुको विराटनगरमा व्यवसाय स्थापित हुँदै गर्दा त्यसपछिको बा“की शिक्षा उतैबाट पूरा गरिन् । रामपुर कृषि क्याम्पसबाट कृषिमा अँइएस्सी र कृषि अर्थशास्त्रमा बिएस्सी गरेकी उनी ब्रिटिस काउन्सिलको छात्रवृत्तिमा लण्डनस्थित म्यानचेस्टर युनिभर्सिटीबाट ग्रामीण अर्थशास्त्रमा मास्टर्स र विकास प्रशासनमा पोस्ट–ग्रयाजुयट गरिन् । त्यसपछि उनले नेदरल्यान्डको हेगस्थित ‘इन्स्टिच्युट अफ सोसल स्टडिज’ मा विद्यावारिधि गरिन् ।
यसो त आइएस्सीपछि पाख्रीबास कृषि केन्द्रबाट उनको जागिरे जीवन सुरु भएको हो । त्यहा“ चार वर्ष सेवा गरेपछि उनी विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्दै राष्ट्रिय योजना आयोगमा विकास विज्ञका रूपमा मनोनीत भइन् । त्यसपछि उनले राष्ट्रपति कार्यालयमा काम गरिन् । हाल राष्ट्रिय सभा सदस्यका रूपमा कार्यरत रहँदै परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्दै छिन् । राष्ट्रिय सभाको छ वर्षे कार्यकालमा अझै उनीसँग एक वर्ष बाँकी छ । उनले भनिन्, ‘जहाँ–जहाँ काम गरें विज्ञताकै आधारमा आफ्नो क्षमता प्रदर्शन गरें । म कसैको विरासतले आएकी होइन । म विशुद्ध क्षमता र खुबीले स्थापित भएकी हुँ ।’



राजनीतिदेखि परराष्ट्रसम्मको यात्रा
स्कुले जीवनमै राजनीति गरेकी उनमा उही बेलादेखि नै राजनीतिक चेत पसेको थियो । कक्षा–आठमा पढ्दा नै उनले स्ववियु निर्वाचनमा अत्यधिक मत ल्याएकी थिइन् । उनले भनिन्, ‘रामपुर कृषि क्याम्पस पढ्दा पनि स्ववियुमा सक्रिय थिएँ । पछि विभिन्न अन्तर्राष्ट्रिय संस्था र कूटनीतिक नियोगमा काम गर्दा आइडी कार्ड लुकाएर नारा–जुलुसमा गइन्थ्यो ।’ बाल्यकालदेखि ‘भोकल’ उनले जातीय तथा भौगोलिक हिसाबले हुने गरेका असमानता, विभेद, हिंसालगायतका आम समस्यालाई ग्रामीण क्षेत्रमा काम गर्दा नजिकबाट देखेकी र महसुस गरेकी थिइन् । विभिन्न अन्तर्राष्ट्रिय विकास नियोग छाडेर राष्ट्रिय योजना आयोगमा आउनुको कारण एकै पटक फराकिलो दायरामा आफ्नो कामको प्रभाव देखाउने हुटहुटी हो भन्ने उनको बुझाइ छ । आयोगमा आएपछि उनको सार्वजनिक जीवन सुरु भयो । विकास विज्ञका रूपमा उनको दह्रो परिचय बन्यो । ‘आयोगमा गएपछि मैले सबै बजेट तथा कार्यक्रम लैंगिक दृष्टिकोणबाट स्थापित हुनुपर्छ भनेर बोलेको–बोल्यै गरें’ उनले भनिन्, ‘आयोगभित्र लैंगिक दृष्टिकोण आवश्यक छ भन्ने चेतना आयो र बजेट सोहीअनुसार विनियोजन हुन थाल्यो । महिला विकास अधिकृतलाई घर, गाडी, चालक र घरमा सोलार जडानको व्यवस्था गरियो ।’ आयोगपछि उनी राष्ट्रपति कार्यालयमा स्वकीय सचिव भएर विकासका मुद्दा हेर्न थालिन् । त्यसपछि उनी छ वर्षका लागि राष्ट्रिय सभा सदस्यमा मनोनीत भइन् । हाल उनी परराष्ट्रमन्त्री बनेकी छन् ।
परराष्ट्रमन्त्री नियुक्त भएपछि विमलाले सर्वप्रथम त सेवा प्रवाहमा सुधारका काम अघि बढाइन् । पासपोर्ट वितरणमा ढिलाइ भइरहेको समस्यालाई तत्काल समाधानका लागि एक महिनाअघिदेखि फर्म खोलिदिइन् । सबै जिल्लाका सिडिओलाई परिपत्र जारी गरी तीन सातामा स्थानीय तहबाटै पासपोर्ट लिने व्यवस्था मिलाउन निर्देशन दिइन् । ‘परराष्ट्र अत्यन्तै संवेदनशील ठाउँ हो । यहाँ मुख्य त तीन वटा काम हुन्छन् र सुधार गर्नुपर्ने पनि यिनैमा हो । पहिलो सेवामा सुधार, दोस्रो राहत तथा उद्धार अनि तेस्रो द्विपक्षीय÷बहुपक्षीय सेवा र सम्बन्ध ।’


परराष्ट्रमा सुधार गर्न आवश्यक रहेको बताउँदै विमलाले भनिन्, ‘पासपोर्टको इन्डोर्समेन्ट बढाउन भर्खरै टेन्डरमा गएका छौं । विदेशमा रहेका नेपालीहरू पासपोर्ट रिन्यु गर्नकै लागि मात्रै भिसा लिएर हवाई टिकट काटेर समय खर्च गरी अर्को देश जानुपर्ने बाध्यता छ । मेरो पर्सनल मोबाइलमा दैनिक यस्ता समस्या र गुनासोले भरिएका हजारौं फोनकल, म्यासेज आउँछन् । व्यक्तिगत रूपमा भ्याएसम्म रेस्पोन्स गरिरहेकी हुन्छु तर यो काम मन्त्रीको होइन । त्यहाँ स्थित नेपाली दूतावास, राजदूत र अन्य कर्मचारीले गर्नुपर्ने काम हो । अब हामी सेवालाई चुस्त–दुरुस्त बनाउन तलबै दिएर भएपनि सेवाग्राहीका गुनासा सुन्ने व्यक्ति हरेक दूतावासमा हुनुपर्छ भनेर तत्काल राख्दैछौं ।’ उनले राष्ट्रप्रमुख, सरकारप्रमुख हुन् वा जुनसुकै दलका शीर्ष नेताले पनि विदेशी निकायका प्रतिनिधि भेट्नुपरे परराष्ट्रको स्वीकृति लिनुपर्ने नियम बनाएकी छन् ।


उनले छिमेकी, मित्रराष्ट्र र विदेशी राष्ट्रप्रतिनिधिसँग परराष्ट्र मन्त्री खुला हुनैपर्ने बताइन् । ‘किनकि यो पदको मुख्य जिम्मेवारी धेरै हदसम्म त्यही सेरोफेरोमा घुमेको हुन्छ । त्यसैले विकासका ठूला परियोजनाका सम्झौता गर्दा परराष्ट्रको उपस्थिति अनिवार्य गरेकी छु, उनले भनिन्, ‘एमसीसीमा अर्थ मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय र योजना आयोग सहभागी भए त्यहाँ परराष्ट्रलाई संलग्न गराइएन । तर समस्या आएपछि परराष्ट्रले के हेरेर बसेको छ भनिन्छ । ठूला योजनामा अनिवार्य रूपमा परराष्ट्रको संलग्नता हुनुपर्छ ।’ राजनीतिक नियुक्तिमा राजदूत पठाउँदा आवश्यक मापदण्ड नपुगेकोमा विदेशस्थित नेपाली दूतावास र राजदूतका विषयमा नियमन गर्नुपर्ने काम पनि प्राथमिकतामा रहेको उनले बताइन् ।
देशलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने, छवि निर्मँण गर्ने, सम्भावनालाई प्रत्याभूति गर्ने परराष्ट्र नै हो भन्ने विमला क्षमतावान् मान्छेले नेतृत्व पायो भने छोटै समयमा पनि ठूलो परिवर्तन ल्याउन सक्ने धारणा राख्छिन् । उनी दृढ विश्वासका साथ काम गर्न रुचाउँछिन् ।

महिला मुद्दामा आवाज
किशोरीमै महिनावारी हुँदा पुस्तक छुन हुन्न भन्ने मान्यतालाई चिरेकी विमला त्यही बेला लैंगिक संवेदनशीलताका विषयमा आवाज उठाउँथिन् । उनले भनिन्, ‘लैंगिक विषय भन्नेबित्तिकै हामी विशाल मुद्दा मात्रै भन्ने बुझ्छौं तर स–साना विषयले पनि महिलाको जीवनमा परिवर्तन ल्याउन सक्छन् ।’ हरेक नियोग र संघसंस्थामा काम गर्दा आफूले महिलाका मुद्दा र लैंगिक विषयलाई प्राथमिकतामा राखेको विमलाले बताइन् । उनले भनिन्, ‘हाल मैले वैदेशिक रोजगारीमा गएका महिलाका लागि सेवा प्रवाह, राहत–उद्धारका कार्यलाई प्राथमिकतामा राखेकी छु ।’


विवाह र परिवार
पाख्रीबास कृषि केन्द्रमा काम गर्दा उनको भेट उद्धवप्रसाद राईसँग भयो । उनी पनि सोही केन्द्रमा कार्यरत थिए । भेटघाट र संवाद बाक्लिँदै जाँदा दुबैको मन मिल्यो । विमलाले उद्धवलाई विवाहका लागिघरमा कुरा गर्नुपर्ने प्रस्ताव राखिन् । ‘मेरा हजुरबुवा (नाम चलेका पण्डित) ले बाहुनकी छोरीले राईसँग विवाह गर्न लागि भनेर विरोध गर्नुभयो । आमाले पनि मान्नुभएन । यसमा मेरा साना दाजुले निकै सहयोग गर्नुभयो’ उनले विगत सम्झिँदै भन्छिन्, ‘विवाहपछि मलाई नबोलाए पनि आमालाई भेट्न गइराख्थें । जब हामी दुबै जना छात्रवृत्तिमा लण्डन पढ्न गयौं, उतै छोरा जन्मियो, त्यसपछि आमालाई नातिको माया लाग्यो । त्यसपछि सम्बन्ध सुदृढ हुँदै गयो ।’ विमलाका एक छोरा र एक छोरी छन् । एक सय एक वर्ष पुगेकी आमाको साथ, परिवारको सहयोग अनि विश्वासका कारण आफू यो ठाउँसम्म पुग्न सफल भएकोमा उनले गौरवको महसुस गर्छिन् । 

 Image