Successfully Copied

परिवर्तित तीज गीत

हरितालिका तीजलाई महिलाहरूको महान् चाडका रूपमा लिइन्छ । महिलाको उन्मुक्तिका रूपमा मनाइँदै आएको यो पर्व नजिकिएसँगै सांगीतिक बजार तात्ने गर्छ । तीजलाई लक्षित गर्दै कलाकारहरूले नयाँ भाका सिर्जना गर्छन् । समयसँगै तीज मनाउने तरिका पनि परिवर्तन हुँदै गएको छ ।

हरितालिका तीजलाई महिलाहरूको महान् चाडका रूपमा लिइन्छ । महिलाको उन्मुक्तिका रूपमा मनाइँदै आएको यो पर्व नजिकिएसँगै सांगीतिक बजार तात्ने गर्छ । तीजलाई लक्षित गर्दै कलाकारहरूले नयाँ भाका सिर्जना गर्छन् । समयसँगै तीज मनाउने तरिका पनि परिवर्तन हुँदै गएको छ । तीजमा गाइने गीतहरूमा पनि धेरै परिवर्तन भैसकेको छ । पहिले–पहिले बुहारीलाई सासू, नन्द एवं आमाजूले गर्ने व्यवहार र बुहारीका दुःख गीतमार्फत व्यक्त हुन्थे । पछिल्लो समय भने बुहारीहरूले स्वतन्त्रता पाउन थालेसँगै फरक शैलीका तीज गीतहरू सार्वजनिक हुन थालेको संस्कृतिविद् जगमान गुरुङले बताए । उनका अनुसार परापूर्वकालमा सानो उमेरमा विवाह गरी पराइघरमा जाने र तीजमा मात्रै माइत आउने भएकाले पनि गीतमार्फत नै मनका भावना व्यक्त गरिन्थ्यो । उनले भने, ‘पछिल्लो समय धेरै परिवर्तन भइसकेको छ । महिलाहरू धेरै स्वतन्त्र भइसकेका छन् । तीजमा मात्र वेदना सुनाउने अवस्था छैन । त्यसकारण गीत–संगीतमा पनि परिवर्तन हुँदै आएको छ ।’ लोकगायिका हरिदेवी कोइरालाले हरेक वर्ष तीजका भाका निकाल्दै आएकी छन् । नारीका वेदना समेटिएका तीज गीतहरू हरेक वर्षझैं यो वर्ष पनि उनले सार्वजनिक गरिन् ।

महिलाहरूका लागि समय र परिस्थिति परिवर्तन हुँदै आए पनि तीज गीतको महत्व छुट्टै रहेको उनले बताइन् । हरेक वर्ष तीज गीत सार्वजनिक गर्दै आएकी उनले आफ्ना गीतहरूमा नारीहरूका वेदना समेट्ने गरेको बताइन् । उनले यो वर्ष पनि आफ्नै लय, शब्द र संगीतमा ‘यो घरमा लच्छिन छैन’ बोलको गीत सार्वजनिक गरिन् । उक्त गीतमा परिवारका सदस्यहरू आ–आफ्नो ढंगले चल्दा घरमा लच्छिन नहुने कुरा व्यक्त गरिएको छ । ‘समय परिवर्तन भएसँगै विकृति पनि बढ्दै गएको छ । पहिलाको जस्तो परिवारको सदस्यमा आदर–सम्मान पनि हराउँदै गएको छ,’ उनले भनिन्, ‘यही स्थितिलाई मैले गीतमार्फत देखाउन खोजेकी छु ।’

पुरुष स्वर 

केही वर्षयता तीज गीतहरू पुरुष स्वरमा पनि सुन्न थालिएको छ । पशुपति शर्मा, बद्री पंगेनी, प्रकाश सपूत, खुमन अधिकारी आदि कलाकारले हरेक वर्ष तीज गीतमा आ–आफ्नो स्वर र लय दिँदै आएका छन् । तीज गीत गाएर चर्चामा आउने कलाकारमध्येमा पशुपति शर्मा लोकप्रिय छन् । उनले हालसम्म थुप्रै तीज गीत गाइसकेका छन् । उनले यो वर्ष ‘ओइ पोइ’ बोको गीत सार्वजनिक गरेका छन् । देवी घर्ती मगरको साथ रहेको उक्त गीतमा श्रीमान्/श्रीमतीको झगडालाई प्रस्तुत गरिएको छ । तीज गीतमा पुरुषहरूको स्वर सुनिनु भनेको समाज रूपान्तरण उन्मुख रहेको उनको भनाइ छ । ‘पछिल्लो समय समाजमा महिलाहरूलाई गर्ने व्यवहार परिवर्तन हुँदै गएको छ । त्यसैले पनि तीज गीतमा पुरुष सहभागिता बढ्दै गएको हो,’ उनले भने । महिलाहरूले आफ्नो पीडा पोख्न मात्रै तीज मनाउने परम्परा हराउँदै गएकाले पनि पुरुष स्वर सुन्न थालिएको उनको जिकिर छ । अर्का गायक बद्री पंगेनी लोकदोहोरी मात्र होइन सामाजिक परिवर्तनका गीत गाउने कलाकार हुन् । उनको स्वर हरेक वर्ष सुनिन्छ । यो वर्ष भने ‘यसपटकको तीजमा दिदी’ बोलको गीत उनले बजारमा ल्याएका छन् । उक्त गीतमा चेलीलाई माइत बोलाउने चलनका साथै समाजमा विद्यमान भ्रष्टाचार र विकृतिलाई उनले गजल शैलीमा पस्केका छन् । 

आलोचित गीतहरू

‘यसपटकको तीज नो व्रत प्लिज’ बोलको गीत दुई वर्षअघि गायिका सोफिया थापाले सार्वजनिक गरेकी थिइन् । उक्त गीत आलोचित मात्रै भएन विवादमा समेत परेको थियो । उनलाई तीज विरोधी गीत गाएको भन्दै ‘युट्युब’ बाटै हटाउन दबाब आएपछि उनी हटाउन बाध्य भए । गायिका प्रीति आलेको ‘लरिलै’ बोलको गीतले पनि उत्तिकै आलोचना सहनुपर्‍यो । र्‍याप शैलीमा गाएको उक्त गीत छोटो समयमै भाइरल भयो । उनको गीतले पनि विकृति फैलाएको भन्दै विवाद भयो । तीज गीत सार्वजनिक हुँदै गर्दा अश्लील शब्द र धर्मविरोधी भनेर आलोचना र विरोध हुँदै आएको छ । युवा कलाकारहरू भने फरक शैलीमा गीत प्रस्तुत गर्न पाउनुपर्ने तर्क राख्छन् । ‘संधै एकै खालको गीत गाउनुपर्छ भन्ने छैन । गीतमा आफ्नो शैली त हुनैपर्छ,’ उनले भनिन्, ‘म अहिलेको युवापुस्तालाई लक्षित गरेर बनाउँछु, युवापुस्ताले रुचाएकै छ ।’ 

 

हरिदेवी कोइराला

समय परिवर्तन भएसँगै विकृति पनि बढ्दै गएको छ । पहिलाको जस्तो परिवारको सदस्यमा आदर–सम्मान पनि हराउँदै गएको छ ।

जगमान गुरुङ

तीजमा मात्र वेदना सुनाउने अवस्था छैन । त्यसकारण गीत–संगीतमा पनि परिवर्तन हुँदै आएको छ ।

प्रिती आले

संधै एकै खालको गीत गाउनुपर्छ भन्ने छैन । गीतमा आफ्नो शैली त हुनैपर्छ ।

 Image