Successfully Copied

ब्राइडल लेहेंगा खरिद गर्नुअघि

फेसन डिजाइनर मञ्जुका अनुसार पछिल्लो समय मोनोक्रोम प्याट्रन चलेको छ । त्यसमा रातो रंगको फेब्रिकमा रातो रंगले नै इम्ब्रोडइरी गरिएको हुन्छ । यसले बेहुलीलाई आकर्षक देखाउ“छ ।



विवाहको सिजन छ । विवाहको दिन हरेक युवतीका लागि विशेष हुन्छ । यसै दिनका लागि महिनौंअघिदेखि तयारी सुरु गरिन्छ । कपडा, गरगहनाको किनमेलदेखि मेकअप र ओभरल लुक कस्तो देखिने भन्नेसम्मको तयारी हुन्छ । उनीहरू फरक देखिन अनेकौं उपाय अपनाउँछन् । विवाहको दिन अलग र स्टाइलिस देखिनका लागि बजारमा चलेको ट्रेन्डलाई पछ्याउँछन् । विवाहको दिन अधिकांश बेहुलीले लेहेंगा नै रोज्ने गरेका छन् । बजारमा लेहेंगा धेरै भेराइटीमा पाइन्छन् । कस्तो डिजाइन र रंगको खरिद गर्ने भन्ने अन्योल हुनु स्वाभाविक हो ।

‘विवाहको दिन आकर्षक देखिन आफ्नो शारीरिक वनावटअनुसार लेहेंगा छनोट गर्नुपर्छ ।’ ड्रिम वेयर फेसनकी सञ्चालिका मञ्जु बञ्जारा भन्छिन्, ‘लेहेंगाको डिजाइन, सेप, रंग र लम्बाइले शरीर आकर्षक देखाउन सघाउँछ । किनभने यसले आँखालाई भ्रम पैदा गरिदिन्छ ।’ एकपटक लेहेंगा बनाउनुअघि डिजाइनरसँग सल्लाह गरे राम्रो हुने उनी सुझाव दिन्छिन् । उनका अनुसार पछिल्लो समय बेहुलीले सलसँगै टाउकोमा भेल लगाउने ट्रेन्ड छ । उनी भन्छिन्, ‘यो वेस्ट्रन डिजाइन भए पनि नेपाली बेहुलीहरूले यो ट्रेन्डलाई फलो गरिरहेका छन् ।’ प्रि–वेडिङ र पोस्ट वेडिङ फोटोसुटको चलन भएकाले टाउकोमा भेल लगाउँदा एलिगेन्ट र रोयल लुक दिने उनको भनाइ छ ।

रातो रंग नै प्यारो
‘अघिल्लो वर्ष पिंकिस पिच, रोजगोल्ड रंग निकै चलेको थियो ।’ मञ्जु भन्छिन्, ‘तर यो वर्ष बेहुलीले रातो नै खोज्ने गरेका छन् ।’ रातो रंग हिन्दू धर्ममा पवित्र रंग मानिन्छ । त्यसैले धेरैजसो बेहुलीले रातो वा कलेजी रंगको लेहेंगा नै रोज्ने गरेका छन् । रातो रंगमा बेहुली निकै आकर्षक देखिन्छन् । गोरो रंगका बेहुलीहरूलाई रानी र हल्का गुलाबी रंग निकै सुहाउँछ । सुन्तला रंगको लेहेंगाले बेहुलीलाई आकर्षक देखाउँछ । अलग देखिन चाहनेहरूले पहेंलो रंग लगाउन सक्छन् । यसमा रातो र गुलाबी रंगको सलले संयोजन मिलाउन सकिन्छ ।

जाडोमा न्यानो भेल्भेट
लेहेंगा खरिद गर्दा फेब्रिकमा ध्यान दिनुपर्छ । मञ्जुका अनुसार जाडोमा धेरै चल्ने भनेको भेल्भेट नै हो । उनी भन्छिन्, ‘नेटले भोल्युम देखाउँछ । नेटसँगै सबैभन्दा चल्ने भनेको भेल्भेट हो ।’ विवाहको दिन पहिरन आरामदायक हुनुपर्छ । उनी थप्छिन्, ‘भेल्भेट आरामदायक फेब्रिक हो । यसले इलिगेन्ट र रोयल लुक दिन्छ ।’

मोनोक्रोम प्याट्रन ट्रेन्डमा
फेसन डिजाइनर मञ्जुका अनुसार पछिल्लो समय मोनोक्रोम प्याट्रन चलेको छ । त्यसमा रातो रंगको फेब्रिकमा रातो रंगले नै इम्ब्रोडइरी गरिएको हुन्छ । यसले बेहुलीलाई आकर्षक देखाउँछ । रातो मात्र नभएर अन्य रंगमा पनि यो प्याट्रन बनाउन सकिने उनी बताउँछिन् ।

बडी टाइपअनुसार डिजाइन
अहिले हाई वेस्ट डिजाइन धेरै चलेको छ । केही वर्षअघि नाइटो देखाएर लगाउने चलन थियो भने अहिले नाइटो माथि लेहेंगा लगाइन्छ । अहिले पूरा बाहुला भएको ब्लाउज चलेको छ । त्यसैगरी नेक डिजाइनमा स्क्वायर, गोलो र भी चलेको छ । शरीर होचो छ भने ब्लाउजको नेक डिजाइन स्क्वायर वा गोलो सुहाउँदैन । शरीर अग्लो र छाती ठूलो छ भने भी नेकले राम्रो देखिन्छ । स्क्वायर नेक लगाउनु पर्दैन ।

अनलाइनमा हेर्ने
अनलाइनबाट पछिल्लो समय टे«न्डमा के छ भन्ने कुरा सजिलै थाहा पाउन सकिन्छ । त्यसबाट जानकारी लिए लेहेंगाको खरिद गर्दा फेब्रिक र डिजाइन छनोट गर्न सजिलो हुन्छ । त्यसका साथै मूल्यका बारेमा पनि थाहा पाउन सकिन्छ ।

बजेट जरुरी
बजारमा विभिन्न डिजाइनका लेहेंगा भिन्नभिन्नै मूल्यमा पाइन्छन् । ब्राइडल वेयर डिजाइनर मञ्जु भन्छिन्, ‘ग्राहकको बजेटअनुसार डिजाइन गर्न सकिन्छ ।’ जसले गर्दा दुवैलाई सजिलो हुन्छ । लेहेंगा खरिद गर्न जानुअघि बजेट छुट्याउनुपर्छ । त्योसँगै लेंहेगा कुन ठाउँमा खरिद गर्दै हुनुहुन्छ त्यहाँ पनि आफ्नो बजेटका बारेमा सम्पूर्ण जानकारी दिँदा सोहीअनुरूप लेहेंगाको डिजाइन बनाउन सकिने उनको भनाइ छ ।

समयमै गर्ने तयारी
विवाहको दिन परफेक्ट लुक दिन समयमा तयारी गर्नुपर्छ । समयमै तयारी हुँदा अन्तिम समयमा भागदौड गर्नु पर्दैन । जसकारण विवाहमा खुलेर रमाउन सकिँदैन । पहिला तयारी गर्दा सोचेर, बुझेर लेहेंगा खरिद गर्न सकिन्छ । मञ्जु भन्छिन्, ‘हातले बुट्टा भरेको लेहेंगा बनाउन लामो समय लाग्छ । लेहेंगा बनाउनुअघि नै कस्तो बनाउने भन्ने कुराको निर्णय गर्नुपर्छ । जसकारण बुटिकहरूले समय लगाएर काम गर्न सक्छन् । हतारमा बनाउँदा धेरै कुरा बिग्रन सक्छ ।’

मूल्य कति ?
लेहेंगाको मूल्य यति नै पर्छ भन्न गाह्रो हुन्छ । हातले बनाएको, फेब्रिक डाई गरेको, डिजाइन लेहेंगाको तुलनामा रेडिमेड लेहेंगा केही सस्तो पर्न जान्छ । ब्राइडल लेहेंगाको मूल्य ३० हजारदेखि एक लाख रुपैयाँसम्म पर्छ ।

 Image