जस्मिनको जोश
हालसम्म २ सय भन्दा बढी मुद्धामा सक्रिय रुपमा काम गरेकी जस्मिन आफुले लिएको मुद्धाको दौरानमा जस्तोसुकै परिस्थिती आएपनि केसलाई टुँगोमा नपुर्याइ बिचैमा यत्तिकै छाडेको रेकर्ड नभएको बताउँछिन
नारी कथामा केन्दि्रत चलचित्र 'अझै पनि' बाट चलचित्र निर्माण यात्रा प्रारम्भ गरेकी पूनम क्षेत्री गौतम बहुप्रतिभाकी धनी छिन् । ३२ वर्षीया पूनमले स्नातकसम्मको अध्ययन पूरा गरेकी छिन् । शिक्षित परिवारमा जन्मिएकी गौतम परिवारकी प्यारी छोरी हुन् । उनी सदैव सिर्जनशील काम गर्न उत्साह दिने आफ्ना शिक्षक बुवालाई आफ्नो प्रेरणा मान्छिन् । गौतम निर्मातृका अतिरिक्त ड्रेस डिजाइनर तथा ब्युटिसियनका रुपमा सक्रिय छिन् । हक्की स्वभावकी पूनम नेपाली चलचित्र उद्योगमा केही नयाँ काम गर्ने सोचका साथ प्रवेश गरेकी हुन् । दुई छोरीकी आमा पूनम जीवनलाई अनुभवको यात्रा भन्न रुचाउँछिन् । फुर्सदमा लङ ड्राइभमा रम्न मन पराउने पूनम गीत सुन्न पनि उत्तिकै रुचि राख्छिन् । नेपाली चलचित्र निर्माणमा महिलाहरूको संख्या बढाउन राज्यले नै पहल गर्नुपर्ने उनको धारणा छ ।
अनाथको सेवामा समर्पित जीवन
सानैमा आमाबुवा गुमाएर अनाथ भएकी गीता गौतमले सामाजिक कार्यमा अतुलनीय योगदान पुर्याउँदै आएकी छिन् । उनलाई पूर्वाञ्चलकी मात्र होइन राष्ट्रकै संघर्षशील आमा भन्दा फरक पर्दैन । भारतको जलान्धरस्थित एक अनाथ आश्रममा हुर्किएकी ५९ वर्षीया गीता अनाथहरूको सेवामा अहोरात्र खटिरहेकी छिन् । संयुक्त राष्ट्रसंघ तथा समाज कल्याण परिषद्मार्फत थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान पाइसकेकी गीताले २०४१ सालमा ३ जना अनाथ बालबालिका पालेर सुरु गरेको इटहरीस्थित अनाथ आश्रममा अहिलेसम्म २ सय जना अनाथ बालबालिका हुर्किसकेका छन् । गीताले अहिलेसम्म सामाजिक संस्कारअनुसार १८ जना छोरी तथा ३ जना छोराको विवाह गराई घरजम बसाइदिएकी छिन् । २०६३ सालदेखि इटहरी नगरपालिका, मुठी दान एवं विभिन्न व्यक्तिको सहयोगमा चल्दै आएको आश्रमका लागि जीवनको अन्तिम प्रहरसम्म आफूलाई समर्पित गर्ने गौतमको लक्ष्य छ ।
सौन्दर्य क्षेत्रकी प्रेरणा श्रेया
सानैदेखि सिर्जनशील काममा रुचि राख्ने श्रेया गुरुङको जन्म स्याङ्जामा भएको हो । डिलकुमारी तथा आशबहादुर गुरुङका ४ छोरीमध्ये कान्छी श्रेयाले नेपाल, भारत र हङकङका विभिन्न ब्युटी इन्स्टिच्युटबाट छाला एवं केशसज्जासम्बन्धी तालिम लिएकी छिन् । त्यसपछि ५ वर्ष पार्लर चलाएकी श्रेयाले कोरियन प्रविधि एवं सौन्दर्य प्रसाधनसम्बन्धी उत्पादनका विषयमा दुई वर्षे तालिम लिइन् । हाल ओ टु फेसियल वर्कस् भाटभटेनीकी सञ्चालक श्रेया अक्सिजन फेयिसल प्रविधि नेपाल भित्र्याउने सौन्दर्यविद् हुन् ।