चकलेट बनाउने सोच कसरी आयो ?
असहाय बालबालिकाहरूका लागि काम गर्दै आएकी छु । उनीहरूको राम्रो जीवनका लागि केही गर्न सक्छु कि भनेर चकलेटको कथा लेखेकी हुँ । यसको पटकथा पनि मेरै हो ।
यो कस्तो चलचित्र हो ?
दरबार मार्गमा देखिने सडक बालबालिकाहरूको अवस्था र सडक बालबालिका युवा–युवती भएपछिको दर्दनाक अवस्था देखाउन खोजेकी छु ।
बालबालिकाहरू पालेको कति भयो ?
७ वर्षदेखि बालबालिकाहरूका लागि काम गर्दैछु । २५ जना असहाय बालबालिकालाई बुटवलमा राखेकी छु । म शिशुहरूसँग घुलमिल भैहाल्छु । बालबालिका भविष्य हुन् त्यसैले उनीहरूलाई लिएर चिन्तित हुन्छु ।
यो अवधिमा चलचित्रमा त्यति देखिनुभएन नि ?
चलचित्र थोरै मात्र गरें । समाजसेवातिरै बढी समय खर्चिरहें । जसबाट आनन्द पनि मिलेको छ ।
अध्यात्मतिर पनि तपाईंको सक्रियता छ होइन ?
म जयसंगत आश्रमसँग आबद्ध छु । आश्रमकै गुरुबाट समाजसेवा गर्नुपर्ने कुरा सिकेकी हुँ ।
तपाईंलाई आफूले पालेका बालबालिकाहरूले के भनेर सम्बोधन गर्छन् ?
माताश्री ।
माताश्री भनेर बोलाउँदा कस्तो महसुस हुन्छ ?
आनन्द आउँछ र सम्मानित भएको महसुुस हुन्छ ।
तपाईं कस्तो स्वभावकी हुनुहुन्छ ?
कोमल स्वभावकी ।
तपाईंको सुधार्नुपर्ने कुनै बानी ?
सानो कुरामै चित्त दुख्छ र रोइहाल्छु ।
राम्रो बानी ?
नकारात्मक कुरालाई पनि सकारात्मक रूपमा लिन्छु ।
प्रस्तुति : सिर्जना दुवाल श्रेष्ठ