Successfully Copied

सपना मल्ल प्रधान

वि.सं. २०२० साल कार्तिकमा नवलपरासीमा जन्मिएकी सपना मल्ल प्रधान आज नेपाली महिलाको भाग्य परिवर्तनको संवाहक बनेकी छिन् ।

वि.सं. २०२० साल कार्तिकमा नवलपरासीमा जन्मिएकी सपना मल्ल प्रधान आज नेपाली महिलाको भाग्य परिवर्तनको संवाहक बनेकी छिन् । ५ कक्षाको पढाइ पूरा गरी काठमाडौं प्रवेश गरेकी मल्लले नेपाल आदर्श माध्यमिक विद्यालयबाट एसएलसी तथा नेपाल ल क्याम्पसबाट कानुन पढेकी हुन् । सानैदेखि नक्सा बनाउन रुचाउने सपनालाई इन्जिनियरिङ पढ्ने मन थियो तर लेखापढी गर्ने बुबाको आग्रहमा कानुन पढ्न पुगिन् । वकालत पेसा त्यति लोकप्रिय भैनसकेको त्यतिबेलाको समयमा एलएलएम पढ्न भारत जानुपथ्र्यो । सपना भन्छिन्–अध्ययनको संवेदनशीलता र प्रतिस्पर्धाको अनुभूति भारतको दिल्ली विश्वविद्यालय पढ्दा भयो । 

पढाइ सिध्याएपछि नेपाल फर्किएर वकालत सुरु गर्दा महिला वकिलप्रतिको नकारात्मक धारणा ठूलै चुनौती थियो तर त्यसलाई सपनाले गम्भीरताका साथ चिर्दै अघि बढिन् । विकास वकिलका रूपमा काम गर्दा आफू सहजकर्ता भएर न्याय माग्ने पक्षलाई बढी सक्रिय बनाइन् । विभेदपूर्ण कानुनको अध्ययन गरी संशोधनका लागि आवाज उठाउने, वैकल्पिक विधेयक बनाउने, नीति निर्माताहरूसँग छलफल गर्ने, कानुन कार्यान्वयनको निरीक्षण तथा अनुगमन गर्ने कार्यमा उनी बढी संलग्न भइन् । सपनाका अनुसार कुल जनसंख्यामध्ये नेपालका २० प्रतिशत महिलाले मात्र न्यायिक संयन्त्र प्रयोग गरेको देखिन्छ । नेपालको कानुनले महिलाको स्वतन्त्र अस्तित्वलाई मानेको छैन । सपना भन्छिन्–नेपालमा महिला हिंसा र कार्यस्थलमा हुने यौनशोषणविरुद्ध पनि कानुन नभएको स्थिति छ । यद्यपि कानुन र त्यसका पूर्वाधार नभएका भने होइनन् । सामाजिक तथा सांस्कृतिक मूल्य–मान्यताले नेपाली महिला आफ्नो अधिकारबाट वञ्चित भएका छन् । 

सपना न्यायबाट वञ्चित, राज्यको कानुनद्वारा उपेक्षित तथा भेदभावबाट पीडित नेपालका ग्रामीणदेखि सहरी महिलाका संवाहक हुन् । कालो कोट लगाएर अदालतमा बहस गर्ने व्यवसायमा मात्र सीमित नरही सपना न्यायको खोजीमा हिँडेका कतिपय महिलालाई कानुनको पहुँच दिलाउन देशकै कानुन तथा नीति संशोधन गर्न लागिपरिन् । महिला भएकै कारण कानुनद्वारा भेदभाव र असमानताको व्यवहार सहनुपर्ने स्थितिमा सपनाले नेपाली नारीको जीवनमा कानुनको अर्थ पुरुषसरह समान न्यायको भागिदार हुन पाउनुपर्छ भन्ने विषयमा बहस चलाएर समाजमा हलचल ल्याइन् ।

न्यायका लागि अदालत धाउँदा र वकिलकहाँ जाँदा न्यायको साटो अन्याय र उल्टै सजायको भागिदार बनाउने नेपालको न्यायिक विसंगतिले सपनालाई राज्यद्वारा महिलामाथि जाति र लिङ्गका आधारमा गरिने भेदभावविरुद्ध सशक्त आवाज उठाउन बल पुर्‍यायो । बिनाइच्छा श्रीमान्बाट गरिने करणीलाई बलात्कार मान्ने कानुनी मान्यताका लागि लड्नु उनको विशेष योगदान हो । उनकै कारण सरकार वैवाहिक बलात्कारविरुद्धको नीति अपनाउन बाध्य भयो । 

 Image