छोरीले आफ्नो विवाहमा आमाको बनारसी साडी लगाउने चलन एकादेशको कथामा सीमित भैसकेको छ भने भारतबाट दुलही साडी ल्याएर लगाउने चलन पनि पुरानो भैसकेको छ । डेढ दशकअघिदेखि बुटिकमा गएर ब्राइडल वेयरहरू आफ्नो रुचि, डिजाइन तथा बजेटअनुसार बनाएर लगाउने चलन ह्वात्तै बढेको छ ।
त्यसमा पनि अहिले बलिउडका स्टारहरूका ब्राइडल वेयर हेरेर मोडिफाइ गरी त्यही कन्सेप्टमा पहिरन बनाउने चलन छ । दुलहीले साडी नै लगाउनुपर्छ भन्ने कन्सेप्ट पनि हटेको छ । ६ महिनाअघिदेखि नै आफूलाई सुहाउने तथा मनपरेको ब्राइडल वेयर डिजाइनरकहाँ गएर डिजाइन गराइन्छ । आफ्नो वैवाहिक समारोह स्मरणीय, स्पेशल र युनिक होस् भन्ने चाहनाले नै दुलहीहरू आफ्नो ब्राइडल वेयरमा कुनै सम्झौता गर्न चाहँदैनन् ।
ब्राइडल वेयरमा काम गरिरहेका पुल्चोक–३ का आस्तिक शेरचनका अनुसार अहिलेका सबैजसो दुलही आफै कमाउँछन्, त्यसैले पनि आफ्नो स्पेशल दिनमा लगाइने पहिरनमा डिजाइन तथा पैसामा सम्झौता गर्दैनन् । उनकै कुरासँग सहमत हुँदै लामो समय ब्राइडल वेयरमा डिजाइन गरिरहेकी ड्रिम वेयरकी मञ्जु ढकाल भन्छिन्–भनेजस्तो डिजाइन भएन भने अर्काे बनाइदिनुपर्छ । पहिलेजस्तो सजिलो छैन । फेसबुक, इन्स्टाग्राम आदिले गर्दा पनि त्यहाँ आएको भन्दा अर्काे डिजाइन गरिदिनू भन्नेहरू पनि धेरै भएको ढकाल बताउँछिन् । आस्तिकका अनुसार अहिले ब्राइडल वेयरमा हेबी ह्यान्ड इम्ब्रोइडरी भेल्भेटका लेहेंगा नै पहिलो च्वाइसमा पर्छन् ।
अहिलेका दुलही आफ्नो पहिरन लेटेस्ट फेसनको र धेरैले नलगाएको खोज्छन् । त्यसैले पनि ब्राइडलका लागि रेडिमेट लेहेंगा त्यति खोजिँदैन । दुलहाको घरबाट दिइने दुलहीको पहिरन पनि अहिले दुलहीलाई छान्न लगाउने चलन छ । ब्राइडल सेटमा साडी वा लेहेंगाका साथमा घुम्टी, घुम्टी स्टान्ड, बेल्ट, म्याचिङ जुत्ता तथा ब्याग आउँछन् । कतिपयले त आफ्नो ब्राइडल वेयर सेलेक्सन गरेपछि मात्र ज्वेलरी बनाउँछन् । ब्राइडल लेहेंगा कम्तीमा ६० हजारदेखि २ लाखसम्ममा तयार पारिन्छ । त्यो भन्दा घटी र बढी ग्राहकको इच्छा एवं डिजाइनअनुसार निर्धारण हुन्छ ।