Successfully Copied

कर्णालीबारे नकारात्मक बुझाइ चिर्न यात्रा

म कुनै योजनाबिना नै हिँड्छु । कहिलेकाहीँ त बाटो खोज्दाखोज्दै हराउँछु । हिँड्दाहिँड्दै हराएका थुप्रै घटना छन् ।


सिर्जना सिञ्जु, एकल यात्री


रुकुम, मुसिकोटकी सिर्जना सिञ्जु सोलो ट्राभलर (एकल यात्री) हुन् । सिर्जना वनविज्ञानकी विद्यार्थी हुन् । उनी केही वर्षयता प्रकृति र समाज बुझ्न एक्लै वन–जंगल चहार्ने गर्छिन् । उनको गन्तव्य भने कुनै ‘भाइरल स्थान’ होइन । उनी त्यस्तो ठाउँ पुग्छिन् जहाँ अन्य मानिस घुम्नैका लागि बिरलै पुगेका हुन्छन् । सिर्जनासँग यात्राको सेरोफेरोमा गरिएको कुराकानी -

एक्लै घुम्नुको मज्जा के छ ?

एक्लै घुम्नुको मज्जा बेग्लै छ । आफूलाई जहाँ बस्न मन लाग्यो त्यहाँ बसिन्छ । बेपरवाह भएर हिँड्न सकिन्छ । समूहमा हिँड्दा आफ्नो भन्दा अरुको अवस्था पनि हेर्नुपर्ने हुन्छ । घुम्नुको मज्जा एक्लैमा बढी हुन्छ ।

एक्लै हिँड्दा कठिन हुन्छ नि?

एक्लै हिँड्दा सामान बोक्न समस्या हुन्छ । सामान भारी हुँदा हिड्न अरूको सहयोग लिन सकिँदैन । यही एउटा कुरामा समस्या हुन्छ ।

हिड्दा हिड्दै हराउनु भएको छ ?

   म कुनै योजनाबिना नै हिँड्छु । कहिलेकाहीँ त बाटो खोज्दाखोज्दै हराउँछु । हिँड्दाहिँड्दै हराएका थुप्रै घटना छन् । हराइहाले पनि कुनै समस्या भएको छैन । मानिसहरूको बीचमा पुगेपछि कुनै समस्या भोग्नु पर्दैन ।


एकल यात्रीलाई प्रश्नहरू के आउँछन्, समुदायले कसरी हेर्छ?

अरुले के सोच्छ वा के भन्छ भन्ने कुरा म कहिल्यै सोच्दिन । तर बाटोमा हिँड्दा एक्लै हिँडेको डर लाग्दैन किन हिँडेको भन्ने जस्ता प्रश्नहरू सोध्ने गर्छन् । गाउँघरमा झोला बोकेको देखेर कुनै प्रोजेक्टको काममा हिँडेको भन्ने आमबुझाइ रहेछ । धेरैजसोले झोला बोकेको देखेर कुनै प्रोजेक्टको काममा हिँडेको होला भनेर अनुमान गर्छन् ।

घुमफिरले के सिकाउँदो रहेछ ?

धेरै ठाउँमा घुम्दा अझ कोही नपुगेको ठाउँमा पुग्दा दुईवटा कुरा सिकिँदो रहेछ । एउटा त्यहाँको प्राकृतिक सौन्दर्य र अर्को त्यहाँको समाज । छुट्टै महसुुस हुन्छ, कल्पनाभन्दा बाहिरको वातावरणमा पुगिन्छ । हरेक व्यक्तिकाआ–आफ्नै कथा हुन्छन् । उनीहरूलाई मार्गदर्शकका रूपमा बुझ्न सकिन्छ । हिँडेर पुग्न नसकिने ठाउँमा पनि मानिसहरू खुुसी भएर बस्न सकेका छन् रमाएका छन् भन्ने अनुभूति हुन्छ । जहाँ पनि खुसी हुन सकिने रहेछ भनेर यात्राका क्रममा सिकेकी छु, बुझेकी छु ।


घुमफिरका लागि कर्णाली नै रुचाउनुको कारण ?

म कर्णालीको बासिन्दा हुँ । कर्णालीलाई फरक किसिमले बुझिएको अवस्था छ । आममानिसको बुझाइमा कर्णाली अशिक्षा, गरिबी विकटता हो । मलाई यही सोच नै चिर्नु छ । कर्णालीको बाहिरी रूपलाई फैलाइरहेको अवस्था छ । तर कर्णाली बाहिरी रूपभन्दा फरक छ । विविधता छ, प्राकृतिक सौन्दर्यले धनी छ भनेर देखाउनु छ ।

धेरैलाई कर्णाली चिनाउनु तथा बुझाउनुभएको छ तपाईं आफैंले कर्णालीलाई कसरी बुझ्नु भएको छ ?

म कर्णालीका धेरै ठाउँमा घुमिसकेकी छु । यस्तो लाग्छ हामी प्राकृतिक कुराले कति धनी छौं । हामीसँग हिमाल, पहाड, खोलानाला मात्र छैनन् । सामाजिक एवं सांस्कृतिक रूपमा थुप्रै विविधता छन् । पाइला–पाइलामा कथाहरू छन् । धनी भएर पनि गरिब छौं । यी चीजहरूलाई जोड्न सकिएको छैन । यहाँका बासिन्दा रोगले मरिरहेका छन् ।

घुम्नलाई कसरी पैसा जुटाउने ?

सुरुको समयमा धेरै कठिन थियो । कसरी सुरु गर्ने, कसरी पैसा जुटाउने समस्या नै थियो । मैले वन विज्ञान (फरेस्ट्री) पढेको त्यसकारण मैले काम गर्दै–घुम्दै काम गरेको हो । पैसा आउनेबित्तिकै हिँडिहाल्थें । कहिलेकाहीँ परिवारसँग पनि मागें । घुमफिरमा कहिले पैसा खर्च हुन्छ कहिले हुदैन । समुदायमा पुगेपछि खर्च नै हुँदैन ।

भर्खरै विवाह गर्नुभयो, अब यात्रा रोकिएला कि भन्ने धेरैको चासो छ नि ?

अहिले यो प्रश्न मैले सामना गरिरहेकी छु । सबैलाई लागेको छ अब त घुम्न सक्दैन होला भनेर । तर, सबैलाई भन्न चाहन्छु कि विवाहले मेरो यात्रा रोकिँदैन ।

 Image