नगमा श्रेष्ठ, मोडल तथा भिजे
वैशाख १२ गते भूकम्प जाँदा म पोखरामा मेघा मोडल प्रतियोगिताका लागि अन्तर्वार्ता लिँदै थिएँ । भूकम्प गयो तर त्यहाँ त्यसले त्यति असर गरेन । त्यसैले हामीले उक्त कार्यक्रमलाई निरन्तरता दिन लागेका थियौं तर काठमाडौंको समाचारले मन उथलपुथल पार्यो । म वैशाखभरि नै व्यस्त सेडुलमा थिएँ । फिक्स भएका ३ वटा ठूल्ठूला प्रोजेक्टमा व्यस्त हुने क्रममा थिएँ तर भूकम्पका कारण ती सबै रोकिए । यो डेढ महिनाको भूकम्पको त्रास र जीवनको मोडले अब कसरी काम सुरु गर्ने केही थाहा छैन ।
केही दिनमै रिच नेपालसँग भूकम्पले ठूलो क्षति पुर्याएको सिन्धुपाल्चोकमा राहत बाँड्न गएँ । त्यहाँका बालबालिकाहरूको अवस्था देखेर उनीहरूलाई मानसिक रूपमा सबल र ताजा राख्न २ हप्ता त्यहीँ बसेर उनीहरूलाई पढाएँ, खेलाएँ, आर्ट तथा डान्सहरू सिकाएर आफू पनि भूकम्पको डरबाट टाढिएँ । २९ गतेको भूकम्पमा म र शुभेच्छा दुवै घाइते भयौं । हामी एकदिनका लागि काठमाडौं आएका थियौं । २९ गते नै सिन्धुपाल्चोक फर्कने योजना थियो तर भूकम्पमा पर्यौं । हामी २ हप्ताको बेड रेस्टपछि फेरि उतै जाँदैछांै । भूकम्पअघि म मनोरञ्जनको क्षेत्रमा व्यस्त थिएँ तर यो प्रकोपपछि मैले परिवार एवं साथीभाइको महत्व बुझें । मानिसले म यस्तो, उस्तो भनेर घमण्ड गर्नु बेकार रहेछ भन्ने लाग्यो । म अझै पनि सामान्य हुन सकिरहेकी छैन ।
मिलन अमात्य, गायिका
मेरो जीवनशैली एकदमै व्यस्त थियो । फुर्सद पाउनै मुस्किल । कन्सर्ट तथा रेकर्डिङ प्रशस्तै थिए । म कतिपय कन्सर्टको तयारीमा थिएँ । मेरो आफ्नो मिलन यात्रा एल्बमको पनि तयारी गर्दै थिएँ तर भूकम्पले सबै भताभुंग पारिदियो । मेरा सबै काम रोकिए । एकातर्फ बसेको घरको वाल चर्किएको छ भने अर्कातर्फ जीवनप्रतिको माया बढेको छ । जीवन निकै अस्तव्यस्त भएको छ । म अझैसम्म मुस्कुराउन सकेकी छैन, डर मात्र छ । जीवन सामान्य भएको छैन, खोइ पहिले जस्तो त कहिले होला र ? मनमा फेरि ठूलो भूकम्प आउँछ कि भन्ने त्रास छ । सबै काम अड्किएका छन्, अघि बढ्ने आँटै छैन । भूकम्प आउँदा म घरभित्र श्रीमान्सँगै थिएँ । त्यस्तो हल्लाउँदा पनि बाँचियो । जीवनमा दु:ख–सुख बराबर हुन्छ भन्थे, सत्य रहेछ । हामी दुई दिन गाडीमै सुत्यौं । तेस्रो दिनदेखि बारीमा सुत्यौं । चौथो दिनका दिनमा विनसँग मिलेर बुङमती, खोकनामा राहत लिएर गयौं । त्यहाँ दिदीबहिनी–दाजुभाइहरूको अवस्था देखेर मन रोयो । त्यसपछि मैले संगीतकर्मीहरूसँग मिलेर महाराजगञ्जमा सरसफाइ कार्यक्रममा भाग लिन गएँ । विनबाटै हामी लुभु, ठसी तथा साँखुमा टेन्ट, चामल, आलु, दाल लिएर गयौं । अहिले हामी जस्तापाताका घरहरू बनाइरहेका छौं । भूकम्पका कारण जीवनमा कहिले के हुन्छ थाहा नहुने रहेछ, त्यसैले कसैले रिस, राग र घमण्ड किन गर्ने ?
रिचा शर्मा, नायिका
म अस्ट्रेलियाबाट फर्किएको ६ दिन मात्र भएको थियो । मेरो नयाँ चलचित्र जंगेको डबिङ सकिएर रिलिज हुने तरखरमा थियो । त्यही समयमा मेरा दुईवटा विज्ञापनको समय पनि मिलाउँदै थिएँ तर भूकम्पले ती सबै कुरा रोकिए । म पहिलेदेखि नै चुप लागेर बस्न सक्दिनथें, बिरामी परिहाल्थें, डिप्रेसन पनि हुनसक्थ्यो । त्यसैले भोलिपल्टदेखि नै भूकम्प पीडितहरूका लागि राहत कार्यक्रममा लागेंं । म बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म भृकुटीमण्डपमा अप्रेसन रिलिफ नामक क्याम्पमा व्यस्त भएँ । उद्योग वाणिज्य संघद्वारा संचालित उक्त कार्यक्रमको कार्यक्रम संयोजक पनि मलाई नै बनाइएको थियो । त्यसपछि संघकै अस्थायी घर बनाउने कार्यक्रममा लागिरहेकी छु । इन्डोनेसियामा साउथ एसिया काउन्सिलिङको मिटिङमा ह्याविटेट फर ह्युमेनिटीको युथ एम्बेस्डरका रूपमा भाग लिन जाँदै छु । यो सुकुम्बासीहरूका लागि घरहरू बनाइरहेको संस्था हो जसको अबको फोकस नेपाल हुने देखिन्छ । त्यसैले भूकम्पपीडितहरूका लागि कसरी स्थायी घर बनाउने, सरकारसँग कसरी हात मिलाएर सँगै अघि बढ्ने भन्ने पनि प्लान गरेर आउँछु । भूकम्पअघि मनोरञ्जन क्षेत्रमा व्यस्त म अहिले पूरै समाजका लागि समर्पित छु । आफ्नो क्षेत्रमा नर्मल भएर कहिलेदेखि काम गरिन्छ त्यो त भन्न सक्दिन । भूकम्पले मलाई मानवीयता, समाजसेवा, जीवनको अनिश्चितता र एकताको पाठ सिकाएको छ ।
कोमल वली, गायिका
भूकम्प आएको दिन त्रिभुवन पार्कमा आयोजित कार्यक्रममा भाग लिन जाँदै थिएँ । त्यही दिन साँझ नाचघरमा च्यारिटी प्रोग्राम पनि थियो तर त्यही बेला भूकम्प आएर सबै कार्यक्रम रोकिए । भूकम्पपछि साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म निरन्तर रेडियो नेपालमा बोलिरहनुपर्यो । भूकम्पका बारेमा जानकारी दिने क्रममा म आफंै पनि भूकम्पविद्जस्तै भएँ । दिउँसोको फुर्सदमा टँुडिखेलमा गएर भूकम्प पीडितहरूको मनोबल बढाउने सांगीतिक कार्यक्रम गर्दै गएँ । मेरो विचारमा अहिले राहत दिएर मात्र हुँदैन । यस्तो त्रासमय वातावरणमा मानसिक रूपमा फिट गराउनु पहिलो आवश्यकता हो । त्यसैले म तेस्रो दिनदेखि भक्तपुर, काभ्रे, नुवाकोट, ललितपुर आदि ठाउँमा गएर मनोबल बढाउने कार्यक्रम गर्न थालें । म जहाँ सांगीतिक कार्यक्रमका लागि गएँ त्यहाँ भूकम्प प्राकृतिक कुरा हो । हामीलाई प्रकृति चाहिन्छ तर प्रकृतिलाई हामी चाहिँदैन भन्ने कुरा बुझाउने प्रयास गरें । भूकम्पपछि त मलाई एकछिन पनि फुर्सद छैन । मेरो दिनचर्या अझ व्यस्त भएको छ । प्रकोपबाट भौतिक संरचना नष्ट भएर जान्छ तर चेतना कहिल्यै नष्ट हुँदैन । हामी भौतिक रूपमा बलियो हुनुभन्दा चेतना बढाउनुपर्छ । अर्वपति पनि टेन्टमा बसेको देख्दा मानव एउटै हो, भौतिक रूपमा धनी हुँदैमा उसले प्रकृतिमाथि विजय प्राप्त गर्न सक्दैन भन्ने बोध भएको छ । यो भूकम्पले धेरैको अहं खसालेको छ जुन एउटा सकारात्मक पक्ष हो ।
नन्दिता केसी, नायिका
म विदेशका केही कार्यक्रमको तयारीमा थिएँ । चलचित्र र म्युजिक भिडियोको सुटिङमा पनि व्यस्त थिएँ । भूकम्प आएको दिन म सुटिङमा जान सामान प्याक गर्दै थिएँ । भूकम्पले सबै काम ठप्प पारिदियो । जीवन नै डर र सन्त्रासको बीचमा रह्यो । आफ्नो परिवारमा केही नभए पनि हामीले धेरै नेपाली दाजुभाइ, दिदीबहिनी गुमाउनुको पीडा बेहोर्यौं । कलाकार भएका नाताले सबै नेपाली हाम्रै परिवार हुन् । भूकम्पमा नेपालका पुरातात्विक महत्वका धेरै मठ–मन्दिर लडे, संरचना मेटियो । यो जस्तो पीडादायक कुरा अरू के होला र ? परिवार सबै अर्घाखाँचीमै भए पनि भाइबहनीहरू मसँगै थिए । सामान्य हुनुपर्छ भनेर विभिन्न ठाउँमा राहत बाँडेँ, आफूलाई सम्हाल्दै गएँ । गाउँ नै नासिएको ठाउँमा पनि हामी कलाकारहरू पुग्दा स्थानीय बासिन्दाहरू मानसिक रूपमा खुसी भएको पाएँ । अहिले म आफू नर्मल भएर अरूलाई पनि नर्मल बनाउने प्रयासमा लागिपरेकी छु । वी फोर अल नामक हाम्रो ग्रुपले काभ्रे, नुवाकोट तथा गोरखामा अस्थायी घरहरू बनाइरहेको छ । पहिलेका आफ्ना सबै काम ठप्प भएका छन् । अहिले म भूकम्प पीडितहरूका लागि अस्थायी घर बनाएर, राहत दिएर तथा रमाइला कार्यक्रमहरू गरेर उनीहरूको मनोबल बढाउन व्यस्त छु । भूकम्पपछि जीवनमा जति बेला जे पनि हुनसक्छ भन्ने कुरा मनमा बसेको छ । तेरो–मेरो, धनी–गरिब, ठूला जात–साना जात भन्नु बेकार रहेछ भन्ने लागेको छ ।