Successfully Copied

चलचित्रमा नायिका अब कसको पालो ?

चलचित्रवृत्तमा एउटा स्थापित मान्यता छ, ‘नायिकाको आयु (अवधि) अल्पकालीन हुन्छ’ । खासगरी विवाह वा घरजमपछि अधिकांश नायिका व्यावसायिक जीवनमा फर्कन सक्दैनन् । उनीहरू परिवार र बालबच्चामा रमाउन थाल्छन् ।

चलचित्रवृत्तमा एउटा स्थापित मान्यता छ, ‘नायिकाको आयु (अवधि) अल्पकालीन हुन्छ’ । खासगरी विवाह वा घरजमपछि अधिकांश नायिका व्यावसायिक जीवनमा फर्कन सक्दैनन् । उनीहरू परिवार र बालबच्चामा रमाउन थाल्छन् । नेपाली चलचित्र क्षेत्र पनि यस किसिमको प्रवृत्तिबाट अछूतो छैन ।

अभिनेतृहरू 

आउने–जाने क्रम चलिरहन्छ । एकताका रेखा थापा अब्बल नायिका थिइन् । उनले आफूलाई नायिकाका रूपमा मात्र नभई निर्देशकका रूपमा पनि चिनाइन् । चलचित्रमा महिला मुद्दालाई समेत उनले स्थान दिइन् । ‘हिम्मतवाली’, ‘हिरो’ जस्ता चलचित्र बनाएर हालिमुहाली गरिरहेको समयमा प्रियंका कार्की उदाइन् । रेखा राजनीतिमा लागेपछि प्रियंका चलचित्र उद्योगमा छाइन् । उनी नेपाली चलचित्रमा ‘हिट’ नायिका हुन् । थुप्रै हिट चलचित्र दिएकी उनी गर्भावस्थामा पनि चर्चित भइन् । विवाहअघिसम्म उनी चलचित्रमा जति सक्रिय थिइन्, विवाहपछि घरगृहस्थीमा बढी रमाइरहेकी छन् । उनले ‘भ्लग’ बनाएर युट्युब पनि सञ्चालनमा ल्याएकी छन् । विज्ञापनका केही म्युजिक भिडियोमा देखिएकी उनी ठूलो पर्दामा विवाहपछि कमै देखिइन् । 

‘म्युजिक भिडियो’ र ‘मोडलिङ’ हुँदै नेपाली चलचित्रमा प्रवेश गरेकी वर्षा राउत पनि यो क्षेत्रबाट हराउँदै गएकी छन् । व्यवसायी संजोक कोइरालासँग विवाह गरेपछि भने व्यापार र गृहस्थीमा उनी व्यस्त छिन् । अभिनेतृ ऋचा शर्मा विवाहपछि टेलिभिजन ‘रियालिटी शो’ मा फाट्टफुट्ट देखिए पनि चलचित्रमा सक्रिय छ्रैनन् । ‘कवड्डी फेम्ड’ अभिनेतृ रुस्मा गुरुङ पनि विवाहपछि चर्चामा आएकी छैनन् । यसैगरी, आँचल शर्मा पनि विवाहपछि चलचित्रमा कमै देखिएकी छन् । आँचलले विवाहपछि चलचित्रमा बिस्तारै कमब्याक गर्न थालेकी छन् । नेपाली चलचित्रमा विवाहपछि नायिकाहरू हराउने ‘टेन्ड्र’ बढ्दै गएको छ । कुनै बेलाका चर्चित नायिकाहरू गुमगाम हुन थालेका छन् । त्यसैले पनि चलचित्रमा सधै प्रश्न उठ्ने गर्छ–अब कसको पालो ? विवाहपछि नायिकाहरू चलचित्रमा नदेखिने भए पनि यो क्षेत्रलाई निरन्तरता दिएकी नायिका हुन्–स्वस्तिमा खड्का । उनलाई विवाहपछि भने रोकतोक लागेको देखिँदैन । उनलाई नेपाली चलचित्रमा अपवादका रूपमा लिइन्छ । 

 त्यसो त रजतपटमा नयाँ–नयाँ अभिनेतृ आउने क्रम पनि जारी छ । सुरक्षा पन्त, उपसनासिंह ठकुरी, मल्लिका महत, जसिता गुरुङ, कृष्टिना गुरुङ आदि अभिनेतृ छन् । के अब यिनै अभिनेतृले नेपाली चलचित्रलाई डोर्‍याउलान् ? चलचित्र समीक्षक सामीप्यराज तिमिल्सिना भने लहैलहैमा होस् वा टिकटक बनाएर चलचित्रमा आउने रहरले पनि लामो समय नायिकाहरू टिक्न नसकेको बताउँछन् । उनले भने चलचित्रमा अध्ययनबिना आउने भएकाले पनि नायिकाहरू लामो समय टिक्न सकिरहेका छैनन् । फिल्म निर्माता र निर्देशकहरूले राम्रालाई भन्दा हाम्रालाई हेर्ने भएकाले पनि नायिकाहरू विलीन हुँदै गएको अवस्था रहेको उनले बताए । उनले भने, ‘निर्माता–निर्देशकहरूले राम्रा नायिकाहरूलाई छनोट गर्नुभन्दा पनि आफ्नालाई चलचित्रमा खेलाएर नायिकाहरू लामो समय टिक्न सकेका छैनन् ।’ पारिवारिक झमेलामा परेर होस् वा व्यक्तिगत कारणले चलचित्र छोड्नेहरू धेरैछन् । तर, आगामी दिनमा स्वस्तिमा खड्का, आना शर्मा, उपासनासिंह ठकुरीलगायतका नायिकाहरूले चलचित्र हाँक्न सक्ने क्षमता उनले देखेका छन् । उनीहरू चलचित्रलाई बुझ्न सक्ने क्षमता र ‘एक्टिङ प्यासन’ भएकाले पनि लामो समय चलचित्र हाँक्न सक्छन् भन्ने उनलाई लागेको छ । विदेशी चलचित्रहरूमा लामो समयसम्म अभिनेतृहरूको अभिनय रहेको हुन्छ । उनीहरू चलचित्रमा कालजयी रहेका हुन्छन् । तर, नेपालमा नायिकाहरू लामो समयसम्म टिक्न नसक्नु दुःखलाग्दो रहेको चलचित्र निर्देशक दीपेन्द्र के खनालले बताए । उनका अनुसार नायिकाहरूको व्यक्तिगत कारणले उद्योगले पनि नायिकाहरूलाई ‘बोल्ड’ रूपमा प्रस्तुत नगर्नुले पनि उनीहरू पलायन हुने चलन रहँदै आएको हो । उनले भने, ‘नेपालमा अझै पनि पुरुषप्रधान छ । त्यसमा नेपाली चलचित्र पनि अछूतो छैन । त्यसैले चलचित्रमा महिलाले मुख्य भूमिका पाएका छैनन् ।’

दर्शकहरूले पनि ‘हिरो’ खोज्ने भएकाले पुरुषलाई ‘हिरो’ बनाउने चलन छ । महिलाहरूलाई पनि हिरोका रूपमा स्थापित गर्न सके लामो समय यही क्षेत्रमा रहन्छन् जस्तो लाग्छ । आगामी दिनमा स्वस्तिमा खड्का र सुरक्षा पन्त चलचित्र डोर्‍याउन सक्ने नायिकाका रूपमा रहने उनले बताएका छन् । यी दुई नायिकामा सबै क्षेत्रमा फिट हुन सक्ने क्षमता उनले देखेका छन् । 

– सामीप्यराज तिमिल्सिना

फिल्म निर्माता र निर्देशकहरूले राम्रालाई भन्दा हाम्रालाई हेर्ने भएकाले पनि नायिकाहरू विलीन हुँदै गएको अवस्था छ । 

– दीपेन्द्र के खनाल

नेपालमा नायिकाहरू लामो समयसम्म टिक्न नसक्नु दुःखलाग्दो कुरा हो ।

 Image