Successfully Copied

वास्तविक अभिनेतृ गरिमा पन्त

गत वर्ष सार्क कल्चरल सेन्टरद्वारा श्रीलंकाको राजधानी कोलोम्बोमा आयोजित फेस्टिभलमा गरिमा पन्तलाई उत्कृष्ट अभिनेतृ घोषणा गरियो ।

गत वर्ष सार्क कल्चरल सेन्टरद्वारा श्रीलंकाको राजधानी कोलोम्बोमा आयोजित फेस्टिभलमा गरिमा पन्तलाई उत्कृष्ट अभिनेतृ घोषणा गरियो । सती प्रथामा आधारित चलचित्र झोलामा गरेको बेजोड अभिनयका कारण गरिमाले सार्क क्षेत्रका अन्य अभिनेतृलाई उछिनेकी हुन् । उनको अभिनय यात्रामा झोलाको अभिनय टर्निङ प्वाइन्टका रूपमा देखा पर्‍यो । त्यसअघि कुनै अवार्ड नपाएकी गरिमालाई धेरैले राम्रो अभिनय गर्ने नायिकाका रूपमा भने लिने गरेका थिए । सोझी एवं सरल अभिनेतृका रूपमा सुपरिचित गरिमा छोटा कपडा तथा बोल्ड भूमिकामा देखा परेकी छैनन् ।

नौ वर्षअघि आहा चाउचाउको विज्ञापनबाट मोडलिङमा प्रवेश गरेकी नायिका पन्तले त्यसपछि टेलिशृंखलाहरूमा अभिनय गरिन् । सिरियलपछि चलचित्रमा क्रियाशील रहँदै आएकी गरिमाले सुन्दर मेरो नाम, जीवन मृत्यु, अर्जुनदेव, मनले मनलाई छुन्छ, फूल, प्रीतिका फूल, किन लाग्छ माया, झोला आदि १९ वटा चलचित्रमा अभिनय गरिसकेकी छिन् । चुँजी नायिकाका रूपमा परिचित गरिमा शरीर देखाएर हिट हुने पक्षमा छैनन् । त्यसैले उनी चलचित्रमा अभिनय गर्नुअघि चलचित्रको कथा बुझेर मात्र काम गर्न तयार हुन्छिन् । उनी अहिले स्व.बी.पी. कोइरालाको उपन्यास तीन घुम्तीको कथामा आधारित चलचित्रमा व्यस्त छिन् । हरेक चलचित्रको कथा, सोच र चरित्र मन परेपछि मात्र अभिनय गर्ने गरिमा भन्छिन्-'म आफ्नो मूल्य-मान्यतामा बसेर दर्शकले नाक खुम्च्याउनु नपर्ने चलचित्रमा मात्र काम गर्छु ।' गरिमा नायिकाभन्दा पनि कलाकार बन्ने प्रयासमा छिन् ।

गरिमामा सानैदेखि कलाप्रति मोह थियो । स्कुल पढ्दा हरेक कार्यक्रममा भाग लिन अघि सर्थिन् । उनी ३-४ कक्षामा पढ्दा घरमा ब्ल्याक एण्ड ह्वाइट टेलिभिजन थियो । गरिमा हप्ताको एकपटक शनिबार नेपाल टेलिभिजनबाट आउने चलचित्र हेर्थिन् र भोलिपल्ट जसले जस्तो अभिनय गर्‍यो त्यसरी नै अभिनय गरेर साथीहरूलाई देखाउँथिन् । साथीहरूले राम्रो भएको कमेन्ट गर्दा आफू नायिका बनेको सपना देख्थिन् ।

कथा, कविता एवं अन्य साहित्यिक लेख-रचनाप्रति विशेष रुचि भएका कारण गरिमा फुर्सदमा जीवन दर्शन, भोगेका घटनाहरू समेटेर कथा-कविता लेख्थिन् । भविष्यमा कलाकारिता पनि गर्ने र विजनेस वुमन हुने सोचमा रहेकी गरिमा आरडीमा स्नातकोत्तर गरिरहेकी छिन् भने सामाजिक क्रियाकलापमा आबद्ध हुने योजना पनि बनाइरहेकी छिन् ।

सिर्जना दुवाल श्रेष्ठ

दर्शकले थाहा नपाएको गरिमा पन्तको कुरा ?

कोमल, दयालु, मनमा केही कुरा नराख्ने । छिट्टै मानिसहरूसँग घुलमिल हुन नसक्ने । साथीभाइ कम छन् । सादा जीवनप्रति विश्वास छ ।

यो क्षेत्रमा कत्तिको सफल भइयो भन्ने लाग्छ ?

भर्खरै यो क्षेत्रमा आफ्नो काम देखाउने अवसर पाउँदैछु । सफलता एकैपटकमा कहाँ प्राप्त हुन्छ र ?

यो क्षेत्रमा सफल हुन के-कस्ता गुण आवश्यक छ ?

त्याग, मेहनत एवं अभिनय कला ।

मनपर्ने सेलिब्रेटीहरू ?

मिथिला शर्मा तथा गौरी मल्ल ।

यो क्षेत्र महिलाहरूका लागि त्यति सुरक्षित छैन भनिन्छ नि ?

हरेक क्षेत्रमा राम्रो र नराम्रो कुरा हुन्छ । यो व्यक्तिमा निर्भर हुने कुरा भएकाले म यो क्षेत्रलाई नराम्रो भन्ने पक्षमा छैन ।

आफू कस्तो मानिस भएजस्तो लाग्छ ?

साइलेन्स प्रकृतिको । हरेक पल सिक्न रुचाउने आममहिला ।

पुस्तकहरू कत्तिको पढ्नुहुन्छ ?

म बायोग्राफी, उपन्यास आदि प्रशस्त पढ्छु ।

फुर्सदमा के गर्न रुचाउनुहुन्छ ?

फुर्सदमा त्यति बाहिर जान्न । घरमै परिवारसँग बसेर, पुस्तक पढेर र टिभी हेरेर समय बिताउँछु ।

घरको कामकाजमा कत्तिको रुचि छ ?

घरकै कामकाज गरेर समय बिताउन रुचाउँछु । घरको सरसफाइ, भान्साको काम, मीठा-मीठा अनि नयाँ-नयाँ परिकार बनाएर खान र ख्वाउन मन लाग्छ ।

के मीठो पकाउनुहुन्छ ?

म राम्रो कुक हुँ, मैले पकाएको जे पनि मीठै हुन्छ ।

मन्दिर कत्तिको जानुहुन्छ ?

परिवारसँग कहिलेकाहीँ गैरहन्छु । एक्लै पूजा नै गर्छु भनेर त्यति गइँदैन ।

त्यसो भए तपाईं नास्तिक ?

म आस्तिक नै हुँ तर कर्ममा विश्वास राख्छु । मन्दिर कहिलेकाहीँं जान्छु तर व्रत बस्दिन ।

फिटनेसका लागि के गर्नुहुन्छ ?

बिहान घरमै नियमित एक्सरसाइज तथा योग गर्छु । नकारात्मक विचारलाई मनबाट हटाउने प्रयास गर्छु ।

स्किन केयरका लागि नि ?

पानी प्रशस्त मात्रामा पिउँछु । फलफूल एवं जुस बढी खान्छु । चिल्लो, पिरोभन्दा ब्यालेन्स डाइटमा जोड दिन्छु ।

पहिरनमा कत्तिको चुँजी हुनुहुन्छ ?

आफूलाई सजिलो हुने पहिरनमा हिँड्न रुचाउँछु । साधारणतया जिन्समै हिँड्छु भने पार्टीमा जाँदा साडी, कुर्ता तथा गाउन लगाउँछु ।

आदर्श व्यक्ति ?

यो नै भन्ने छैन तर सबैका सकारात्मक कुरा ग्रहण गरिरहेकी हुन्छु ।

 Image