Successfully Copied

मुस्किल नबनोस् हाइहिल जुत्ता

स्मार्ट तथा स्लिम बन्न प्रयोग हुने सामग्रीहरूमध्ये हाइहिल जुत्ता पनि एक हो । फेसन तथा मोडलिङमा हरेक मोडलले हाइहिल लगाउनु फेसन भैसकेको छ । हाइहिलको आवश्यकता नहुनेहरूले पनि यसको प्रयोग गर्न थालेका छन् । हाइहिल जुत्ताको प्रयोग कम्मर तथा जोर्नीको पीडाको कारण पनि

स्मार्ट तथा स्लिम बन्न प्रयोग हुने सामग्रीहरूमध्ये हाइहिल जुत्ता पनि एक हो । फेसन तथा मोडलिङमा हरेक मोडलले हाइहिल लगाउनु फेसन भैसकेको छ । हाइहिलको आवश्यकता नहुनेहरूले पनि यसको प्रयोग गर्न थालेका छन् । हाइहिल जुत्ताको प्रयोग कम्मर तथा जोर्नीको पीडाको कारण पनि बन्न सक्छ । धेरैजसोलाई हाइहिल जुत्ताबाट हुने समस्याको जानकारी नहुनसक्छ । विज्ञहरूका अनुसार हाइहिल जुत्ताले कम्मर तथा जोर्नी मात्र होइन, केही समयपछि कुर्कुच्चा दुख्ने रोगबाट पनि पीडित बनाउन सक्छ ।

युवावस्थामा कम्मर तथा कुर्कुच्चा दुख्ने समस्यालाई महिलाहरूले त्यति ध्यान दिएको पाइँदैन । उमेर ढल्कँदै गएपछि यसले गम्भीर रूप लिँदै जान्छ । यो रोग धेरैजसो अधबैसे महिलाहरूमा देखापर्छ । यसका अतिरिक्त गोलीगाँठो एवं आर्थराइटिस आदि जोर्नी दुख्ने रोग भएकाहरूलाई कम्मर दुख्ने तथा कुर्कुच्चा दुख्ने रोग थपिएपछि अप्ठ्यारो अवस्थामा पुर्‍याउँछ । हाइहिल जुत्ता तथा चप्पल लगाउने एवं गाँठो वा आर्थराइटिसले पीडितका साथै वजन उठाउने महिलाहरूमा यो समस्या देखिएको विज्ञहरूले बताएका छन् ।

यो समस्यालाई चिकित्सकीय शब्दकोशमा ‘पेनफुल हिल सिन्ड्रोम’ भनिन्छ । विभिन्न उमेरका मानिसमा यो रोग फरक–फरक कारणबाट हुन्छ । शिशुहरूमा सिवर्स रोग, खुट्टाको जन्मजात बिरामीका कारण, युवावस्थामा मांसपेशीहरू जकडिनुले, भाइरस संक्रमणका कारणले खुट्टाको हड्डी भाँचिएर कुर्कुच्चा दुख्ने समस्या उत्पन्न हुनसक्छ । अधबैसे महिलाहरूमा धेरै कारणले फ्याक्चर हुने समस्या देखिन्छ । ओस्टियोआर्थराइटिस वा तथा रह्युमेटायड आर्थराइटिस आदि समस्याले कुर्कुच्चा दुख्न थाल्छ । यसबाहेक मधुमेह तथा फेरिफेरल न्युराइटिस आदि रोगले पीडित व्यक्तिहरूमा पनि यस्तो समस्या पाइन्छ ।

चालीस काटेका तथा बढी तौल भएका महिलाहरूमा कुर्कुच्चाको पीडाले तन्तुमा क्षति पुग्छ । कुर्कुच्चाको हड्डी मुन्तिर बोसोको मात्रा बढी हुन्छ । यसमा कडा फाइब्रस तन्तुहरूका बीचमा नरम खालको बोसो भरिएको हुन्छ । उमेर बढ्दै जाँदा शरीरको तन्तुका साथै कुर्कुच्चाको बोसो पनि क्षीण भएर जान्छ । विस्तारै कुर्कुच्चाको फाइब्रस तन्तु फुट्छ । यसले शरीरको सम्पूर्ण भार कुर्कुच्चाको हड्डीमा पर्छ । कुर्कुच्चाको हड्डी जोडिँदा पनि यो दुख्न छाड्दैन । यस्तो पीडा रोक्न तुरुन्त उपचार गर्नुपर्छ अनि मात्र यो समस्याबाट छुटकारा पाउन सकिन्छ । उपचार आरम्भ गर्नुअघि के कारणले कुर्कुच्चा दुखेको हो, कारण पत्ता लगाउनुपर्छ । कुनै व्यक्तिलाई गाँठोको उपचार गर्दा पीडा निको हुन्छ । यो पीडा हटाउन घरेलु उपचारदेखि फिजियोथेरापी तथा सर्जरीको सहयोग लिनुपर्छ ।

कुर्कुच्चा दुख्ने रोगको उपचारमा फिजियोथेरापी महत्वपूर्ण छ । यसको मद्दतले धेरै हदसम्म पीडा कम हुन्छ । यो उपचारपछि बिरामीहरूले आफ्नो दैनिक काम सामान्य रूपमा गर्न सक्छन् । फिजियोथेरापीको मद्दतले केवल कुर्कुच्चा दुख्ने रोग मात्र निको हुँदैन यसबाट गोलीगाँठो र आर्थराइटिसजस्ता रोगको उपचारमा पनि मद्दत मिल्छ । फिजियोथेरापी गर्दा पीडा भएको स्थानमा गरम तथा चिसो पानीले सेकिन्छ । पीडा भएको ठाउँमा दिनहुँ तीन–चार पटक तातोपानी र फेरि एक मिनेटपछि चिसो पानीले सेक्नुपर्छ । कुर्कुच्चा दुख्दा सर्ट वेव डाइथर्मी अल्ट्रासोनिक थेरापी, स्ट्रेथनिङ तथा मोबिलाइजिङ व्यायाम गर्नुपर्ने विज्ञहरूको धारणा छ । यति गर्दा पनि आराम भएन भने कुर्कुच्चा दुखेको ठाउँमा स्टेरायडको इन्जेक्सन दिनुपर्छ । यसले रोगीलाई पूर्ण आराम मिल्छ । कुनै गम्भीर कुरामा सर्जरीको सहयोग लिनुपर्छ ।

कुर्कुच्चा दुख्दा के गर्ने ?

–सीधा एवं नरम तलुवा भएका जुत्ता–चप्पल लगाउने तथा कुर्कुच्चाको तल स्पन्जको टुक्रा प्रयोग गर्ने।

–समतल जमिनमा हिँड्ने ।

–केही दिन हिँडेपछि आराम गर्ने ।

–खुट्टाको जोर्नी तथा मांसपेशीहरूको कसरत गर्ने ।

–धेरै पीडा भए खुट्टालाई बीस मिनेटसम्म उठाएर राख्ने ।

सावधानी

–नाङ्गो खुट्टा हिँड्नु हुँदैन ।

–आफ्नो तौल सन्तुलित राख्नुपर्छ ।

–सामान्य जोर्नीको पीडालाई वास्ता नगर्ने प्रवृत्तिमा परिवर्तन गर्नुपर्छ ।

–लगातार धेरै समय हिँड्नु हुँदैन ।

–हाइहिल भएका जुत्ता–चप्पल लगाउनु हुँदैन ।

–धेरैबेरसम्म उभिनु हुँदैन ।

–जथाभावी उफ्रनु हुँदैन ।

 Image