Successfully Copied

गायकीमा जम्दै बुनु

दार्जीलिङमा जन्मिएकी बुनु राईमा बाल्यकालदेखि नै संगीतप्रति लगाव थियो। रंगकर्मी बाबु तथा गायिका आमाको लालनपालनमा हुर्केकी

दार्जीलिङमा जन्मिएकी बुनु राईमा बाल्यकालदेखि नै संगीतप्रति लगाव थियो। रंगकर्मी बाबु तथा गायिका आमाको लालनपालनमा हुर्केकी उनी सिर्जनशील कार्यमा रम्थिन्। जीवनको लामो समय शिक्षण पेशामा बिताएकी उनले गीत गाउने चाहना इम्याजिन गीति संग्रहबाट पूरा गरिन्। उनको पहिलो गीत 'कोरेर प्रेम पत्र’ श्रोताहरुले निकै मन पनि पराए। फलस्वरूप यो वर्षकै लोकप्रिय गीत बन्न सफल भयो। अन्तरजातीय विवाह गरेकी बुनुलाई परिवारमा घुलमिल हुन उनका श्रीमान्ले  सहयोग गरे। उनी अहिले दोस्रो एल्बम सानी सानी को तयारीमा व्यस्त छिन्। दर्जनौं लाइभ प्रस्तुति दिएकी बुनुका लागि संगीत साधना हो जसबाट उनी सबैलाई आनन्द दिन चाहन्छिन्। उनी भन्छिन्, 'संगीत यस्तो माध्यम हो जसले हामीलाई सुखदुःखका हरेक क्षणमा साथ दिन्छ।’ कुनै पनि काम गर्दा शतप्रतिशत प्रयास गर्ने बुनु घर होस् वा मञ्च आफूलाई अपटुडेट राख्न रुचाउँछिन्। फेशनेवल तथा सहज पहिरन मन पराउने उनी महिलालाई प्रकृतिको अनुपम सृष्टि मान्छिन्।

सेवामा खुसी देख्ने पवी

सानैदेखि आफ्नो खुट्टामा उभिनुपर्छ भन्ने पवीले आजसम्म कसैमाथि आश्रति हुनुपरेको छैन । महाराजगंज काठमाडौंकी पवी गुरुङ स्किन डर्मेटोलोजिस्ट हुन् । सफल र लोकप्रिय पवीले सेवाग्राहीहरूको छालाको समस्या समाधान गर्दै आएकी छिन् । उनले कोरियाबाट  छालासम्बन्धी विशेष कोर्स पूरा गरेकी हुन् । कोरियामा लामो समय बिताएर नेपाल फर्कदा उनले नेपालमा सञ्चालित ब्युटिपार्लरहरूमा शृंगार गर्ने कलाको कमी भेटिन् । त्यसपछि उनलाई कोरियामा आफूले सिकेको ज्ञान आफ्नै देशमा उपयोग गर्नुपर्छ भन्ने लाग्यो । उनले सन् २००९ देखि काठमाडौंको महाराजगंज र ललितपुरको कुमारीपाटीमा भिउ ब्युटिकेयर एण्ड टे्रनिङ इन्स्टिच्युट संचालनमा ल्याई  सेवा प्रदान गर्न थालेकी हुन् । अहिलेसम्म उनले ३ हजार महिलालाई ब्युटिकेयरसम्बन्धी तालिम प्रदान गरिसकेकी छिन् । ब्युटिकेयर दैनिक जीवनका लागि अत्यावश्यक भएको पवीको तर्क छ । अनुभवसँगै सैद्धान्तिक ज्ञानसमेत भएकी पवी चायाँ र पोतोको समस्याले हैरान भएकाहरूको उपचार गर्न र सल्लाह दिनमै व्यस्त रहन्छिन् भने जीवनको बाँकी समय पनि यही पेसामा समर्पित हुने बताउँछिन् ।

साहसी नजबुल

चाहेमा के हुन सक्दैन ? इमान्दार भएर आफ्नो कर्ममा अघि बढे समाजले मात्र होइन राज्यले पनि कदर गर्ने दिन आउँछ। यो कुरालाई ३३ वर्षीया नजबुलले साबित गरेकी छिन्। देउरा गाविसमा जन्मिएकी नजबुल १६ वर्षदेखि समाज परिवर्तनको क्रान्तिकारी पथमा अघि बढिरहेकी छिन्। मुस्लिम परिवारमा जन्मिएकी नीलममा अनेकौं हन्डर  तथा  यातना सहेपछि समाजमा केही गरौं भन्ने भावना पैदा भएको हो। बुबा जमारमिया तथा आमा मदिना खातुनकी माइली सन्तान नजबुल बाल्यकालदेखि नै विद्रोही स्वभावकी थिइन्।  उदयपुरमा मूलधार महिला सेवा केन्द्र स्थापना गरी उनले महिला तथा बालबालिकाहरूको पक्षमा विभिन्न कार्यक्रम संचालन गरिरहेकी छिन्। उनको संस्थाले महिला सशक्तीकरण, बाल अधिकार, महिला शिक्षा एवं महिला अधिकारका सम्बन्धमा कार्यक्रमहरू संचालन गर्दै आएको छ। त्यसैगरी समुदायमा पछि परेका महिलाहरूको क्षमता विकास गरी उनीहरूलाई आत्मनिर्भर बनाउने काम पनि उनको संस्थाले गरिरहेको छ। नजबुल समाजका अगुवाहरूले बनाएका कुसंस्कारलाई पटक्कै मान्दिनन्। २०५४ सालमा प्रौढ शिक्षा अध्ययन सुरु गरेकी नजबुल अहिले १२ कक्षामा अध्ययनरत छिन्।

 

 Image