‘झम्के फुली नाकैमा बुलाकी’
‘नाकैमा फुली, शिरैमा शिरबन्दी’
‘गोडामा कल्ली, शिरैमा शिरबन्दी, तनैमा लाउँछु चेप्टे सुन’
‘झम्के बुलाकी’, ‘शिरबन्दी’, ‘चेप्टे सुन’ जस्ता गरगहना गीतमा त सुनिन्छ, तर प्रयोगमा भने देखिँदैन । यी पुराना गरगहना कता हराए ?
परम्परागत गहनासँग हाम्रो भावना मात्र होइन संस्कृति पनि जोडिएको छ । ती परम्परागत गहनाले हाम्रो समाजको मनोविज्ञान एवं शृंगार चेत पनि बोकेका थिए । यद्यपि अहिले हाम्रा परम्परागत गरगहना लोप भैसकेका छन् । यससँगै हाम्रो पुर्खाको शृंगार चेत कस्तो थियो भन्ने कुरा पनि मेटिँदैछ ।
गहना व्यवसायीहरूका अनुसार भारतीय संस्कृतिको प्रभावका कारण नेपालका परम्परागत गहना विस्थापित भएका हुन् । बराह ज्वेलर्सका सेल्स स्टाफ हेमन्त रसाइली भन्छन्–‘अहिले हाम्रा परम्परागत गरगहना हराउँदै गएका छन् । अहिले हाम्रा चेलीबेटीहरूले भारतीय शृंगार हेरेर त्यही किसिमको डिजाइन खोज्ने गहना व्यवसायीहरू बताउँछन् । आधुनिक डिजाइनका गहनाले बजार कब्जा गरेसँगै परम्परागत गहना लोप हुँदै जानु स्वाभाविक हो ।
यी गहना हराए
नाकमा लगाइने बुलाकी, निधारमा लगाइने सुनको टीका, घाँटीमा लगाइने ढुंग्री, केशमा लगाइने सुनको चिम्टीजस्ता गहना अहिले बजारमा छैनन् । हातमा चाँदीको बाला, खुट्टामा कल्ली, घाँटीमा लगाइने सिक्काको माला, नाकमा फुली र बुलाकी, कानमा माडवारी तथा चक्री लगाउने चलन हटिसकेको छ । परम्परागत गहना अहिले चलचित्र, पर्व वा फेसन सोहरूमा मात्र सीमित भएका छन् ।
प्राय: लिम्बू समुदायका महिलाले लगाउने बुट्टेदार ढुंग्री र बुलाकी अहिले लोप भैसकेका छन् । ढुंग्री र बुलाकी लगाएका महिला अहिले बिरलै भेटिन्छन् । जातीय पहिचान बोकेका कतिपय गहना भने कहिलेकाहीँ बजारमा आक्कल–झुक्कल भेटिन्छन् । शिवशक्ति ज्वेलर्सकी प्रोपाइटर अञ्जना तिवारीका अनुसार जातीयता झल्काउने गहनाको माग भने बेलाबेलामा हुने गरेको छ । तिवारी भन्छिन्–‘पहिलेको जस्तो माग त छैन तर माग हुनै छाडेको पनि छैन । कुनै–कुनै पुराना गहना डिजाइन थोरै परिवर्तन भएर बजारमा आउने गरेका छन् । अहिले बजारमा चन्द्रमा, नौगेडी तथा तिलहरीको बढी माग छ । यी गहनालाई विस्थापित गर्न सकिँदैन ।’ परम्परागत नेपाली गहनामा भारतीय प्रभाव नपरे पनि अन्य गहनामा भने भारतीय गहनाको प्रभाव पर्ने तिवारी बताउँछिन् ।
शृंगार चेत
गरगहना भन्नेबित्तिकै आकर्षक देखाउन लगाउने भन्ने कुरा पनि बुभिन्छ अर्थात् गहनालाई सुन्दरतासँग जोडेर हेरिन्छ । पहिले शरीरलाई सुन्दर बनाउन गहना प्रयोग गरिन्थ्यो महिलाहरूले लगाउने प्रत्येक गहनाले आ–आफ्नै अर्थ बोकेका छन् । पहिले विवाहित महिलाहरूले अनिवार्य रूपमा गहना लगाउनुपथ्र्यो । उनीहरूले गहना नलगाए अशुभ मानिन्थ्यो । नाक वा कान नछेडेका बुहारीलाई घरमा भित्राइँदैनथ्यो । हाम्रा पुर्खाले गहनालाई अर्थपूर्ण ढंगले प्रयोग गरेका थिए यद्यपि अहिले भने यो केवल शृंगारको साधनमा मात्र सीमित भएको छ ।
खै त बिन्दुली टीका
बिन्दुली टीकालाई हाम्रो समाजले नारी सौन्दर्यको प्रतीक मान्थ्यो । निधारको मध्यभागमा लगाइने गोलाकार टीकाले नारीलाई शालीन एवं सुन्दर देखाउँछ भन्ने मान्यता थियो । अहिलेको पुस्तामा बिन्दुली टीका लगाउने प्रचलन पनि हराउँदै गएको छ ।
आधुनिक गहनाको प्रभाव
आधुनिकतासँगै हाम्रा मौलिक गहना पनि लोप हुँदै गएका छन् । आधुनिक गहनाले परम्परागत गहनालाई विस्थापित गरेका छन् । गहना अहिले फेसनका रूपमा लगाइन थालेको छ । हिन्दी टेलिसिरियलको प्रभावका कारण पनि परम्परागत गहना हराउन थालेका हुन् । परम्परागत नेपाली गहनामा पनि भारतीय डिजाइन खोजिन थालिनु विडम्बना भएको छ ।
भारतीय डिजाइनका नयाँ गहना बजारमा बढी देखिन थालेको बराह ज्वेलर्सका सेल्स स्टाफ हेमन्त रसाइली बताउँछन् । प्राय: राई, लिम्बू, तामाङ, गुरुङ जातिका महिलाले सांस्कृतिक कार्यक्रमहरूका क्रममा परम्परागत गहनाको माग गर्ने रसाइली बताउँछिन् ।
‘परम्परागत गहना लगाउन युवापुस्ताले लाज मान्ने प्रवृत्ति, संस्कृति जोगाउने चेतनामा कमी, बाह्य संस्कृतिको प्रवेश, बढ्दो प्रविधि एवं विदेशी गहनाका आकर्षक विज्ञापनका कारण हाम्रा मौलिक गहना हराउँदै गएको गहना व्यवसायी खेम रिसालको बुझाइ छ ।
परापूर्वकालदेखि नै गहनालाई शृंगार र जगेडा धनका रूपमा प्रयोग गरिँदै आएको पाइन्छ । विभिन्न जातजाति, क्षेत्रमा प्रचलित ती गहना अहिले भने हराउँदै गएका छन् । बुलाकी, चेप्टे सुन, ढुंग्री, फुली यदाकदा गाउँघरतिर बूढाबूढीले प्रयोग गरेको पाइन्छ । आधुनिक पुस्ताले भने यी गरगहनालाई महत्व दिएको पाइँदैन । संस्कृति, धार्मिक मान्यता, आफ्नै मौलिकता र विशिष्ट पहिचान बोकेका नेपाली गहना लगाउने प्रचलन हराउँदैछ । ‘पहिचान र संस्कृति बोकेका गहना लोप हुनबाट जोगाउन पनि नयाँ पुस्ता जागरुक हुनु जरुरी छ ।’ बराह ज्वेलर्सका रसाइली बताउँछन् ।