Successfully Copied

गर्मीमा फेसन शैली

‘फेसन डिजाइनर’ तेन्जिङ छेतेन भुटियाका अनुसार मौसममा परिवर्तन आएसँगै पहिरन शैलीमा परिवर्तन गर्नैपर्छ । ‘मौसम सुहाउँदो पहिरनले फेसनप्रतिको चासोमात्र देखाउँदैन पहिरन ‘क्यारी’ गर्न पनि सहज हुन्छ,’ उनले भने ।



गर्मीको मौसम छ । यो मौसममा पहिरनको सही छनोटले फेसनेबल मात्र होइन गर्मीबाट बच्न पनि सहयोग गर्छ । ‘फेसन डिजाइनर’ तेन्जिङ छेतेन भुटियाका अनुसार मौसममा परिवर्तन आएसँगै पहिरन शैलीमा परिवर्तन गर्नैपर्छ । ‘मौसम सुहाउँदो पहिरनले फेसनप्रतिको चासोमात्र देखाउँदैन पहिरन ‘क्यारी’ गर्न पनि सहज हुन्छ,’ उनले भने ।
कतिपयले गर्मीलाई फेसनेबल देखिने मौसमका रूपमा लिने गरेको उनको भनाइ छ । गर्मीमा पहिरनको सही छनोट गरिएन भने छालामा विभिन्न समस्या देखिन सक्छन् । उनका अनुसार गर्मीमा सुती, खादी एवं सिफनका पहिरन लगाउनुपर्छ । यस्ता फेब्रिक आरामदायक हुन्छन् ।

कतिपय फेसन सदाबहार हुन्छन्, जुन गर्मी र जाडो दुवैमा लगाउन मिल्छ । जस्तै, जिन्स जुनसुकै मौसममा लगाउन सकिन्छ । कुनै फेसन निश्चित समयका लागि चल्छ र केही वर्षपछि हराएर जान्छ । मौसमको मागअनुसार पहिरन शैली अपनाउनुपर्छ । गर्मी मौसममा पहिरनको छनोट सोचविचार गरेर गर्नुपर्ने फेसन डिजाइनर राधा आचार्यले बताइन् । उनका अनुसार गलत फेब्रिक र रंगको छनोटले अझ गर्मी महसुस गराउँछ । सिल्क, नाइलन, भेलभेटजस्ता भारी पहिरनबाट बच्नुपर्छ । उनले भनिन्, ‘यसले गर्मी बढाउनेमात्र होइन शरीरमा हावा पुग्दैन ।’ यसले छालामा संक्रमण हुने खतरा पनि बढाउँछ ।


हल्का रंग रोज्ने
गर्मीमा गाढा रंगबाट बच्नुपर्छ । गाढा रंगले घामको किरण सोस्ने भएकाले यस्ता रंग नलगाउनु नै बेस हुन्छ । हल्का रंगले घामको किरण परावर्तन गर्छ । यसले शरीरलाई शीतल राख्न मद्दत गर्छ । ‘लेमन, लाइट पिंक, पिच, सेतो रंग लगाउन सकिन्छ ’ राधाले भनिन्, ‘यसले आँखालाई शीतलता प्रदान गर्छ ।’ गर्मी महिनामा सेतो रंगको पहिरन उपयुक्त हुन्छ । त्यसबाहेक कलरफुल रंग सुहाउने उनको भनाइ छ ।



फेब्रिकमा विशेष ध्यान
गर्मीबाट बच्नका लागि सही फेब्रिकको छनोट गर्नुपर्छ । सुतीको कपडा उपयुक्त हुने डिजाइनर राजेश धाख्वाले बताए । उनले भने, ‘यसले पसिना सजिलै सोस्ने भएकाले शीतल हुन्छ ।’ सुतीको कपडाले छालामा संक्रमण हुन दिँदैन । गर्मीमा प्राकृतिक फेब्रिक बेस्ट हुने उनको भनाइ छ ।
प्राकृतिक धागोबाट बनेको पहिरन स्वास्थ्यमैत्री हुन्छ । यस्तो फेब्रिकले सूर्यको हानिकारक परावैजनी विकिरणबाट बचाउँछ । साथै प्रदूषित हावालाई रोकेर स्वच्छ हावा छालासम्म पु¥याउँछ । त्यसैले गर्मीमा सकेसम्म प्राकृतिक फेब्रिक नै रोज्नुपर्ने धाख्वाको भनाइ छ ।
केही वर्षयता बजारमा फ्लोरल प्रिन्ट भएको पहिरन चलेको छ । यस्तो पहिरनले गर्मीमा राहत दिन्छ । सिल्क, नाइलन, भेल्भेट, साटनका कपडाबाट भने बच्नुपर्छ ।



हल्का र खुकुलो पहिरन
गर्मी बढेसँगै बजारमा विभिन्न डिजाइनका पहिरन भित्रिन थाल्छन् । फेसनेबल हुने चक्करमा बजारको पछाडि दौडन नहुने डिजाइन धाख्वाको सुझाव छ । उनका अनुसार पहिरनको छनोट गर्दा हल्का, खुकुलो र उज्यालो रंगको नै रोज्नुपर्छ । यस्ता पहिरनले गर्मीमा शीतलता प्रदान गर्नुका साथै आरामदायक पनि हुन्छ । ‘गर्मीको पहिरन छनोट फिटिङ कपडाबाट बच्नुपर्छ’ उनले भने, ‘यसले शरीर पातलो देखाए पनि गर्मीमा असहज गराउछ ।’ उनका अनुसार यस्ता पहिरनले गर्मीमा पसिना सोस्दैनन् र अझ गर्मी महसुस गराउँछन् । शरीरबाट दुर्गन्ध निस्कन्छ । छालामा संक्रमण हुने जोखिम पनि बढाउँछ ।
त्यस्तै गर्मीमा बाहिर निस्कँदा स्लिभलेस र छोटो पहिरन लगाउनु हुँदैन । यसले शरीर कालो हुन्छ र सूर्यको विकिरणले छालालाई क्षति पु¥याउँछ । सूर्यको हानिकारक विकिरणले छालाको क्यान्सर गराउन सक्ने जोखिम बढाउँछ । भरसक घाममा निस्कँदा शरीर पूरै ढाक्ने पहिरन लगाउनु राम्रो हुने डिजाइनहरू बताउ“छन् ।

केश ढाक्ने
गर्मीमा घरबाहिर हिँडडुल गर्दा सूर्यको किरणले केशलाई पनि नोक्सान पुर्याउँछ । गर्मीमा हिँड्दा ‘डिहाइड्रेसन’ हुनसक्छ । लगातार घामले टाउको दुख्ने, रिंगटा लाग्ने हुन्छ । त्यसैले केशलाई स्कार्फ, क्याप वा ह्याटको सहायताले ढाक्नुपर्छ । यसले घामको किरणबाट बचाउनुका साथै आँखा र केशलाई धूलो–धूवाँबाट पनि जोगाउँछ । साथै स्टाइलिस पनि देखाउँछ । त्यसैगरी केशलाई बचाउनका लागि छाता एकदमै उपयोगी हुन्छ । यसले पूरै शरीरलाई शीतलता प्रदान गर्छ । छाताले केश र छालाको सुरक्षा गर्छ । 

 Image