Successfully Copied

 मौसमसँगै युवापुस्ताको फेसन शैली बदलिँदो छ । यतिबेला विन्टर फेसनले बजारलाई न्यानो बनाइरहेको छ । जाडोमा कोरियन फेसन बढी रुचाउने गरेको पाइन्छ । लङ कोट, मफलर, ऊलन टोपी, लङ बुट, स्वेटरमा ठाँटिएर हिँड्नेहरू बाक्लिँदैछन् । 

चिसो बढेसँगै बजारमा विन्टर वेयरको माग बढ्न थालेको छ । काठमाडौंका मुख्य बजारहरूमा जाडोका पहिरन खरिद गर्नेहरूको भीड देखिन्छ । युवाहरू जाडोमा पनि उत्तिकै फेसनेबल एवं स्टाइलिस देखिन रुचाउँछन् । उनीहरूको रुचि र आवश्यकतानुसार बजारमा विभिन्न डिजाइन, रंग र फेब्रिकका पहिरन भित्रिएका छन् ।

पछिल्लो समय ज्याकेट, कोट र बुट सबैभन्दा बढी बिक्री भइरहेको ‘क्लोथ नेपाल’ का संस्थापक रघु थापाले बताए । उनी भन्छन्, ‘अहिलेका युवाहरू फेसनप्रति सजग देखिन्छन् ।’

फेसन डिजाइनर तेन्जिङ छेतेन भुटियाका अनुसार बजारमा चलेको फेसनका साथसाथै आफ्नो छुट्टै पहिरन शैली बनाउनु उचित हुन्छ । अरुलाई पछ्याउँदा आफूलाई अरुभन्दा भिन्न र स्टाइलिस देखाउन नसकिने उनले बताए । 

हुडी

हुडी अहिले निकै चलेको छ । यो एकदमै सहज हुने भएकाले जोकोहीको रोजाइमा पर्ने गरेको छ । हुडी जिन्स वा ट्राउजरसँग लगाउन सकिन्छ । साथै सर्टस, प्लाजोसँग पनि उत्तिकै राम्रो देखिन्छ । यसमा स्पोर्ट वा कन्भर्स सुज निकै सुहाउँछ ।

स्वेट सर्ट्स

स्पोर्टी लुकका लागि स्वेट सर्ट्स लगाउन सकिन्छ । जिन्ससँग स्वेट सर्ट्स लगाउने ट्रेन्ड चलेको छ । बजारमा यो विभिन्न रंग र प्रिन्टमा पाइन्छ । एलिगेन्ट लुकका लागि योसँग डेनिम ज्याकेट र स्कार्फसँग मिलाएर लगाउन सकिन्छ । योसँग स्पोर्ट सुज वा कन्भर्स सुज राम्रो सुहाउँछ । 

लेदर ज्याकेट

लेदर ज्याकेट सदाबहार पहिरन हो । यसको फेसन कहिल्यै जाँदैन । क्लासिक फेसन गर्न रुचाउनेका लागि लेदर ज्याकेट राम्रो विकल्प हुन सक्छ । जिन्ससँग यो ज्याकेट निकै सुहाउँछ । भित्रबाट हाइनेक लगाएर बाहिर लेदरको ज्याकेट लगाउन सकिन्छ । लङ वा एंकल लेन्थ बुट यसमा लगाउँदा डिसेन्ट लुक दिन्छ ।

कार्डिगन

कार्डिगन धेरै डिजाइन एवं रंगमा उपलब्ध छ । पछिल्लो समय यसको फेसन निकै चलेको देखिन्छ । यसमा लङ वा एंकल लेन्थ बुट र जिन्स निकै सुहाउँछ । 

डेनिम ज्याकेट

डेनिम ज्याकेटको क्रेज पछिल्लो समय युवापुस्तामाझ देख्न सकिन्छ । विन्टर फेसन कलेक्सनमा यसको माग बढेको पाइन्छ । यसमा सबै उमेर समूहका लागि डिजाइनमा उपलब्ध छ । साथै हरेक मौसममा उपयोगी हुन्छ । जाडो मौसममा चिसोबाट बचाउँछ भने गर्मीमा यसले स्टाइलिस लुक दिन्छ । डेनिम ज्याकेट जुनसुकै पहिरनसँग मिलाएर लगाउन सकिन्छ । 

लङ कोट

जाडो मौसमको फेसनमा लङ कोट छुटाउन सकिँदैन । यसले जाडोमा न्यानो बनाउनुका साथै फेसनेबल एवं स्टाइलिस लुक दिन्छ । यो अफिस वा क्याजुअल वेयरका रूपमा लगाउन सकिन्छ र पार्टी वेयरमा पनि लङ कोट फिट हुन्छ । यसको विशेषता भनेकै जुनसुकै पहिरनसँग पनि मिलाएर लगाउन सकिने हो । साडी, कुर्ता होस् वा वेस्टर्न पहिरन, जिन्स होस् वा फर्मल सबै पहिरनसँग मिलाएर लगाउन सकिन्छ । 

ऊलन कुर्ती

ऊलन कुर्ती महिलाहरूको रोजाइमा पर्ने गरेको छ । हल्का र लगाउन सहज हुने भएकाले ऊलन कुर्तीको फेसन रहिरहन्छ । साथै जाडोमा न्यानो बनाइराख्छ । कतिपय महिलाहरू जाडोमा जिन्स वा फिटिङ्स पहिरन नलगाउने भएकाले ऊलन कुर्तीको माग बढेको विक्रेताहरू बताउँछन् । यो विभिन्न प्रिन्ट र रंगमा पाइन्छ । आफूलाई मनपर्ने जुनसुकै डिजाइनको कुर्ती लगाउन सकिन्छ ।

ऊलन लेगिज

यो मौसममा जिन्स लगाउन असजिलो हुनेहरूका लागि लेगिज उपयोगी हुन्छ । यो एकदमै सहज हुन्छ । जाडोमा न्यानो पनि बनाइराख्छ । लेगिजको छनोट गर्दा डार्क कलरको नै गर्नुपर्छ । डार्क कलर जुनसुकै पहिरनसँग मिलाएर लगाउन सकिन्छ । साथै छिट्टै फोहोर पनि हुँदैन । 

लेग वार्मर

खुट्टालाई चिसोबाट बचाउन लेग वार्मर लगाउन सकिन्छ । लेग वार्मरको विशेषता भनेको यो जुनसुकै पहिरनमा पनि लगाउन सकिन्छ । यो लगाउन पनि सजिलो हुन्छ । चिसो मौसममा विवाह वा पार्टीमा जानुपर्ने भए यो लेहेंगा वा साडीसँग पनि लगाउन सकिन्छ । स्कर्ट वा सर्ट ड्रेससँग वार्मर लगाउन सकिन्छ । पछिल्लो समय कलर म्याचिङ गरेर पनि लगाउन सकिन्छ । सर्ट वुट वा स्पोर्ट सुजसँग लेग वार्मर निकै स्टाइलिस देखिन्छ । 

स्कार्फ, मफलर

पछिल्लो समय युवायुवतीबीच मफलर ट्रेन्डमा छ । जाडोमा पस्मिना सलको माग बढी हुन्छ । यसको फेसन कहिल्यै पुरानो हुँदैन, वर्षौंदेखि चलिआएको छ । त्यस्तै, विभिन्न फेब्रिकका मफलर बजारमा उपलब्ध छन् । गाढा रंगको पहिरनसँग कलरफुल मफलर निकै खुल्छ । स्वेट टिसर्ट, स्वेटर, कोट, ब्लेजर, ज्याकेट, हुडी जुनसुकै पहिरनमा मफलर मिलाएर लगाउन सकिन्छ । 

पञ्जा, वार्मर

पछिल्लो समय बजारमा विभिन्न डिजाइनका पञ्जा पाइन्छन् । पञ्जा वा वार्मरले चिसोबाट बचाउनुका साथै स्टाइलिस पनि देखाउँछन् । फर भएको, रंगीन पञ्जा लगाउन सकिन्छ । हातलाई न्यानो बनाइराख्नका लागि हातले बुनेको वार्मर पनि लगाउन सकिन्छ । 

फेसनेबल एवं स्टाइलिस लुकका लागि पहिरनको संयोजन गर्न जान्नुपर्छ । जसले गर्दा गर्मीमा मात्र नभई जाडोमा पनि उत्तिकै आकर्षक देखिन सकिन्छ । 

स्वेटर र स्कर्ट

यो मौसममा पनि फेसनेबल एवं स्टाइलिस लुक दिनका लागि स्कर्ट लगाउन सकिन्छ । स्कर्टसँग स्वेटरको संयोजन मिलाउन सकिन्छ । त्यसमा ओभरकोटले टचअप दिन सकिन्छ । हाइनेक स्वेटरसँग स्कर्ट लगाउँदा निकै स्मार्ट देखिन्छ । फुटवेयर्समा थाई हाइ बुट लगाउन सकिन्छ ।

सर्ट ड्रेससँग स्टकिन्स

जाडो मौसममा पनि सर्ट ड्रेस लगाउन सकिन्छ । सर्ट ड्रेस मिलाएर लगाउन सके चिसोबाट बच्न सकिन्छ र स्टाइलिस पनि देखिन सकिन्छ । सर्ट ड्रेससँग भित्रबाट वार्मर र खुट्टामा स्टकिन्स लगाउने । त्यसमा नि–लेन्थ बुट लगाउने । घाँटीमा मफलर र बाहिरबाट डेनिम वा लेदर ज्याकेट लगाउन सकिन्छ । 

लङ ज्याकेट र जिन्स

जिन्स सदाबहार पहिरन मानिन्छ । यो जुनसुकै मौसममा पनि फिट हुन्छ । स्टाइलिसदेखि सहज पहिरन जिन्स जुनसुकै लुकका लागि लगाउन सकिन्छ । यो मौसममा जिन्ससँग फुल स्लिभ सर्ट वा टिसर्ट लगाउन सकिन्छ । योसँग नि–लेन्थ, एंकल लेन्थ बुट लगाउन सकिन्छ । त्यसमाथि लङ कोटको संयोजन निकै आकर्षक देखिन्छ । त्यसो त जिन्स स्वेट टिसर्ट र स्पोर्ट सुजसँग पनि सुहाउँछ । बाहिरबाट लङ ज्याकेट लगाउँदा स्टाइलिस लुक्स दिन्छ । 

हाइ वेस्ट पेन्ट र स्वेटर

वार्मरसँग स्वेटर र वटम वेयरसँग हाइ वेस्ट पेन्ट निकै खुल्छ । योसँग एंकल लेन्थ बुटको संयोजनले स्टाइलिस देखाउँछ । घुम्न जाँदा होस् वा अफिस हरेक अवसरका लागि यो पहिरन लगाउन सकिन्छ । 

जिन्स र ब्लेजर

पछिल्लो समय युवापुस्तामाझ जिन्स र ब्लेजरको जोडी निकै रुचाइन्छ । क्याजुअल ब्लेजर अहिलेको फेसन ट्रेन्ड बनेको छ । यो विभिन्न रंग र डिजाइनमा उपलब्ध छ । क्याजुअलका साथै अफिस वेयरका लागि जिन्स र ब्लेजर लगाउन सकिन्छ ।

तेन्जिङ छेतेन भुटिया, फेसन डिजाइनर

पछिल्लो समय लङ कोट धेरै चलेको छ । बेल बटम पेन्ट वा सेट कट पेन्टसँग लङ कोटको संयोजन निकै सुहाउँछ । रंगमा गाढा नै चलेको छ । जाडोमा शरीरलाई न्यानो राख्न सूर्यको किरण सोस्ने भएकाले कालो रंगको पहिरनमा जोड दिन सकिन्छ । कालो, सेतो र ग्रे रंग जाडोका रंग हुन् । त्यसका अतिरिक्त गाढा हरियो, ब्राउन, स्किन कलर, न्युड कलर नै अहिले फेसनमा छन् । जाडोमा टसर सिल्क, मुंगा, खादी, भेल्भेट फेब्रिक लगाउँदा स्टाइलिस देखिनुका साथै चिसोबाट पनि बच्न सकिन्छ ।

 

रघु थापा, व्यवसायी

जाडो मौसममा कोट र बुटको माग बढी हुन्छ । पछिल्लो समय युवापुस्ताको फेसनप्रति बढ्दो सजगताका कारण बजारमा नयाँ–नयाँ डिजाइनका पहिरन भित्रिने क्रम पनि उस्तै छ । जाडो मौसम थोरै समयका लागि मात्र रहन्छ । त्यसैले जाडोका पहिरन खरिद गर्दा यस्तो पहिरनलाई प्राथमिकता दिनुपर्छ, जुन पहिरनको फेसन २–३ वर्षसम्म रहोस् । 

 Image