Successfully Copied

‘फुटबल मेरो जिन्दगी’ - साम्बा

उनले विद्यालयदेखि घरेलु टिम, एपीएफ भारतीय लिग खेल्दै युरोपियन लिगको यात्रा तय गरेकी छन् । युरोपियन लिग खेल्ने पहिलो नेपाली खेलाडीको इतिहास रचेकी छन् ।



नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर हुन् सावित्रा भण्डारी । लमजुङमा जन्मिएकी उनी मोजा र प्लास्टिकको फुटबल खैल्दै हुर्किइन् । यतिबेला भने उनी महिला फुटबलरका रूपमा अन्तर्राष्ट्रिय क्षेत्रमा चम्किएकी छन् । राष्ट्रिय खेलाडीको राम्रो छवि बनाएकी उनले बुमेन्स लिगमा चार ह्याट्रिकसहित २९ गोलको इतिहास रचिन् । उनले विद्यालयदेखि घरेलु टिम, एपीएफ भारतीय लिग खेल्दै युरोपियन लिगको यात्रा तय गरेकी छन् । युरोपियन लिग खेल्ने पहिलो नेपाली खेलाडीको इतिहास रचेकी छन् । उनै साम्बासँग गरिएको कुराकानीको सम्पादित अंश

फुटबलप्रतिको मोह कसरी बढ्यो ?
८–९वर्षको उमेरदेखि नै फुटबल खेल्न थालेकी हुँ । त्यसबेला फुटबल प्लास्टिकको होस् वा मोजाको होस् खेलिहाल्थें । फुटबलप्रतिको मोह यति थियो कि खाली खुट्टा पनि खेलियो । खेल्ने ठाउँको अभाव थियो । मंसिरमा धानकाटेको खेतमा फुटबल खेल्ने गर्थें । महिला फुटबल खेलाडी कोही थिएनन् पुरुषसँग खेल्नुपथ्र्यो । पुरुषसँग खेल्नुपर्दा थुप्रै आलोचना पनि सहेकी छु ।

राष्ट्रिय टिमसम्मको यात्रा चाहिँ कसरी तय भयो ?
म एसएलसी दिएर बसेकी थिएँ । त्यसबेला गाउँमा महिला फुटबलको कुनै प्रतियोगिता नै हुँदैनथ्यो । तर पुरुषहरूको भने भव्य मेलाका साथ फुटबल प्रतियोगिता हुन्थ्यो । तर त्यो वर्ष भने आयोजकले महिला फुटबल प्रतियोगिता गर्ने भएछन् । हामीले आफै टिम खडा गरेर प्रतियोगितामा भाग लियौं र जित्यौं पनि । त्यसबेलाका रेफ्री शुक्र लामा मेरो खेलप्रति प्रभावित हुनुभयो । उहाँले मलाई काठमाडौ बोलाउनुभयो र म एपीएफमा आबद्ध भएँ । २०१४ मा ‘साफ च्याम्पियनसीप’ का लागि राष्ट्रिय खेलाडीका रूपमा छनोट भएँ ।

राष्ट्रिय खेलाडीका रूपमा छनोट हुँदाको पल कसरी सम्झनुहुन्छ ?
आफ्नो एउटा सपना पूरा भएको दिनका रूपमा सम्झन्छु ।

छोटो समयमा राष्ट्रिय सफलतादेखि अन्तर्राष्ट्रिय उडान भर्नुभएको छ यो कसरी सम्भव भयो ?
मैले सफलता पाउँदै जानुका पछाडि मेरो मेहनत नै हो । हरेक खेलाडीको सपना हुनुपर्छ । सपना पूरा गर्नका लागि लगाव पनि हुनुपर्छ । कुनै बेला राष्ट्रिय टिमसम्म पुग्ने सपना थियो । त्यसपछि युरोपेली क्लबसम्म थियो त्यो पनि पूरा हुँदैछ । यो मलाई कडा परिश्रमले दिएको सफलता हो जस्तो लाग्छ ।

युरोपियन लिगको यात्रालाई कसरी लिनुभएको छ ?
एसियनभन्दा युरोपियन लिग धेरै माथि छ । मेरा लागि यो अवसरसँंगसँगै चुनौती पनि हो । चुनौती सामना गर्न तयार भएर अगाडि बढेकी छु । पक्कै पनि राम्रो दिने प्रयास गर्नेछु ।

यो क्षेत्रमा युवापुस्ताको करिअर कस्तो देख्नुहुन्छ ?
करिअर आफै बनाउने हो । त्यसका लागि रुचि र इच्छाशक्ति हुनुपर्छ । पछिल्लो समय महिला खेलाडीहरूको संख्या बढ्दै गएको छ । तर त्यसलाई व्यवस्थापन गर्र्दै अगाडि बढाउन सकिएको अवस्था छैन । महिला लिगका लागि प्रतिभा खोज्ने काम कमै छ । उमेरअनुसार महिला लिगको संरचना व्यवस्थित बनाउन आवश्यक छ ।

तपाईंका लागि फुटबल के हो ?
फुटबल मेरो जिन्दगी हो ।

तस्बीर -महेशमान प्रधान

 Image