Successfully Copied

झरीमा कस्तो पहिरन लगाउने ?

गर्मी पनि उत्तिकै हुने भएकाले हल्का हावादार पहिरन रोज्नुपर्छ । त्यससँगै हल्का र पातलो खालको फेब्रिकबाट बनेको पहिरन लगाउनुपर्छ ।


देशभर मनसुन सुरु भइसकेको छ । लगातार पानी पर्दा सडक जलमग्न हुन्छ । हिलो हुन्छ । मौसमअनुसारको पहिरन अपनाउनु चुनौतीपूर्ण हुन्छ । गर्मीमा हल्का कपडा, उज्यालो रंगको पहिरन लगाउनुपर्छ । जाडोमा गाढा रंगको लगाउनुपर्छ । तर झरीको याममा कस्तो पहिरन लगाउने ? यो धेरैमा द्विविधा हुन्छ । झमझम पानी परिरहेको बेला फेसनेबल र स्टाइलिस देखिने चक्करमा कपडा, जुत्ता नै बिग्रने डर हुन्छ । अफिस निस्कदा कस्तो पहिरन लगाउने ? पार्टीमा कस्तो लगाउने ? अन्योल हुन्छ ।


हल्का फेब्रिक रोज्ने
यो मौसममा बाहिर निस्कदा जति जोगाएपनि कपडा भिजिहाल्छ । गर्मी पनि उत्तिकै हुने भएकाले हल्का हावादार पहिरन रोज्नुपर्छ । त्यससँगै हल्का र पातलो खालको फेब्रिकबाट बनेको पहिरन लगाउनुपर्छ । त्यसका लागि सुतीको फेब्रिक उपयुक्त हुन्छ । सुतीको कपडा भिजिहाल्यो भने पनि छिट्टै सुक्छ ।



सिफनको पहिरन
यो मौसममा सिफनको पहिरन लगाउँदा हल्का र सजिलो हुन्छ । सिफन पानीले भिज्यो भने पनि सुक्न धेरै समय लाग्दैन । हावाले पनि सहजै सुकाउँछ । सिन्थेटिक फेब्रिक नलगाउनु नै बेस हुन्छ । नाइलनको कपडा भने लगाउन सकिन्छ । नाइलन भिज्यो भने चाँडै सुक्छ । पसिना आउँदा शरीरमा टाँसिँदैन ।


खुल्ला पहिरन लगाउने
यो मौसममा शरीरमा टाँसिने टाइट कपडा लगाउनु हुँदैन । यस्ता कपडाले शरीरमा एलर्जी पैदा गर्छ । पसिनाका कारण कपडा शरीरमा टाँसिने भएकाले असजिलो महसुस गराउँछ ।


फुल पहिरन नलगाउने
यतिबेला जताजतै पानी जम्मा भएको हुन्छ । फुल पहिरन, पाइन्ट लगाउँदा पूरै कपडा भिज्न सक्ने सम्भावना हुन्छ । जिन्सको पाइन्ट भिज्यो भने सुक्न समय लाग्छ । फुल लगाउँदा हल्का फेब्रिक रोज्न सकिन्छ । हाफ पाइन्ट, वान पिस, स्कर्टजस्ता छोटा पहिरन लगाउनु उपयुक्त हुन्छ । यस्तो पहिरन क्यारी गर्न सजिलो हुन्छ । फुल कपडा पानीमा भिज्ने डर रहन्छ ।



उज्यालो रंग नै उपयुक्त
झरीको बेला उज्यालो रंग नै उपयुक्त हुन्छ । तर सेतो रंग नलगाउनु नै बेस हुन्छ । सेतो रंग गर्मीमा उपयुक्त हुने भए पनि पानी परिरहेको बेला कपडा भिज्दा पारदर्शी हुन्छ । साथै चिसो कपडामा फोहोर चाडैँ लाग्छ । सेतो रंगबाहेक जुनसुकै रंग पनि लगाउन सकिन्छ । उज्यालो रंग उपयुक्त भए पनि कालो, पहेंलो, हरियो रंग पनि लगाउन सकिन्छ ।


सही फुटवेयरको छनोट
झरीमा जुत्ता जोगाइराख्न एकदमै कठिन हुन्छ । त्यसैगरी हाइहिल लगाएर हिँड्न पीडादायक हुन्छ । पानी जमेको खाल्डाखुल्डी, हिलो जताततै हुने भएकाले जुत्ताभन्दा चप्पल उपयुक्त हुन्छ । धेरै किसिम र डिजाइनका चप्पल पाइन्छन् । बजारमा झरीलाई नै लक्षित गरी विभिन्न ब्रान्डका चप्पल भित्रिन्छन् । यस्ता चप्पल आरामदायक हुनुका साथै पानीले भिजे पनि चाँडै सुक्छन् ।



पारदर्शी ब्याग
वर्षाको समय आफ्नो सामानको सुरक्षाका लागि नाइलनको पारदर्शी ब्यागको प्रयोग गर्न सकिन्छ । यस्तो ब्याग पानीले भिज्दैन । यसले स्टाइलिस लुक पनि दिन्छ ।


छाता वा रेनकोट
यो मौसममा जतिबेला पनि वर्षा हुने भएकाले छाता वा रेनकोट बोक्न बिर्सनुहुँदैन । स्टाइलिस रेनकोट वा ट्रेन्चकोटले अरुभन्दा फरक र स्टाइलिस देखाउन मद्दत गर्छ ।

 Image