Successfully Copied

सात प्रदेशका सात गन्तव्य

पछिल्लो समय घुमफिरको ट्रेन्ड बढ्दो छ । कतिपयले घुमफिरका लागि पहिलेदेखिनै रकमको जोहो गरेका हुन्छन् । यसले नेपालीहरूमा पनि घुम्ने संस्कृतिको विकास हुँदै गएको पुष्टि हुन्छ ।

पछिल्लो समय घुमफिरको ट्रेन्ड बढ्दो छ । कतिपयले घुमफिरका लागि पहिलेदेखिनै रकमको जोहो गरेका हुन्छन् । यसले नेपालीहरूमा पनि घुम्ने संस्कृतिको विकास हुँदै गएको पुष्टि हुन्छ । नेपालीहरूको घुम्ने संस्कृतिलाई पछ्याउँदै हामीले ‘नारी’ मासिकको यो अंकमा सात प्रदेशका सात महत्वपूर्ण गन्तव्यको जानकारी दिने जमर्को गरेका छौं । 

प्रदेश १–इलाम

भुइँकुहिरो छिचोल्दै इलामको कन्यामबाट पूर्वको यात्राको थालनी गर्न सकिन्छ । तपाईंका लागि तराई–मधेशको उखरमाउलो गर्मी छल्न इलाम उपयुक्त गन्तव्य बन्न सक्छ । सहरको भीडभाडबाट टाढा रहेर इलामको चिसो हावा, भुइँकुहिरो र नागबेली सडक तपाईंलाई नौलो लाग्न सक्छ । कन्यामको सडकको दुई किनारमा देखिने चियाका बोटहरूले तपाईंलाई लोभ्याउन सक्छन् । त्यहाँ पुगेपछि लोपोन्मुख लेप्चा जातिदेखि राई, लिम्बूको रहनसहन, वेशभूषा र संस्कृतिसँग साक्षात्कर हुन पाइन्छ । कन्यामदेखि सूर्योदय हेर्नका लागि श्रीअन्तुसम्म पुग्न सकिन्छ । यो ठाउँ सूर्योदयकै लागि कहलिएको गन्तव्य हो । इलामबाट अघि बढेपछि पाँचथरको साधुटारदेखि ताप्लेजुङको पाथिभरा मन्दिरसम्म यात्रा तय गर्न सकिन्छ । प्रायः मौसम चिसो भइरहने इलाम पुगेपछि नयाँ–नयाँ परिकारको स्वाद चाख्न पाइन्छ । बम्बईसन, च्याङ्ग्राको सुकुटी, सुँगुरको मासु, तोङ्वा छुटाउन नहुने परिकारमा पर्छन् । चौंरीको छुर्पी, ललिपप, अर्थोडक्स चिया, अकबरे खुर्सानी इलामका प्रसिद्ध चीज हुन् । 

कसरी पुग्ने ?

हवाईमार्ग रोज्ने हो भने झापाको चन्द्रगढी पुग्नुपर्छ । त्यहाँबाट गाडी चढेर सजिलै इलाम पुग्न सकिन्छ । चन्द्रगढीबाट इलाम पुग्न करिब दुई घण्टा लाग्छ । काठमाडौंबाट गाडीमा पनि कन्यामसम्मको यात्रा तय गर्न सकिन्छ । खान र बस्न प्रशस्त होटल एवं लजहरूको व्यवस्था छ । त्यहाँ पेइङ गेस्टको नयाँ अनुभव पनि लिन सकिन्छ । 

मधेश प्रदेश–जानकी मन्दिर

मधेश प्रदेशमा थुप्रै धार्मिक पर्यटकीय स्थल छन् । तीमध्ये जानकी मन्दिर पनि एक हो । यो मन्दिर मुगल शैलीमा बनाइएको छ । धार्मिक पर्यटकमात्र होइन मानवकलाको उत्कृष्ट नमुना हेर्न जनकपुरस्थित जानकी मन्दिर पुग्नैपर्छ । मन्दिरको भव्यताले धेरैलाई आकर्षित गर्दै आएको छ । मन्दिरको वास्तुकला र आर्किटेक्टले जोकोहीलाई प्रभावित पार्छ । जानकी मन्दिर विश्वभरका हिन्दूको आस्थाको केन्द्र हो । धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक रूपमा सम्पन्न यो मन्दिर लोकमैथिली सभ्यताको धरोहर पनि हो । खासगरी यहाँ विवाह पञ्चमीमा ठूलो भीड लाग्छ । 

कसरी पुग्ने ?

जनकपुरसम्म पुग्न गाह्रो छैन । महेन्द्र राजमार्ग हुँदै जानकी मन्दिर पुग्न सकिन्छ । देशको जुनसुकै स्थानबाट जनकपुरका लागि बस सञ्चालनमा छन् । हवाईमार्ग हुँदै पनि जनकपुर पुग्न सकिन्छ । त्यहाँ रात्रिकालीन हवाई सेवा पनि संचालन हुँदै आएको छ । 

बाग्मती प्रदेश–सिन्धुलीगढी

यहाँ घुम्नका लागि प्रशस्तै ठाउँ छन् । बीपी राजमार्ग खुलेपछि सिन्धुलीका लागि सुनमा सुगन्ध मिसिएझैं भएको छ । मिलेको नागबेली बाटो, भीरपाखाले तपाईंलाई केहीबेर अल्झाउन सक्छन् । यहाँको सिन्धुलीगढी प्रमुख गन्तव्य हो । यदि तपाईंलाई ऐतिहासिक क्षेत्रमा रुचि लाग्छ भने तपाईंका लागि सिन्धुली गढीको यात्रा सार्थक हुनसक्छ । यो क्षेत्र नेपाल–अंग्रेज युद्धको जीवित दस्तावेज हो । हाम्रा वीर पुर्खाहरूले अंग्रेजसँग युद्ध गरेको ठाउँ हो । यसबारे जान्न–बुझ्नका लागि सिन्धुलीगढी अन्य ठाउँको तुलनामा उपयुक्त हुन सक्छ । त्यो समयमा शक्तिशाली अंग्रेज फौजसँग कसरी युद्ध गरेका थिए र विजय प्राप्त गरे भन्ने कुरा बुझ्न एकपटक सिन्धुली गढी पुग्नैपर्छ । अझै पनि उक्त युद्धका केही अवशेष त्यहाँ देख्न सकिन्छ । त्यसो त सिन्धुली घुम्नका लागि अरु थुप्रै रमाइला ठाउँहरू पनि छन् । त्यहाँबाट रामेछाप हुँदै जटापोखरी र पाँचपोखरीसम्मको यात्रा तय गर्न सकिन्छ । जटापोखरी एक हिमताल हो । यहाँ वर्षमा ६ महिनाभन्दा बढी पानी जम्छ । पाँचपोखरी पाँच वटा कुण्डमा विभाजित भएर बनेको पोखरी हो । 

कसरी पुग्ने ?

काठमाडौंबाट सिन्धुली पुग्न खासै गाह्रो छैन । बीपी राजमार्ग हुँदै सिन्धुलीगढी पुग्न सकिन्छ । त्यहाँबाट गाडीको बाटो हुँदै केही समय पैदल यात्रा गरी पाँचपोखरीसम्म पुग्न सकिन्छ । 

गण्डकी प्रदेश–मनाङ

गण्डकी प्रदेशमा घुमफिर गर्नका लागि ठाउँको कमी छैन । यो प्रदेशमा पर्ने मनाङ भौगोलिक, जातीय र सांस्कृतिक विविधता भएको ठाउँ हो । हिमाली जनजीवनलाई नजिकबाट नियाल्ने चाहना छ भने तपाईंका लागि मनाङ उपयुक्त गन्तव्य हुन सक्छ । हिमाली हावापानी, यहाँको रहनसहन तपाईंलाई नौलो लाग्न सक्छ । यहाँ थुप्रै पदयात्राका गन्तव्य छन् । विभिन्न अन्तर्राष्ट्रिय सर्वेक्षणहरूमा अन्नपूर्ण पदयात्रा मार्गलाई विश्वका उत्कृष्ट १० गन्तव्यका रूपमा राखिएको छ । मनाङलाई हिमालपारिको सुन्दर जिल्ला भनेर समेत चिनिन्छ । यहाँ पुग्नका लागि एउटामात्र बाटो छ । पर्यटकीय दृष्टिले पिसाङ, भ्राखा, खाडसागर, टंकीमनाङ, नार र फू, थोन्चे महत्वपूर्ण मानिन्छ । विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल यही ठाउँमा पर्छ । 

कसरी पुग्ने ?

पृथ्वी राजमार्गमा पर्ने तनहुँको डुम्रेदेखि ४२ किमि दूरी तय गरेपछि लमजुङको बेंसीसहर पुगिन्छ । बेंसीसहरबाट मनाङ पुग्न सकिन्छ । बाटामा खाने र बस्ने ठाउँ प्रशस्तै भेटिन्छन् । साथै अन्नपूर्ण पदयात्रा मार्गको बाटोमा रहेका घरमा होमस्टेको सुविधा पनि छ ।

लुम्बिनी प्रदेश–रानीमहल 

लुम्बिनी प्रदेशको प्रमुख गन्तव्य लुम्बिनी हो । त्यसका अतिरिक्त तपाईं यहाँ अन्य सुन्दर ठाउँको अवलोकन गर्न सक्नुहुनेछ । पाल्पा ऐतिहासिक महत्व बोकेको जिल्ला हो । पाल्पाको सबैभन्दा प्रसिद्ध ठाउँ रानीमहल हो । तपाईं सयौं वर्ष पुराना ऐतिहासिक सम्पदाको अध्ययन गर्न चाहनुहुन्छ भने सदरमुकाम तानसेन उपयुक्त गन्तव्य हुन सक्छ । रानीमहललाई नेपालको ताजमहल पनि भनिन्छ । यो राजा खड्ग शमशेरले आफ्नी रानीको सम्झनामा बनाएको महल हो । तपाईं पाल्पा पुगेपछि राणाकालीन दरबार, हृषीकेश मन्दिर, श्रीनगर डाँडा, भैरवस्थान, मदनपोखरा, रम्भा देवी, राम्दी सुन गुफा, कालीगण्डकी, दर्लम महाकाली, महामृत्युञ्जय शिवासन बराङ्दीजस्ता पर्यटकीय स्थलहरूको भ्रमण गर्न सक्नुहुनेछ । पाल्पा देशकै सबैभन्दा अनुकूल हावापानी भएको जिल्ला हो । 

कसरी पुग्ने ?

पाल्पा पुग्न खासै गाह्रो छैन । काठमाडौंदेखि बुटवल हुँदै सिद्धार्थ राजमार्गको बाटोबाट पाल्पासम्मको यात्रा तय गर्न सकिन्छ । 

कर्णाली प्रदेश–त्रिपुराकोट 

तपाईंलाई धार्मिक यात्रामा कत्तिको रुचि छ ? यदि यो पटकको दसैंमा धार्मिक मठमन्दिरको भ्रमण गर्न चाहनुहुन्छ भने डोल्पाको त्रिपुराकोट उपयुक्त गन्तव्य हुन सक्छ । अनौठो कुरा त के भने यहाँ दसैंमा टीका लगाउने साइत अन्यत्रभन्दा फरक हुन्छ । मध्यपश्चिमको डोल्पा दुर्गम र विकट भए पनि भौगोलिक सुन्दरताले भरिपूर्ण जिल्ला हो । यातायातको हिसाबले सुविधाजनक नभए पनि प्राकृतिक सौन्दर्यले जोकोहीको मन तान्न सक्छ । डोल्पाको ‘से फोक्सुन्डो’ चर्चित ताल हो । यो ताल नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो । त्रिपुराकोट नेपालकै प्रसिद्ध शक्तिपीठका रूपमा मानिन्छ । यो प्राकृतिक, धार्मिक तथा ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण छ । त्रिपुराकोटमा सयौं वर्ष पुरानो बाला त्रिपुरा सुन्दरी भगवतीको मन्दिर छ । 

कसरी पुग्ने ?

काठमाडौंबाट डोल्पा जिल्लाको जुफाल विमानस्थलसम्म जान सकिन्छ । त्यहाँबाट करिब दुई घण्टा पैदल हिँडेपछि भेरी नदी पुगिन्छ । भेरी नदीको किनारमा त्रिपुरासुन्दरी मन्दिर छ । 

सुदूरपश्चिम प्रदेश ७–खप्तड

खप्तड पुग्नेहरूलाई लाग्न सक्छ, धर्तीको स्वर्ग यही हो । खप्तडको मैदानमा फुल्ने लेकाली फूल र घाँसे मैदान देख्नासाथ आनन्द महसुस गर्न सकिन्छ । खप्तड विशाल घाँसे मैदान हो । यसमा २२ वटा घाँसे मैदान समेटिएको छ । यहाँको मुख्य आकर्षण भनेका फाँटहरूमा फुल्ने रंगीचगी फूल हुन् । यसलाई तपोभूमिका रूपमा समेत लिइन्छ । यहाँ वर्षौंअघि खप्तड बाबाले तपस्या गरेका थिए । यसको आसपासको क्षेत्रमा ५३ वटा थुम्का छन् । साथै यहाँ खप्तड दह, नागढुंगा, केदार ढुंगा, खप्तड बाबा आश्रम, शिव मन्दिर घुम्न सकिन्छ । खप्तडको त्रिवेणीमा रहेको त्रिवेणी मन्दिर, त्रिवेणी नदी, खापर दह, सहस्र लिंग, गणेश मन्दिरजस्ता धार्मिक स्थल निकै प्रख्यात छन् । यी स्थानहरू हिन्दू धर्मावलम्बीहरूका पावन तीर्थस्थल मानिन्छन् । त्यसका अतिरिक्त खप्तडमा लाग्ने गंगा दशहरा मेला पनि निकै प्रसिद्ध छ । यो मेला हरेक वर्ष जेठ महिनामा लाग्छ । खप्तड राष्ट्रिय निकुञ्ज पश्चिम नेपालका चार पहाडी जिल्ला बझाङ, बाजुरा डोटी र अछामको संगम स्थलमा पर्छ ।

कसरी पुग्ने ?

प्राकृतिक सुन्दरताले भरिएको खप्तड पुग्न कठिन यात्रा तय गर्नुपर्ने हुन्छ । हुन त खप्तड पुग्न धेरै बाटा छन् । खप्तड पुग्न धनगढीदेखि डोटीको सिलगढीसम्म बसमा आठ घण्टाको यात्रा गरेपछि पनि केही दूरी पैदल हिँड्नुपर्छ । सिलगढीसम्म पुग्न पूर्व–पश्चिम राजमार्गको अत्तरियाबाट नौ घण्टाको बस यात्रा गर्न पनि सकिन्छ । त्यसका साथै नेपालगञ्जबाट हवाई यात्रा गरेर पनि डोटी पुग्न सकिन्छ । 

 

 Image