Successfully Copied

विलक्षण प्रशंसा

लिटिल एन्जल स्कुलबाट एसएलसीसम्मको अध्ययन पूरा गरेकी प्रशंसा थापा विश्वभरिकै १ सय २० वैज्ञानिकमध्येबाट छानिएका १३ जनामा पर्न सफल भएकी छिन्।

लिटिल एन्जल स्कुलबाट एसएलसीसम्मको अध्ययन पूरा गरेकी प्रशंसा थापा विश्वभरिकै १ सय २० वैज्ञानिकमध्येबाट छानिएका १३ जनामा पर्न सफल भएकी छिन्। माई कम्युनिटी आवर अर्थ सर्भे हिमालयको ग्लोबल इनिसियटिभ कार्यक्रमअन्तर्गत गरिएको रिसर्चमा उनले उक्त स्थान सुरक्षित गरेकी हुन्। २३ वर्षीया थापा वातावरणप्रति पहिलेदेखि नै सचेत थिइन्। त्यसैले नेपालको च्छोरोल्पा तालको शोध उनको चयनमा परेको हो। नेपालकी एक छोरीले नासामा प्रत्यक्ष रूपले आफ्नो रिसर्च प्रस्तुत गर्ने मौका पाउनु देशकै लागि गौरवको कुरा हो। अहिले उनी आफूले दिने प्रस्तुति दमदार बनाउन प्रयासरत छिन्। यो कुराले निकै उत्साहित काठमाडौं युनिभर्सिटीबाट वातावरण संकायमा स्नातक प्रशंसा भन्छिन्, 'वातावरण परिवर्तन भन्ने कुरा तुरुन्तै भैहाल्ने होइन। यो लामो समयपछिको परिणाम हो। प्रकृतिले दिएको जुनसुकै उपहारलाई बढी प्रयोग गर्दा त्यसले विनाश निम्त्याउँछ। त्यसैले वैकल्पिक मार्ग पनि पहिल्याउनुपर्छ।'

साहसी सुषमा

सामाजिक कार्यमा रुचि राख्ने सुषमा महरा दृढ स्वभावकी छिन्। आफूले हात हालेको काम पूरा गरेरै छाड्ने उनको स्वभावले आज उनी एक सफल व्यवसायीका रूपमा परिचित छिन्। गोकर्णका श्रीकृष्ण तथा दयालक्ष्मी श्रेष्ठका तीन सन्तानमध्ये कान्छी छोरी सुषमाले सुमन महराका साथ अन्तरजातीय प्रेम विवाह गरिन्। अत्यन्तै सहयोगी जीवनसाथी पाएर नै आफू आज यो स्थानसम्म पुग्न सफल भएको उनको दाबी छ। महरा भन्छिन्-'पारिवारिक सहयोगलाई म भगवान्को दर्जा दिन चाहन्छु। परिवारको साथ र सहयोगबिना कुनै पनि महिलाको प्रगति सम्भव छैन।'

जीवनमा धेरै तीता-मीठा अनुभव संगालेकी सुषमा मेहनत र संघर्षले मानिसलाई सफल बनाउँछ भन्ने कुरामा विश्वास राख्छिन्। काठमाडौं मलस्थित फेसियल होम, वाउ थ्री फेसन हाउस सुषमाको नयाँ अवधारणाका साथ अघि बढिरहेका छन् भने द काठमाडौं मल व्यापार संघका थुप्रै पदाधिकारीमध्ये उनी एक मात्र महिला हुन्। दिनरात मेहनत गर्न रुचाउने सुषमा सौन्दर्यकर्मी व्यवसायी संघ काठमाडौं जिल्ला कमिटीमा पनि आबद्ध छिन्। महरा भन्छिन्-'आत्मविश्वासलाई डगमगाउन दिइएन भने हामी नारी जस्तोसुकै काममा पनि सफल हुन सक्छौं।'

समय बुझेकी पार्वती देवी

सधैं ठूलो सोच राख्ने पार्वती देवी सापकोटा मध्यम वर्गीय परिवारमा जन्मिएकी हुन्। एसएलसीसम्मको अध्ययन लगत्तै बुवा-आमाले विवाह गरिदिएपछि उनको पढ्ने चाहना पूरा हुन सकेन। यद्यपि सदैव केही गर्छु भन्ने सोच लिएर अघि बढेकी पार्वतीले कहिल्यै हिम्मत हारिनन्। कास्की भारचोकमा जन्मिएकी पार्वती कर्मको खोजीमा पोखरा पुगिन्। सुरुमा सिलाइको तालिम लिएपछि उनले टेलर खोलिन्। टेलरको माध्यमबाट उनले धेरैलाई तालिम पनि दिइन् तर उनको चाहना यत्तिमै सीमित रहेन।                         

   फेरि उनले इन्स्योरेन्सको तालिम लिइन्। थोरै समयमा एक सय सदस्य बनाएवापत उनी युनिट म्यानेजर बन्दै अहिले एलीकोको इन्स्योरेन्स अफिसर छिन्। सिलाइ तथा इन्स्योरेन्सको काम समानान्तर रूपमा अघि बढाइरहेकी ३ सन्तानकी आमा पार्वतीले घर तथा आफ्नो बाहिरी कामको सन्तुलन राम्रोसँग मिलाएकी छिन्। अझ अघि बढ्दै जाने लक्ष्य लिएकी पार्वती समयको सदुपयोग गर्छिन्। समय मिल्दा लोक गीत सुन्न तथा साथीभाइसँग घुमघाम गर्न रुचाउने पार्वती आफूले पाएको कुनै पनि चीजमा चित्त बुझाउँदै त्यसलाई परिमार्जन गर्दै अघि बढ्नुपर्ने कुरा बताउँछिन्।

 Image