Successfully Copied

‘आफूलाई निखारिएको परिणाम बगानमा’ -प्रमिला कार्की (नवनायिका)

मैले मेरो पात्रलाई न्याय दिन सक्दो प्रयास गरेकी छु । शतप्रतिशत ‘इफोर्ट’ लगाएकी छु । जति मैले आफूलाई निखारेर आएकी छु त्यसको परिणाम यो चलचित्रमा देख्न पाइन्छ ।

किन चलचित्रमा आउनुभयो ?
बुटवलको स्थानीय टिभीमा कार्यक्रम चलाउँथें । सँगसँगै म्युजिक भिडियोमा अभिनय पनि गर्थें । सन् २०१७ मा अभिनय सिक्न काठमाडौं आएँ । यहाँ पनि टेलिभिजनमा काम गर्ने, म्युजिक भिडियोमा काम गर्ने, रंगमञ्चमा अभिनय गरिरहेकै थिएँ । बुवा भनिरहनुहुन्थ्यो–‘मान्छे जन्मिएपछि केही गरेरै मर्नुपर्छ’ । मलाई केही गर्न फराकिलो ‘प्लेटफर्म’ चाहिएको थियो । जुन मैले फिचर फिल्मबाट गर्न सकिन्छ भन्ने महसुस गरें । अनि यतातर्फ मोडिएँ ।

तपाईंको रंगमञ्चको अनुभव र चलचित्रको अनुभवलाई बगानमा कुन रूपमा हेर्न पाइन्छ ?
चलचित्र हेरेर दर्शकबाट राम्रो वा नराम्रो प्रतिक्रिया नआएसम्म कुनै पनि कुरा अनुमान मात्र हुन्छ । तर मैले मेरो पात्रलाई न्याय दिन सक्दो प्रयास गरेकी छु । शतप्रतिशत ‘इफोर्ट’ लगाएकी छु । जति मैले आफूलाई निखारेर आएकी छु त्यसको परिणाम यो चलचित्रमा देख्न पाइन्छ ।

सापेक्षित रूपमा नव कलाकारबीच बलियो प्रतिस्पर्धा छ, तपाईं आफू कस्तो तयारीका साथ आउनुभएको छ ?
त्यसैले म खारिएर मात्र मैदानमा उत्रिएकी हुँ । अनुप बरालको एक्टर्स स्टुडियोको सिकाइले पनि मलाई अभिनयमा अब्बल बनाएको छ । यो चलचित्रमा अभियन थाल्नुअघि निकै रिसर्च गरेर, गहिराइसम्म बुझेर र आफूलाई पोख्त बनाएर नै आएकी हुँ । आगामी दिनमा गुणस्तरीय काममा केन्द्रित हुनेछु ।


चलचित्रमा कस्ती छोरीका रूपमा तपाईंलाई देख्न पाउँछौं ?
मैलै निर्वाह गरेको प्राप्ति पात्र यस्ती छोरी हो जसले मानवप्रति गर्ने अपमान, हिंसा, अन्याय र अत्याचार सहँदिन । उसका लागि आफ्नो अभिभावकको खुसी भन्दा ठूलो अर्को कुनै कुरा छैन यो संसारमा । त्यसका लागि ऊ जस्तोसुकै क्रान्ति र त्याग गर्न पनि पछि परेकी छैन ।

वास्ताविक जीवनसँग वा देखे भोगेको परिवेश केही मिश्रण छ कि ?
म स्वभावैले विद्रोही स्वभावकी केटी हुँ । मानवतामाथिको प्रहार पटक्कै मन पर्दैन । अन्याय बिल्कुलै सहन्न । प्राप्ति पात्र र ममा धेरै कुरा मेल खान्छ । तर मैले मेरो परिवारभित्र एकल आमा भने देख्न परेन ।

तपाईको लागि अभिनय करियरमा बगान कस्तो साबित हुनुपर्ला ?
चलचित्रले निर्धारण गर्छ मेरो अगाडिको करियर कस्तो हुन्छ भन्ने कुरा, जसका लागि दर्शकले नै परीक्षण गरेर नम्बर दिनुपर्छ । पहिलो चलचित्रमै राम्रो टिम पाएकाले नयाँ कुरा सिक्न र ‘बेस्ट परफरमेन्स’ दिन सहज भयो ।

तपाईं आफैं मिडियाकर्मी, मोडल तथा थियटर आर्टिस्ट हुनुहुन्छ, तपाईं को अन्तिम विकल्प फिचर फिल्म नै थियो त ?
विकल्प नभएर चलचित्रमा आएकी होइन, आफूलाई अपग्रेड गर्न र करियरमा अर्को खुड्किलो चढ्न फिल्ममा आएकी हुँ । जन्मिएपछि एक दिन सबै मर्छन् तर समाजलाई के दिएर र कस्तो कार्य गरेर मर्ने भन्ने कुराले अर्थ राख्छ । त्यसैका लागि अझ फराकिलो ढंगले काम गर्न र आफ्नो क्षेत्रमार्फत समाजलाई योगदान दिन अब यतातिर सक्रिय हुने सोच बनाएकी हुँ ।

कस्ता चलचित्रमा कस्तो पात्रको भूमिका निर्वाह गर्ने इच्छा छ ?
आफ्नो पात्रमार्फत समाज परिवर्तन गर्ने खालका कथा भन्न मन छ जसले धेरैको जीवनमा बलियो अर्थ राखोस् ।

केही सन्देश छ कि ?
धेरै पछि एउटा पारिवारिक चलचित्र लिएर आएका छौं । फिल्म आउँदैछ भन्दा पनि के सन्देश लिएर कस्तो चलचित्रमा आइँदैछ भन्नेमा बढी उत्साहित छु । हरेक परिवारले हेर्नैपर्ने चलचित्र छ यो, परिवारको भावना, प्रेम बुझ्न नसक्नु अहिलेको हाम्रो समस्या बनेको छ, यसलाई चलचित्रको कथाले भित्रैदेखि महसुस गराउँछ ।

 Image