Successfully Copied

कामअनुरूपको सौन्दर्य

महिलाहरूले विभिन्न काममा संलग्न हुनुपर्छ । कामअनुरूप सौन्दर्यमा ध्यान दिनाले पेसाको गरिमा बढ्छ । उदाहरणका लागि मोडलले गर्ने मेकअप तथा शिक्षिकाले गर्ने मेकअप फरक–फरक हुन्छ ।

महिलाहरूले विभिन्न काममा संलग्न हुनुपर्छ । कामअनुरूप सौन्दर्यमा ध्यान दिनाले पेसाको गरिमा बढ्छ । उदाहरणका लागि मोडलले गर्ने मेकअप तथा शिक्षिकाले गर्ने मेकअप फरक–फरक हुन्छ । कुन पेसाका व्यक्तिले कस्तो मेकअप गर्ने भन्ने कुरा जान्नु पनि कला हो किनभने भिन्न–भिन्न कामका भिन्न–भिन्न समस्या हुन्छन् । यी समस्याले सौन्दर्यमा पनि समस्या निम्त्याउँछन् ।

डेक्स वर्क

–लामो समयसम्म कम्प्युटरअघि बसेर काम गर्नेहरूलाई आँखाको डिल सुन्निने, चाउरी पर्ने समस्या हुनसक्छ । यसबाट बच्न दुई घन्टाको अन्तरालमा करिब दुई मिनेट आँखा बन्द गरेर शान्त बस्नु राम्रो हुन्छ । यसबाट थोरै भए पनि आँखालाई राहत मिल्छ ।

–आँखामुनि एन्टी रिंकल क्रिम प्रयोग गर्न सकिन्छ । एन्टी रिंकल क्रिममा रेटिनल भिटामिन सी तथा ग्रीन टी एक्सट्रक्ट हुन्छ । यसले आँखामुनिको भाग कालो हुनबाट जोगाउँछ ।

–आफ्नो छालालाई स्वस्थ बनाउन एन्टी अक्सिडेन्ट क्याप्सुल सेवन गर्न सकिन्छ । यसले शरीरमा भएको विषालु तत्त्वलाई शरीरबाट बाहिर निकाल्छ ।

–राति काम गर्ने महिलाहरूले हलुका एवं सुपाच्य भोजन गर्नुपर्छ । ड्युटी सकिएपछि ८ घन्टा राम्रोसँग सुत्नुपर्छ । राति ड्युटी गर्नेहरूको आँखामुनि कालो दाग आउने समस्या देखिन सक्छ । यस्तो समस्याबाट जोगिन अन्डर आई जेल प्रयोग गर्नुपर्छ ।

–अफिसभित्र बस्दा पनि छाला शुष्क हुने सम्भावना हुन्छ । यस्ता महिलाहरूले अफिस जानुअघि नुहाउनुपर्छ । नुहाएपछि छालालाई राम्रोसँग मोस्चराइजिङ गर्नुपर्छ ।

–छाला शुष्क हुनबाट जोगिन कामको अवधिमा प्रशस्त पानी पिउनुपर्छ । राति अबेरसम्म नसुत्ने, कम पानी पिउने, सौन्दर्य प्रसाधन फेरबदल गरिरहने, जंक फुड सेवन गर्ने अफिसमा कार्यरत महिलाहरूमा सौन्दर्यसम्बन्धी विभिन्न समस्या देखिन्छन् ।

फिल्ड वर्क गर्नेहरूले ध्यान दिनुपर्ने कुरा

–फिल्ड वर्क गर्ने महिलाहरूको धेरै समय घाममै बित्ने भएकाले घाममा निस्कनुपूर्व शरीर तथा अनुहारमा २५ एसपीएफ पावर भएको सनस्किन लगाउनुपर्छ । लामो समय घाममा बिताउनुपरे तीन घन्टाको अन्तरालमा सनस्किन प्रयोग गर्नु उपयुक्त हुन्छ । आँखालाई अल्ट्राभोइलेट किरणबाट जोगाउन सनग्लस प्रयोग गर्नुपर्छ ।

–लामो समय घाममा बस्दा ओठ सुक्छ भने ओठको रंग पनि कालो हुन्छ । घाममा निस्कनुपूर्व ओठमा सनस्किनयुक्त लिप कन्डिसनर वा लिप गार्ड लगाउनु उपयुक्त हुन्छ ।

–फिल्ड वर्कमा वायु प्रदूषणको सामना गर्नुपर्ने हुन्छ । यसले एक्ने आउने समस्या देखापर्छ । यसका लागि सुत्नुपूर्व अनुहारमा क्लिजिङ, मोस्चराइजिङ एवं टोनिङ गर्नुपर्छ ।

–फिल्ड वर्कमा जाँदा लामो समयसम्म जुत्ता लगाइरहनुपर्ने हुन्छ । यसले खुट्टामा ब्याक्टेरियल वा फंगल इन्फेक्सन हुने सम्भावना बढ्छ । यसबाट बच्न जुत्ता लगाउनुअघि खुट्टामा एन्टी फंगल पाउडर प्रयोग गर्नुपर्छ ।

–कामको सिलसिलामा देश–विदेश भ्रमण गरिरहनुपर्ने महिलाहरूको छालामा मौसम वा तापमान परिवर्तनका कारण रुखोपन आउँछ । यस्तो अवस्थामा पर्याप्त पानी पिउनुपर्छ । स्याम्पुको ब्रान्ड परिवर्तन गरिरहनु हुँदैन ।

–लामो समयसम्म पैदल यात्रा गर्नुपर्ने भए छाता प्रयोग गर्नुपर्छ । छाता उपलब्ध नभएको अवस्थामा क्याप लगाउनुपर्छ । यसले केशमा धूवाँ–धूलोबाट हुने असरलाई कम गर्छ ।

–महिनाको एकपटक ब्युटिपार्लरको सेवा लिनु उचित हुन्छ । राम्रो क्वालिटीको छाता तथा सनग्लस प्रयोग गर्नुपर्छ । गर्मी महिनामा फलफूलको रस प्रशस्त मात्रामा सेवन गर्नुपर्छ । गाढा मेकअप तथा नेलपालिस प्रयोग गर्नु त्यति राम्रो हुँदैन । बिनामोस्चराइजर सनस्किन तथा बिनाक्लिन्जिङ फेसवास प्रयोग गर्नुहुँदैन ।

गृिहणीका लागि

–घरको कामकाजमा व्यस्त हुने भएकाले गृहिणीले पटक–पटक हात धुनुपर्छ । भाँडा मोल्ने साबुनका कारण हातमा एलर्जी हुने सम्भावना रहन्छ । यस्तो बेलामा हातको विशेष ख्याल राख्नुपर्छ । हात धोएपछि मोस्चराइजर लगाउनुपर्छ । राति सुत्नुपूर्व भिटामिन ईयुक्त ह्यान्ड क्रिम लगाउनुपर्छ ।

–नङलाई नेल फाइलरको सहायताले सेपमा राख्नुपर्छ । नङ सफा राख्न समय–समयमा मेनिक्योर–पेडिक्योर गरिरहनुपर्छ । सुत्नुपूर्व नेल कन्डिसनरबाट नङलाई हलुका मालिस गर्नुपर्छ । यसबाट नङ स्वस्थ एवं सुन्दर रहन्छ ।

–गृहिणीहरू आफ्नो केशप्रति त्यति सजग हुँदैनन् । कमसेकम तीन महिनाको अन्तरालमा आफ्नो केश ट्रिमिङ गराउनुपर्छ । केशमा चायाँ नपरोस् भन्ने कुरामा सजग हुनुपर्छ । सातामा एकपटक टाउकाको मालिस गर्नुपर्छ ।

–सातामा एकपटक फेसप्याक लगाउनु, नियमित बेक्सिङ, थ्रेडिङ, स्किन पिलिङ, मेनिक्योर–पेडिक्योर आदि गराउनुपर्छ । शुष्क छालामा कम गुणस्तरको साबुन प्रयोग एवं स्क्रबिङ गर्नु हुँदैन भने पिठ्युँ, कुहिना, नङ, हातखुट्टा आदिको हेरविचारमा पनि लापरबाही देखाउनु हुँदैन ।

तस्विर: नवराज वाग्ले

 Image