Successfully Copied

ठिन्लेको फिल्मी उडान

बहुपतिप्रथामा आधारित चलचित्र शाम्बालाले संसारभर निकै चर्चा कमायो । यसमा ठिन्लेले गरेको मेहनतको प्रशंसा अहिले पनि भइरहेको छ ।


फिल्म ‘शाम्बाला’ मा एउटा संवाद छ–‘आफ्नो लोग्नेमाथि हात उठाउँछस्, पापले पोलेर नर्क जालास्,’झन्डै १० वर्षे उमेरका श्रीमान् दावाले आफूभन्दा २० वर्ष जेठी श्रीमती पेमालाई भन्छन्, ‘स्वास्नी भएर लोग्नेलाई बडो हात उठाउने?’

बर्लिन फिल्म फेस्टिभलमा प्रस्तुत शाम्बालाको यही संवादले अत्यधिक चर्चा बटुल्यो । धेरैको मन छोएको यो दृश्य–संवाद फिल्मकी अभिनेतृ ठिन्ले ल्हामोको मानसपटलमा पनि खेलिरहन्छ ।

शाम्बाला मापेमाको मूल भूमिका निर्वाह गरेकी थिन्लेका तीन श्रीमान्मध्येका कान्छा हुन्, दावा । फिल्ममा उनले कान्छा श्रीमान्लाई आफ्नै सन्तान झैं महत्व दिएर स्याहारेको दृश्य छ । सुटिङको क्षण र पर्दाको त्यो दृश्यले अहिले पनि ठिन्ले भावुक बन्छिन् ।

अप्पर डोल्पामा सुटिङकै लागि उनले तीन महिना बिताइन् । टेलिफोन, बिजुली, बत्ती, अत्यावश्यक सामान र पानीको कष्ट बेहोर्नुपर्ने डोल्पामा छँदा उनको कपालदेखि जीउभरि जुम्रा कुदिरहेका हुन्थे । ‘त्यो अर्कै संसार हो तर स्वर्ग । सागपात देख्न नपाइने, आलु र फापरमै जीवन धान्नुपर्ने,’ उनी भन्छिन्, ‘त्यो ठाउँमा सेवा–सुविधा, मोटरबाटो नभए पनि मान्छे खुसी छन् । हरेकको मुहारमा अनौठो मुस्कान देखिन्छ ।’ आफूले त्यहाँ बिताएका प्रत्येक पलहरूको अर्थ भेटेकी छिन् उनले । त्यसैले आफूमा आत्मविश्वास थपेको उनले महसुस गरेकी छन् ।

डोल्मा र केसाङ लामाका अन्य केही सन्तान गुम्बातिर लागे तर सबैभन्दा कान्छी ठिन्ले भने सानैदेखि होस्टल बसेर बोर्डिङमा पढिन् । स्कुले जीवनमा नाचगानमा रुचि राख्ने उनले पाँच कक्षा पढ्दा शेक्सपियरको ‘रोमियो जुलियट’ नाटकमा जुलियटको भूमिका निर्वाह गरिन् । पात्रलाई न्याय गरेको देख्दा शिक्षकहरूले उनलाई हौसला र प्रेरणा दिए । त्यति हुँदाहुँदै पनि उनी सानोमा डाक्टर बन्छु भन्थिन् । प्लस टु पढ्दा रुचि फेरियो र साइकोलोजिस्ट बन्छु भनेर त्यही विषय बढ्न थालिन्, यद्यपि एउटा डान्स ग्रुपमा भने आबद्ध थिइन् ।

‘ब्याचलर पढ्दा हो, डान्स कम्पिटिसनमा भाग लिएकी थिएँ, त्यहाँ एकजना दाइ आउनुभएको रहेछ । मेरो डान्स मन पराउनुभयो,’ ठिन्ले विगततिर पुग्छिन्, ‘एउटा फिल्मलाई मंगोलियन अनुहार चाहिने कुरा गरेपछि मैले मेरी दिदीसँग सल्लाह लिएँ । नयाँ काम पनि ट्राई गरौं न त भनेर नाका मुभीमा काम गर्न थालें ।’ तर, नाका फिल्म चलेन । नाकाकै असिस्टेन्ट डाइरेक्टरले हरि नामको फिल्मका लागि फेरि ठिन्लेलाई प्रस्ताव गरे । त्यसमा पनि उनले अभिनय गरिन् । कला क्षेत्रमा पनि सम्मान रहेछ, आफ्नो देशलाई संसारभर चिनाउन सकिने रहेछ भन्ने उनलाई लागिरहेको थियो, त्यतिबेला निर्देशक मीन भामसँग सम्पर्क हुन पुग्यो । ‘उहाँसँग पाँच वर्षदेखि निरन्तर संवाद भइरहेको थियो । शाम्बालाका लागि अडिसनमार्फत आउनुपर्छ भनेपछि खुसी लाग्यो । अडिसन पास भएर शाम्बालामा लिड रोल पाएँ,’ उनी भन्छिन् ।


बहुपतिप्रथामा आधारित चलचित्र शाम्बालाले संसारभर निकै चर्चा कमायो । यसमा ठिन्लेले गरेको मेहनतको प्रशंसा अहिले पनि भइरहेको छ । ‘सम्पत्ति नटुक्रियोस्, महिलाले धेरै माया पाऊन्, महिलालाई सघाउने धेरै हात हुंँदा उनीहरूले दुःख नपाऊन् भन्नका लागि यो प्रथा परापूर्व कालदेखि चलिआएको रहेछ,’ चलचित्रको मूल कथालाई उनी यसरी अर्थ्याउँछिन् ।

अप्पर डोल्पाको पोल्दो, धो ताराप, तिन्जे गाउँका चित्ताकर्षक दृश्यले नेपालीलाई मात्रै नभएर विदेशीलाई समेत लोभ्याएको छ । डोल्पा बसुन्जेल ठिन्लेलाई सहर फर्किने हतार नै थिएन । ‘जत्रा सहर डुले पनि, जति देश–विदेश घुमे पनि डोल्पै याद आउँछ,’ भन्छिन्, ‘शाम्बालाका लागि गरेको दुःख र मेहनतलेजस्तोसुकै दुःख पनि गर्न सकिँदो रहेछ भन्ने पाठ पढाएको छ ।’

नेपाली समाजको वास्तविक कथा भएकैले हुनुपर्छ, शाम्बालाले अन्तर्राष्ट्रिय चर्चा पाएको । थिन्लेलाई पनि यही लाग्छ, पैसा कमाउनका लागि मात्रै नभएर वास्तविक कथा भन्नलाई मेहनत गरियो भने अन्तर्राष्ट्रिय स्पर्धामा खरो उत्रिन सक्छौं । यही कुरा फिल्मका निर्देशक मीन भामले पनि पटक–पटक दोहोर्‍याइरहेका हुन्छन् ।

बर्लिन फिल्म फेस्टिभलमा सर्वाधिक चर्चा बटुलेपछि स्विट्जरल्यान्डको लोकार्नो फिल्म फेस्टिभलमा ठिन्लेलाई बोक्कालिनो डि–ओरअवार्डद्वारा सम्मान गरिएको थियो । त्यसपछि उनले टर्कीको वस फरस अवार्ड पाइन् । सन् २०२५ को अनलाइनखबरको ५० प्रभावशाली महिलाको सूचीमा समेटिएकी उनी अझै सिक्न चाहन्छिन् । फिल्मी क्षेत्रमै लामो यात्रा गर्ने सोच बनाएकी उनी थप ज्ञानका लागि एक्टिङ क्लास लिने बताउँछिन् ।

आमा : माया

दिदीहरू : साथी

एक्टिङ : सिकाइ

शाम्बाला : कृतज्ञता

मन छोएको पात्र : दावा (शाम्बालाका कान्छा श्रीमान्)

जीवन : श्वास

पहिरन : रमिला नेमकुल, कासा पाटनढोका

हेयर तथा मेकअप : पूनम श्रेष्ठ, पूनम ब्युटिहोम नयाँबानेश्वर

लोकेसन : सिल्भर ओक, गैरीधारा

तस्बिर : महेशमान प्रधान

 Image