Successfully Copied

अहिले घरभित्रका डाक्टर भनेकै गृहिणी 

घरभित्रको अस्पताल भनेकै भान्छा घर हो र त्यसका डाक्टर भनेका गृहिणी हुन् । उनीहरू सजग छन् भने घरका सम्पूर्ण परिवार स्वस्थ हुने अमेरिकामा गरिएको एक सर्वेक्षणले देखाएको छ । 

 

हाम्रो जिउने आधार भनेकै खाना हो, यसैले हाम्रो स्वास्थ्य निर्धारण गर्छ । स्वस्थ र स्वच्छ खानाले नै हाम्रो शरीरलाई बलियो बनाउने वा कमजोर राख्ने भन्ने कुराको निर्धारण गर्छ । घरभित्रको अस्पताल भनेकै भान्छा घर हो र त्यसका डाक्टर भनेका गृहिणी हुन् । उनीहरू सजग छन् भने घरका सम्पूर्ण परिवार स्वस्थ हुने अमेरिकामा गरिएको एक सर्वेक्षणले देखाएको छ । 

अहिलेको लकडाउनका बखत हरेक व्यवसायमा आबद्ध महिलाको दिनचर्या गृहिणीका रूपमा बितिरहेको छ । अरू बेलाका गृहिणीहरू अहिले ‘सुपर गृहिणी’ भएको बौद्धकी पूर्णिमा केसी भन्छिन्, ‘अरू बेला भान्छाको सरसफाइलगायत स्वस्थतामा अलि अल्छी भइन्थ्यो अहिले त सबैभन्दा अगाडि साबुनपानीले हात धुने कुरा मात्रै याद आउँछ’ । उनी आजकल भान्छा छिर्नुअघि नुहाएर मात्र काम सुरु गर्छिन् । शिक्षिका सीता धितालको अहिलेको धेरै समय भान्छामै बित्छ । स्कुल बन्द भएपछि उनले ३ दिन लगाएर भान्छा सफा गरिन् । अहिले उनी तरकारी तातो पानीमा भिजाउनेदेखि लिएर भान्छाको अन्य सरसफाइमा बढी समय खर्चिन्छिन् । छाउनीकी धिताल भन्छिन्, मलाई त अहिले घरका सम्पूर्ण सदस्यको डाक्टर मै हुँ  भन्ने लाग्न थालेको छ । 

सोल्टी क्राउन प्लाजाकी मार्केटिङ हेड अनिता बस्नेत अहिले परिवार र भान्छाको सही व्यवस्थापन नै आफ्नो जिम्मेवारी भएको बताउँछिन् । बस्नेत भन्छिन्, सबैभन्दा पहिले भान्छामा काम गर्नेले थाहा पाउनुपर्छ कुन खाना के कुराका लागि सही हुन्छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने खाना के–के हुन् ? बिहान के खाएर दिनको सुरुवात गर्ने, खाना र खाजामा कस्ता खानेकुरा खाने यो सबैको जिम्मेबारी अहिले भान्छेको थाप्लोमा हुन्छ । अहिले म युट्युब हेरेर, बिभिन्न समाचार पढेर स्वास्थबद्र्धक खाना बनाउन र खान थालेकी छुँ ।

दुगडकी ब्रान्ड हेड भिमला थापालाई पनि अहिले परिवारका हरेक सदस्यको स्वास्थ्यलाई ड्राइभ गर्ने ड्राइभर भनेकै गृहिणी हुन् भन्ने लाग्छ । उनले लकडाउन सुरु भएदेखि अनलाइन सपिङमा स्वस्थबद्र्धक खाद्यान्न अर्डर गर्दै आइरहेकी छिन् । घरमा डेलिभरि गरिएका खाद्यान्नलाई उनी कम्तीमा पनि ३ घण्टा बाहिरै घाममा राख्छिन् । त्यसपछि मात्रै घरभित्र हुल्छिन् । थापा भन्छिन्, मलाई त बजारबाट घर ल्याइएका सामग्रीमा पनि त्यत्तिभर लाग्दैन । अहिले मैले बिभिन्न सुरक्षा अपनाउन थालेकी छु, किनेर ल्याएको सामग्रीलाई घाममा राख्ने, पानीमा भिजाउने, मनतातो पानीमा डुबाउनेदेखि लिएर बाहिरबाट घर फर्केकाहरूलाई समेत राम्ररी साबुन पानीले हात, मुख, खुट्टा धोएर मात्रै भित्र पस्ने नियम बनाएकी छु । 

बिएन नर्सिङकी प्राध्यापक श्रृतिका श्रेष्ठ आफैं पनि स्वास्थ्यकर्मी भएकाले भान्छामा उनले विशेष सजगता अपनाउने नै भइन् । उनी आमा र भाइलाई स्वस्थता र पोषणयुक्त खानेकुराबारे प्रत्येक दिनजसो कक्षा दिन्छिन् । यस्ता भाइरस र रोगहरूबाट बच्ने तरिका सिकाउँछिन् । अहिले घरमा भान्छामा काम गर्ने उनै हुन् । त्यसैले उनले अहिले बिहानको भान्छा उतारिसकेपछि र राति सुत्नुअघि डिटोल पानी छर्किएर सफा गर्ने गरेकी छिन् । भान्छामा बासी खानेकुरा नराख्ने, बढी मात्रामा ताजा तरकारी र गेडागुडीको प्रयोग तथा पानीलाई मात्र उमालेर पिउने उनले रुटिन नै बनाएकी छिन् । 

डब्ल्यूएचओकी एक्ज्युकेटिभ उपासना राणा अफिस बन्द भएपछि साना दुई नानीहरू र परिवारको रेखदेख गर्ने सुरक्षाकर्मी नै बनेकी छिन् । घरमा के पकाउने, कस्तो पकाउने, कसरी पकाउने उनैमा निर्भर हुन्छ तसर्थ उनी भान्छामा विशेष सजगता अपनाउनु जरुरी भएको बताउँछिन् । म अहिले भान्छामा पस्नुअघि आफूलाई सफा राख्न नुहाउने गर्छु । अर्कै कोठामा छु भने पनि दिउँसो खाजा बनाउने समयमा आफू सफा भएकोमा ढुक्क भए पनि मात्र भान्छामा पस्छु । खानामा पनि आजकल म बेसार, ज्वानो, मेथी, जाइफल, ल्वाङ, सुकमेल, दालचिनीलगायतका मसला बढी प्रयोग गर्न थालेकी छु जुन पहिले न्यून प्रयोग हुन्थ्यो । 

 Image