Successfully Copied

‘अरुलाई हँसाउन सजिलो छैन’

हाँस्न सजिलो हुन्छ नि । अरुलाई हँसाउन त गाह्रो हुन्छ, धेरै मेहनत गर्नुपर्छ ।


सुयशा खनाल

‘कमेडी च्याम्पियन सिजन ३’ की चर्चित कमेडियन हुन्,१२ वर्षीया सुयशा खनाल । सानी कमेडियनका रूपमा परिचित उनले प्रतियोगितामा अब्बल र खरो प्रस्तुति दिँदै दर्शकको मन जितिरहेकी छन् । ४ वर्षको उमेरमा सिरियलमा अभिनयसँगै उनको कलायात्रा सुरु भएको हो । बुवा सन्तोष खनाललाई पछ्याउँदै यहाँसम्म आइपुगेको उनी बताउँछिन् । विभिन्न सिरियलदेखि सर्ट फिल्ममा अभिनय गरेकी उनी यतिबेला कमेडियनको प्रतिस्पर्धामा उत्रिएकी छन् । यसैको सेरोफेरोमा रहेर उनीसँग प्रकृति दाहालले गरेको कुराकानी ः
‘कमेडी च्याम्पियन’ शोमा कसरी पुग्नुभयो ?
बुवा कमेडियन हुनुहुन्छ । उहाँलाई हेर्दै–सिक्दै हुर्किएँ । ४ वर्षदेखि नै मेरो अभिनय सुरुवात भयो । टिकटकमार्फत कमेडी गरिरहेकी थिएँ । केही नयाँ कुरा सिक्ने रहरले शोमा आइपुगें । चर्चा कमाउँला र उपाधिका लागि प्रतिस्पर्धा गरुँला भन्ने सोच थिएन । तर दर्शकको माया र साथ पाएँ । टप ५ सम्म आइपुग्न सफल भएकी छु । अब दर्शकले अझै माया गर्नुभयो भने उपाधि लिएर जानेछु ।
दर्शकहरूको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
राम्रो प्रतिक्रिया पाएकी छु । सानो मान्छेले राम्रो कमेडी गरिन् भनेर प्रशंसा गर्नुहुन्छ । बाहिर भेट्दा पनि सबैले माया गर्नुहुन्छ । यसले थप राम्रो गर्ने हौसला बढिरहेको छ ।

कन्टेन्ट कसरी निर्माण हुन्छ ?
कन्टेन्ट बाबा–ममी र सबै मिलेर लेख्छौं, छलफल गर्छौं अनि फाइनल गर्छौं । त्यसलाई म अभिनयमा उतार्छु । धेरैपटकको रिहर्सलपछि स्टेजमा पर्फम गर्छु । शोमा प्रस्तुति दिएका कन्टेन्टरुचाइएका छन् । त्यहाँ मैले थुप्रै शीर्षकमा प्रस्तुति दिइसकेकी छु । फिल्म र परिवार, सडकमा माग्ने बालिका, नेताकी छोरी, बूढीआमा जस्ता प्रस्तुतिलाई पनि दर्शकले मन पराइदिनुभएको छ ।
कन्टेन्टअनुसारको पात्र निभाउन नि ?
कन्टेन्टअनुसारकै प्रस्तुति दिनुपर्ने हुन्छ । हालसालै मैले बूढीआमाको अभिनय गरें । यसका लागि मेहनत त गर्नैपर्छ । जस्तैः बूढीआमाको प्रस्तुतिमा बूढी भएको अनुभव गरेर ड्रेसअप पनि त्यहीअनुसार तयार गरें । कन्टेन्टलाई क्यारेक्टरमा मिलाउन सकेमात्र प्रस्तुति राम्रो दिन सकिन्छ ।
हाँस्न सजिलो कि हँसाउन ?
हाँस्न सजिलो हुन्छ नि । अरुलाई हँसाउन त गाह्रो हुन्छ, धेरै मेहनत गर्नुपर्छ ।
पढाइ र कलाकारितालाई कसरी मिलाइरहनुभएको छ ?
मेरो प्राथमिकता पढाइ नै हो । विद्यालयबाट आएर होमवर्क सक्छु अनि कमेडीका लागि समय निकाल्छु । शोका लागि चाहिँ २–३ दिन बिदा लिनुपर्छ ।
भविष्यको लक्ष्य ?
भर्सटाइल कमेडियन बन्ने लक्ष्य छ ।

 Image