Successfully Copied

सिक्ने प्रक्रिया नै जीवन हो

यसैगरी समतामूलक समाजको एउटै फर्मुला छ– राज्यले शिक्षा र आर्थिक उपार्जनको स्रोतमा सबैको पहुँच सुनिश्चित गर्नेछ, यसमा पनि मैले काम गर्नेछु ।


इला शर्मा
प्राध्यापक, आइआइएलएम युनिभर्सिटी, गुरगाउँ
निर्वाचन आयोगकी पूर्व आयुक्त इला शर्माको जन्म धनुषामा भएपनि उनी बनारसमा हुर्किइन् । बुवा ७४ वर्ष र आमा ४३ वर्षकी हुँदा उनको जन्म भएको थियो । उनले जीवनको ५७ वर्षे यात्रामा धेरै उतारचढावको सामना गरेकी छिन् । नेपालका चर्चित पत्रकार राम राज पौड्यालकी बुहारी र नवराज पौड्यालकी पत्नीका रूपमा भित्रिएपछि ०४४ सालमा इलाले ‘दि राइजिङ नेपाल’ मार्फत पत्रकारिता सुरु गरेकी थिइन् । माओवादी युद्धकालमा प्रहरी सेवामा रहेका उनका पति नवराजको हत्या गरिएपछि उनी एकल जीवन बिताउँदै आएकी छिन् । इलाले, पत्रकारिता, आयुक्त, अमेरिकी राजदूतावासमा वरिष्ठ संस्कृतिविद्, एक्सन एड, युएनडिपीलगायतका गैरसरकारी संस्थामा काम गरिसकेकी छिन् । कानुनी क्षेत्रमा २५ वर्षको अनुभव भएकी उनले हाल कानुनका विद्यार्थीलाई अध्यापन गराउनुका साथै ल फर्ममा काम गर्दै आएकी छिन् । उनै इलासँग कामको अनुभव र जीवन भोगाइका बारेमा गरिएको कुराकानी ः

शिक्षाका बारेमा बताइदिनुहोस् न ।
बनारसको सनबीम स्कुलबाट स्कुले शिक्षा पूरा भयो । हरिश्चंद्र स्नातकोत्तर महाविद्यालयबाट बीएस्सी र कानुनमा स्नातक गरेकी छु । कानूनमा स्नातक गर्दा गोरखपुर विश्वविद्यालयमा प्रथम स्थान प्राप्त गरेकी थिएँ । प्राचीन व्याकरणको अध्ययन गरेता पनि सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट संस्कृत साहित्यमा शास्त्री प्रथम श्रेणीमै उत्तीर्ण गरेकी हुँ । काठमाडौंबाट एलएलएम तथा बेलायतबाट पनि एलएलएम पूरा गरेकी छु ।


बुवाको प्रकाशनका बारेमा केही बताइदिनुहोस् न ।
बी पी कोइरालाका बुवा (पिता जी) कृष्ण प्रसाद कोइराला र मेरा बुवा माधव प्रसाद शर्माले ‘कृष्ण माधव एण्ड कम्पनी’ को स्थापना गरी राणा विरोधी ‘गोर्खाली’ पत्रिका प्रकाशन गर्नु भएको थियो । पछि बुवाले आफ्नै ‘बाबू माधव प्रसाद शर्मा एण्ड कम्पनी’ स्थापना गरी प्रकाशन शुरु गरेको जुन आज पर्यन्त चल्दैछ ।


अहिले के गर्दै हुनुहुन्छ ?
अहिले आफैंले खोलेको ल फर्ममा कर्पोरेट लको कानुनी परामर्श तथा सार्वजनिक हितका मुद्दामा काम गरेकी छु । यसैगरी गुरगाउँको एउटा युनिभर्सिटीमा स्नातकोत्तर तहका विद्यार्थीलाई कानुन विषयमा अध्यापन गराउँछु ।



केही वर्ष पत्रकारिता पनि गर्नुभयो, यो क्षेत्रमा लागिरहन मन लागेन ?
मैले ०४४ सालमा दि राइजिङ नेपाल अंग्रेजी दैनिकमा सातौं तहको उप–सम्पादकबाट करिअरको सुरुवात गरेकी थिएँ । त्यहाँ मैले डेस्क, ओपएड, रिपोर्टिङलगायतका क्षेत्रमा १३ वर्ष काम गरें । पछि पढाइ र अन्य कारणले यो क्षेत्रबाट अलग भएँ ।


निर्वाचन आयुक्त पनि हुनुभयो, त्यतिबेला कस्तो महसुस भयो ?
सन् २०१३ देखि २०१९ सम्म संवैधानिक निकाय निर्वाचन आयोगमा आयुक्त रहें । त्यतिबेला म धेरै खुसी भएँ । मेरो कामको अनुभव, योग्यता हेरेरै मलाई योग्य सम्झिएको होला भन्ने लाग्यो ।


निर्वाचन आयुक्त हुँदा यहाँले गर्नुभएका कामहरू बताइदिनुहोस् न ।
निर्वाचन आयोग अर्धन्यायिक निकाय हो । त्यो समयमा पाँच वर्ष लगातार आयोगको उच्चस्तरीय कानुन तर्जुमा समितिको अध्यक्षको जिम्मेवारी बहन गरें । निर्वाचनसम्बन्धी ऐन, नियमावली, नीति, निर्देशिका, आयोगको रणनीतिक योजना, कार्य योजनाहरू मस्यौदामा पूर्णकाल संलग्न रहेर काम गरें ।


राजनीतिमा किन कम महिला आएका होलान् ? राजनीतिमा आउने इच्छा छ कि छैन ?
आर्थिक कारण र सामाजिक वातावरणले कम आएका हुन् कि ? मलाई राजनीतिमा आउनभन्दा पनि यो सुधार्न इच्छा छ ।


महिला नेतृत्व तहमा कसरी पुग्ने ? सबै क्षेत्रमा महिला सहभागिता कसरी बढाउने होला ?
पहिले मध्यम स्तरमा महिलाको प्रशस्त सहभागिता हुनुप¥यो । त्यसपछि आफैं बिस्तारै आउँछ । त्यो अर्गानिक र दिगो पनि हुन्छ । आरक्षण पनि केही हदसम्म ठीक हो, यसले महिलामा आत्मविश्वास बढ्छ । सहभागिताका लागि आफूमा आत्मविश्वास पनि हुनुपर्छ ।



प्रसंग बदलौं, जीवन के हो ? यसको उद्देश्य के होला ?
सिक्ने प्रक्रिया नै जीवन हो । हाम्रो जीवनको उद्देश्य जति सरल जन्मिएका थियौं, अन्त्यमा त्यसभन्दा सरल भएर मर्नु हो । सधैका लागि कोही आएको हुँदैन ।


जीवनका अविस्मरणीय घटना केही होलान् नि ?
त्यस्ता घटना खासै छैनन् । मेरी आमा र छोरीहरूसँग बिताएका प्रत्येक पल मेरा लागि स्मरणीय छन् । मेरी आमाले एक्लै आफ्ना सन्तान हुर्काउनुभयो । मैले पनि श्रीमान्को मृत्युपछि एकल अभिभावकत्व निर्वाह गरें ।


यहाँसम्म आइपुग्नुको श्रेय कसलाई दिन चाहनुहुन्छ ?
ईश्वर र मेरी आमालाई यसको श्रेयदिन चाहन्छु । मेरी आमाले घरमै स्वाध्ययन गर्नुभयो । जहिले पनि मेरी आमाले पढाइलाई प्राथमिकता दिनुहुन्थ्यो । स्कुल नगएपनि छन्दमा कविता लेख्नुहुन्थ्यो । उहाँको सोच प्रगतिशील थियो । उहाँले छोरी भनेर मलाई कहिले दक्षिणा दिनु भएन । सौभाग्यवती भवः नभनेर भाइलाई जस्तै मलाई पनि ‘चिरञ्जीवी भए’ भन्नुहुन्थ्यो । यो एउटा क्रान्तिकारी सन्देश हो । छोरीको जीवनको महत्व छोरा भन्दा कम होइन भन्ने हो । म मेरा दुई छोरीमा पनि यो कुरा लागू गर्छु । महिलाको विवाह जीवनको मात्र एउटा सानो हिस्सा हो, त्यसलाई आवश्यकताभन्दा बढी महत्व दिनु हुँदैन । राम्रो सम्बन्ध छ भने ठीक छ । छैन भने पनि ठीकै छ । महिलाको घर भनेकै जन्मघर हो । पूजापाठ गर्दा सुरुदेखि नै मैले सधै आफ्नो गोत्र भन्छु ।


सफल हुने सूत्र के होला ?
कामलाई प्राथमिकता दिएर त्यसमा निरन्तर लागिरहनुपर्छ ।


भविष्यको योजना के छ ?
हाम्रो सामाजिक र व्यक्तिगत जीवनमा पनि कतै विभेद, अन्यायको गन्ध पनि आए त्यसलाई हटाउने प्रयास गर्छु । एउटा धोको छ–जीवनको उत्तरार्धमा, सहअस्तित्वको यस्तो सामुदायिक मोडल बनाउने जहाँ अन्य प्राणी र प्रकृतिसँग सन्तुलनमा बाँच्न सकियोस् । पारम्परिक तरिकाको कृषि, पर्मा फरेस्ट, फुड फरेस्ट, अनवान्टेड सामुदायिक जनावरहरूको आश्रमसमेतको एउटा मोडल गाउँ बनाउने इच्छा छ । यसैगरी समतामूलक समाजको एउटै फर्मुला छ–राज्यले शिक्षा र आर्थिक उपार्जनको स्रोतमा सबैको पहुँच सुनिश्चित गर्नेछ, यसमा पनि मैले काम गर्नेछु । 

 Image