Successfully Copied

‘मामुलाई हेरेर नारी कथा कोर्न उत्प्रेरित भएको हुँ’ सुलक्षण भारती

मेरा बाल्यकालका स्मृति कथा बनेका हुन् । मेरो साथीको आमालाई बोक्सी भनिन्थ्यो । मेरो घरछेउमा राता लुगा लगाउने, भीडमा पनि छुट्टै देखिने एउटी महिला हुनुहुन्थ्यो, उहाँको नजिक जाँदा पिटाइ खाएको छु मैले । यिनै स्मरणलाई बिम्वात्मक रूपमा केलाउँदै बोक्सीको घर कहाँ रहेछ त


२८ वर्षदेखि लेखन, निर्देशन र कलाकारितामा सक्रिय सुलक्षण भारतीको पछिल्लो चलचित्र ‘बोक्सीको घर’ चर्चामा छ । समाजभित्रका विविध खाले भावना, संवेदना र लयलाई शब्दमा ढाल्न सिपालु भारतीले हालसम्म १३ वटा नाटक लेखन, ११ वटा निर्देशन र ७० वटाभन्दा बढी नाटकमा अभिनय गरिसकेका छन् । हाल उनी अध्यापन पेसामा समेत क्रियाशील छन् ।


अहिले कत्तिको व्यस्त हुनुहुन्छ?
अहिलेम निकै व्यस्तछु । ‘बोक्सीको घर’ को कामले २४ घण्टामा २ घण्टा मात्रै सुत्छु ।


नारी संवेग, संवेदना र भावना मात्रै नभएर महिला मुद्दामा लेख्ने काम कहिलेदेखि सुरु भयो ?
घोत्लिएर हेर्दा एउटा पुरुष आफ्नो जीवनको हरेक कालखण्डमा नारीसँगै निकट छ । आमा, दिदीबहिनी, श्रीमती जुनरूपमा भए पनि । अझ पूर्वीय मुलुकका हाम्रा पुस्ता बुवा बाहिर कमाउन जाने आमा घरमै बस्ने हुनाले नारीकै सामीप्यमै हुर्किएँ । म मेरी मामुलाई हेरेरै नारी कथा कोर्न उत्प्रेरित भएको हुँ । मेरी हजुरआमा आफ्ना पूरा नभएका कयौं सपना मलाई सुनाउनुहुन्थ्यो । मैले लेखेका नारीप्रधान कथा मिल्क टी, लाटीको छोरो र बोक्सीको घर यसरी नै जन्मिएका हुन् ।


पुरुष मनले नारी भावनालाई कसरी न्याय गरिरहेको होला ? यसका लागि के चाहिँदोरहेछ ?
अब यो न्यारेटिभ नै परिवर्तन गर्न पर्छ जस्तो लाग्छ । हर–एक मान्छे फरक हुन्छन् र हर एकलाई बुझ्न सहज छैन । तपाईंले आफूलाई नियाल्नुभएको छ भने त्यहाँभित्र पनि एउटा पुरुष छ र म भित्र पनि नारी । १८ वर्ष नाटक र लेखनको तपस्यामा कोठाभित्रै थुनिएर बसेको मान्छे म ‘मि टु’ जस्ता अभियानमा सशक्त भएर उभिएको छु । हामीले अब परिवर्तनकारी भूमिका खेल्नुपर्छ भन्ने मभित्रको महसुसले नै नारी कथाहरूलाई न्याय गरेजस्तो लाग्छ मलाई त ।


‘बोक्सीको घर’ को परिकल्पना किन र कसरी गर्नुभयो ?
मेरा बाल्यकालका स्मृति कथा बनेका हुन् । मेरो साथीको आमालाई बोक्सी भनिन्थ्यो । मेरो घरछेउमा राता लुगा लगाउने, भीडमा पनि छुट्टै देखिने एउटी महिला हुनुहुन्थ्यो, उहाँको नजिक जाँदा पिटाइ खाएको छु मैले । यिनै स्मरणलाई बिम्वात्मक रूपमा केलाउँदै बोक्सीको घर कहाँ रहेछ त भनेर खोज्दै हिड्दाँ भेटिएको ठाउँले नै ‘बोक्सीको घर’ जन्मायो । जुन सन् २०१५ मा नाटकका रूपमा मञ्चन गरियो । त्यसपछि विभिन्न मिडियामा बोक्सीसम्बन्धी प्रकाशित समाचार रिभ्यु गरेर तिनलाई विश्लेषण गरी कथालाई अझ तथ्यपरक र रोमाञ्चकका साथै सामाजिक दपर्णका रूपमा उतारियो जुन अहिले ठूलोपर्दाको चलचित्र बनेर आयो ।


अब नारीको कुन र कस्तो कथा लेख्ने मन छ ?
म विविध विधामा हात चलाउने लेखक हुँ र पनि नारी कथामा काम गर्दा छुट्टै ऊर्जा मिल्छ । अनुराधा लेखेर तयार भइसकेको छ । यसलाई सिनेमामा ढाल्ने सोचमा छु ।


जीवनको यात्रामा भेटिएका नारी पात्रमध्ये सबैभन्दा बलिया र सशक्त लागेका नारी ?
मेरी आमा र मेरी श्रीमती सिर्जना अधिकारी (जो कलाकार हुन्) ।


नेपाली मनोरञ्जन क्षेत्रको गुणात्मक सुधारका लागि के आवश्यक ठान्नुहुन्छ ?
देश चलाउने माथिल्लो वर्गका मानिसमा कला, साहित्य र भाषाप्रति गहिरो चेत, चिन्तन र चासो हुनुपर्छ । राज्यको लगानी यसमा पनि हुनु जरुरी छ ।


यहाँको जीवनमा अमिट छाप छोड्न सफल कुनै महिला ?
सन् २०१५ मा ‘बोक्सीको घर’ नाटक हेरेर थियटर हलबाट बाहिरिँदा एउटी बहिनी हलबाहिर रोइरहेको देखें । मैले सोधें–‘के भो नानु ?’ उत्तर आयो–‘म पढ्दै गरेकी विद्यार्थी, विदेश जान्छु भनेर आँटेकी तर यो नाटक हेरेपछि मैले विदेश नजाने निर्णय गरें ।×’ त्यो दिन धेरै समय वार्तालाप भयो । केही वर्षपछि कामनपा–९ बाट चुनाव लड्दै गरेकी तिनै बहिनीलाई देखेर मलाई गर्व लाग्यो । कमसेकम १ जना युवा देशमै बस्दा पनि धेरैथोक गर्न सकिँदोरहेछ । मैले जीवनमा पहिलो पटक भोट दिएको पनि उहाँलाई नै हो । उहाँलाई हेर्दा अहिले पनि ऊर्जा थपिन्छ ममा, उहाँ अर्थात्–रञ्जु दर्शना ।

सफल कथा बन्नका लागि आवश्यक तीन कुरा ?
समाजसँग कत्तिको परिचित हुनुहुन्छ ? त्यो समाजमा बस्ने व्यक्तिहरूको यथार्थको गहिराइमा कत्तिको पुग्न सक्नुहुन्छ ? किन र केका लागि तपाईं यो कथा भन्दै हुनुहुन्छ ? यति ज्ञान लेखकमा हुनुपर्छ भन्ने लाग्छ ।


तपाईंलाई छोएको पात्र, पुस्तक वा नाटक ?
आफ्नै नाटक ‘सलेदो’ को मुख्यपात्र, जसको नाम नै छैन । बूढा बाहुनलाई छोरा–बुहारी र छोरीहरूले बा, बूढीले बूढा भनेर सम्बोधन गर्छन् ।


अब कस्तो क्यारेक्टरमा अभिनय गर्ने इच्छा छ र किन ?
मेरो देश, मेरो समाजभित्रका कुनै पनि चरित्रमा काम गर्न तयार छु । मलाई विदेशीको अस्कर जित्नु छैन । नेपालका राष्ट्रिय सम्मान–पुरस्कार नै मेरा लागि अस्कर अवार्डभन्दा विशिष्ट र महत्वपूर्ण हुनेछन् ।


नयाँ योजना र सन्देश ?
यही क्षेत्रमा अझ धेरै काम गर्दै जाने, यो नयाँ वर्षभित्र अर्को चलचित्र बनाउने योजनामा छु । हाम्रो मातृभाषालाई संरक्षण, संवर्द्धन गर्नु आजको मूल आवश्यकता भइसकेको छ यतातर्फ पनि सोच्ने हो कि भन्ने आग्रह गर्न चाहन्छु । 

 Image