Successfully Copied

डेस्टिनेसन ब्राजिल

फिफा विश्वकप २०१४ को तिथि नजिकिँदै जाँदा विश्वको ध्यान ब्राजिलतर्फ केन्दि्रत भएको छ। दक्षिण अमेरिकाको सबैभन्दा ठूलो मुलुक ब्राजिलले

फिफा विश्वकप २०१४ को तिथि नजिकिँदै जाँदा विश्वको ध्यान ब्राजिलतर्फ केन्दि्रत भएको छ। दक्षिण अमेरिकाको सबैभन्दा ठूलो मुलुक ब्राजिलले यसै वर्ष पन्ध्रौं विश्वकप प्रतियोगिता आयोजित गर्दैछ। विश्वकपसँगै यो मुलुकले पर्यटन विकासमा ठूलो फड्को मार्ने निश्चित छ।

त्यसो त पर्यटनका हिसाबले विश्वकै आकर्षक गन्तव्यमध्ये एक हो-ब्राजिल। प्राकृतिक स्रोतले सम्पन्न ब्राजिल प्राकृतिक सौन्दर्य, वन्यजन्तु एवं मानव निर्मित संरचनाका निम्ति प्रख्यात छ। आधुनिक विश्वका मानव निर्मित सात आश्चर्यमध्येको एक ईसा मसीहको विशाल प्रतिमादेखि प्राकृतिक संग्रहालय पन्टनाल अवलोकनका लागि ब्राजिल पुग्नैपर्छ। विश्वकै ठूलो एवं अत्याधुनिक स्टेडियम माराकाना पनि त्यहाँको आकर्षणको केन्द्र मानिन्छ। यही स्टेडियममा फिफा विश्वकप-२०१४ को अन्तिम खेल हुनेछ।

रियो दी जेनेरियो ः ब्राजिलको दोस्रो ठूलो सहर हो-रियो दी जेनेरियो। यो सहर प्राकृतिक अवस्थिति, कार्निभल, साम्बा एवं अन्य सांगीतिक परेडका निम्ति प्रख्यात छ। खासगरी ईसा मसीहको विशाल प्रतिमा, फुटबल स्टेडियम माराकानाले यसको पर्यटकीय महत्वलाई उच्च बनाएको छ। यो सहर कोपाकबाना र इपानेमाजस्ता आकर्षक समुद्री तटसँग जोडिएको छ।

साओ पाउलो ः आगामी विश्वकप फुटबलको उद्घाटन हुने भएकाले पनि साओ पाउलोप्रति धेरैको ध्यान खिचिएको छ। घना आवादी भएको यो सुन्दर सहरमा अवस्थित इटाक्वेराओ स्टेडियमबाट विश्वकप फुटबलको प्रारम्भ हुँदैछ। उक्त स्टेडियममा ६८ हजार दर्शक अटाउन सक्छन्। स्टेडियमका अतिरिक्त विशाल व्यापारिक भवन तथा पार्कले यो क्षेत्रलाई सुन्दर बनाएको छ। यो सहर पोर्चुगिजहरूको उपनिवेश कालमा स्थापना भएको थियो।  

साल्भाडोर ः ब्राजिलको पूर्वी राजधानी हो-साल्भाडोर। यो सहर भोजन, संगीत एवं वास्तुकलाका लागि प्रसिद्ध छ।

माराकाना स्टेडियम ः विश्वको सबैभन्दा ठूलो र अत्याधुनिक फुटबल स्टेडियम हो-माराकाना। यही स्टेडियममा आगामी विश्वकप फुटबलको फाइनल हुँदैछ। सन् २०१६ को ग्रीष्मकालीन ओलम्पिकसमेत आयोजित गरिने यो स्टेडियमको पुनर्निर्माण यही वर्ष सम्पन्न भएको छ। आगामी विश्वकपलाई लक्षित गरेर तीन वर्षअघि यसको पुनर्निर्माण थालिएको थियो। यसका लागि ५० करोड अमेरिकी डलर खर्च गरिएको बताइन्छ। हाल यो स्टेडियम पर्यटकका लागि खुला गरिएको छ। पिच, ड्रेसिङ रुम, भिआइपी बक्ससहित ७ सय ५० वर्ग मिटरको उक्त हलमा स्टेडियमसँग सम्बन्धित वस्तु एवं चित्रहरू प्रदर्शनमा राखिएको छ। यो स्टेडियम ७९ हजार दर्शक क्षमताको छ।  

क्राइस्ट द रिडिमर ः आधुनिक विश्वका मानव निर्मित सातौं आश्चर्यमध्ये एक मानिन्छ-क्राइस्ट द रिडिमर। यो ईसा मसीहको प्रतिमा ३९ दशमलव ६ मिटर लम्बाइ तथा ३० मिटर चौडाइको छभने त्यसको तौल ६ सय ३५ टन छ। यो प्रतिमा तिजुका फरेस्ट नेसनल पार्कस्थित कोर्कोवाडो पहाडमा छ। यहाँबाट रियो दी जेनेरियो सहरको सम्पूर्ण भाग अवलोकन गर्न सकिन्छ। ईसाई धर्मको प्रतीकका रूपमा यसको पहिचान छ। बलियो कंक्रिट र सोपस्टोनले बनेको यो प्रतिमाको निर्माण १९२२ देखि १९३१ को बीचमा गरिएको थियो।

अमेजन रेन फरेस्ट ः विश्वकै ठूलो रेन फरेस्ट हो-अमेजन। यो विशाल प्राकृतिक संग्रहालय हो। यहाँ अनेकौं प्रजातिका जीवजन्तु, पशुपंक्षी एवं वनस्पति संरक्षित छन्। यो रेन फरेस्ट ५५ लाख वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ। यो भू-परिधिभित्र जति जैविक विविधता पाइन्छ, त्यति विश्वभर कतै पाइँदैन। ९ देशको सीमा जोडिएको यो वनको धेरैजसो क्षेत्र ब्राजिलमा पर्छ। अमेजन रेन फरेस्ट भएर बग्ने अमेजन नदी आयतनको हिसाबले विश्वको सबैभन्दा ठूलो र लम्बाइको हिसाबले दोस्रो ठूलो नदी हो। यसको लम्बाइ ७ हजार ४ सय ९१ किलोमिटर छ। यो पेरुको एन्डिज पर्वत शृंखलाबाट सुरु  भएर अटलान्टिक महासागरमा समाहित हुन्छ।

इगुवाजु झरना ः ब्राजिल पुगेपछि इगुवाजु फल्सको दृश्यावलोकन गर्नैपर्छ। ब्राजिलको सीमावर्ती क्षेत्रमा अवस्थित यो फल्स २ दशमलव ७ किलोमिटरमा फैलिएको छ। विभिन्न भू-सतहमा छरिएर झर्ने यो फल्सको उचाइ ६० देखि ८२ मिटरसम्म छ।  

पन्टनाल ः ब्राजिलको पश्चिमी क्षेत्रमा अवस्थित पन्टनाल सीमसार क्षेत्र पनि पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छ। यहाँ सेतो घाँटी भएको बाँदर, बहुरंगी सुगा, अजिङ्गर भन्दा ठूलो जलसर्प, अस्टि्रजजस्तै तीन खुर भएको उड्न नसक्ने चरा पाइन्छ। यसलाई प्राकृतिक बगैंचाको नामले पनि चिनिन्छ। पन्टनालका पोखरीहरू सधै सफा देखिन्छन्।

अन्य जानकारी  ः ब्राजिल विश्वको चौथो ठूलो लोकतान्त्रिक मुलुक हो। यहाँ अधिकांशले पोर्तुगिज भाषा बोल्छन्। ब्राजिलको पूर्वमा आन्ध्र महासागर, उत्तर पश्चिममा कोलम्बिया, पश्चिममा बोलिभिया र पेरु, दक्षिण पश्चिममा अर्जेन्टिना र पराग्वे एवं दक्षिणमा उरुग्वे छ। ब्राजिल बहुजातीय मुलुक हो यद्यपि यहाँका धेरैजसो बासिन्दा रोमन क्याथोलिक छन्। यो मुलुक वन्यजन्तु एवं प्राकृतिक सम्पदाका दृष्टिले अत्यन्त धनी छ।

 Image