श्वेता खड्का (कलाकार, व्यवसायी तथा सामाजिक अभियन्ता)
उन्नाइसवर्षको उमेरमै चलचित्र क्षेत्रमा प्रवेश गरेकी श्वेता खड्काले हालसम्म पाँच वटा ठूलोपर्दाका चलचित्र, दर्जनौं कमर्सियल विज्ञापन र ¥याम्प मोडलिङमा काम गरिसकेकी छन् । सन् २०१७ मा ‘काया फिल्मस्’ नामको ‘होम प्रडक्सन’ सुरु गरी ‘कान्छी’ चलचित्र निर्माण गरेकी श्वेता करियरको सुरुदेखि नै व्यवसायमा आबद्ध छिन् । ‘हस्पिटालिटी’, ‘कन्स्ट्रक्सन’, ‘एक्सपोर्ट–इम्पोर्ट’ तथा चलचित्र निर्माणलगायतका व्यवसायमा उनी सक्रिय छिन् ।
त्यसबाहेक उनले भूकम्पपछि चेपाङ बस्ती निर्माण गरेर समाजसेवामा सक्रिय छिन् । कोरोनाकालपछि आर्थिक मन्दी तथा बैंकहरूले लगानी गर्न नसकेकाले हरेक क्षेत्रमा जटिलता देखिएको उनले बताइन् । ‘अहिले सबैतिर त्यस्तै चुनौतीपूर्ण अवस्था छ । त्यसैले धैर्य गर्न सक्ने आँट र शक्ति भर्न जरुरी छ’ उनले भनिन्, ‘म स्वयंले कोभिड सुरु भएयता साइन गरेका थुप्रै प्रोजेक्ट छाडेकी छु । अहिलेको गाह्रो स्थितिमा नयाँ काम सुरु गर्नुभन्दा पनि भएका कामलाई कसरी सुरक्षित गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ ।’ पाँच महिनाअघि आमा बनेकी श्वेता पछिल्लो समय सन्तान सुखमा रमाउँदैछिन् । कामसँगै छोरी ब्रिआनाको स्याहारसुसारमा उनकोसमय बितिरहेको छ । ‘आमा बन्नु भनेको सृष्टिकै उत्कृष्ट र अमूल्य विषय रहेछ । त्यसको सुख म शब्दमा बयान गर्न सक्दिन ।’
श्वेताको विचार
दिनहरू कसरी बित्दैछन्?
छोरी ४५ दिनकी भएपछि कार्यालय जान थालें । ‘मिलानो रवने भोल्युम–२’ मा ‘¥याम्प शो’ पनि गरें । दुई–चारवटा ‘ब्रान्ड’को विज्ञापनका लागि कुरा भइरहेको छ भने कतिपयमा ‘कन्ट्रयाक्ट साइन’ भइसकेको छ । कामका अलावा छोरीसँग खुसी साट्दै दिनहरू बितिरहेका छन् ।
मातृत्व अनुभव कस्तो हुँदैछ ?
कुरै नगर्नुस् । यत्तिको सुखद् अनुभव सायदै मैले जीवनमा गरें हुँला । पछिल्लो आर्थिक मन्दी र तरलताले ठप्प व्यापार–व्यवसायले निराशा छाएको छ । यस्तो अवस्थामा पनि दिनभरिको विविध दबाब बोकेर घर आउँदा ब्रिआनाको अनुहार देखेपछि सारा बिर्सिएर उसैसँग रमाउँछु । उसलाई हेर्ने अरु भएपछि भ्याएसम्म आफ्नै हातले खुवाउँछु, मसाज गरिदिन्छु । छोरीसँगका हरेक पलहरू बहुमूल्य छन् ।
आमा बन्नु भनेको के रहेछ ? मातृशक्तिलाई कसरी परिभाषित गर्नुहुन्छ ?
अत्यन्तै ‘ब्लेस्ड’ महसुस गरेकी छु । आमा हुँदा र नहुँदाको फरक बोध गरेकी छु । छोरीको आगमनपछि मेरी आमाको महत्व बुझेकी छु । नारी आफैंमा अद्भुत शक्ति हुन्, आमा बनेपछि यो शक्ति अझ शक्तिशाली भएको अनुभव भएको छ ।
आमा बनेपछि मात्रै एउटी नारी पूर्ण हुन्छिन् भन्ने पुरातन सोच परिवर्तन हुनुपर्ने आवाज उठिरहेको छ, यसमा तपाईंको धारणा के छ ?
जन्म दिने मात्रै आमा हुँदैनन् । आफूले नजन्माएपनि कर्म दिने थुप्रै आमा छन् यस धर्तीमा । ती सबै आमा महान् हुन् । तर, मानव शरीरबाट आफूजस्तै अर्को एउटा मानव सिर्जना गर्नुलाई भने कम आँक्न मिल्दैन । मेरो शरीरबाट निस्किएको अर्को मानव देख्दा मलाई कहिलेकाहीँ अचम्म लाग्छ । यसो भन्दैमा बच्चा नजन्माएका महिला अपूर्ण हुन्छन् भन्नु गलत हो । त्याग, सहनशीलता, स्नेह र ममता नै पूर्ण शक्ति हो भन्ने मलाई लाग्छ ।
महिलाको जीवनमा आर्थिक सशक्तीकरणले कस्तो भूमिका खेल्छ ? महिलालाई आर्थिक रूपमा सबल बनाउन के जरुरी देख्नुहुन्छ ?
अत्यन्तै ठूलो भूमिका खेल्छ । एउटी नारी आर्थिक रूपमा सबल हुनुले उसको जीवनमा चौतर्फी प्रभाव पार्छ । आफ्ना इच्छा–आकांक्षा पूर्ति गर्नेदेखि परिवार र आफ्नो व्यावसायिक क्षेत्रमा समेत यसले निर्णायक शक्ति बढाउँछ । महिला आर्थिक रूपमा आत्मनिर्भर हुन आफूभित्रको क्षमताको पहिचान गरी त्यसको सदुपयोग गर्दै मेहनत गर्नुपर्छ । यसका लागि महिला स्वयं जागरुक हुनुपर्छ ।
महिला कसरी सफल हुनसक्छन्?
महिला सहज रूपमा सफल हुन्छन् । महिला रिसाहा हुदैँनन्, धैर्य, सशनशील एवं हँसिला–मिजासिला हुन्छन् । तत्काल प्रतिक्रिया जनाउँदैनन् । यी कुराहरू सफलताका लागि आवश्यक गुण हुन् । यी गुणमा शिक्षा, क्षमता, सिर्जनशीलता, परिश्रम र निरन्तरताको संमिश्रण भयो भने सफल हुन गाह्रो छैन ।
सबैभन्दा ऊर्जा के कुराले दिन्छ ?
मेरो कामले, मेहनतले बढी ऊर्जा प्रदान गर्छ । त्यसमा अझै थप ऊर्जा दिन मेरी छोरी आइपुगेकी छन् । उनको अनुहारको हाँसोले मलाई हरेक कुरा बिर्साउँछ ।
जीवनमा गर्न मन लागेको अरू कुनै काम छ कि ?
आमा भएपछि पनि थुप्रै काम गर्न सकिन्छ ।असल कर्म गरेर अरूका लागि पनि राम्रो प्रेरणा दिने इच्छा छ ।
‘मदर्स डे’ को के शुभकामना दिन चाहनुहुन्छ ?
संसारका हरेक आमाहरूमा उच्च सम्मान छ । आमा धर्ती हुन् भन्थे किन यसो भनिएको हो भन्ने प्रश्नको उत्तर आफू आमा भएपछि मैले आज पाएकी छु । हरेक आमाहरूको शक्तिले सबैमा सकारात्मक ऊर्जा र खुसी लिएर आओस् ।
अबको योजना के छ ?
यो आर्थिक संकटमा योजना बढाउने भन्दा पनि भएका कुरालाई सम्हालेर बस्ने हो जस्तो लाग्छ । हरेस नखाने, नआत्तिने शक्ति बढाउनुपर्छ यो समयमा । फेरि राम्रो दिन आउला, फेरि नया“ काम गरौंला । हामी रहे संसार रहन्छ ।
पाठकका लागि केही सन्देश छन् कि ?
मेरा जटिल अवस्थाहरूमा म भित्र आँट र साहस भरिदिएर मलाई माया गर्ने मेरा दर्शक, शुभचिन्तकहरूलाई मनैदेखि धन्यवाद दिन चाहन्छु । धैर्य ग¥यो भने दुःखपछि सुख आउँदोरहेछ ।
पहिरन - मञ्जु बन्जारा ढकाल, ड्रिम वेयर, कुपन्डोल
हेयर स्टाइलिस्ट- मीनु श्रेष्ठ
मेकअप -अञ्जु तामाङ
लोकेसन - सेन्ट्रल पार्क, विशालनगर
तस्बिर -महेश प्रधान