Successfully Copied

पछिल्लो पुस्ताका लोकदोहोरी गायिका

उनी घाँस–दाउरा गर्न जाँदा विभिन्न गीत गुनगुनाउँथिन् । उनको स्वरलाई सबैले मन पराउँथे । स्कुलका विभिन्न कार्यक्रममा उनी प्रथम वा द्वितीय हुन्थिन् । सम्झना भन्छिन्–ममा गायिका बन्ने धोको सानैदेखि थियो, विद्यालयमा हुने विभिन्न कार्यक्रममा सहभागिता जनाउँथें ।

 
हरेक क्षेत्रमा एकपछि अर्को पुस्ताको आगमन भैरहेको हुन्छ । यही सिलसिला नेपाली लोकदोहोरी क्षेत्रमा पनि देखिएको छ । यतिबेला लोकदोहोरीमा नयाँ–नयाँ गायिका स्थापित हुने क्रममा छन् । कतिपय गायिका सीधै एल्बम सार्वजनिक गरेर यो क्षेत्रमा प्रवेश गरेका छन् भने धेरैजसो दोहोरी गायिका लोकदोहोरी साँझमा गाएर आफ्नो कलाकारितालाई अघि बढाएका छन् । जुनसुकै क्षेत्रमा पनि बिनामेहनत स्थापित हुन असम्भव छ । त्यसो त दोहोरी गायिकाका रूपमा आफूलाई अगाडि ल्याउने पछिल्लो पुस्ताका लोकदोहोरी गायिकाहरूका पनि आ–आफ्नै अनुभव तथा कथा छन् ।
 
गायिका सम्झना भण्डारी विगत ५ वर्षयता लोकदोहोरी क्षेत्रमा सक्रिय छिन् । लमजुङको सामान्य परिवारमा जन्मिएकी भण्डारीमा सानैदेखि गायिका बन्ने धोको थियो । त्यसो त उनी घाँस–दाउरा गर्न जाँदा विभिन्न गीत गुनगुनाउँथिन् । उनको स्वरलाई सबैले मन पराउँथे । स्कुलका विभिन्न कार्यक्रममा उनी प्रथम वा द्वितीय हुन्थिन् । सम्झना भन्छिन्–ममा गायिका बन्ने धोको सानैदेखि थियो, विद्यालयमा हुने विभिन्न कार्यक्रममा सहभागिता जनाउँथें । सानैदेखि गायिका बन्ने धोको भए पनि आफूलाई परिवारको भने सपोर्ट नभएको उनी बताउँछिन् । यद्यपि उनलाई आमाले भने सहयोग गर्थिन् । यही क्रममा लमजुङ लोक तारा कार्यक्रम भयो । त्यसमा सहभागी हुने उनको ठूलो रहर थियो । परिवारका सदस्यहरूले रोक्ने प्रयास गरे पनि आफू झ्यालबाट भागेर उक्त कार्यक्रममा सहभागी भएको भण्डारी बताउँछिन् । लमजुङ लोक तारामा टप टेनभित्र परेपछि आफूलाई गीत–संगीतमा लाग्न थप हौसला मिलेको गायिका भण्डारीले बताइन् । 
पछि उनी गायिका बन्ने सपना बोकेर काठमाडौं आइन् । काठमाडौं आउनु पनि उनका लागि एउटा सपना पूरा गरेजस्तै थियो । सम्झना काठमाडौं आएर सानीआमाको घरमा बस्न थालिन् । त्यहाँ केही समय बसेपछि उनले नयाँबजारमा छुट्टै कोठा लिइन् । काठमाडौं आउनेबित्तिकै उनले केही समय कान्तिपुर मलको एउटा कपडा पसलमा काम गरिन् । त्यही क्रममा उनको भेट गायिका मञ्जु महतसँग भयो । त्यतिबेला गायिका महतले पुतलीसडकमा बाग्लुङ कालिका दोहोरी साँझ सञ्चालनमा ल्याएकी थिइन् । सम्झना त्यहाँ गीत गाउन थालिन् । केही समयपछि उक्त दोहोरी साँझ बन्द भयो । त्यसपछि उनी ठमेलस्थित गाउँबेसी दोहोरी साँझमा गाउन थालिन् । उनको स्वरले बिस्तारै दोहोरी साँझको स्टेज तताउन थाल्यो । दोहोरी साँझमा गीत गाउने क्रममै उनले सपना सजाइन् आफ्नै स्वरमा गीत निकाल्ने । यही क्रममा उनले गायक प्रकाश सपूतको लय, शब्द तथा पृथ्वी इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘तोरी भएछ’ गीत बजारमा ल्याइन् । उक्त गीतले राम्रै चर्चा पायो । त्यसपछि उनले ०७३ सालको तीजमा गायक पशुपति शर्मासँग बत्ती बाल्नै पर्दैनमा स्वर दिइन् । यो गीतले सर्वत्र चर्चा पायो अनि गायिका भण्डारीलाई लोकदोहोरीको क्षेत्रमा स्थापित गरायो । त्यसयता उनले थुप्रै गीतमा स्वर दिएकी छिन् । केही समययता देश–विदेशका स्टेज कार्यक्रममा व्यस्त गायिका भण्डारीले अस्ट्रेलिया, जापान, दुबई आदिका स्टेज कार्यक्रममा प्रस्तुति दिइसकेकी छिन् । 
 
पछिल्लो पुस्ताकी चर्चित लोकदोहोरी गायिका हुन्–शान्ति श्री परियार । विगत ६ वर्षयता औपचारिक रूपमा सांगीतिक क्षेत्रमा लागेकी परियारले पनि करिब ९ वर्ष लोकदोहोरी साँझमा गीत गाएरै बिताइन् । रोल्पामा जन्मिएकी गायिका परियार ११ वर्ष पहिले लोकदोहोरी गायिका बन्ने उद्देश्य लिएर काठमाडौं झरेकी थिइन् । यद्यपि आफूलाई कसरी अघि बढ्ने भन्ने केही थाहा नभएको परियार बताउँछिन् । उनी भन्छिन्–ममा सानैदेखि गायिका बन्ने चाहना थियो । त्यही चाहना बोकेर काठमाडौं आएँ तर कसरी यो क्षेत्रमा पाइला चाल्ने केही थाहा थिएन । उनी काठमाडौंमा गायिका गीता खड्कासँग बस्न थालिन् । त्यही क्रममा उनको भेट गायक राजेश क्षेत्रीसँग भयो । राजेशले उनलाई बालाजुस्थित त्रिवेणी त्रिशूली दोहोरी साँझमा काम मिलाइदिए । त्यसपछि उनी दोहोरी साँझमा गीत गाउन थालिन् तर उनलाई दोहोरी साँझका बारेमा केही थाहा थिएन । सुरुसुरुमा उनलाई दोहोरी साँझमा गीत गाएबापत पाइने टिप्स लिनसमेत लाज लाग्थ्यो । शान्ति भन्छिन्–मलाई दोहोरी साँझमा गीत गाएबापत टिप्स पाइन्छ भन्ने थाहा थिएन । पहिलोपटक २ सय रुपैंयाँ टिप्स पाउँदा म लजाएकी थिएँ । यसरी दोहोरी साँझमा एक महिना काम गरेपछि उनी छुट्टै कोठा लिएर बस्न थालिन् । दोहोरी साँझमा गीत गाइरहेकै बेला उनले २०६८ सालमा शम्भु थापाको संगीतको अरुभन्दा फरक म किन लोकदोहोरी गीत बजारमा ल्याइन् । उक्त गीतले खासै चर्चा पाएन तर आफूलाई गीत–संगीतमा लाग्न हौसला प्रदान गरेको परियार बताउँछिन् । त्यसपछि उनले दोहोरी साँझमा गीत गाएबापत पाएको टिप्सले घर त तीन तले एकल गीत बजारमा ल्याइन् । त्यो गीतले पनि खासै चर्चा पाएन । यही क्रममा उनले ०७१ सालमा एकतर्फी मायाले कति पीडा दिन्छ गीत सार्वजनिक गरिन् । यो गीत निकाल्न आफूलाई पृथ्वी थकालीले ठूलो सहयोग गरेको उनी बताउँछिन् । यो गीतले सर्वत्र चर्चा पायो । यही गीतले उनलाई स्थापित गरायो । यो गीत हिट भएपछि उनलाई देश–विदेशका सांगीतिक कार्यक्रमबाट निम्तो आउन थाल्यो । यसबीच उनी करिब १२ वटा देशका सांगीतिक कार्यक्रममा सहभागी भैसकेकी छिन् । पछिल्लो समय बोलमाया गीतबाट थप चर्चामा आएकी गायिका परियारका एकतर्फी माया, माछीलाई फुर्लुङ, सात्तो फुक झाँक्री बा, बुहारी सुत्केरी भैछ, छोरा दुई नम्बरी गर आदि गीत हिट छन् । 
 
गायिका सुशीला गौतम पछिल्लो पुस्ताकी गायिका हुन् । सानैदेखि गीत–संगीतमा रुचि राख्ने गौतम आफूलाई मन परेको गीतको थेगो लिएर गीतका शब्दसमेत कोर्थिन् । उनलाई यो क्षेत्रमा स्थापित हुने रहर सानैदेखि थियो, तर उनको परिवार भने गीत–संगीतमा लागेको मन पराउँदैनथ्यो । गौतम आफूलाई लोकदोहोरी गायिकाका रूपमा स्थापित गर्ने उद्देश्यले २०६६ सालमा काठमाडौं आइन् । यही क्रममा उनको भेट गायक हेमन्त कान्छासँग भयो । त्यसपछि उनले केही समय कान्छासँग सुर ताल र दोहोरी गाउने कला सिकिन् । केही समय संगीत सिकेपछि उनलाई कान्छाले नै बसपार्कस्थित कालिञ्चोक दोहोरी साँझमा काम मिलाइदिए । यसरी दोहोरी साँझमा गीत गाउँदा–गाउँदै गायिका बन्ने आँट आएको गौतम बताउँछिन् । गायिका बन्ने धोकोले दोहोरी साँझमा गीत गाउन थालेकी सुशीलाले राजधानीका करिब ६ वटा दोहोरी साँझमा घन्काइन् । यही सिलसिलामा उनले ०६७ सालमा भूपेन्द्र यात्रीको ‘बस्छु तिमीलाई कुरी’ शीर्षकको गीत बजारमा ल्याइन् । उक्त गीतले खासै चर्चा नपाए पनि उनी त्यही गीतलाई आफ्नो करियरको टर्निङ प्वाइन्टका रूपमा लिन्छिन् । त्यसपछि उनले ०६८ सालमा दोहोरी साँझको कमाइबाटै दसैं आयो तिहारै आयो शीर्षकको गीत सार्वजनिक गरिन् । त्यो गीतले पनि सोचेजस्तो सफलता हासिल नगरेको उनी बताउँछिन् । त्यसपछि उनले करिब ५ वर्षअघि चर्चा धेरै भो तीज गीत बजारमा ल्याइन् । उक्त गीतले सर्वत्र चर्चा पायो । यही गीतबाट आफूले नवगायिका अवार्डसमेत पाएको गौतम बताउँछिन् । गीत–संगीतको क्षेत्रमा पाइला चाल्ने क्रममै गत सालको तीजमा उनले ‘माइतीको माया’ शीर्षकको गीत बजारमा ल्याइन् जसले पनि प्रशस्तै चर्चा पायो । यो गीतले उनलाई लोकदोहोरीको क्षेत्रमा थप स्थापित हुन सघाउ पुर्‍यायो । लगातार आफ्ना सिर्जनाले चर्चा पाउन थालेपछि गायिका गौतमलाई देश–विदेशका विभिन्न स्टेज कार्यक्रमबाट निम्तो आउन थाल्यो । उनले हालसम्म मलेसिया, बेलायत आदि देशका सांगीतिक कार्यक्रममा प्रस्तुति दिइसकेकी छिन् । 
 
विगत ४ वर्षयता लोकदोहोरीमै सक्रिय छिन्–गायिका अनिता चलाउने । सानैदेखि गीत–संगीतमा रुचि राख्ने अनिताले २०६८ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिइन् । उक्त परीक्षामा छनोट भएपछि आफूलाई यो क्षेत्रमा अघि बढाउन हौसला मिलेको अनिता बताउँछिन् । रेडियो नेपालको स्वर परीक्षामा छनोट भएपछि उनलाई रेडियो नेपालका संगीतकारहरूले संगीत सिक्न सल्लाह दिए । गायिका चलाउने भन्छिन्–मैले उहाँहरूको सल्लाहअनुसार गान्धर्व म्युजिक विद्यालयमा चन्दन श्रेष्ठसँग संगीत सिकें । यही क्रममा तीज नजिकिँदै थियो । उनलाई आफ्नै स्वरमा गीत निकाल्ने इच्छा भयो । त्यसपछि उनले २०७२ सालको तीजमा गायक पशुपति शर्मासँग ‘नाचिदेऊ झिल्के भाँचिदेऊ कम्मर’ शीर्षकको गीत बजारमा ल्याइन् । त्यो पहिलो गीतले नै उनलाई यो क्षेत्रमा स्थापित गरायो । त्यही वर्ष अनिताले देशका विभिन्न स्टेज कार्यक्रम पाइन् । पहिलो गीतले सफलता पाएपछि उनले त्यही वर्ष रामजी खाँडसँग मिलेर ‘आहा मेरो मायालाई कति साह्रो सुहायो चट्ट टोपी ढाकाले’ गीत बजारमा ल्याइन् । यो गीतले पनि रामै्र चर्चा पायो । त्यसपछि उनलाई विदेशका सांगीतिक कार्यक्रमहरूबाट समेत निम्तो आउन थाल्यो जुन क्रममा उनले माल्दिभ्स, कतार, जापान आदि देशको सांगीतिक भ्रमण गरिसकेकी छिन् । ४० भन्दा बढी गीतमा स्वर दिएकी गायिका चलाउनेका अधिकांश गीत हिट छन् । 
 
स्याङ्जामा जन्मिएकी गायिका भिमु गुरुङ सानैदेखि गीत–संगीत भनेपछि हुरुक्कै हुन्थिन् । गाउँघरका मेलापात तथा विद्यालयका विभिन्न कार्यक्रममा सहभागिता जनाउँदै काठमाडौं आएर लोकदोहोरी साँझमा गीत गाउँदा–गाउँदै स्थापित भएकी हुन्–भिमु गुरुङ । उनले राजधानीका लोकदोहोरी साँझमा करिब १० वर्ष बिताइन् भने औपचारिक रूपमा विगत ५ वर्षयता लोकदोहोरी गायिकाका रूपमा सक्रिय छिन् । उनले २०७० सालमा ‘टिपांै कि फूल ट्याप्पै’ शीर्षकको पहिलो गीत सार्वजनिक गरिन् । उक्त गीतले आफूलाई आंशिक रूपमा चिनाएको गुरुङ बताउँछिन् । यसपछि उनले एकपछि अर्को गीत सार्वजनिक गर्दै गइन् । यही क्रममा २०७२ सालमा उनको ‘भेटौं रोधी घरमा’ लोकदोहोरी गीत बजारमा आयो । उक्त गीतले चर्चा मात्र पाएन गायिका गुरुङलाई स्थापितसमेत गरायो । गुरुङले त्यसपछि रामजी खाँडसँगको ‘अमिलो रसैले’ गीत बजारमा ल्याइन् । यो गीतले पनि उत्तिकै चर्चा पायो । यसरी लगातार गीत हिट भएपछि उनलाई देश–विदेशका सांगीतिक कार्यक्रमको निम्तो आउन थाल्यो । ९० भन्दा बढी लोकदोहोरी गीतमा स्वर दिएकी गुरुङले करिब ८ वटा देशको सांगीतिक कार्यक्रममा प्रस्तुति दिइसकेकी छिन् । 
 
गायिका मञ्जु विश्वकर्मा पनि पछिल्लो पुस्ताकी लोकदोहोरी गायिका हुन् । ९ वर्षको उमेरदेखि नै गीत–संगीतमा रुचि राख्ने यी गायिका लोकदोहोरी क्षेत्रमा औपचारिक रूपमा विगत ६ वर्षयता सक्रिय छिन् । उनी ९ वर्षको उमेरदेखि नै महोत्सवहरूमा दोहोरी गाउँथिन् । लमजुङको सुन्दरबजार महोत्सवमा गीत गाएर आफूले एक वर्षको छात्रवृत्तिसमेत पाएको विश्वकर्मा बताउँछिन् । उनी भन्छिन्–९ वर्षकै उमेरमा सफलता प्राप्त गरेपछि गीत–संगीतमा अघि बढ्न हौसला मिल्यो । एसएलसीपछि उनी गायिका बन्ने सपना बोकेर पोखरा झरिन् । सानैदेखि लोकदोहोरी क्षेत्रमा लागेकी हुनाले उनलाई पोखरामा आएपछि अग्रज कलाकारहरूसँग घुलमिल हुन खासै कठिन भएन । त्यसपछि उनलाई गायिका निशा पोखरेलले दौंतरी दोहोरी साँझमा काम मिलाइदिइन् । यसरी दोहोरी साँझमा गाउने क्रममै उनले २०६९ सालमा ‘चढेको जवानी’ गीत बजारमा ल्याइन् । उक्त गीतले खासै चर्चा पाएन । यही क्रममा ०७२ सालमा प्रकाश सपूतसँगको ‘मीठो बोलीले’ शीर्षकको गीत बजारमा आयो । मञ्जु भन्छिन्–यो गीतले मलाई चिनायो । त्यसपछि उनले गत वर्षको तीजमा गायक पशुपति शर्मासँग ‘भविष्यवाणी’ गीत गाइन् । यो गीत निकै चर्चामा आयो । यही गीतले आफूलाई लोकदोहोरी क्षेत्रमा स्थापित गराएको गायिका विश्वकर्मा बताउँछिन् । हालसम्म १२ वटाभन्दा बढी गीतमा स्वर दिइसकेकी मञ्जुले देश–विदेशका थुप्रै सांगीतिक कार्यक्रममा सहभागिता जनाइसकेकी छिन् । नौरङ्गी सपना, मीठो बोलीले, भविष्यवाणी, सालैजो वनैको चरी आदि मञ्जुका हिट गीत हुन् ।

 Image