Successfully Copied

थाई भिक्षुको हिमाल प्रेम

३५ वर्षीय भिक्षु मोन्त्री चिङक्लाङ । छ वर्षदेखि लुम्बिनीमा बसिरहेका उनी नेपाल र नेपालीलाई धेरै माया गर्छन् ।



उनी बुद्ध जन्मस्थल लुम्बिनीस्थित रोयल थाई मोनास्ट्रीमा बस्छन् । विहारमा प्रार्थना, ध्यानसाधना गर्छन् । बेलाबेला धम्म देशना पनि गर्छन् । शान्तिका लागि उनी दैनिक चार घण्टाभन्दा बढी खर्चिन्छन् । उनी हुन्, ३५ वर्षीय भिक्षु मोन्त्री चिङक्लाङ । छ वर्षदेखि लुम्बिनीमा बसिरहेका उनी नेपाल र नेपालीलाई धेरै माया गर्छन् । थाइल्यान्डको राजधानी बैंककबाट चार सय किलोमिटर पूर्व नाखोन रचसीमा प्रदेशको नोनसोङ सहरका उनी शान्तिप्रतिको अगाध प्रेमले नेपाल आइपुगे । नेपाली खानपान, रीतिरिवाज, परम्परा र जीवनशैली मनपराउने उनी पदयात्राका पनि सौखिन हुन् । हिमालको सामीप्यमा जान हुरुक्क हुन्छन् । थाइल्यान्डमा स–साना हिमाल छन्, तर उनलाई अग्ला हिमाल मन पर्छन् । त्यही भएर नेपालका अग्ला हिमाल उनको रोजाइमा पर्छन् । उनी दुई वर्षयता हिमालको फेदीसम्म पुग्ने गरेका छन् । शान्तिको अनुभूतिसँगै प्राकृतिक आनन्दका लागि उनी हिमालको फेद मन पराउँछन् । अर्को वर्ष पनि पदयात्रा गर्ने योजना बनाउँदैछन् ।


अघिल्लो वर्ष उनी मार्दी हिमालको आधार शिविर पुगे । मार्दीसँगै धौलागिरी, माछापुच्छ्र्रे र मनास्लुलगायत हिमाल गज्जबले देखिँदा निकै खुसी लागेको उनी सुनाउँछन् । मार्दी जाँदा अनेक रुट र क्याम्पमा बस्न सकिन्छ । एक क्याम्पदेखि अर्को क्याम्प पुग्दा हिमालको मनोरम दृश्य मात्रै होइन, मनको स्वर्गीय आनन्द पनि महसुस गर्न सकिने उनको अनुभव छ । पोखराबाट काँडे, अस्ट्रेलियन क्याम्प, पोथाना, पितम देउराली, फरेस्ट क्याम्प, लो क्याम्प, हाई क्याम्पपछि अपर भ्यु प्वाइन्ट हुँदै चार हजार चार सय ५० मिटरको आधारशिविर उक्लँदा स्वर्गीय आनन्दको अनुभूति हुने उनले बताए । ‘बिहान घामका किरणले धर्तीलाई चुम्दै गर्दा हिमशृंखलाको मनमोहक वातावरण कहिल्यै बिर्सन सकिन्न,’ उनी रोमाञ्चित हुँदै सुनाउँछन्, ‘मार्दीको पदयात्राले धौलागिरी र माछापुच्छ्र्रे हिमालको पृष्ठभूमिमा वन्यजन्तु देखिँदाको पल बयान गर्नै सकिन्न ।’


२०२४ मा उनी अन्नपूर्ण प्रथमको आधार शिविर पुगे । पोखराबाट सुरु गर्न सकिने यो पदयात्रा चार हजार एक सय ३० मिटर उचाइको अन्नपूर्ण बेस क्याम्प पुगेर टुंगिएको उनले बताए । बेस क्याम्सबाट जब अन्नपूर्ण हिमशृंखलाका ३६० डिग्रीमा हिमाल देखे, उनी पुलकित बने । त्यहाँबाट १२ वटा हिमाल देख्दा भने उनलाई फर्कनै मन लागेन । ‘अन्नपूर्ण हिमालको सुन्दरता नै हिमालबाट चारैतिर हिमालहरूको दृश्यावलोकन गर्नु हो, जुन मौका संसारमै पाइँदैन,’ उनले भने, ‘म भाग्यमानी रै’छु ।’ शिविरबाट ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल, ६ हजार नौ सय ९३ मिटर अग्लो माछापुच्छ्र्रेका साथै ७ हजार दुई सय १९ मिटर अग्लो अन्नपूर्ण साउथ र ७ हजार ५ सय ५५ मिटर अग्लो अन्नपूर्ण थर्ड देख्न सकिन्छ । त्यस्तै हिउँचुली, वरहा शिखर, टेम्पिक, गंगापूर्ण र गन्धर्वचुलीलगायतका हिमाल देखिन्छ । यो विश्वकै उत्कृष्ट १० पदमार्गमध्येको एक हो ।

 Image