Successfully Copied

टिकटकबाटै जो चर्चामा आए

धेरैजसो टिकटक प्रयोगकर्ता भाइरलको पछि दौडिरहेका छन् । राम्रो कन्टेन्ट राखेर पनि चर्चामा आउन सकिन्छ भन्ने उदाहरण दिएका छन्, अञ्जना र ममताले । उनीहरू दुवैले कहिल्यै चर्चित हुने बारे सोचेनन् ।


एउटा उखान छ, ‘जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड’ । सामाजिक संजालको हकमा पनि त्यहीलागू हुन्छ । कतिपयले यो प्लेटफर्मलाई उपयोग गरेर नाम कमाएका छन्, कतिपयले समय बर्बाद गरिरहेका छन् । कतिका लागि यो मनोरञ्जनको साधनमात्र भएको छ भने, कतिले यसैबाट व्यापारिक रूपमा लाभ लिएका छन् ।


अञ्जना अर्याललाई उदाहरणका रूपमा प्रस्तुत गर्न सकिन्छ । उनी कहिले टिकटकमा खाना बनाएको भिडियो पोस्ट गर्छिन् भने कहिले कतै घुम्न गएको । उनले सुरु गरेको अचारको व्यवसायको बजार व्यवस्थापन टिकटकबाटै गरेकी छन् । उनी सुनाउँछिन्, ‘टिकटकमा अचार बनाएको भिडियो पोस्ट गरेकी थिएँ ।हजुर मात्र बनाएर खाने हामीलाई नख्वाउने भनेर कमेन्ट, म्यासेज आउन थाल्यो । अचार बनाउनुहोस् हामी लिन्छौं भन्नुभयो । अहिले निकै व्यस्त छु । सबैको अर्डर पूरा गर्न सकेकी छैन । देश–विदेशबाट अर्डर आउँछ ।’ उनले यो व्यवसाय सुरु गरेको महिना दिन मात्र हुँदैछ । एक्लैले सुरु गरेको व्यवसायमा अहिले पाँच जनाले रोजगारीको अवसर पाएका छन् । उनी यो व्यवसाय अझै बढाउने सोचमा छिन् । टिकटक प्रयोगकर्ताहरूको माया र विश्वासले नै हौसला बढेको उनको भनाइ छ ।


उनको भन्दा फरक कथा छ ममता मण्डलको । उनको भिडियोको आफ्नै विशेषता छ । उनले टिकटकमा भिडियो पोस्ट गर्दा धेरै सोच्दिनन् । उनी जस्ती छिन्, भिडियामा त्यस्तै देखाउँछिन् । कहिले छोरीलाई जिस्काएको, कहिले खाना पकाएको । उनको भिडियो अग्र्यानिक हुन्छ । उनी भन्छिन्, ‘म प्रायः आफ्नै स्वरमा बनाउँछु । एकदिन टिकटक हेर्दै थिएँ आफ्नै स्वरमा बोलेर भिडियो बनाएको देखें । त्यसपछि म पनि आफ्नो स्वरमा बनाउँछु भनेर बनाएँ । त्यो टिकटक एकदमै चल्यो । रातारात मिलियन भ्युज गयो । त्यसपछि मेरो आफ्नै स्वर मन पराउने रहेछन् भन्ने लाग्यो र आफ्नै स्वरमा बनाउन थालें ।’
टिकटकमा एक निश्चित समयमा आफ्नो कला प्रस्तुत गर्न सकिन्छ । यसले धेरैमा आत्मविश्वास बढाएको छ । यो यस्तो प्लेटफर्म भएको छ, जसले आफ्नै हातमा भएको मोबाइलको प्रयोग गरेर भाइरल बन्न सकिन्छ । यो प्लेटफर्म जोकोहीले प्रयोग गर्न सक्ने भएर कुना–कन्दराका बालबालिका एवं बूढाबूढीसम्म यसमा जोडिएका छन् । पछिल्लो समय नेपालको करिब आधा जनसंख्या टिकटकमा संलग्न भएको अनुमान छ ।



टिकटकबाटै चर्चा
धेरैजसो टिकटक प्रयोगकर्ता भाइरलको पछि दौडिरहेका छन् । उनीहरूले भ्युजका लागि जे पनि गरिरहेका छन् । त्यसैले धेरैलाई टिकटक चलाए भने बिग्रन्छन् वा बिग्रेकाले मात्र चलाउँछन् भन्ने सोच छ । राम्रो कन्टेन्ट राखेर पनि चर्चामा आउन सकिन्छ भन्ने उदाहरण दिएका छन्, अञ्जना र ममताले । उनीहरू दुवैले कहिल्यै चर्चित हुने बारे सोचेनन् ।
अञ्जनाले टिकटकको एकाउन्ट त्यतिबेला खोलिन् जतिबेला विश्वका अधिकांश मुलुकमा कोरोना महामारी फैलिरहेको थियो । सबैजना घरमा बस्ने पकाएर खाने भएकाले उनले खानेकुरा बनाएको भिडियो धेरैले हेर्न थाले । उनी सुनाउँछिन्, ‘लकडाउनको बेला बच्चाहरू सबैजना घरमा थिए । रेस्टुरेन्टमा जान नपाएपछि घरमै खानेकुरा पकाएर खुवाउन थालें । मलाई खान पकाउन एकदमै जाँगर चल्छ । बच्चैदेखि ममीले खानेकुरा पकाएको देखेर मैले पनि पकाउन सिकें ।’ उनले टिकटकमा भिडियो बनाएर अपलोड गरेपछि राम्रैसँग लाइक आउन थाल्यो । विस्तारै भ्युज बढ्न थाल्यो । त्यसपछि त उनलाई रमाइलो लाग्न थाल्यो । कोरोना महामारीका बेला घरमा बसेकाले भ्युज बढेको हुन सक्ने उनी अनुमान गर्छिन् ।
ममताले टिकटक चलाउन थालेको दुई वर्ष भयो । यति छोटो समयमा उनले नसोचेको चर्चा कमाइन् । उनी भन्छिन्, ‘मैले त सोचेकै थिइन । सबैले चिन्दा मलाई त डर लाग्यो । के भयो भन्ने लाग्यो । किनभने छोटो समयमै चर्चामा आउनु भनेको सामान्य कुरा थिएन । अहिले त वास्तै हुँदैन ।’

टिकटक नाम पनि दाम पनि
‘जहाँ गएपनि धेरैजसोले चिन्नुहुन्छ । सेल्फी खिचौं भन्नुहुन्छ । तपाईं त टिकटकको होइन भन्नुहुन्छ,’ अञ्जना भन्छिन्, ‘यसरी सबैले चिन्दा एकदमै खुसी लाग्छ । मैले त्यस्तो केही गरेकी त होइन तर उहाँहरूको माया, मप्रतिको विश्वासले मलाई सधै ऊर्जा मिलेको छ ।’ उनले ‘अञ्जनाज नेपाली किचेन’ नामको युट्युब समेत चलाउँछिन् । जसबाट उनले थोरै भएपनि आम्दानी गरिरहेकी छन् । टिकटकले पैसा नदिने अञ्जना सुनाउँछिन्, ‘टिकटकमा म लाइभ बस्दिन । तर टिकटककै कारण धेरै विज्ञापन गर्ने मौका पाएकी छु । जसबाट राम्रै आम्दानी भइरहेको छ ।’
टिकटकमा विज्ञापन गरेर ममताल राम्रै आम्दानी भएको बताउँछिन् । विज्ञापनबाट पैसा आउँछ । पार्लरहरू, बुटिकमा जाँदा पनि हाम्रो भिडियो राखिदिनू छुट दिन्छौं भन्छन् । टिकटककै कारण कार्यक्रममा बोलाउँछन् ।

 Image