Successfully Copied

मासिन्या: तामाङ जातिमाथि उत्पीडनको कथा

नाटकमा मुख्य त जनयुद्ध कालको चित्रण छ । जनयुद्धकालको समयलाई हालको अवस्था चित्रण गर्दै इतिहासको कालखण्डलाई नाटकले जोड्ने प्रयास गरेको छ ।


सुशीला तामाङ
‘यत्रो ठूलो संसारमा मेरो अस्तित्व हरायो । म हराएँ, मेरो गाउँ हरायो । मेरो पुर्खाको माटो हरायो । मेरो छ्योर्तेनको सिन हरायो ।’ ढ्याङ्ग्रोको धुनभित्र बोन्बोले घेरिएकी विछिप्त पाल्मो (शीतल थोकर) को शरीरमा प्रवेश गरेको साङ्मो (रोहनी लामा) को आत्माबाट निस्केको यो चिच्याहटले क्षणभरमै रंगमञ्चको माहोलमा शून्यता छाउँछ । त्यसपछि पृष्ठभूमिमा बजेको तामाङ संगीतको धुनमा केही पर च्याङ्बा (रूपेश तामाङ) खुकुरी उजाइरहेका देखिन्छन् । त्यही दृश्यको किरणमा च्याङ्बा एकोहोरो भएर पर क्षितिजमा हेरिरहन्छन् र त्यसैबेला दर्शकदीर्घाबाट तालीको आवाज सुरु हुन्छ ।
माथिको दृश्य थापागाउँस्थित मण्डला थिएटरमा माघ ११ गतेदेखि २८ गतेसम्म मञ्चनमा आएको नाटक ‘मासिन्या’ को हो । च्याङ्बाले खुकुरी उदाउँदै गरेको दृश्यले नाटक समापन भएको देखाए पनि वर्तमानका च्याङ्बाहरू भने उदाइरहेका छन् भन्ने चोटिलो अर्थ उक्त दृश्यले दिएको छ । राजु स्याङ्तान, राबत र लक्ष्मी रुम्बाको लेखन रहेको नाटकमा मुख्यतः हिजोको इतिहासदेखि आजको वर्तमानसम्म तामाङ समुदायले भोग्दै आएको पीडालाई देखाइएको छ ।
तामाङ समुदाय आदिम जातिमा रहेको ऐतिहासिक रूपमा प्रमाणित भए पनि इतिहासका विभिन्न कालखण्डमा उनीहरूको सत्ता र शासकलाई बेदखल गर्ने काम भयो । पुरातत्वविद् जनकलाल शर्माले पुस्तक ‘हाम्रो समाज एक अध्ययन’ मा पुरातात्विक अध्ययन र अनुसन्धानका क्रममा फेला परेका पाषाण हतियारहरूका आधारमा तामाङहरू प्राचीन समयदेखि काठमाडौंवरिपरि रहेको कुरा खुलाएका छन् । पृथ्वीनारायणको राज्य विस्तारको क्रम होस् वा जंगबहादुरको १९१० को मुलुकी ऐनले तामाङको गणराज्य, स्वतन्त्रता र ज्यानलाई मास्ने काम ग¥यो । त्यो क्रम पञ्चायत कालसम्म रह्यो । त्यसपछि मुलुकमा बहुदलदेखि गणतन्त्र आयो । यस कालखण्डसम्ममा हजारौं तामाङले ज्यानको आहुति दिए । तामाङहरू शासकका पीपा बने । भारी बोके, तिनका गाडी बोकेर सहरमा भित्राए । तामाङहरूले आफ्नो घरको छानो चुहिएको छोडेर शासकहरू बस्ने दरबार बनाए । आफ्ना छोरीचेलीलाई तिनीहरूका सुसारे बनाए । ती सबै योगदानको मूल्यांकन राज्यले कहाँ र कुन समयमा गरेको छ भनेर नाटक मासिन्याले इतिहाससँग प्रश्न गरेको छ । तामाङलगायत सीमान्तकृत समुदायको रगत र पसिनाको मूल्यांकन राज्यले नगरेपछि त्यसको लेखाजोखा गर्न च्याङ्बाहरू उदाएको संकेत नाटकले गरेको छ ।

नाटकमा मुख्य त जनयुद्ध कालको चित्रण छ । जनयुद्धकालको समयलाई हालको अवस्था चित्रण गर्दै इतिहासको कालखण्डलाई नाटकले जोड्ने प्रयास गरेको छ । नाटकमा गाङनाम्सा (डाँडागाउँ)मा आफ्नै परिवेशमा बाँचिरहेको तामाङ बस्ती देखिन्छ । शिक्षा, विकास र परिवर्तनमा बेखबर बस्तीमा जनयुद्ध छिर्छ । त्यसैमा विकास नामको लहर प्रवेश गर्छ । त्यही विकास र जनयुद्धको मारमा फेरि च्याङ्बाहरूका सपना भत्किन्छन्, आस्याङ¬(विष्णु मोक्तान) हरूको काख रित्तो हुन्छ र साङ्मोहरूको प्रेम विरहमा परिणत हुन्छ ।
सदियौंदेखि खाँदै आएको गौमांसकै मुद्दामा च्याङ्बाहरू आज पनि जंगबहादुरको हैकममा पिल्सिन विवश छन् । खस नेपाली भाषा नजानेकै कारण अपराधी करार भइरहेका छन् । विकासको लहरले बस्तीका माने, छ्योर्तेनहरूमा डोजर चलेका छन् । यी सबै कुरा सहन गरिरहेका च्याङ्बाहरू अब ब्युँझिएको संकेत पनि नाटकले दिएको छ । गणतान्त्रिक मुलुकमा राणा र पञ्चायत शासनलाई कसरी घुमाउरो ढंगले हालसम्म तामाङ समुदायमाथि लादिएको छ भन्ने दृष्टान्त नाटकभित्र छन् । पाल्मोको शरीरमा आएको साङ्मोको दुःखान्त आत्मकथा नै सशक्त बिम्ब हो । समुदायमाथि गरिएको विभेद र अत्याचार आजसम्म पनि पुस्तान्तरण भइरहेको छ भन्ने यसले बताउँछ । यो विभेदकारी नीतिलाई बदल्न च्याङ्बाहरू उठ्नुपर्ने सन्देश दिँदै नाटकले समुदायको आफ्नै पहिचानलाई खोजी गरेको छ । बुद्धि तामाङ र सोनाम लामाले निर्देशन गरेको नाटकमा रूपेश लामा, रोहनी लामा, विष्णु मोक्तान, सानुमाया तामाङ, रविन दोङ, विजय नेपाल, शीतल थोकर, विकास लामालगायतका कलाकारहरूले अभिनय गरेका थिए ।

 Image